विश्वमा बढ्दो जनसंख्या तथा आधुनिकीकरणले गर्दा ऊर्जाको माग पनि असीमित रूपमा बढ्दो छ । अत्यधिक माग तथा सीमित स्रोत तथा साधनले गर्दा ऊर्जाको व्यवस्थापन गर्नु भनेको एउटा जटिल कार्य भएको छ । ऊर्जाको बैकल्पिक स्रोत हाल मुख्यतः जैविक ऊर्जा भएता पनि जैविक ऊर्जा स्रोत सीमित क्षेत्रमा मात्र रहनु र क्रमशः यो घट्दै जाने क्रममा हुनाले पनि यसको विकल्पको रूपमा विविध खालका ऊर्जाको खोजी भइरेको छ । विकसित देशमा विद्युत ऊर्जाको मुख्य स्रोत पारमाणिक पद्धतिमा निर्भर रहेता पनि यसका केही नकारात्मक कारणहरूले गर्दा वैकल्पिक ऊर्जा अहिलेको मुख्य विषय भएको छ ।
हामीले ऊर्जाका स्रोत भन्नाले पानी, पेट्रोलियम पदार्थ, वन उत्पादन आदिलाई मात्र बुझेका छौं । यथार्थमा भन्ने हो भने वैकल्पिक ऊर्जा भन्नाले पारमाणिक तथा जैविक ऊर्जाका विकल्पका सबै ऊर्जा स्रोतहरू बुझनुपर्छ । नेपालको सन्दर्भमा वैकल्पिक ऊर्जा स्रोत अन्तर्गत सौर्य, वायु तथा वायोग्यासवाट उत्पादित ऊर्जालाई मात्र लिने गरिन्छ । यद्यपि बैकल्पिक ऊर्जा नवीकरणीय ऊर्जा, स्वच्छ ऊर्जा तथा दिगो ऊर्जा पारिभाषिक रूपमा फरक भएता पनि नेपालमा व्यावहारिक रूपमा सबैलाई वैकल्पिक ऊर्जाको रूपमा नै लिने गरेको पाइन्छ ।
नेपाल पारम्परिक कृषि प्रधान देश भएता पनि ऊर्जाको माग क्रमशः बढ्दै छ । विश्वमै पेट्रोलियम पदार्थको ऊर्जाले ठूलो अंश ओगटेको छ । नेपालले वार्षिक सवा खर्व रूपैयाँको पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ र यसको माग प्रतिवर्ष १३ प्रतिशतले बढ्दैछ । यस्तै प्रकारले नेपालमा घरायसी प्रयोजनको लागि एल. पी. ग्याँसको प्रयोग पनि १५ प्रतिशतले वढेको छ । २०७३÷०७४ सालको सर्वेक्षण अनुसार, नेपालमा दैनिक ७८०८ टन ग्यास खपत भैरहेको पाइन्छ ।
नेपाल जलविद्युत उत्पादन क्षेत्रमा असीमित सम्भावना भएको देश मानिन्छ । नेपालमा जल क्षेत्रवाट मात्र ८३००० मेगावाट विजुली उत्पादन गर्न सक्ने क्षमता छ । अझै आर्थिक रूपले ४२००० मेगावाट विजुली उत्पादन गर्न सकिन्छ । हाल नेपालको कूल विद्युत उत्पादन करिव १००० मेगावाटसम्म आइपुग्छ । यथार्थमा भन्ने हो भने करीव १ प्रतिशत मात्र विजुली जलस्रोतबाट निकाल्न सकिएको पाइन्छ ।
नेपालको विजुली उत्पादन मात्र हैन विजुली खपत पनि अति न्यून छ । यहाँ प्रति व्यक्ति विद्युत खपत् जम्मा ७० युनिट छ भने बंगलादेशमा १५०० युनिट र सिंगापुरमा ५००० युनिट रहेको छ । हाम्रो देशलाई विजुलीमा आत्मनिर्भर बनाउन विजुली उत्पादनमा माइक्रो हाइड्रोले पनि महत्वपूर्ण भूमिका खेलेको छ । नेपालमा सन् १९६२ देखि माइक्रो हाइड्रो सुरुवात भएको थियो । अहिले हाम्रो देशमा ३३०० माइक्रो हाइड्रो परियोजनाहरू सक्रिय छन्, तिनले ३,५०,००० घरधुरीमा ऊर्जाको पहुँच पु¥याएको छन् । नेपालले अगामी दश वर्षमा १०,००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । जसमध्ये ३००० मेगावाट जलप्रवाहमा आधारित, ३००० मेगावाट, अर्ध जलासयमा आधारित, ३००० मेगावाट जलासययुक्त र १०० मेगावाट अन्य बैकल्पिक माध्यमद्वारा उत्पादन गर्ने लक्ष्य राखिएको छ । नेपाल जस्तो देशमा वैकल्पिक ऊर्जाको अत्यन्त महत्व छ ।
नेपालमा वैकल्पिक ऊर्जा अन्तर्गत सौर्य ऊर्जा, वायु तथा वायो ग्यास पर्दछन् । बैकल्पिक ऊर्जा अन्तर्गत सौर्य ऊर्जाको सम्भावना ठूलो रहेको छ । संसारमा अत्यधिक विकल्प भनेको नै सौर्य ऊर्जा हो । सौर्य ऊर्जा उत्पादन गर्न फोटो भोल्टिक पद्धति अपनाइन्छ । विविध अध्ययनले देखाएको छ – नेपालमा ४.७ किलोवाट विजुली प्रतिवर्गमिटर भू–भागवाट सजिलै उत्पादन गर्न सकिन्छ । सौर्य ऊर्जामा भारतले धेरै फड्को मारेको छ । भारतले सन् २०१७ सम्म ५० गिगावाट विजुली सौर्य ऊर्जाबाट उत्पादन गरिसकेको छ भने सन् २०२२ सम्ममा थप १७५ गिगावाट उत्पादन गर्ने लक्ष्य राखेको छ । अबको दश वर्षभित्र सौर्य ऊर्जा जलीय ऊर्जाभन्दा अति सस्तो तथा किफायती हुने धारणा छ ।
नेपालमा सौर्य ऊर्जा पछि वैकल्पीक ऊर्जाको रूपमा वायु ऊर्जा र त्यसपछि वायोग्यास रहेको छ । विकसित देशहरूमा वायु ऊर्जा भरपर्दो स्रोत भएता पनि नेपालको सन्दर्भमा भरखरै मात्र विकास हुँदैछ । नेपालमा वायोग्यास ऊर्जा पद्धती अति लोकप्रिय बन्दै छ । ग्रमीण क्षेत्रमा घरायसी प्रयोजनका लागि यसको प्रयोग भैरहेको छ । हाल फोहोर मैलाबाट पनि विजुली उत्पादन गर्नेबारे अध्ययन भैरहेको छ ।
नेपालमा ८० प्रतिशत घरायसी इन्धनको रूपमा पारम्परिक स्रोत– जस्तै दाउरा, गुइँठा तथा कृषिजन्य पदार्थ रहेको पाइन्छ । आजभोलि बायोग्यास तथा एल. पी. ग्यासको प्रयोग पनि निकै बढेको पाइन्छ । नेपालमा सवारी सधन सञ्चालन तथा औद्यौगिक प्रयोजनका लागि पेटा«ेलियम पदार्थको प्रयोग निकै हुने गरेको छ । तर विश्वमै तेलका भण्डारहरू क्रमशः घट्दै जाने र विद्यतीय सवारी साधनहरू पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गर्ने अवस्थामा पुगेको हुँदा विद्युत उत्पादनले ठूलो महत्व राख्दछ ।
नेपालको विद्युत उत्पादनको मुख्य स्रोत जल प्रवाहमा आधारित छ । तर वर्षामा जल प्रवाहबाट विद्युत उत्पादनमा ठूलो समस्या रहेको छ । नेपालको भौगोलिक कठिनाइले गर्दा पनि विद्युत उत्पादन तथा वितरण गर्न समस्या पर्दछ ।
यी विविध ऊर्जा समस्याहरूको समाधानका लागि वैकल्पिक ऊर्जा व्यावस्थापन गर्न सकिन्छ । नेपालको भौगोलिक बनोटले गर्दा जलविद्युतपछि सौर्य ऊर्जा भरपर्दो सरल माध्यम हो । नेपालमा वर्ष दिनमा ३०० दिन घामबाट विजुली उत्पादन गर्न सम्भव भएकाले करीव २१०० मेगावाट विजुली सौर्य ऊर्जावाट सम्भव छ । नेपाल एक कृषि प्रधान देश भएकाले वायोग्यास पनि अर्को भरपर्दो स्रोत रहेको छ । वायु ऊर्जा समुद्र तटीय क्षेत्रमा वैकल्पिक ऊर्जाको स्रोत भएता पनि नेपालमा भने त्यति सहज छैन ।
नेपालको आर्थिक विकासका लागि ऊर्जाको ब्यवस्थित विकास हुन अति जरुरी छ । यसका निम्ति पहिलो चरणमा जल ऊर्जालाई व्यवस्थित गरी यसपछि वैकल्पिक ऊर्जालाई क्रमशः विकास गर्दै जानुपर्छ । यसका लागि नीतिगत रूपमा मिश्रित ऊर्जा व्यवस्थापन नीति लिनु अति जरुरी छ । यसो गर्दा ऊर्जा सङ्कटलाई न्यूनीकरण गर्न सकिन्छ भने न्यून स्रोत तथा साधनबाट अधिकतम लाभ लिन सकिन्छ । यद्यपि हामी ऊर्जाकाृ निम्ति जलविद्युतमा भर परिरहेका छाँै तर पनि अगामी वर्षहरूमा सौर्य ऊर्जा, जल ऊर्जाभन्दा सस्तो र भरपर्दो देखिन्छ । अतः तदनुसारको नीति निर्माण गर्न जरुरी छ । जतिसक्दो छिटो जल विद्युतको प्रचूर मात्रामा उत्पादन गरी सौर्य ऊर्जाको विकासमा ध्यान दिनुपर्छ ।
(लेखक रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम निर्देशक हुनुहुन्छ)
अबको सही छनौट सौर्य ऊर्जा
Facebook Comments