पहिचान गुमाउँदैछ ऐतिहासिक जुम्ला

कर्णाली प्रदेशको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक जुम्ला यो पटक छायामा परेको छ । नेपाली भाषा, संस्कृतिको उद्गम स्थल जुम्लाले इतिहासका विभिन्न आरोह अवरोह पार गर्दै आएको पाइन्छ । सिंजा उपत्यका र यसको भाषिक, ऐतिहासिक एंव साहित्यिक पहिचानको वर्णन शताब्दी पुरुष सत्यमोहन जोशीदेखि अहिले नेपाली भाषा साहित्यमा नाम कहलिएका सबैको मुखबाट भएको देखिन्छ ।
राजनीतिक रूपले पनि जुम्लालाई कर्णाली प्रदेशको अब्बल जिल्लाका रूपमा हेरिन्छ । राधा पौडेलको मदन पुरस्कार विजेता कृति ‘खलङ्गा हमला’ पढेपछि माओवादी जनयुद्धकालमा जुम्ला कसरी बाँचेको रहेछ भन्ने कुरा बुझन गाह्रो नपर्ला । नेपालका भाषा र भाषिकाहरूको अध्ययन, अनुसन्धान गर्ने क्रममा यस पटक जुम्लाको भ्रमण गर्ने मौका जु¥यो । जुम्ला आफैँमा कर्णाली प्रदेशको समृद्ध जिल्ला भएर पनि यस पटक सङ्घीयताको बाढीमा हराएको भान भयो । तिला नदीले घेरिएको जुम्ला नेपालको उच्च पहाडी भू–भागहरूमा सबैभन्दा उर्वर र प्राकृतिक विविधताले भरिएको पाइन्छ । यहाँका नदी किनारमा खेतीयोग्य फाँटहरूदेखि स्याउका बगैँचाहरू निकै लोभलाग्दा देखिन्छन् । छैठाैं शताब्दीदेखि नै अस्तित्वमा आएको ऐतिहासिक सिंजा उपत्यका र जुम्ला (खलङ्गा) उपत्यकाले अब कर्णाली प्रदेशको नयाँ विकासको ढोका खोल्नु आवश्यक देखिन्छ । खलङ्गा बजारको मौलिक संस्कृतिमा चन्दननाथ र भैरवनाथको दर्शन यो भेगका मानिसहरूको आम पहिचान सावित भएको छ । सड्क सञ्जालबाट र हवाई सम्पर्कबाट नियमित रूपमा जोडिएको जुम्ला भाषिक, सांस्कृतिक, सामाजिक पहिचान र परिवर्तनबाट फरक मानिन्छ । मुगुको रारा ताल भ्रमण गर्ने दर्शकहरू एक रात जुम्ला बास बसेर अर्को दिन सिंजा उपत्यका हुँदै जाने सडक संरचनाले जुम्ला अझै पनि विशिष्ट महत्व राख्ने जिल्ला हो भन्न सकिन्छ । यहाँको रातो चामल (मार्सी) को भात र सिमीको दाल नेपालको अब्बल उत्पादन भनिन्छ । चन्दननाथ बाबाको आज्ञा अनुसार जिल्लाभर एकै साथ धानको बिऊ (चैत्र १२) मा राख्ने र रोपाई सुरु गर्ने (जेठ १५) प्रचलन अहिले पनि जुम्लामा देखिन्छ । आर्थिक रूपबाट यो प्रदेशकै सवैभन्दा धनी जुम्लीहरू आफ्नो जीवन र व्यबहारमा भने निकै पछि परेको भान हुन्छ ।
आर्थिक, सामाजिक र सांस्कृतिक सवलताको मात्र परिचय होइन जुम्ला । भाषिक रूपबाट पनि यसले आफनो पहिचान राखेको छ । जुम्लीहरूले बोल्ने भाषिक विविधता अन्य भारोपेली भाषहरूभन्दा पृथक छ । विकासे कार्यक्रमहरूले जुम्ला भरिएको भए पनि यहाँको भाषिक पहिचानका बारेमा खासै अध्ययन, अनुसन्धान भएको देखिन्न । जुम्ली भाषा र यसका विविध भाषिकाहरू कर्णाली अञ्चलका अन्य जिल्लाहरूमा फरक–फरक रूपबाट बोलिने गरेको पाइन्छ । तर पनि खलङ्गा आसपासको जुम्ली र सिंजा आसपासको जुम्ली भाषामा केही भिन्नताहरू देखिन्छन् । दुःखको कुरा, यो पहिचानलाई न त राज्यले चिनेको छ न त अन्तर्राष्ट्रिय निकायहरूले यसको भाषिक अध्ययन अनुसन्धन गरेर यसलाई आइ. ए. ओ कोेड दिएका छन । २०६८ को जनगननाले यसलाई नेपाली भाषिकाको रूपमा मानेको छ । जुन वास्तविकताभन्दा फरक छ। भर्खर भाषा आयोग मार्फत् जुम्ली भाषामा केही अध्ययन गर्ने जमर्को गरिएको छ तर पनि यसको विस्तृत अनुसन्धान र उत्खनन् गर्नुपर्ने देखिन्छ । यसका लागि खलङ्गा र सिंजा उपत्यकामा कम्तीमा तीनदेखि पाँच महिनाको स्थलगत अध्ययन र तथ्याङ्क सङ्कलन गरी यहाँ भएका मौलिक, भाषिक विशेषताहरू जोगाउन अति आवश्यक देखिएको छ । स्थfनीय, प्रादेशिक र केन्द्रीय सरकार बनिसकेको परिपेक्ष्यमा सम्बन्धित निकायहरूसँग छलफल एवं समन्वय गरेर जुम्ली भाषाको अभिलेखीकरण गर्नुपर्ने देखिन्छ। हवाई सम्पर्कवाट जोडिएको जुम्ला विस्तारै सडक सञ्जालको कारणले गर्दा अत्यधिक मात्रामा भाषिक अपसरणको सिकार हुन थालेको उदाहरण यसपटकको अनुसन्धानमा देखिएको छ । बाहिरबाट गएर अध्ययन गर्नुभन्दा त्यहाँको स्थानीय जनशक्तिको पहिचान गरी भाषा आयोग र भाषासँग सम्बन्धित निकायहरू मार्फत् मातृभाषामा शिक्षा कार्यक्रम सञ्चालन गर्न सकियो भने भाषालाई लामो समयसम्म जीवित राख्न सकिन्छ । राज्यले पनि यस्ता कुराहरूमा ध्यान दिन सके मृतप्रायः भएको एउटा महत्वपूर्ण भाषिक समुदायको प्रगति हुने कुरामा कसैले दुईमत राख्न सक्दैन ।
डा. गोविन्द के.सी. को आन्दोलनले जुम्ला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निकै चर्चामा आए पनि नेपाली भाषा साहित्यको उद्गम स्थल जुम्लाको वास्तविक पहिचान छायामा परेको देखिन्छ। हुन त स्वास्थ्य र शिक्षा पनि जुम्ली जनताको नैसर्गिक अधिकार एवं सरोकारकै विषय हुन् ।

(त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं भाषा विज्ञान समाजका पूर्व अध्यक्ष गौतम भाषा विज्ञान-अनुसन्धाता हुनुहुन्छ ।)

Facebook Comments
Comments (0)
Add Comment