सवारी दुर्घटनाका कारण र सुरक्षाका उपाय

सवारी साधन र पैदल यात्री एउटै सडक प्रयोग गर्छन्

कुनै पनि राष्ट्रको समुचित विकास, जनताको जीवनस्तरमा सुधार तथा समृद्धिको लागि यातायातले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यात्रुको आवागमन तथा मालसामान ढुवानी गर्ने कार्यहरू भनेका अर्थतन्त्रसँग जोडिएका प्रक्रियाहरू हुन्, जसले गर्दा यातायात अव्यवस्थित र विफल भएमा देशको अर्थतन्त्र पनि विफल हुन्छ र आशातीत सफलता प्राप्त गर्न सकिँदैन । यातायात र अर्थतन्त्रबीचको यस प्रकारको सम्बन्ध भनेको आपसी अन्तरक्रिया हो, जहाँ एकातिर आर्थिक क्रियाकलाप तथा सहरी विकासले यातायात सञ्चालन सम्बन्धी विधिलाई निर्देशित गर्छ भने अर्कोतिर यातायात स्वयंले कसरी आर्थिक क्रियाकलापहरूलाई टेवा पुर्‍याउँछ एवं सहर कसरी विकसित हुँदै जान्छ भन्ने निर्धारण गर्छ । तर यातायात सञ्जालको क्रमिक विस्तार र त्यसको जटिल व्यवस्थापन, सहरी तथा ग्रामीण क्षेत्रमा यातायातको बढ्दो माग, यातायातलाई सबैको सहज पहुँच एवं सुरक्षित बनाउनु र सहरी तथा ग्रामीण क्षेत्रबीचका प्रतिकूलता र असमानतालाई न्युनिकरण गर्नु जस्ता चुनौतीहरु ज्यादै गम्भीर हुँदै आएका छन् ।

नेपालको संविधानले हरेक नागरिकलाई स्वतन्त्र आवागमन गर्ने मौलिक अधिकारको प्रत्याभूत गरे बमोजिम उपयुक्त यातायातको विकास गर्नु अति जरुरी छ । संयुक्त राष्ट्रसङ्घले सन् २०११ को मे महिनामा सडक सुरक्षाका लागि दशकीय कार्ययोजना प्रकाशित गर्‍यो । संयुक्त राष्ट्रसङ्घको उपरोक्त विश्वव्यापी कार्ययोजनाले सदस्य राष्ट्रहरूलाई नितान्त सडक सुरक्षासँग सम्बन्धित विषयलाई समेटी आ–आफ्नो कार्ययोजना तर्जूमा गर्न निर्देश गरे अनुरूप नेपाल सरकारले पनि एकिकृत रूपमा सडक सुरक्षालाई सुधार र व्यवस्थित गर्नका लागि नेपाल सडक सुरक्षा कार्ययोजना (बि. सं. २०६७–२०७७) कार्यान्वयनमा ल्याएको छ । जस अन्तर्गत नेपालको सार्वजनिक सवारीलाई भरपर्दो, सुरक्षित, वातावरणमैत्री तथा सर्वसाधारणको पहुँचमा पुर्‍याई रोजगारीको सृजना गर्नुका साथै आर्थिक विकासमा टेवा पुर्‍याउने गरी विकास गर्ने लक्ष्य लिइएको छ । नेपालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बीमा व्यवस्था गर्न र सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढङ्गबाट यातायात सुविधा उपलव्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउने उद्देश्य राखेको छ । यद्यपि, विशेष भौगोलिक बनावटका कारण देशका सबै जिल्ला सदरमुकाम लगायत दुर्गम क्षेत्रसम्म सडक पुर्‍याउनु, बाह्रै महिना सुरक्षित र भरपर्दो यातायात सञ्चालन गर्नु, निजी लगानीकर्तालाई सडक निर्माणमा आकर्षित गराउनु, सडक निर्माणसँग सम्बन्धित विभिन्न निकायहरुबीच समन्वय गर्नु, निर्माण तथा मर्मत् कार्यमा पारदर्शिता, विश्वसनीयता, प्रभावकारिता र गुणस्तरीयता कायम गर्नु, प्राकृतिक प्रकोपको कारणबाट क्षति हुन सक्ने सम्भावनाहरूको मूल्याङ्कन तथा न्यूनीकरणका उपायहरू अवलम्बन गर्नु जस्ता प्रमुख चुनौतीहरू यातायात क्षेत्रले सामना गरिरहेका प्रमुख बिषयहरू हुन् । योसँगै उचित योजना बन्न नसक्नु, व्यक्ति केन्द्रित योजना बन्नु, पहुँच र प्रभावका आधारमा योजना छनौट, प्रभावशाली व्यक्तिको जग्गालाई समेट्न अनावश्यक सडक बनाउने वा दूरी बढाउने प्रचलन एवं अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा नगरी काम गर्ने प्रवृत्ति पनि नेपालको यातायात व्यवसाय क्षेत्रको प्रमुख चुनौती एवं दुर्घटनाको कारकको रूपमा रहेको पाइन्छ ।

 

के हो सवारी दुर्घटना ?

सवारी दुर्घटनाका बारे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा कहीँ कतै परिभाषित गरिएको पाइँदैन । प्रचलित मान्यता अनुसार, कुनै सवारी साधनले अर्को वा सडकमा रहेका अन्य सजिव वा निर्जिव बस्तुलाई ठक्कर दिन्छ र त्यसबाट क्षति हुने, घाइते हुने र मृत्यु हुने तीन वटा अबस्थामध्ये कुनै एक वा बढी अवस्था सिर्जना हुन्छ भने त्यसलाई सवारी दुर्घटना भनिन्छ । नेपाली बृहत् शब्दकोश अनुसार – कुनै ब्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना अर्थात अपर्झट आइपरेको कष्टपूर्ण अशुभ घटना दुर्घटना हो । काबु बाहिरको घटना कल्पनाभन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो । अर्थात् हेलचेक्क्र्याइँ (वेवास्ता,  उपेक्षा, ध्यान नदिने) वा लापरवाह (असावधान, होसियारी नभएको) बाट निम्तिने गर्छ ।

माथिका दुर्घटनाका विवरणहरूलाई विश्लेषण गर्ने हो भने यो आर्थिक  वर्षको जेठ मसान्तसम्म मात्रै हामीले २ हजार ३ सय १८ जनालाई सवारी दुर्घटनामा गुमायौं । करिब ४ हजार गम्भीर घाइते भएका छन् । आठ हजार जना साधारण घाइते भएका छन् । त्यस्तै १६ हजार ४ सयभन्दा बढी सवारी साधन दुर्घटनामा परेका छन् । यसरी भएका सवारी दुर्घटनामा ज्यान गुमाउने ब्यक्तिको परिवारमा पर्न गएको आर्थिक, सामाजिक तथा मानसिक क्षतिलाई कुनै शब्द र अङ्कमा गणना गर्न सकिँदैन । यद्यपि यसबाट भएको भौतिक क्षतिलाई हेर्ने हो भने अर्बो रुपैयाँको क्षति भएको छ ।

गन्तब्य जोड्न सडकमा निस्किँदा कुनै पनि समयमा दुर्घटना हुनसक्ने सम्भावना/अवस्थामाथिको तथ्यबाट प्रष्ट हुन्छ । २४ घण्टाको अवधिलाई चार भागमा छुट्याएर विश्लेषण गर्ने हो भने कुनै त्यस्तो समय छैन, जुन समयमा सवारी दुर्घटना नभएको होस् । बिहान, दिउँसो वा राती सबै समयमा दुर्घटना भएका छन् । यसबाट सडक यात्रामा निस्केपछि चाहे बिहानको समय होस, चाहे दिनको समय होस् वा रातको समय नै किन नहोस् जतिखेर पनि सजग र सचेत रहनुपर्छ र सडक सुरक्षालाई ध्यान दिनुपर्छ भन्ने कुरा निर्विवाद छ ।

१) मानवीय कारण

  •  मादक पदार्थ सेवन गरी सवारी चलाउनु ।
  • तीब्र गति ।
  • लापरबाही (चालक तथा पैदल यात्रु)
  • ट्राफिक नियम पालना नगर्ने/बेवास्ता ।
  • यात्रु चढाउन, झार्न, सामान लोड–अनलोड गर्न, कुनै काम विशेषले वा सवारी साधनमा आएको समस्याको कारणबाट किनारा नलगाई बीच बाटोमै रोक्नु  ।
  • यात्रुहरू जबर्जस्ती छतमा चढ्ने, झुण्डिने र चल्ती सवारी साधनमा चढ्ने झर्ने गर्नाले ।
  • सवारी चालक अनुमति पत्र बेगर सवारी साधन चलाउने ।
  • लामो समयसम्म एउटै सवारी चालकले सवारी चलाउने ।
  • ओभरलोड ।
  • छाडा चौपाया तथा पशु-पक्षी ।
  • ट्राफिक नियमको पालना नगर्नु ।
  • अन्य सवारी साधनलाई प्राथमिकता नदिनु ।
  • चालकलाई सवारी साधनको अवस्थाबारे पूर्ण रूपमा जानकारी नहुनु ।
  • चालकमा दक्षताको कमी ।
  • जथाभावी पार्किङ्ग र लेन अनुशासन पालना नगर्नु ।
  • अनिद्रा, थकान, बढी उत्तेजनामा सवारी साधन चलाउनु ।
  • राजमार्गमा बस्ती विस्तार हुनु ।
  • घरपालुवा जनावरहरू सडकमा छाड्नु ।
  • सडकमा बालबालिकालाई खेल्न छोड्नु ।
  • सडकमा खाद्यान्न सुकाउनु ।
  • सडक अतिक्रमण ।
  • सडकमा व्यापार ।

२) यान्त्रिक कारणः

  • सवारी साधनको यान्त्रिक अबस्था ठीक नहुनु ।
  • समय समयमा मर्मत, सम्भार नहुनु  ।
  • गुणस्तरीय सामानको प्रयोग नहुनु ।
  • सवारी साधनको अवस्था ठीक नहुनु ।
  • ब्रेक फेल, स्टेरिङ्ग फेल ।
  • लाइट ठीक नहुनु  ।
  • टायरको अवस्था ठीक नहुनु  ।
  • ट्राफिक नियन्त्रण गर्ने प्रविधिको अभाव ।
  • सवारी साधनमा गुणस्तरीय सामानको प्रयोग नहुनु ।
  • धेरै पुराना सवारी साधनहरूलाई मर्मत गरेर चलाउने गर्नु ।

३) वातावरणीय कारणः

  •  बाक्लो हुस्सु, कुहिरो, धुलो–धुवाँ आदिले पारदर्शिता (Visibility) कम हुनु ।
  • सडक छेउमा राखिएका विज्ञापनका होर्डिङ्ग बोर्ड ।
  • वर्षा, हिमपात ।
  • बाढी, पहिरो, चट्याङ्ग, आगलागी ।
  • प्रचण्ड गर्मी, अत्यन्त चिसो ।

४) सडकको कारणः

  • भौतिक पूर्वाधारमा कमी (अधिकांश सडकमा खाल्डाखुल्डी र उबडखाबड हुनु) ।
  • पर्याप्त सडक फर्निचरको अभाव ।
  • सवारी साधन तथा पैदल यात्री सबैले एउटै सडक प्रयोग गर्नु (Dedicated Lane) को अभाव ।
  • पुराना र साँघुरा सडक ।
  • बैकल्पिक बाटो नहुनु । सडकमा अत्यधिक सवारी चाप ।
  • सडकको अवस्था चिह्नाउने ट्राफिक सङ्केतको अभाव ।
  • गति सीमा निर्धारण नहुनु ।

सवारी दुर्घटना रोकथामका उपायहरुः–

  • सडक सुरक्षाका विषयमा पाठ्यक्रम बनाई विद्यालय तहमा अनिवार्य गर्ने, जनचेतनामा अभिवृद्धि गरी ब्यक्तिको स्वभाव (Attitude) मा परिबर्तन ल्याउने ।
  • ट्राफिक चेकजाँचलाई तीब्रता दिने ।
  • सवारीको अगाडि र पछाडिको भागमा अनिवार्य रूपमा चम्किलो बस्तु (Light Reflctor) को प्रयोग गर्न लगाउने ।
  • समय समयमा सवारी चालकको आँखा लगायत स्वास्थ्य परिक्षणको ब्यबस्था गर्ने ।
  • सवारी साधनहरूबाट उत्पन्न हुने आवाजलाई Sound Proff गर्ने व्यवस्था गरिनुपर्ने ।
  • यात्रुहरुले सवारी साधन राम्रोसँग रोकिएपछि मात्र चढ्ने र ओर्लने बानी बसाल्ने ।
  • लामो दूरीमा चल्ने सवारी साधनमा दुई जना चालक राख्नुपर्ने कानूनी ब्यवस्थाको पूर्ण कार्यान्वयन गर्ने ।
  • चालक तथा यात्रुका लागि ठाउँ ठाउँमा रिफ्रेश सेन्टरको स्थापना र प्रभावकारी सञ्चालन ।
  • स्थानीय स्वायत्त शासन ऐन २०५५ को प्रावधान अनुरूप छाडा चौपाया तथा पशु-पक्षीलाई नियन्त्रणमा लिई लिलाम गर्ने, जरीवाना गर्ने ।
  • सडकमा ट्राफिक सङकेतहरू राखिनुपर्ने जस्तैः बाटो निर्माण हुँदैछ, साँघुरो बाटो, उकालो, ओरालो, घुम्ती तथा मोड, अगिड शाखा बाटो, जेब्रा क्रसिङ्ग, गति सीमा, अगाडि चोक इत्यादि ।
  • सडकहरू विस्तार गरिनुपर्ने, सडकको प्राविधिक परीक्षण पश्चात रुट तथा सवारी सञ्चालन अनुमति दिनुपर्ने ।
  • बैकल्पिक सडकहरूको निर्माण गरिनुपर्ने ।
  • सडकको अवस्था खराब भएका स्थानमा समय–समयमा मर्मत सम्भार तथा सुधार गरिनुपर्ने ।
  • सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया वैज्ञानिक हुनुपर्ने ।
  • सबै प्रकारका सवारी साधनको निश्चित आयु तोकिनुपर्ने, पुराना र थोत्रा सवारी साधनहरूलाई पूर्ण रूपमा विस्थापित गरिनुपर्ने ।
  • भौतिक पूर्वाधारहरू बढाइनुपर्ने ।
  • चालक तथा सडक प्रयोगकर्ताहरूले सवारी नियमको पालना गर्नुपर्ने ।
  • लामो दूरीका सवारी साधनहरूलाई लागु गरिएको टाइमकार्ड व्यवस्थित रूपमा पालना भए, नभएको चेकजाँच हुनुपर्ने ।
  • सवारीसँग सम्बन्धित ऐन र नियमावलीहरूमा समायानुकूल सुधार गरी कडाइका साथ लागु गरिनुपर्ने ।
  • सवारी साधनको यान्त्रिक अवस्था चेकजाँचको लागि देशका बिभिन्न स्थानमा पर्याप्त मात्रामा Vehicle Fitness Testing Center को स्थापना गर्ने ।
  • सवारी साधनहरूमा पहेंलो, उज्यालो रङ्गको प्रयोगलाई प्रोत्साहित गर्ने ।
  • क्षेत्रीयस्तरमा सवारी चालक प्रशिक्षण केन्द्रको स्थापना गरिनुपर्ने
  • सडक सुरक्षाका विषयसँग जोडेर हाजिरी जवाफ, निबन्ध प्रतियोगिता, चित्रकला, वक्तृत्वकला, ट्राफिक सप्ताह जस्ता कार्यक्रम सञ्चालन गर्ने ।

निष्कर्ष

सडक यात्राका क्रममा उल्लिखित कारण र समाधानका उपायहरूलाई विचार गरी आफ्नो यात्रा अनि गन्तब्य तय गर्ने हो भने धेरै हदसम्म सवारी दुर्घटना घटाउन सकिन्छ । हालसम्मको अनुभवमा यातायातसँग सम्बन्धित विषयहरूको योजना तर्जूमा, कार्यान्वयन, अनुगमन मूल्याङ्कन तथा यातायात क्षेत्रको समग्र व्यवस्थापन गर्ने कार्य त्यति प्रशंसनीय हुन सकेको छैन । यसका लागि संस्थागत कमी कमजोरीको महत्वपूर्ण भूमिका रहेको छ । सम्बद्ध विभिन्न निकायहरुबीचमा उचित समन्वय हुन नसक्नु र अधिकार प्राप्त मुख्य संस्थाको रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग अझ सक्षम एवं स्रोत, साधन सम्पन्न हुन नसक्नुले संस्थागत कमी कमजोरीहरू प्रष्टै देखिएका छन्। यस क्षेत्रमा नीतिगत समन्वय आवश्यक रहेको भए पनि सरकारी प्राथमिकतामा पर्न सकेको छैन, बरु पूर्वाधार एवं सडक निर्माणमा नै बढी ध्यान केन्द्रित गरिएको अबस्था रहेको छ । नेपालको सडक निर्माणमा विशेषगरी “थ्री डी” (डोनर, डोजर र डन) को बोलवाला छ । सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वयको अभावमा निर्णय प्रक्रिया एकिकृत प्रकृतिको हुन नसकी तदर्थवादी भएको छ । योजना तर्जुमा प्रक्रिया नै दीर्घकालीन सोचबाट निर्देशित हुन सकेको छैन । यातायातसँग सम्बन्धित योजनाहरू बनेता पनि तर्जूमा प्रक्रिया, आवश्यक स्रोत, साधनको व्यवस्था तथा कार्यान्वयनबीच एकआपसमा मेल देखिएको छैन । नेपालले नीतिगत रूपमा अत्यन्तै ध्यान दिनुपर्ने विषयमध्ये यातायात व्यवस्थापन पनि एक हो । यातायात व्यवस्थापनका लागि यातायात सम्बन्धी नीतिहरू एवं आयोजनाहरुबीचको समन्वय, सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन एवं यातायात क्षेत्रसँग सम्बन्धित समस्या समाधानका उपायहरू आवश्यक पर्दछन् । यी समाधानका उपायहरूलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन चरणमा विभाजन गरी समन्वयात्मक तरिकाबाट कार्यान्वयन गरिने हो भने सवारी दुर्घटनाबाट भैरहेको धनजनको क्षतिलाई कम गर्न सकिन्छ । तसर्थ, असुरक्षित सडकलाई सुरक्षित बनाउन तथा सडक प्रयोगकर्ताले निर्धक्कसँग सडक सवारीको उपभोग गर्नसक्ने अवस्थाको सिर्जना गर्न सम्बन्धित सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ ।

brish.thapa2@gmail.com

(लेखक प्रहरी नायब निरीक्षक हुनुहुन्छ ।)

 

Facebook Comments
Comments (0)
Add Comment