कुनै पनि व्यक्तिले दुई सातासम्म नियमित दैनिक ३० मिनेट मात्र ध्यान गर्दा मस्तिष्कमा सामान्य परिवर्तन देखिन थाल्छ । अझ लामो अवधि ध्यान गर्दा त मस्तिष्कमा व्यापक सकारात्मक असर नै देखिन्छ । ‘इइजी’, ‘एमआरआई’ र ‘एफएमआरआई’ जस्ता प्रविधिबाट ‘ब्रेन स्क्यान’ गरेर हेर्दा ध्यान अभ्यासकर्ताको मस्तिष्कका तरङ्ग अन्यको भन्दा फरक पाइएको छ ।
–रिचर्ड डेभिड्सन, अमेरिकी न्युरो वैज्ञानिक
केही वर्षयता अमेरिकी न्युरो वैज्ञानिक प्रा. डा. रिचर्ड डेभिड्सनको ‘न्युरो विज्ञान र ध्यान’ सम्बन्धी अनुसन्धानमूलक लेख पाएसम्म पढ्दै आएको छु । उनको परिचय न्युरो वैज्ञानिकमा मात्र सीमित छैन, उनी आफैँ पनि ‘माइन्डफुलनेस’ ध्यानका नियमित अभ्यासकर्ता हुन् ।
एक वैज्ञानिकको हैसियतमा कुनै पनि विषयवस्तुमाथि गरिएको अनुसन्धानलाई प्रामाणिक बनाउनु उनको प्राथमिक दायित्व हो । अमेरिकाको ‘युनिभर्सिटी अफ विस्किन्सिन, म्याडिसन’ उनको कर्मथलो हो । ध्यानले मानिसको मस्तिष्कमा कसरी परिवर्तन ल्याउँछ ? ध्यान कसरी खुशीको सूत्र बन्न सक्छ ? यी अनि यस्तै यावत विषयमा अनुसन्धान गर्न उनी घोत्लिइरहन्छन्। उनका सयौं अनुसन्धानमूलक लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा छापिइसकेका छन् ।
पछिल्लो केही समयदेखि अनुसन्धान र ध्यान–साधनाका सिलसिलामा उनी नेपाल आउजाउ गरिरहन्छन् । निकै प्रयत्नपछि यसपालि उनीसँग भेटेर विज्ञान र ध्यानबारे कुराकानी गर्ने अवसर जुट्यो । हामीकहाँ अझै पनि ध्यानलाई विज्ञानको कसीमा राखेर अध्ययन/अनुसन्धान गर्ने परिपाटी विकसित भइसकेको छैन । त्यही भएर पनि रिचर्डसँग भेट्नुअघि मेरो मनमा तीव्र उत्सुकता थियो ।
स्वयम्भुस्थित तेरगार ओसेलिङ गुम्बामा ‘जोय अफ लिभिङ’ ध्यान शिविर चलिरहेको थियो । बौद्घ ध्यानगुरु मिङ्ग्योर रिम्पोछेको मार्गनिर्देशनमा सञ्चालित उक्त शिविरमा सहभागी हुन रिचर्ड अमेरिकाबाट नेपाल आएका थिए । गत चैत महिनाको पहिलो साता हामीले (अरुणजी र म) गुम्बाकै ध्यानहलअगाडि उनीसँग भेटेर छोटो कुराकानी गर्यौ । उनी ध्यान शिविरको छोटो विश्रामका बेला बाहिर निस्किएका थिए ।
रिचर्ड अहिले ६७ वर्षका भए । तर, उनलाई हेर्दा मलाई त्यस्तो लागेन । उनको अनुहारको चमक अनि सन्तुष्टि हेर्दा लाग्थ्यो –उनी ५५–५६ वर्षका मात्र भएका छन् ।
‘अनुसन्धाताले बाहिरका विषयवस्तुबारे अनुसन्धान गर्छ, भित्री अनुसन्धान गर्न ध्यानको आवश्यकता पर्छ । ममा ऊर्जा अनि खुशी आउनुको कारण नियमित ध्यान अभ्यास गर्नु हो ।’
उनले शुरुमै हाम्रो जिज्ञासा मेटाउने प्रयास गरे । त्यही दिन उनी नेपाल छाड्दै थिए, दिउँसोको ‘फ्लाइट’ थियो । त्यही भएर उनले एकदमै छोटो समय दिए ।
‘ध्यानले मस्तिष्कमा परिवर्तन सम्भव छ ?’
‘कुनै पनि व्यक्तिले दुई सातासम्म नियमित दैनिक आधा घन्टा ध्यान गर्दा मस्तिष्कमा सामान्य परिवर्तन देखिन थाल्छ । लामो अवधि ध्यान गर्दा मस्तिष्कमा त्यसको सकारात्मक असर पर्छ,’ उनले स्पष्ट पारे । ‘इइजी’, ‘एमआरआइ’ र ‘एफएमआरआइ’ जस्ता प्रविधिबाट ‘ब्रेन स्क्यान’ गरेर हेर्दा ध्यान अभ्यासकर्ताको मस्तिष्कको तरङ्ग अन्यको भन्दा फरक पाइएको छ । रिचर्डका अनुसार “खुशी आदत हो, जुन प्राप्त गर्नका लागि ध्यान अपरिहार्य औजार हो” ।
पछिल्लो समय रिचर्ड मात्र होइन, अमेरिका र युरोपका कैयौँ न्युरो वैज्ञानिक ‘माइन्डफुलनेस’ ध्यानको अनुसन्धानमा लागेका छन् । ‘माइन्डफुलनेस’ लाई पश्चिमी मुलुकमा लोकप्रिय बनाउन अमेरिकी मेडिकल डाक्टर जोन कबाट जिनको ठूलो योगदान छ ।
उनले सन् १९७९ मा अमेरिकाको ‘युनिभर्सिटी अफ म्यासाचुसेट’ मा ‘माइन्डफुलनेस बेस्ड स्ट्रेस रिडक्सन’ (एमबिएसआर) कार्यक्रम सुरु गरेका थिए । विभिन्न अस्पतालमा उपचार गराइरहेका दीर्घरोगीका लागि ‘माइन्डफुलनेस’ पद्धति धेरै उपयोगी सावित भएको थियो । तिब्बत, नेपाल र भारतबाट सुरु भएको बौद्घ ध्यान पद्घति परिष्कृत रूपमा ‘माइन्डफुलनेस’ का नाममा अमेरिका, युरोपलगायतका मुलुकमा व्यापक बन्दै गएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा ‘माइन्डफुलनेस’ तीव्र गतिमा फैलिरहेको छ । हरेक सहरका गल्ली–गल्लीमा ‘माइन्डफुलनेस’ ध्यान केन्द्र सञ्चालन भइरहेका छन् । चरम भौतिक विकासमा अगाडि बढेको उक्त समाजमा तनाव कमी गर्न, एकाग्रता बढाउन र जीवनमा खुशी ल्याउनका लागि ध्यान अभ्यास गर्नेको संख्या बढ्दै गएको छ ।
‘माइन्डफुलनेस’ लाई पालीमा ‘सति’ अनि संस्कृतमा ‘स्मृति’ भनिन्छ । यही पद्धति अहिले पश्चिमी मुलुकमा ‘मोडर्न माइन्डफुलनेस’ का रूपमा लोकप्रिय बन्दै गएको छ । ‘माइन्डफुलनेस’ को अर्थ हरेक कुराहरूप्रति ‘होस’ राख्नु हो ।
वर्तमान क्षणमा भावना, विचार र संवेदनालाई निर्णयकर्ता नबनीकन हेर्नु ‘माइन्डफुलनेस’ हो । ‘माइन्डफुलनेस’ मा हाम्रो मनमा रहेका विचारका शृङ्खलालाई होसपूर्वक वा साक्षीभावले हेरिन्छ ।
साक्षीभावले आफूबारेको सत्य खोजी गर्ने वैज्ञानिक ध्यान विधि विपश्यना हो । यसलाई पनि एक प्रकारको ‘माइन्डफुलनेस ध्यान’ का रूपमा लिइन्छ, जसले मानिसलाई होसपूर्वक बाँच्न सिकाउँछ ।
पछिल्लो समय अमेरिका र युरोपमा ‘माइन्डफुलनेस’ तीव्र गतिमा फैलिरहेको छ । हरेक सहरका गल्ली–गल्लीमा ‘माइन्डफुलनेस’ ध्यान केन्द्र सञ्चालन भइरहेका छन् । चरम भौतिक विकासमा अगाडि बढेको उक्त समाजमा तनाव कमी गर्न, एकाग्रता बढाउन र जीवनमा खुशी ल्याउनका लागि ध्यान अभ्यास गर्नेको संख्या बढ्दै गएको छ ।
ध्यानबाट हुने फाइदाबारे वैज्ञानिक रूपमै पुष्टि भइसकेको छ । ध्यान गर्नुभन्दा पहिले र ध्यान गरिसकेपछि व्यक्तिमा कस्तो परिवर्तन आएको छ भन्ने स्पष्ट रूपमा अध्ययन गर्न सकिन्छ । मानिस भित्रको रिस र तनावलाई उल्लेखनीय रूपमा घटाउन ध्यानले मद्दत गरेको पाइएको छ ।
यो कसरी सम्भव हुन्छ ?
हाम्रो मस्तिष्कमा एउटा यस्तो भाग पनि रहेको छ, जसलाई कहिलेकाही ‘मि सेन्टर’ पनि भन्ने गरिन्छ । यसको बैज्ञानिक नाम ‘मेडियल प्रिफ्रन्टल कर्टेक्स’ हो । यस भागले ‘हाम्रो आफ्नोबारे र हाम्रा अनुभवसँग सम्बन्धित सूचना छानबिन गर्छ’ ।
अनुसन्धानले के देखाएको छ भने सामान्य अवस्थामा मस्तिष्कको ‘फिअर सेन्टर’ देखि ‘मि सेन्टर’सम्म न्युरोनहरूको सञ्जाल बलियो हुन्छ । तर, कुनै बेला अचानक डर लागेमा वा उदासपना आएमा यसले ‘मि सेन्टर’मा तत्काल कडा प्रतिक्रिया देखाउँछ । यसको परिणामस्वरूप चिन्ता बढ्ने, भयभित हुने अवस्था सिर्जना हुन्छ । कतिपय अवस्थामा त हृदयाघातको सम्भावनासमेत बढेर जान्छ ।
न्युरोवैज्ञानिकहरूका अनुसार जब ध्यान गरिन्छ, यस्तो प्रकारको ‘न्युरल’ सम्बन्ध कमजोर बन्दै जान्छ । यसको अर्थ मस्तिष्कको ‘मि सेन्टर’ मा कडा रूपमा गडेर रहेका भावनात्मक कुराप्रति ध्यानअभ्यासकर्ताले प्रतिक्रिया व्यक्त गर्दैन । यस सम्बन्धलाई कमजोर बनाएपछि सँगसँगै कुनै कुराप्रति औचित्य पुष्टि गर्न कारण उपलब्ध गराउने ‘एसेसमेन्ट सेन्टर’ र शरीरको भावनात्मक तथा भय केन्द्रबीचको सम्बन्ध बलियो पार्दै जानु आवश्यक हुन्छ । यसो गरेमा जब हामीलाई डर लाग्छ वा नकारात्मक एवं निराशाजनक अनुभूति आउँछ, त्यस्तो बेलामा तिनीहरूलाई ज्यादै सहज एवं विवेकसम्मत ढंगले हेर्न सकिन्छ ।
ध्यानको अर्को फाइदा भनेको यसले व्यक्तिको स्मरणशक्ति बलियो बनाउँछ । न्युरोवैज्ञानिकहरूले एकाग्रता अनि कुनै पनि विषयवस्तुमा लगाव राख्नुलाई ‘माइन्डफुलनेस’ को सकारात्मक असरको रूपमा विश्लेषण गर्दै आएका छन् । अमेरिकी न्युरो वैज्ञानिक तथा अनुसन्धाता क्याथेरिन केरका अनुसार ‘माइन्डफुल’ ध्यान अभ्यास गर्ने व्यक्तिहरू समस्याबाट विचलित हुनुको सट्टा मस्तिष्कको तरङ्गलाई सामान्य अवस्थामा ल्याउन सक्षम हुन्छन् ।
ध्यान नगर्ने व्यक्तिहरूको दाँजोमा उनीहरू बढी सिर्जनशील हुनुका साथै उत्पादनमूलक काम गर्न सक्षम हुन्छन । एउटै समयमा धेरै विषयवस्तुमा मन डुलाउनबाट रोकिनु भनेको चाँडै कुनै कुरा सम्झिने अनि नयाँ तथ्य लागू गर्नुलाई उच्चतम क्षमतायुक्त मान्नुपर्ने हुन्छ ।
सन् २०१७ मा जर्मनीको ‘म्याक्स प्लांक इन्स्टिच्युट अफ ह्युमन कग्निटिभ एन्ड ब्रेन साइन्स’ ले गरेको अध्ययन अनुसार जसरी ध्यान अभ्यास गरिन्छ, त्यही अनुसार मस्तिष्कमा विशिष्ट खालका परिवर्तन देख्न सकिन्छ । ‘ध्यान अब तनाव घटाउने विधि मात्र रहेन, ध्यान अभ्यासकर्ताको मस्तिष्कमा सकारात्मक परिवर्तन गर्ने माध्यम पनि बनेको’ अध्ययनको निष्कर्ष छ ।
‘रिसोर्स’ नाम दिइएको तीन महिने ध्यान कार्यक्रममा ३ सय सहभागीले तीन प्रकारका छुट्टाछुट्टै ध्यान अभ्यास गरेका थिए । पहिलो अभ्यास एकाग्रता बढाउने, दोस्रो करुणा र तेस्रो संज्ञान सिपसँग सम्बन्धित थिए । ‘एमआरआई’ लगायत अन्य प्रविधि प्रयोग गरेर हरेक तीन महिनामा परीक्षण गर्दा अभ्यासकर्ताको मस्तिष्कमा परिवर्तन आएको पाइयो ।
‘ओहो, तीन महिनामा कति परिवर्तन हुन सक्छ र ! मलाई आश्चर्य लागेको छ किनकि तीन महिना त्यति धेरै अवधि होइन,’ अनुसन्धानमा सहभागी न्युरो वैज्ञानिक भेरोनिका इंगर्टको प्रतिक्रिया आयो ।
‘माइन्डफुलनेस’ मा आधारित ध्यानलाई अनुसन्धाताले अध्ययनको विषय बनाएका थिए । अभ्यासकर्ताले तीन महिनासम्म लगातार साताको ६ दिन दैनिक आधा घन्टा ध्यान गर्नुुपर्ने तालिका थियो । आँखा बन्द गरी श्वासप्रश्वासमा केन्द्रित भएर ध्यान अभ्यास गर्नुपथ्र्यो । तीन महिनासम्म निरन्तर ध्यान गर्ने सहभागीको मस्तिष्कको ‘प्रिफन्टल कर्टेक्स’ बाक्लो भएको पाइयो । जटिल सोचाइ, एकाग्रता र व्यक्तित्व विकासका लागि यो क्षेत्र जवाफदेही हुन्छ ।
अभ्यासकर्तामा करुणा, कृतज्ञता र अप्ठ्यारो अवस्थासँग जुध्नसक्ने क्षमता विकास हुनुका साथै ‘सामाजिक प्रभावकारी दक्षता’ विकास भएको अध्ययनको निचोड रहयो ।
‘रिसोर्स’ परियोजनाकी प्रमुख अनुसन्धाता तानिया सिंगरले ध्यान र ‘ब्रेन प्लास्टिसिटी’ को सम्बन्धबारे उल्लेख गरेकी छन् । न्युरो विज्ञानमा ‘ब्रेन प्लास्टिसिटी’ को बारेमा धेरै अध्ययन हुँदै आएको छ, तथापि अहिलेसम्म ‘प्लास्टिसिटी अफ सोसल ब्रेन’ को बारेमा धेरै कुरा आउन बाँकी छ,’ उनले भनेकी छन्, ‘हामीले गरेको अध्ययनले नियमित मानसिक अभ्यास (ध्यान) गर्ने प्रौढको ‘ब्रेन प्लास्टिसिटी’ बारे चाखलाग्दो प्रमाण भेटिएको छ, जसले गर्दा उनीहरूको ‘सामाजिक बुद्घि’ समेत बढेको छ ।’
कल्याणकारी सामाजिक व्यवस्थाका लागि सहानुभूति र करुणा आवश्यक रहेको र त्यसले समाजमा समन्वय बढाउन तथा द्वन्द्व व्यवस्थापनमा सहयोग पुर्याउने उनको भनाइ छ । ‘ध्यानले यस्ता महत्वपूर्ण सिप बढाउन भूमिका खेल्नसक्छ,’ उनले भनेकी छन् ।
मस्तिष्ककाे बनावट
मस्तिष्कलाई मानव शरीरको स्नायु प्रणालीको केन्द्रका रूपमा लिने गरिन्छ । मानव मस्तिष्कको ‘सेरेब्रल कर्टेक्स’ मा करिब १५ देखि ३३ बिलियनसम्म न्युरोन हुन्छन्, जुन अरु हजारौँ न्युरोनसँग सम्बन्धित हुन्छन् । नियमित ध्यान गर्दा मस्तिष्कको न्युरोनमा परिवर्तन आउने वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
मस्तिष्कका मुख्य भाग यसप्रकार छन् :
१.‘लेटेरल प्रिफन्टल कर्टेक्स’:मस्तिष्कको यो भागले कुनै पनि कुरालाई विवेकसम्मत, तार्किक र सन्तुलित दृष्टिकोणबाट हेर्न मद्दत गर्छ । यसलाई ‘एसेसमेन्ट सेन्टर’ पनि भनिन्छ, जसले मस्तिष्कको ‘फिअर सेन्टर’ वा अन्य भागबाट आएका भावनात्मक प्रतिक्रिया तथा कुनै पनि चीजलाई व्यक्तिगत रूपमा लिन खोज्ने मस्तिष्कको प्रवृत्तिलाई नियमन गर्छ ।
२. ‘मेडियल प्रिफन्टल कर्टेक्स’ (एमपिएफसी): मस्तिष्कको यो भागले व्यक्तिगत दृष्टिकोण र अनुभवबारे सान्दर्भिक जानकारी दिन्छ । अधिकांश मानिसले यसलाई मस्तिष्कको ‘मि सेन्टर’ पनि भन्ने गर्छन् किनकि यसले व्यक्तिको निजी सूचना दिने गर्छ, जस्तोः दिवास्वप्न, भविष्यको चिन्ता, आफैँलाई हेर्ने अभ्यास, सामाजिक अन्तक्र्रियामा सहभागिता, अरूप्रति सहानुभूति आदि । यसलाई ‘आफैँलाई जानकारी दिने केन्द्र’ पनि भनिन्छ ।
‘मेडियल प्रिफन्टल कर्टेक्स’ का दुई भाग हुन्छन् :
क.‘भेन्ट्रोमेडियल प्रिफन्टल कर्टेक्स’ (भीएमपिएफसी): यसले व्यक्तिसँग सम्बन्धित सूचना तथा एकआपसमा विचार मिल्ने व्यक्तिको बारेमा आएका सूचना पठाउँछ । यो मस्तिष्कको यो भाग हो, जसले कुनै पनि कुरालाई अतिव्यक्तिगत रूपमा लिनबाट रोक्छ । वास्तवमा, मस्तिष्कको कतिपय भागले महत्वपूर्ण र उपयोगी काम गर्छन्, जसबाट रिस, तनाव, डिप्रेसनलाई परास्त गर्न तथा कतिपय बानी सुधार्न सकिन्छ । तर, जब भिएमपिएफसीले मद्दत गर्दैन, त्यसबेला सुर्ता, चिन्ता तथा डिप्रेसिभ विचार एवं भावनामा वृद्धि हुन्छ ।
ख.‘डोर्सोमेडियल प्रिफन्टल कर्टेक्स (डिएमपिएफसी) : यसले कुनै पनि व्यक्तिभन्दा फरक स्थितिका व्यक्तिको बारेमा सूचना पठाउँछ । यो मस्तिष्कको महत्वपूर्ण भाग हो, जसले सहानभूतिको भावना पैदा गराउँछ र सामाजिक सम्बन्ध सुधार गर्छ ।
३. ‘इन्सुला’ : यसले शरीरको संवदेना अनुगमन गर्छ र यसले भित्री तहको अनुभूतिका लागि काम गर्छ । शरीरमा कुनै संवेदना महसुस भएपछि कसरी सशक्त रूपमा जवाफ दिने भन्नेबारे यसले निर्देशन दिन्छ । गहन रूपमा सहानुभूति महसुस गर्नका लागि पनि यसले भूमिका खेल्छ ।
४. अमिग्डाला : यसलाई मस्तिष्कको ‘अलार्म सिस्टम’ को रूपमा लिने गरिन्छ । अर्को शब्दमा ‘फिअर सेन्टर’ पनि भन्ने गरिन्छ । मस्तिष्कको यो भाग हाम्रा सुरु अवस्थाका धेरै भावनात्मक (इमोसनल) जवाफ र प्रतिक्रियाका लागि जिम्मेवार छ । कुनै घटना भएको बेलामा यसले त्यससँग जुधौं कि भागौं भन्ने जस्ता प्रतिक्रिया दिने गर्छ ।
(लेखक ‘माइन्डफुलनेस’ ध्यानमा अनुसन्धानरत हुनुहुन्छ )
Facebook Comments
very impressive article.
very useful article who is practicing meditation and wish to start it…