असारको पन्ध्र । धान रोप्न भ्याइ–नभ्याइ हुने दिन । यता सरकारहरूले पनि धान दिवस नाम राखिदिएका छन् । अनि सरकारी नेता, विपक्षी नेता, उच्चस्तरीय नेता, मझौला नेता र भुरा नेता सबैले धान कहीँ न कहीँ त रोप्नुपर्यो ! फेरि यसपल्ट भैदियो के भने धान रोप्ने मुख्य समयमा असारको मध्यसम्मै राम्ररी पानी नै परेन । अनि त के चाहियो, अब धान रोप्न कहाँ जाने? परेन त फसाद् । हरेक नेताका पीए, पीए, सहयोगी, कार्यकर्तालाई धान रोप्ने ठाउँ मिलाउनुपर्ने भयो । धान रोप्न पानी चाहिन्छ । पानीका लागि वर्षा हुनुपर्यो । वर्षा त नेताका हातमा छैन । अनि पम्पिङसेटबाट पानी हालेर हुन्छ कि जे गरेर भए पनि यसो टिभीमा देखिइन्जेल, त्यति पनि नभए फोटो खिचिन्जेललाई त खेतमा जानुप¥यो । कसोकसो गरेर नेता महोदयको इच्छा पुर्याए कार्यकर्ताले । नेता जानुभयो । यसो पाइन्ट उचालेर बाङ्गो बाङ्गो ज्यान बनाएर गाँज दुई चारेक रोपेजस्तो गरेर निस्कनुभयो । कति नेतालाई त हिलो एलर्जी हुने भएकाले मिनरल पानीबाट मात्रै हिलो बनाउनु, यसो किटाणु मार्ने औषधि हान्नु भन्ने उर्दी गयो भने अप्ठ्यारो नमाने हुन्छ ।
उता सामाजिक मिडियामा धान दिवसको कुरा नआउने त कुरै भएन । नेताले धान दिवसमा धान रोपेको देखाउने छिटो, छरितो माध्यम पनि सामाजिक मिडिया नै भएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुर पुगेर परम्परा धान्नुभयो र फोटो पोष्ट गर्नुभयो भने अर्का पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई गोरखा नै हान्निनुभएछ । माला र खादामा ठाँटिएका देउवालाई खेतको छेवैमा स्कटिङ सहित बीऊ थमाइएको हेर्ने रमितेको भीड देखिन्छ, जहाँ सिकसिको नहुने त कुरै भएन । एकताका जनसरकार, श्रम शिविर र बुर्जुवा सरकार सञ्चालन गर्दा श्रमको मूल्य कति के बुझ्नुभएको थियो कुन्नि डा. बाबुराम भट्टराईले तर क्षणिक नै भए पनि हली बनेर किसानको परिश्रम अनुभूत गर्नुभयो रे ! देउवा र भट्टराईका ट्वीटरका विरोधाभाष भाव दिने तस्बिर हेरौँ तः
कहिले गमलामा धान रोपेर कोही मन्त्री चर्चामा आए भने कोही कृष्ण लीलामा देखिएर जागिरै गुमाए । गाउँमै पनि स्थानीय सरकारका पदाधिकारी पनि के कम खेतमै नगई बरु बियाडबाट बीऊ काडेर रोप्नुको सट्टा मजाले गलामै माला भिरेर मोबाइल प्रदर्शन गर्दै बसेछन् । उनीहरूलाई खेतमा जाने कष्टै गर्नुपरेन । यो हो नि काइदा ! पत्रकार रामेश्वर बोहराले पोष्ट पनि गरिहाल्नुभयोः
सञ्चारकर्मी शिव दाहाललाई गाउँमा किसानको दुर्दशा र सहरमा नेताहरूको नाटक देखिसहनु भएनछ । एउटा पोष्ट नै गर्नुभयोः राजनीतिक नेतृत्व सहर नजिकैको घडेरीमा रोपाई गर्दै खेती र किसानीलाई निरन्तर व्यङ्ग्य गरिरहेको छ ।
पूर्व सचिव भीमप्रसाद उपाध्यायले ट्वीटरमा पोष्ट गर्नुभयो– विगतमा कुनै बेला धान निर्यातक मुलुक भनेर चिनिने नेपालले धान चामल निर्यातक कम्पनी पनि स्थापना गरेर धान निर्यात गर्थ्यो । आ.ब. ०७४÷७५ मा साढे २४ अर्वको त चामलै आयात गरेको छ ।
अहिलेको जस्तो सामाजिक मिडिया र तस्बिरका जमाना नभएका बेलामा असारमा हिलो छ्यापाछ्याप गर्ने, असारे गाउने, शिलोक गाउने, गीत र शिलोकबाटै तन्नेरी-तरुनीहरूबीच कतै लय मिलाउने त कतै सवाल जवाफ गर्ने चलन थियो नै । यौन मनोभाव खेतालाबीच हुन्थ्यो नै । हुनेखाने महाजनकहाँ त बेठी गर्ने र महाजनलाई हिलो दलिदिने चलन पनि थियो । तर आजको जस्तो नेता खेतमा पुगेर माला र पश्मिनाको सल, खादा लगाएर मरितरी रोपेको जस्तो नक्कल गर्ने चलन थिएन । केटाहरूले बाँसुरी बजाउने, मुर्चुङ्गा बजाउने, गीत गाउने, युवतीहरूले पनि स्वर खाप्ने चलन थियो नै । खासगरी हली र बाउसे रोपाहरहरूका नजिक हुन्थे । रोपाहरलाई बीऊका मुठा दिने क्रममा ब्याडेले परैबाट हिलोमा हानेको बीऊले रोपाहर भिजाउँथे र भन्थे, लहै भिजौला ! त्यहाँ प्रेम थियो तर शिष्ट र मर्यादित थियो । छारष्ट थिएन ।
तर अहिले त सामाजिक मिडियामा यस्ता तस्बिर पनि पोष्टिए, … लाई भन्दा देख्नेलाई लाज भने जस्तो भयो । अनि युवा सामाजिक मिडिया प्रयोगकर्तालाई इतरिने विषय पनि बन्न पुग्यो रोपाईं ! त्यस्ता अश्लील तस्बिर त के राख्नू !