ओलीको सपना र भट्टी-बौद्धिक अवज्ञा


गोविन्द पोखरेल
नेपाली समाजले आफ्ना आवश्यकताहरू कसरी पूरा गर्न सकिन्छ ? आवश्यकताहरू के–के हुन् ? ती आवश्यकता पूर्ति गर्न अल्पकालीन र दीर्घकालीन के कस्ता उपाय अपनाउन सकिन्छ भनेर सोच्न, छलफल गर्न र पहिचान गर्न थालेको केही वर्ष भयो । यी वर्षहरू त्यसै खेर गएका छैनन् । समस्याहरू निराकरण गर्दै आवश्यकताहरू पूर्ति गर्न यिनै केही वर्षले निर्णायक भूमिका खेलेको छ । जस्तो कि २०४६ सालपछि शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार क्षेत्रले उच्च गतिका साथ विकासका काम गर्दै पुराना सोचहरूलाई परिमार्जित गर्दै लगेको छ । भलै हामीले गुणात्मक विकास गर्न सकेका छैनौं होला । तर, निरन्तरताको अभ्यासले गुणात्मकता पनि प्राप्त हुन्छ भन्ने मान्यता स्थापित गर्दै लगेको छ । आफ्नो गाउँ आफैं बनाउँ भन्ने सपना देख्ने वा कल्पना गर्ने जोसुकै भए पनि त्यही सपना वा कल्पनाको मूर्तरूप हो । अहिले गाउँ गाउँमा पुगेको सडक, खानेपानी, स्वास्थ्य चौकी, सिंचाई र अन्य निर्माण भएका भौतिक संरचना । यदि कसैले सपना नदेख्ने, कल्पना नगर्ने, योजना नबनाउने र विकास कार्यको थालनी नगर्ने हो भने यो समाज, यो राष्ट्र के यथास्थितिमै रहने ? होइन भने कसै न कसैले सपना देख्नैपर्छ, योजना बनाउनै पर्छ । त्यसलाई कार्यरूपमा परिणत गर्न खट्नैपर्छ ।
यहाँ एउटा प्रसंग उल्लेख गर्नु सान्दर्भिक होला । त्यसताका २०४८ सालको चुनाव हुन लागेको थियो । चुनाव प्रचारको सिलसिलामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले ‘काठमाडौँका जनतालाई मेलम्चीको पानी ल्याएर खुवाउँछु’ भन्नुभयो । उहाँले त्यो सपना देख्नुभएको थियो, निन्द्रामा होइन, योजनामा, दिउँसै तर विडम्वना त्यस बेलाको तथाकथित बौद्धिक भनिने एउटा जमात, केही पत्रकार र लेखकहरू भट्टराईको त्यही भनाइलाई लिएर पागल घोषण गर्न र ‘हावादारी कल्पना’ भन्दै उडाउन तल्लीन भयो । वास्तवमा कल्पनाशील, दूरदर्शी र सपना देख्ने व्यक्ति हुनुहुन्थ्यो किसुनजी । अहिले काठमाडौँका जनता भट्टराईको त्यही सपना पूरा होस् भन्ने कामना सहित मेलम्चीको त्यही पानीको व्यग्र प्रतीक्षामा छन् । यदि किसुनजीले मेलम्ची आउँछ भन्ने सपना नदेखेको भए काठमाडौँ उपत्यकाको खानेपानीको लागि अरु कसैले सपना देख्नु पर्थ्यो र काम गर्नु पर्थ्यो ।

के नेपालमा रेल आउनु हुँदैन ? के नेपालीले आफ्नै पानी जहाज किन्नु हुँदैन ? किन समृद्ध नेपाल र सुखी नेपाली बन्नु हुँदैन ? आज नभए पाँच वर्षपछि प्रारूप तयार हुन्छ । उहिल्यै आफूहरूले डिपिआर तयार गरेर, अध्ययन गरेर कण्ठस्थ पारेजस्तो गरी यिनीहरु किन बोल्दैछन्– रेल आउनै हुँदैन, सिस्टम चलाउँनै पाइँदैन, खनिज पदार्थको अन्वेषण गर्नै हुँदैन भनेर । तर, मेलम्ची जस्तै व्यग्रताका साथ नेपालीले रेलको प्रतीक्षा गर्ने दिन आउँछ ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा सहित देश विकासको सपना देख्नुभएको छ । उहाँले नेपालको आफ्नै पानी जहाज हुन्छ, नेपालमा रेल भित्र्याउनुपर्छ, खानी अन्वेषण गरेर खनिज पदार्थ खोज्नुपर्छ र आफूलाई चाहिने कच्चा पदार्थ आफैँ उत्पादन गर्नुपर्छ । हामीले त्यो सपना देख्नुपर्छ जुन सपनाले समृद्ध नेपाल र सुखी नेपाली बन्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्नुभयो । यी सपना अथवा कल्पना मात्र होइनन्, विज्ञहहरूसँगको लामो परामर्श पछि निस्किएको कार्यरुपमा परिणत हुन सक्ने निचोड पनि हो । तर, नेपालका तथाकथित वौद्धिक भनिने ‘गालिगलौज’ मण्डलीले प्रधानमन्त्री ओलीको सपना, कल्पना र योजनालाई भट्टीगफ बनाए । एउटा डिम्बा र एक प्याला चट्काएपछि ‘ओलीले कस्तो मीठो उखान दियो, हैन कल्पना पनि कस्तो नहुने गर्छ’ भन्दै ‘नानी अर्को एक गिलास थप थप’ भन्ने विद्वानहरू अहिले पनि ओलीलाई सत्तो सराप गर्नमा रमाइरहेका छन् ।

आफूलाई लायक र अरूलाई नालायक देखाउन तल्लीन भट्टी नायकहरुले ओलीले देखेको सपना योयो कारणले पूरा हुँदैन, योयो काम गर्दा चाहिँ समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुन्छ भनेर कुनै विज्ञसँग छलफल गरेका छैनन् । त्यो आशयको कतै लेख पनि लेखेका छैनन् । सपना पनि देखेका छैनन् र कल्पना पनि गर्न सकेका छ्रैनन् । बरु छिमेकी भारतले नाकाबन्दी लगाउँदा र भूकम्पपछिको नाजुक अवस्थामा ओलीले जनताको भावनाअनुसार अडान लिएपछि त्यो भूसथैले भट्टी बौद्धिकता प्रधानमन्त्री ओलीमाथि नै खनियो । “नाकाबन्दी भारतले लगाएकै होइन” भन्दै रक्सौल नाकाको पुलमा धर्ना बस्न गयो ।

भूकम्पले तहल्का मच्चाएर गएपछि सरकारको सबै अङ्ग, प्रत्यङ्ग, चलायमान भयो । मृतकका आफन्तलाई वास गाँसको व्यवस्था गर्न, पीडितहरुको उद्धार गर्न र सबैको सहयोग गर्न सबै क्षेत्र, तह, तप्का साथै विदेशीहरू पनि कम्मर कसेर लागे । त्यस बेला यो तथाकथित बौद्धिक झुण्ड प्रधानमन्त्री सुशील कोइरालाको निवासअगाडि धर्ना बस्न गयो । प्रहरी, सेना, निजामती कर्मचारी लगायत संघ–संस्था संगठनमा कार्यरत व्यक्ति उद्धार कार्यमा जुटिरहेको बेला ‘सरकार उद्धार कार्यमा सरिक भएको देखिएन’ भन्दै वालुवाटारमा सरकार खोज्न गएका थिए । सरकारको अर्थ पनि यी भात टिपुवालाई जनताले बुझादिए र त्यहाबाट खेदे । केही समय यिनीहरू जनताबाट नाङ्गिए, अर्ध भूमिगत अवस्थामा बसे । जब चुनाव हुने भयो तब कसैले यिनीहरूलाई पुष्टकारी कोच्याएर बौरायो । त्यसपछि नकचरो पाराले ल्वाँठ बौद्धिकता प्रदर्शन गर्दै यिनीहरु उठे र भट्टी घुर्‍यानबाट भुक्न थाले । निर्वाचनमा केपी शर्मा ओलीको सम्वृद्ध नेपाल सुखी नेपाली नाराले यिनलाई भतभती पोल्यो र त्यस नाराको विरुद्धमा लाग्न कुपोषणको पुरिया जनतालाई बाँड्दै हिँडे । तर, जनताको विश्वास, भरोसा र साथ केपी ओलीलाई नै थियो । निर्वाचन पछिको मत परिणामले देखायो । नेपाललाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, छिमेकी मित्र राष्ट्रहरुसँग समान हैसियतमा सुमधुर सम्बन्ध स्थापित गर्ने र दीर्घकालिन योजनासहित विकास कार्य गर्ने जिम्मा जनताले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सुम्पिए । यस नतिजाले उनीहरुको पित्त थैलीमा रहेको तीतो वौद्धिकता काम नलाग्ने प्रमाणित गरी दियो । जनता केपी शर्मा ओलीको पक्षमा पंक्तिवद्ध उभिएपछि यो पानी आन्द्रे जमात आफ्नो दानापानीको स्रोत सुक्ने हो कि भनेर विचलित भयो र केही समय सुस्तायो । तर के गर्नु नकचराको ओखती हुदैन । चुनावको नतिजापछि केही समय लात्तले कुल्चिएको झार जस्तो भएका भट्टी मानवहरु अहिले केपी ओली प्रधानमन्त्री भएपछि फेरि बौरिएका छन् । कुन तत्त्वले गुलियो चटायो भनिरहनु पर्दैन । औषधी सेवन गर्न विर्सिएको कमजोर दिमागवाला विरामी जस्तो जेसुकै बरबराउने, लेख्ने र तल्लो स्तरमा ओर्लिएर ओलीको सपना तुहाउने जेसुकै हतकण्डा अपनाउने संकल्प गर्दै यो तत्त्व छटपटाइरहेको छ । नेपालमा कुनै विकास कार्य सम्पन्न नहोस् र जनता सुखी नबुनून् भन्ने मान्यता बोकेका पराइहरुको इसारामा रातभरि भुक्नुको तुक छैन भन्ने सामान्य ज्ञान पनि उनीहरूमा देखिँदैन । तर, नेपाली जनतालाई थाहा छ ‘हात्ती लम्किदै गर्छ ।’

के नेपालमा रेल आउनु हुँदैन ? के नेपालीले आफ्नै पानी जहाज किन्नु हुँदैन ? किन समृद्ध नेपाल र सुखी नेपाली बन्नु हुँदैन ? आज नभए पाँच वर्षपछि प्रारूप तयार हुन्छ । उहिल्यै आफूहरूले डिपिआर तयार गरेर अध्ययन गरेर कण्ठस्थ पारे जस्तो गरी यिनीहरू किन बोल्दैछन्– रेल आउनै हुँदैन, सिस्टम चलाउनै पाइँदैन, खनिज पदार्थको अन्वेषण गर्नै हुँदैन भनेर । तर, मेलम्ची जस्तै व्यग्रता साथ नेपालीले रेलको प्रतीक्षा गर्ने दिन आउँछ । पानी जहाज पैसा भए आजै किनेर नेपाली झण्डा हालेर समुद्रमा चलाउन सकिन्छ । के यो सपना देखेर ओलीले पाप गरेका हुन् त ? किन विरोधको स्वर उरालेर विरोध लागि विरोध गर्न तम्सिन्छन् तथाकिथत भट्टी-विद्वानहरू ।

हो केही कमी कमजोरीहरू देखिएका छन् । मेलम्चीको काम छिटो सकेर काठमाडौँका सडकहरूको मर्मत सम्भार गर्नुपर्ने थियो । माथिल्लो तामाकोशीमा भएको ढिलासुस्ती हटाएर छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने थियो । यसले भारतबाट आयात गरिएको विद्युत् कटौती हुनुका साथै नेपालको ठूलो रकम बचत हुने थियो । भुकम्पले भत्काएको संरचना छिट्टै तयार भए जनताले राहत पाउने थिए । तर के गर्नु यसबारेमा तथाकथित बौद्धिक झुण्ड बोल्दा पनि बोल्दैन । प्रधानमन्त्री ओलीका कार्यक्रम र विकासका योजनाको विरोध गर्न मात्र उनीहरूलाई पम्पु भरिन्छ । जब यिनीहरूलाई एक प्याला र एउटा डिम्बाको व्यवस्था कसैले गरिदिन्छ तब रोगी आन्द्रो भर्दै भट्टी उचालिने अट्टहास सहित प्रधानमन्त्री ओलीको विरोध सुरु हुन्छ । अनि भन्न थाल्छन्, ओलीको रेल, पानी जहाज, विकास, सम्वृद्ध नेपाल र सुखी नेपाली दिवा सपना हो । कुनै पनि पुरा नहुने गफ हो । जनतामा हामीले यही कुरा पुर्‍याउनु पर्छ । बुझ्नु पर्ने के छ भने अब यिनको गफ पत्याउने जनता छैनन् । जनताको चाहना मुलुकको आवश्यकता, विकासका काम पूरा गर्न र सम्वृद्ध नेपाल, सुखी नेपाल बनाउने नेपालीले प्रधानमन्त्री ओलीलाई जिम्मा दिएका छन् ।

ओलीले लिएका अडानलाई महेन्द्रीय राष्ट्रवादको लिउन दलेर प्रस्तुत गर्नेहरु भावुक भएर जनताको खास मान्छे हामी हौं ओलीले जनतालाई भ्रममा पार्दै छन् विश्वास नगर्नु होला भनेर हिँड्दैछन् । यिनीहरू नै हुन्, भारतले नाकाबन्दी गरेकै होइन भन्ने र भारतीय प्रधानमन्त्रीको भ्रमणपछि ओलीलाई ‘लम्पसारवादी’ भन्ने । प्रधानमन्त्री केपी ओली राष्ट्र र जनताको पक्षमा दह्रो गरी उभिँदा यी मौसमी बुद्धिजीवी उढुस जस्तो सगबगाउन थाल्छन् । पश्चिमा ग्राण्ड डिजाइन अन्तर्गत रहेर ओलीको विरोध गर्ने परम्परालाई कायम राख्न अहिले पनि न्वारानको बल निकाल्दै छन् प्रतीक्षा मात्र गर्नुपर्छ । ओलीले देखेका सपना कार्यरूपमा देखिँदै जानेछन् र भट्टी-बौद्धिहरू रङ्ग फेरेर अर्कौ रूपमा देखा पर्ने छन् ।

Facebook Comments
Comments (0)
Add Comment