‘हेलो’ म रामकी ‘मिसेज’ शारदा बोल्दैछु ।
‘हेलो’ मैले चिनेँ, तर तपाईँसँग आफ्नो परिचय दिने योभन्दा पनि राम्रो उपाय थियो ।
मैले बुझिन, म उहाँका सबै साथीहरूसँग कुरा गर्दा यही परिचय दिन्छु, शारदाले भनिन् ।
तर तपाईसँग योभन्दा धेरै ‘अन्थेटिक’ परिचय छ । अरु सबै परिचयको परिधि सकिए पनि “तपाईको यो परिचय” मरे पश्चात पनि रहिरहन्छ ।
‘जस्तै,’ शारदाले विस्मय भन्दै भनिन् ।
‘म रचयिता र लावण्यकी आमा बोल्दैछु’, यो परिचय प्रयोग गर्दा पनि तपाईलाई सबैले चिन्छन् नै ।
तपाईसँग तर्क र ज्ञानको भण्डार नै छ, शारदाले भनिन् । तर मेरा लागि तपाईको ज्ञान नै समस्या बनेकाले मैले फोन गरेकी छु ।
हाँसोसँगै, होइन ज्ञान पनि तपाइका लागि समस्या भयो ….. ? ‘इन्ट्रेस्टिङ्’ अलिक खुलाएर भन्नुस् । मलाई तपाईको समस्या सुन्न उत्सुक्ता जाग्यो ।
मेरा लागि ‘समस्या’ रचयिता र लावण्यका प्रश्नदेखि भएको हो । तपाईसँग भेटेपछि उनीहरू प्रत्येक कुरामा नानाथरीका प्रश्न गरेर दिक्क लाउँछन् । तपाई जस्तै उनीहरूका सबै प्रश्नको जवाफ मसँग कसरी हुन सक्छ ? शारदाले विस्तारपूर्वक भनिन् ।
तपाई आफ्नो अंकलसँग सोधेर उनीहरूलाई जवाफ दिन सक्नु हुन्छ नि ।
मेरो कुनै अंकल नै हुनुहुन्न । भएको भए पनि उहाँसँग सबै प्रश्नको जवाफ कसरी हुन सक्थ्यो र ?
आफ्नो अंकल हुने वा नहुने सबैका लागि ४ सेप्टम्बर १९९८ मा ‘विश्वगुरु’ जस्तै ‘विश्वअंकल’ को निर्माण गरियो । क्यालिफोर्नियाको स्टैनफोर्ड युनिभर्सिटीमा अध्ययनरत पी.एच.डी. का दुईजना विद्यार्थी ल्यारी प्यागे (LARY PAGE) र सेरजे ब्रिन (SERGEY BRIN) ले ‘विश्व अंकल’ बनाएका थिए ।
के कुरा गर्नुभएको होला ? युनिभर्सिटीमा अंकल बनाएर बन्ने कुरा हो र ? शारदाले अलिक झर्किँदै भनिन् ।
विज्ञानको युग हो शारदा म्याड्म ! असंभव के छ र ? अहिले मेरा सबै प्रश्नको जवाफ तिनै अंकलले कुनै झर्को नमानी दिनुहुन्छ ।
मैले त केही बुझिन, शारदाले हार मान्दै भनिन् ।
मैले ‘गुगल’ अंकलको कुरा गरेको हुँ शारदा जी । बच्चाहरूले सोधेको प्रश्नको जवाफ ‘गुगल’ मा ‘सर्च’ गरेर दिनुस् । खोजेर भए पनि जवाफ दिनुस् ‘चुप लाग’ भनेर नटार्नुस ।
हरे शिव ! तपाईका कुरा बुझ्न त १० केजीको ‘बे्रन’ चाहिन्छ, शारदाले हाँस्दै भनिन् ।
तपाई फेरि गलत हुनुहुन्छ शारदाजी, दस किलोको ‘ब्रेन’ अट्ने ठाउँ हुँदैन हाम्रो टाउकोमा । ‘ब्रेन’ को तौल १२००/१५०० ग्राम मात्रै हुन्छ । आजसम्मको इतिहासमा सबैभन्दा ठूलो ‘बे्रन’ रुसी लेखक इभान तुर्गनेभको २५०० ग्राम रहेको थियो ।
हो, तपाइको यही तर्क र एकपछि अर्को जानकारी मेरा लागि समस्या भएका छन् । रचयिता र लावण्य यस्तै खोजीखोजी तर्क गर्छन, मसँग ती सबैको जवाफ हुँदैन र मैले नचाहेर पनि उनीहरूलाई गाली गदै चुप लगाउनुपर्छ । शारदाले बल्ल आफ्नो दुखेसो पोख्ने मौका पाइन् ।
‘बट, इट इज सिम्पली क्राइम’, तपाई बच्चाहरूको ‘क्रियटिभिटी’ लाई समाप्त पार्दै हुनुहुन्छ । तपाइलाई थाहा छ, आउने शताब्दीमा यो ‘पैरेन्टल क्राइम’ मा गनिने छ ।
म अरु धेरै केही जान्दिन, तपाईले दुई तीन दिनका लागि यतै बस्न आउनु पर्याे । तपाई नै आएर जवाफ दिनुस् वच्चाहरूलाई । शारदाले आग्रह गर्दै भनिन् ।
‘गुड’ म तपाईको निमत्रणालाई स्वीकार गर्दै, आज नै आउँछु ।
‘डायनिंग टेबलमा’ राम, शारदा, रामका साथी, रचयिता र लावण्य टिभी हेर्दै खाना खाँदैछन् । एक टुक्रा अम्लेट खाएर चपाउँदै लावण्यले सोध्यो, अस्ति तपाईले वताउनुभएको थियो कि ‘लायन’, ‘टाइगर’, ‘प्यान्थर’ जस्ता जनावर १०० किमी/ घन्टाभन्दा बढी वेगले दर्गुछन् । यिनको तुलनामा हरिणका विभिन्न प्रजाति ६०/७० किमी/घन्टा मात्र दगुर्न सक्छन् । ‘लायन’ र ‘टाइगर’ को प्रिय शिकार नै हरिण हो, ‘स्पीड’ को हिसावले त सबै हरिण बाघ र चितुवाको शिकार बनी समाप्त भइ सक्नुपर्ने होइन र ?
‘ग्रेट क्वाएश्चन’ लावण्य ! अंकलले लावण्यलाई स्यावासी दिंदै भन्नुभयो ।
मलाई यस्तैयस्तै नचाहिने प्रश्न गरेर दिक्दार लाउँछन यिनीहरु, शारदाले दिक्क मान्दै भनिन् ।
यो नचाहिने प्रश्न कसरी भयो ? यस प्रश्नले दिक्क हुनुपर्ने कारण के ? अंकलले शारदासँग सोध्नुभयो ।
तपाईलाई थाहा छैन हिजो यिनीहरूले के गरे ? ११ बजे राती ‘अब टिभी बन्द गरेर सुतभन्दाखेरि यिनीहरूले के गरे ?’
लावण्य, तिम्रो प्रश्नको जवाफ म पछि दिन्छु, पहिला तिम्रो मम्मीको गुनासो सुनाैँ । हाँ त, तपाईले सुतभन्दा यिनीहरूले के भने ?
शारदा– मैले ल अब भयो, आ–आफनो ‘बेड’ मा सुत्न जाऊ भने । यिनीहरूले भने ‘बट व्हाई?’
मैले भनेँ, अब तिमीहरूले सुत्नुपर्छ ।
यिनीहरूले फेरि सोधे, ‘बट व्हाई ?’
मैले भनेँ ‘टाइम’ मा सुत्यौ भने बिहान छिट्टै उठ्न सकिन्छ । यिनीहरूको ‘बट व्हाई’ नै चलिरहयो ।
मैले भनेँ निद्रा पुगेन भने तिमीहरू दिनभरि अनिँदो हुन्छौ, हेल्थ खराब हुन सक्छ, तिमीहरूको काम गर्ने क्षमतामा कमी आउँछ । तर यिनीहरूले ‘बट व्हाई’ नै जपिरहे । अन्तमा मैले ‘शट अप यू बोथ, आई डोन्ट वान्ट टु हियर एनी अदर “बट व्हाइ” फ्रम यू . गो इमिडिएटली टु योर बेड,’ अनि बल्ल यिनीहरू सुत्न गए ।
यति लामो वार्तालापमा तपाईले उनीहरूको कुनै “बट व्हाई” को जवाफ दिनुभएन नि ? अंकलले भन्नुभयो ।
मैले तपाईलाई त्यै “बट व्हाई” को जवाफ दिन बोलाएकी हुँ, शारदाले हाँस्दै भनिन् ।
‘ओके’ म ‘बट व्हाई’ को जवाफ पनि दिन्छु तर पहिला लावण्यको प्रश्नको जवाफ दिन्छु ।
लावण्य, हेर चाल्र्स डार्विनले ‘ओरिजन अफ लाइफ’, ‘च्वाइसेस अफ स्पाइसीज’ ‘सर्भाइभल अफ फिटेष्ट’ थ्योरीमा यि सबै कुरा सम्झाएका छन् । प्रकृतिमा जीवन प्रारम्भ हुन्छ, विकसित हुन्छ । झन्झन् विकसित हुँदै मनुष्यसम्म आइपुगेको हो । एक कोषीय अमिबादेखि मनुष्यसम्म आउँदा करोडौँ चरण पार गरेर आइपुगेको हो । यसमा अर्बौ वर्षको समय लाग्यो । विकास क्रममा अनेक प्रकारका जीवनले रूप लिए तर टिक्यो ऊ मात्रै जस्ले बाँच्नका लागि संघर्ष गर्यो । हरिण आजसम्म रहिरहनुमा उसले वाघ चितुवाबाट जोगिने उपाय खोज्यो ।
हरिणको शारिरिक बनौट, खुट्टाको बनोट, उसको शारीरिक शक्ति ६०-७० किमी/घण्टाभन्दा बढी वेगले दगुर्न पायक थिएन । उसर्ले बाँच्ने अर्को तरीका खोज्यो । त्यो तरीका थियो ६०-७० को वेगले दगुर्दा दायाँबायाँ गर्न सक्ने, मोडिन सक्ने । तर बाघ भने १०० किमी/घण्टाको वेगले दगुर्दा सजिलै दायाँवाँया र फर्किएर दगुर्न सक्दैन । हरिणको यही चलाखीपूर्ण दगुराईले हरिण अहिलेसम्म बाँचिआएको छ । तिमीलाई अचम्म लाग्ला, हरिणले यसरी आफुलाई मात्र बचाएको हैन, चितुवा र बाघलाई बचाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
त्यो कसरी नि अंकल, रचयिताले सोधिन् ?
त्यो यसरी यदि हरिणले वाघ चितुवाबाट आफुलाई सुरक्षित गर्ने उपाय न सिकेको भए हजाराैँ वर्ष पहिला नै वाघ र चितुवाले हरिण समाप्त पारेर आफू पनि भोकभोकै मर्ने थिए ।
‘टाइगर’ले सरदर २० वटा ‘अटेम्पट’ गर्दा एउटामा सफल हुन्छ । सरदर एकपटक १८-२० केजी मासु खाएपछि उसले चार–पाँच दिन खानु पर्दैन । ‘एनी मोर क्वाएशचन’ रचयिता ?
‘नो अंकल, भी गट इट’
ल अब त्यसो भए हिजो मम्मीसँग खेलेको ‘बट व्हाई’ खेल मसँग खेल, ‘आर यू रेडी ?’
‘यस वी आर ।’
रचयिता र लावण्य म अब सुत्न जान्छु ,तिमीहरू पनि गएर सुत ‘बट व्हाई अंकल ?’ दुवैले सोधे ।
भन्नुस शारदाजी हामीहरू यो ‘बट व्हाई’ को ‘गेम’ लामो खेलौँ कि यिनीहरूको ‘बट व्हाई’ एकै पटकमै सकिदिउँ ?
मलाई त यिनीहरूको हिजौकै ‘बट व्हाई’ ले अहिलेसम्म टाउको दुखिरहेको छ । चाँडै सक्नुस् यो ‘बट व्हाई’ शारदाले भनिन् ।
रामले थपे, ए बच्चा हो ! आफ्नो ‘बट व्हाई’ लाई जोडले समातेर राख, अंकलले त एउटै ‘किक’ मा तिमीहरूको ‘बट व्हाई’ लाई ‘क्लीन बोल्ड’ गर्ने पो कुरा गर्नुभो । सबै जोडले हाँसे ।
ल लावण्य, रचयिता, दुवै जना भन, आज विहान तिमीहरू कति बजे ब्युँझेका थियौ, अंकलले सोध्नु भयो ।
हामी सात बजे उठिसकेका थियाैँ, दुवैले भने ।
ओहो म पनि आज सात बजे नै उठेको थिएँ । अहिले दश बज्यो । हिसाव गर्दा म र तिमीहरू उठेको १५ घण्टा भइसक्यो । आधुनिक शरीर विज्ञानले भन्छ, हाम्रो जीब्रोले जति ‘फङ्क्शन’ गरे पनि कहिल्यै थाक्दैन । दाँत केही खाँदा, चपाउँदा मात्र श्रम गर्छन, बोल्दा थाक्दैनन् । तर हाम्रो हृदयलाई भने १२-१३ घण्टापछि निद्रारूपी विश्राम चाहिन्छ । नभए ‘हर्ट अट्याक’ हुने संभावना वृद्धि हुन्छ । र, हाम्रो सबैभन्दा महत्वपूर्ण अवयव मस्तिष्क हो । निरन्तर १४–१५ घण्टाको ‘एक्टिभेसन’ पछि यसलाई पनि निद्राको आवश्यकता हुन्छ । १५ घण्टासम्म निद्रामा गइएन भने मस्तिष्कले रगतमा ‘अल्कोहल’ बनाउने निर्देश दिन्छ । त्यसैगरी आँखालाई पनि १४–१५ घण्टापछि लामो विश्राम चाहिन्छ । यी कारणले म सुत्न जान्छु, तिमीहरूले पनि यदि आफ्ना यी अंगहरूलाई भोलिको खेलमा, पढाइमा, दिनभरि गरिने मस्तीमा उपयोग गर्नु छ भने गएर सुत । ७–८ घण्टा सुतेनौ भने भोलि तिमीले गर्ने कुनै पनि गतिविधिमा चाहे खेल होस्, पढाइ होस्, टीभी हेर्न होस, मस्तिष्कले तिमिहरूलाई पूरै ‘इन्ज्वय’ लिन दिँदैन । निर्णय तिमीहरूको … ।