स्थानीय भाषामा त्यहाँको मौलिक, रैथाने परम्परागत ज्ञान लुकेको हुन्छ । भाषाले विभिन्न प्रकारका सूचना आदानप्रदानका लागि सामाजिक वस्तुको सन्दर्भ लिएको हुन्छ । भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदान–प्रदान सतही हुनजान्छ । जस्तो उँधौली, उँभौली, गुनिपुह्नी, माघी जस्ता विषयको कुरा गर्दा भाषाले बोकेको संस्कृति हस्तान्तरण हुन सकेन वा भाषाका तत्त्वहरू र पर्यावरणीय तत्त्वहरूबीचको सम्बन्ध जोड्न सकिएन भने सांस्कृतिक ह्रास हुनजान्छ र परम्परागत ज्ञानको स्थानान्तरणमा बाधा पुग्छ ।
परम्परागत ज्ञान एक संज्ञानात्मक कुरा हो । भौतिक, जैविक, पारिस्थितिकीय प्रणाली, जनजाति वनस्पति, शिल्पकारी, औषधि, विज्ञान आदि परम्परागत ज्ञानको डोमेनभित्र पर्छन् । परम्परागत ज्ञानको उत्पत्ति वैदिक साहित्यदेखि हालसम्म भए गरेका मौलिक, रैथाने विज्ञान प्रविधिको अवधारणामा खोज्नुपर्छ । वैदिक साहित्यमा संस्कृति, राष्ट्र, वर्ग, जाति, जनजाति जस्ता समुदायमा बाँचेका मानिसलाई जनजाति अर्थात् इथ्नोजाति भन्छ । तर आज शासक र जनजाति अलग–अलग हुन् भन्ने बुझाइ छ । त्यसैले परम्परागत वा इन्डिजेनस वा इथ्नो विज्ञान र प्रविधिमा राजनीतिक दूर्गन्ध र धार्मिक, सांस्कृतिक अन्धविश्वासको विष छरिएको छ । हामी तटस्थ भएर सोच्न पनि तयार हुँदैनौँ । ‘भू-गोल’ लाई पृथ्वी चेप्टो छ भनेर पढाइएको ज्ञान नै त्यसको बाधक तत्त्व हो ।
संस्कृत शिक्षा भन्ने बित्तिकै पाप र पुण्यको पोको वा अन्धविश्वासको कुथुरो भनेर पन्साउने बानीले हाम्रो परम्परागत विज्ञान प्रविधि ओझेलमा परेको छ । अङ्ग्रेजी भाषामा शब्द नपुगेर इतिहास खोज्दै ग्रीक र ल्याटिन पुगेर ल्याटिन नोमेङ्क्लेचर बनाउँदा वैज्ञानिक नाम हुने अनि संस्कृतमा, पालीमा वा हाम्रा रैथाने भाषामा लेखिएका नाम चाहिँ वैज्ञानिक नहुने भन्ने कुराको आधार के हो त्यसको उत्तर हाम्रा आधुनिक भन्ने वैज्ञानिकले दिनुपर्छ । नत्र परम्परागत ज्ञानको बौद्धिक सम्पत्ति नेपालले जोगाउन सक्दैन । यो कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
परम्परागत ज्ञानको बौद्धिक सम्पत्तिका सन्दर्भमा भाषाको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । कुनै पनि सामग्री वा वस्तुको पेटेन्ट, व्यापार चिह्न, डिजाइन लगायत औद्यौगिक कुरा बौद्धिक सम्पत्तिमा पर्दछन् । प्रकृतिले दिएको स्रोत–साधनलाई मानवीय क्षमता प्रयोग गरी जीवन उपयोगी बनाउनु बौद्धिक सम्पत्ति हो । बौद्धिक सम्पत्तिभित्र सुरक्षण गर्नुपर्ने महत्त्वपूर्ण वस्तु भनेको परम्परागत ज्ञान पनि हो । परम्परागत ज्ञानको संरक्षण गर्दा निम्न कुराको संरक्षण हुने भनी आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।
जैविक विविधताको संरक्षण
खाद्य सुरक्षा
वातावरण व्यवस्थापन
दिगो विकास
प्राथमिक स्वास्थ्य
समुदायको पहिचान र सामाजिक समन्वय
सांस्कृतिक विविधता
जीवनस्तरमा सुधार
तर बौद्धिक सम्पत्तिलाई नेपालको कुनै दस्तावेजमा राम्ररी परिभाषित गर्न सकिएको छैन ।
२०२२ सालमा बनेको ऐनले हालसम्मका पेटेन्ट, डिजाइन ट्रेडमार्कलाई धानेको छ । राजनीतिक परिवर्तन भए पनि बौद्धिक सम्पत्ति कानुन निर्माण नभएकाले बौद्धिक सम्पत्ति संरक्षणको क्षेत्र ओझेलमा परेको छ । विकसित मुलुकमा एकै वर्षमा हजारौँ पेटेन्ट दर्ता हुन्छन् । अमेरिका, जापान, युरोपियन युनियन त्यसै धनी भएका होइनन् । त्यहाँ डिजिटल संस्कृतिको विकास भएको छ । गरिब मुकुकका प्राकृतिक सम्पदामाथि पेटेन्ट दर्ता गरी विश्वव्यापी व्यापार गर्छन्। हाम्रा प्राकृतिक सम्पदा बेचेर अरुहरू धनी भएको कुरा तथ्यले प्रमाणित गर्दछ । नेपालको सन्दर्भमा परम्परागत वनस्पति पाँचऔले, रूद्राक्ष, च्याउ, यार्चागुन्बुलगायतलाई बौद्धिक सम्पत्तिभित्र विस्तार गर्ने कुरा उठेको छ तर काम हुनसकेको छैन ।
यसलाई परम्परागत ज्ञानभित्र संरक्षण गर्नुपर्छ । जैविक विविधता, सांस्कृतिक विविधता र भाषिक विविधता हाम्रो संस्कृतिका संवाहक हुन् । तर हाम्रो जैविक विविधता खतरामा पर्दैछ र जैविक, सांस्कृतिक र भाषिक विविधता लोपोन्मुख अवस्थामा छन् । स्थानीय भाषामा परम्परागत सांस्कृतिक, प्राकृतिक सम्पदा जस्तै सांस्कृतिक नाम, भौगोलिक नाम र व्यक्तिनाम, वनस्पति, बोटबिरुवाहरु, जनावर, कीरा फट्याङ्राहरूको समेत अस्तित्व बाँचेको हुन्छ । यिनको लोप भनेको ती सम्पदाको नामकरण गरिएका सम्बन्धित भाषा तथा ज्ञानको लोप हो । देशलाई दीर्घकालीन असर पार्ने यस्ता कुरा राज्य सञ्चालक वा सामाजिक शक्ति हातमा लिएर बसेका लोकप्रशासकलाई चासो देखिएको छैन ।
हाल अमेरिका, बेलायत जस्ता देशले घिउकुमारी, तुलसी, हर्रो, अनार, कालाजिरा र अश्वगन्धा आदिको उत्पादनमा पेटेन्ट दर्ता गराइसकेका छन् भने भारतले निम, हलेदो जस्ता सम्पदा आफ्नो नाममा दर्ता गराइसकेको छ । भारत डल्ले खोर्सानी र कुचिलो समेत दर्ता गराउने प्रयासमा छ । नेपालमा बौद्धिक सम्पत्ति संरक्षणमा काम गर्न ढिला भए कसार र सेलरोटीमा समेत छिमेकी देशले पेटेन्ट दर्ता गर्नेछन् ।
नेपालमा बौद्धिक सम्पत्तिलाई संरक्षण गर्ने गरी एकीकृत र व्यापक बौद्धिक सम्पत्ति कानून बनेको छैन । प्रविधि धेरै अघि गएको छ । प्रविधि अघिअघि कानुन पछिपछि देखिएको छ । हामीले हाम्रा संस्कृति र सम्पदालाई शिक्षाको पाठ्यक्रममा समावेश गर्न सकेका छैनौँ। जैविक स्रोतहरू र जैविक उत्पादनहरूमा बायो पाइरेसीले स्वामित्व र नियन्त्रणमा विदेशीले वैधता प्राप्त गरेको अवस्था छ । हाम्रो परम्परागत बौद्धिक सम्पत्ति आयुर्वेद, योग, संस्कृतिमा एवम् संस्कृत, पाली, तिरहुत, अरबी, फारसी र आधुनिक अङ्ग्रेजी, जर्मन भाषामा मूल एवं अनुवाद भएर रहेको छ ।
त्यस्तो ज्ञानलाई खोजेर त्यसमा भएका विविध अनुशासनलाई सरकारी कामकाजको भाषामा एकीकृत गर्ने हो भने मात्र हाम्रो बौद्धिक सम्पत्तिमाथि दावी गर्न सक्ने अवस्था रहन्छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठनले स्थानीय भाषालाई समेत बौद्धिक सम्पत्ति मानेको छ । किनभने मूल भाषामा सांस्कृतिक सम्पदाको ज्ञान हुने हुनाले तत्तत् भाषामा प्राकृतिक सम्पदाको ज्ञान हुन्छ । त्यसको संरक्षण महत्त्वपूर्ण हुन्छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको असल शासन अभिलेखमा ७५ हाल ७७ जिल्लाका नेपालीको नाम थर र ठेगानामा २ करोड ६४ लाख गलत प्रविष्टि छ । स्वदेशी भाषामा इन्टरफेसको निर्माण, परम्परागत संस्कृतिका फोटो साझेदारीदेखि बैंक, ऋण प्रक्रिया, विश्वविद्यालय अनुसन्धानका डाटा स्थानीयकरण, भण्डारण प्रक्रियाको राम्रो व्यवस्था छैन । ज्ञान सामग्री व्यवस्थित गर्न नसकेकै कारणले नेपालका प्राकृतिक सम्पदाको पाइरेसी बढेको हो ।
नेपाल सरकार इ-प्रशासन, इ-स्वास्थ्य, इ=शिक्षा र इ-व्यवसाय लागु गर्न अङ्ग्रेजी भाषा प्रयोग गर्छ । नेपाली भाषामा अनुप्रयोग निर्माण गरेर स्थानीय समुदायसम्म प्रविधिको पहुँच पुर्याउन सके रैथाने ज्ञानको विस्तार हुने थियो । कम्प्युटरमा स्थानीय भाषा र सांस्कृतिक पहिचानको जानकारी निश्चित कोडमा गरेर, स्थानीय लगत भण्डार (सिएलडिआर) लाई विश्वव्यापी पहिचान दिएर प्रविधिमा मौलिक रैथाने सांस्कृतिक पहिचान राख्न सकिन्छ ।
विभिन्न देशहरूमा स्थानीय भाषा र सांस्कृतिक पहिचानको अलग डाटा हुन्छ । भू-स्थानीय सांस्कृतिक लगतमा भौगोलिक स्थानहरू, भाषा र राष्ट्रिय सांस्कृतिक जानकारी, स्थानीय समय, मिति र समय, मिति र नाम समयका ढाँचाहरू, मुद्रा स्वरूप, मुद्रा प्रतीक, सकारात्मक मुद्रा ढाँचा, मुद्राको नकारात्मक गणनाको प्रबन्धन, मुद्रा ढाँचा, दशमलव प्रतीक, अङ्क समूह प्रतीक, स्थानीय भाषा र लिपिका नाम, नम्बर ढाँचाहरू, नम्बर प्रतीक, नम्बर प्रणाली, सहरका नाम आदि आधारभूत कुराहरूलाई स्पष्ट मानक स्वरूपमा सेटिङ गर्नुपर्छ । अनि मात्र परम्परागत ज्ञानको अटोमेसन मार्फत् संरक्षण गर्न सकिन्छ ।
मिति र समयको दृश्यात्मक स्वरूप YYYY-MM-DD, MM-DD-YYYY अथवा कतै DD-MM-YYYY को क्रममा मिलाइएको हुन्छ । सांस्कृतिक रूपमा विभिन्न देशहरूमा फरक किसिमको पात्रो चलाउने प्रचलन छ । ग्रेगोरियन पात्रोमा १३र १२ र२०७२ वा चैत्र १३, २०७२ एउटा मानक ढाँचा हुन्छ भने विक्रम सम्बतको पात्रो अनुसार २०७२ चैत्र १३ हुन्छ । तर नेपाल सरकारको आधिकारिक डिजिटल पात्रोसम्म पनि छैन । मितिको फर्म्याटमा दिन, महिना, वर्षका फरक–फरक प्रस्तुति हुन्छन् । कम्प्युटर इन्टरफेसमा स्थानीय ढाँचाको मितिको प्रस्तुति स्वतः अर्को पात्रोअनुसार रूपान्तरित गर्न आवश्यक पर्छ ।
यसैगरी युरोपेली समयलाई १२ घण्टे एएम रपिएम को सट्टा २४ घण्टे घडी प्रयोग गरिएको हुन्छ । कोलनले (घन्टा, मिनेट र सेकेन्ड छुट्याएको हुन्छ तर नेपालीमा पूर्वाह्न र अपराह्नले घन्टा र मिनेट विभाजन गर्छन् । कम्प्युटर अटोमेसनमा भूस्थानीय पहिचान इन्टरफेस निर्माण गर्न सकियो भने मात्र परम्परागत ज्ञानको संरक्षण गर्न सकिन्छ । परम्परागत ज्ञानसँग जोडिएको ज्ञानलाई त्यहीँको भाषामा स्थानीयकरण गर्नुपर्छ र एकीकृत ज्ञानभण्डार (Integrated Knowledge Bank) को स्थापना गर्नुपर्छ ।
स्थानीय जनजातिका १२० संस्कृतिका ५ खानेकुराका ६०० वटा खाना लिने । एउटा खाना बनाउन ५ वटा वनस्पतिले ६०० वटाको ३००० वटा वनस्पति हुने भयो । त्यसमा परम्परागत औषधीका १० वटा वनस्पतिका नाम थप्दा ३०००ं १२०० अर्थात् ४,२०० हुन्छ । यी नाम दर्ता गरेर नेपाली खाद्यान्नमा विविधता ल्याउन सकिन्छ । नेपाली भाषा बाहेकका अन्य राष्ट्रभाषाका शब्द एकअर्को भाषामा साटासाट गरेर नेपाली लगायत नेपालका अन्य भाषामा शब्द बढाउन सकिन्छ । संस्कृतिका माध्यमबाट वनस्पति विज्ञानको अध्ययन गर्न सकिन्छ । ६०० खानालाई राष्ट्रिय मानक तोकेर बजार ९होटेल, रेष्टुरेन्ट, उड्डयन कम्पनी, पर्यटन० मा लागु गर्ने हो भने ५०५ खानाले पनि बजार लिन सक्यो भने नेपालका ३०० रैथाने खानाले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता पाउँछन् । रैथाने बिउको रक्षा हुन्छ ।
नेपाल सरकारको राष्ट्रिय मानक हेर्ने निकाय नेपाल गुणस्तर तथा नापतौल विभाग हो । यो उद्योग मन्त्रालय अन्तर्गतको एउटा सरकारी सङ्गठन हो । यसले बजारमा चलनमा आएका वस्तुमध्ये उत्कृष्ट वस्तुलाई मानक चिह्न प्रदान गर्दछ । तर कम्प्युटर सञ्चालन मानक यसले हेर्दैन । सूचना प्रविधि वा कम्प्युटर सञ्चालन प्रणाली र सरकारी कामकाजको भाषा र अन्य राष्ट्रिय भाषा सम्बन्धी मानक तयार गरेर आइएसओसँग समन्वय गर्न सके हाम्रा ज्ञानको ज्ञानभण्डार बढाउन सकिन्छ । नेपाल सरकारसँग यसको आधिकारिक निकाय छैन ।
विविध जैविक वनस्पति, बहुजाति, बहुभाषा र बहुसंस्कृति, भाषिक, सांस्कृतिक र जातीय विविधता, उद्योग, ब्यापार र कृषि प्रणाली जस्ता कुरा रैथाने भाषा र संस्कृतिभन्दा बाहिर हुँदैनन् । उद्योग, ब्यापार र आयात निर्यातदेखि डब्लुटिओ अथवा विश्व ब्यापार सङ्गठन जस्ता अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा समेत भौतिक वस्तुमाथि लेनदेनको व्यवहार मात्र गरेर पुग्दैन । त्यहाँको मौलिक रैथाने वनस्पति, त्यसको स्थानीय नाम, त्यसबाट उत्पादन हुने वस्तु र त्यो वस्तु तयार गर्ने विधि उल्लेख गरेर राष्ट्रिय ज्ञान भण्डारमा दर्ता गरेर मात्र सन्धि, सम्झौता र ब्यापार गर्नुपर्छ । राष्ट्रिय मानक ऐन बनाएर प्रकृतिले निःशुल्क उत्पादन गरेका हरित सम्पत्तिलाई नेपालीको बौद्धिक सम्पत्तिमा दर्ता गर्नुपर्छ । यसो गर्नाले नेपालको हरित अर्थतन्त्रमाथि मडारिएको कालो बादल जस्तो जैविक वस्तुको पाइरेसी ९चोरी० रोक्न सक्छ र हाम्रा परम्परागत खानेकुरा गुन्द्रुक, कसार, योमरी, बारा, क्वाँटी, सेलरोटी बनाउन चाहिने वनस्पति के के हुन्, ती वनस्पतिको बिउबिजनमाथि दातृसंस्था, विश्व ब्यापार सङ्गठन, विश्व बौद्धिक अधिकार सङ्गठन जस्ता सङ्घसंस्थाले खेलबाड गर्ने सम्भावनालाई न्यून गर्न वा बन्द गर्न सकिन्छ ।
लेखक भाषा, सम्पदा, जरोकिलो र मौलिक रैथाने पद्धतिकाअन्वेषक हुनुहुन्छ