“कल्पना ! ए कल्पना कति उफ्रिराकी? माथि पातली काकीकहाँ गएर तातो पानी मागेर ल्याऊ । बाख्रालाई फाडो खुवाउनुपर्यो,” बुबाले बाल्टी देखाउँदै भन्नुभयो ।
“हस !” खेल्दाखेल्दै म रोकिएँ । हातको स्किपिङ रोप पिंढीमा राखेँ । अनि बाल्टी लिएर पातली काकीको घरतिर उक्लिएँ ।
“काकी कता हो, बाबाले तातो पानी मागेर ल्याऊ भन्नुभएको छ । लैजाउँ है?” मैले बाहिरैबाट चिच्याएँ ।
“ल ल, आफै निकालेर लैजाऊ, अनि पल्लो ड्रममा चिसो पानी छ, थपिदेऊ है,” काकी गाग्रीमा पानी बोकेर माथिबाट झर्दै हुनुहुँदो रहेछ ।
“हस्,” भन्दै मैले तातो पानी बल्टीमा हाल्न थाले ।
“ए कल्पना, भाग भाग, आयो आयो,” पातली काकी गाग्री फालेर दौडनुभयो ।
पानी उम्लिरहेको भाँडा हल्लेको देखेँ । त्यही बेला म उभिएको भुइँ कोक्रो हल्लिए झैँ हल्लियो । म आत्तिँदै काकी दौडेको बाटोतिर हाम्फालेँ ।
‘गड्याम्म,’ आवाज सुनेँ । त्यसपछि आँखा अगाडि अँध्यारो छायो ।
“कल्पना, ए कल्पना !” कताकता, टाढाबाट बुवाको स्वर सुनेँ । “तातो पानी लिन पठाएको यतै आएकी थिइँ ।”
बुवाको आवाज सुनेर म चिच्च्याउन खोजेँ । तर, मेरो आवाज निस्केन । धेरै पटक चिच्याउन खोजेँ । अहँ आवाज आएन । त्यसपछि म रोएँ । धेरै रोएँ । जीउ दुख्न थाल्यो । आँसुले भिजेर आँखा खुल्यो । तर, संसार अँध्यारो देखें । ओठ दुखेजस्तो लाग्यो । हातले छाम्न खोजेँ । हात त ढुंगाले थिचेको रहेछ । हातमात्रै हैन, मेरो पूरै जिउ ढुंगाले थिचेको रहेछ ।
“यहीँबाट हामफालेकी थिई,” पातली काकीको स्वर सुनियो ।
“वा… वा…!’ म चिच्याएँ ।
“ल यतै कतै छ कल्पना,” बुवाको स्वर नजिकै सुनियो ।
मैले जोडले “वा…. वा…..!” भने ।
बुबाले ठम्याउनु भएछ । म किचिएकै ठाउँको ढुंगा भकाभक पन्छाएजस्तो लाग्यो । एकछिनमै मेरो खुट्टामा चिसो हावाले छोयो । अनि बुवाको तातो हातले छोएको पनि थाहा पाएँ ।
“कल्पना ए कल्पना,” बुवाले मलाई आँगालोमा बेस्सरी कस्नुभयो, “ल मुख त कस्तरी काटिएछ ।” म बोल्न नसक्ने भइसकीछु । बुवाले मलाई बोकेर घर लैजानुभयो ।
“माइलीको हालत यस्तो भयो । ठुली जंगल गएकी छे । मामाघर गएकी कान्छीको के भयो होला? बुबाले लामो सास फेरेको सुनेँ ।
“ओहो ! के भो कल्पनालाई?” ठूली दिदी बोलेको सुनेँ ।
“ए सिर्जना, तिम्री बहिनीलाई के भयो होला, मामाघर पुगेर बुझ त?” बुबाले भन्नुभयो ।
बुवाले मेरो ओठमा कपडा बेर्नुभयो । हातमा पनि बेर्नुभयो । खुट्टातिर कताकता चसक–चसक दुखेजस्तो लाग्यो । दुख्ने ठाउँतिर सबै ठाउँमा कपडा बेरेजस्तो लाग्यो ।
“आमा, मेरी आमा, हामीलाई किन छाडेर जानुभएको, हामीलाई पनि सँगै लानुस,” बरसानी फुपुकी छोरी सानी डाँको छोडेर रोएको सुनेँ ।
-
बाले मलाई अस्पतालतिर लैजान एउटा डोली तयार पार्नुभयो । दुईटा बाँस । त्यसैको बीचमा बोरा । मलाई बिस्तारै त्यसैमा राखेर कान्छा काका र बुवाले बोक्नुभयो । म त लल्याकलुलुक पो भइसकेछु भन्ने कुरा सुनेँ
मलाई सम्हाल्दै बुवाले फोन दबाएको सुनेँ ।
“ल कत्ति पनि लाग्दैन, मामाघरमा फोनै लागेन, कसरी थाहा पाउने कान्छीको खबर?” बुवा आत्तिनु भो ।
“के कान्छीको खबर बुझिराको, अब यही माइलीलाई पहिले हस्पिटलतिर कुदाऊ, केही औषधी त होला नि,” ठुलीआमा कराउनुभयो, “कान्छीको खबर हामी बुझ्छौँ ।”
अस्पतालको नाम सुनेपछि बाँच्ने आशा पलायो ।
बुबाले मलाई अस्पतालतिर लैजान एउटा डोली तयार पार्नुभयो । दुईटा बाँस । त्यसैको बीचमा बोरा । मलाई बिस्तारै त्यसैमा राखेर कान्छा काका र बुवाले बोक्नुभयो । म त लल्याकलुलुक पो भइसकेछु भन्ने कुरा सुनेँ । एक जनाको मधुरो स्वर पनि सुनेँ, “विचरा कति छोटो आयु लिएर आएकी रैछिन् । बाच्लिन् र यिनी ?”
“डाक्टर साप मेरी छोरी बचाइदिनुस्,” अहेवको अगाडि बुबाको पुकार सुनेँ । अहेव दौडादौडमा थिए क्यारे । मलाई हेर्न अलि ढिलै आइपुगे । अरू पनि म जस्तै घाइते भए कि, मैले यही सोचेँ ।
“रगत धेरै बगिसकेछ ।” अहेव बोलेको सुने । मलाई उनै अहेवले धेरै पटक सुई लगाइदिएका थिए । त्यसैले मैले अहेव अंकलको स्वर चिने । आँखा खोल्न त मलाई अल्छी लागिसकेको थियो । रोएर होला मेरो आँखा थाकेको । खुल्न पनि मान्दैन थियो ।
“दुखाइ कम गर्ने औषधीसहितको स्लाइन चढाइहाल्नु, घाउतिर मलहम पनि लगाउनुपर्छ,’ डाक्टर अस्पतालकै अर्को अंकललाई अह्राउदै हुनुहुन्थ्यो । शायद् बाहिर नै हुनुपर्छ । मलाई स्लाइन चढाइने भयो । म बाँच्छु जस्तै लाग्यो । अहेव अंकलको स्वर सुन्ने वित्तिकै पहिलेपहिले त आधी रोग निको भएजस्तो लाग्थ्यो । उहाँको स्वर सुनेपछि आँखा खोल्ने प्रयास गरेँ । तर, अहँ सकिनँ ।
औषधि पाएर होला । म त भुसुक्क निदाएछु ।
०००
आमा बिदेश जानुभएको थियो । आमाले मेरो खबर थाहा पाउनु भएछ । अनि बुवालाई फोन गर्नुभयो । अप्ठेरो परेको कुरा बुवाले सुनाउनुभयो । आमाले तुरुन्तै काठमाडौ आउने कुरा गर्नुभयो । त्यसपछि त्यहाँबाट हेलिकप्टर ल्याउँदै हुनुहुन्छ भन्ने खबर आयो ।
मेरो आँखा अलिअलि खुल्ने भएछ । त्यही बेला ‘घटटटटटट….’ आवाज आयो । हामी सुतेको चौर छेवैमा हेलिकप्टरको आवाज थियो त्यो ।
कस्तो अचम्म मैले त सपना पो देख्दै थिए । हेलिकप्टर त साँच्चै नै आएको रहेछ ।
‘के आमाले नै पठाउनुभएको हो त हेलिकप्टर?’ मनमनै सोधेँ ।
त्यहीबेला आमाले फोन गर्नुभएछ । ‘ल सबै ठिकै छ, घर भत्कियो, कल्पनाको ओठ काटिएको छ, आर्मीको हेलिकप्टर आएको छ, त्यसमा चढाइदिनुपर्यो, पछि कुरा गरौँला, पीर मान्नु पर्दैन,’ बुवाले फोन काट्नुभयो ।
“लौ लौ कल्पनालाई पनि चढाइ हाल,” अहेव अंकलको आदेश सुनेँ ।
“चौतारा अस्पतालमा पुर्उँछु, आफन्तहरू त्यतै जानु,” नयाँ स्वर सुनियो ।
बुवाले मलाई हेलिकप्टरमा राख्नुभयो र पाखुरा, कम्मरतिर केके बाँधेजस्तो लाग्यो । म अलिअलि देख्न सक्ने भएछु । खुसी लाग्यो ।
पाइलटसँगैको सिटमा हो कि हेलिकप्टरले भुँइ छाड्दै गर्दा जमिन फन्फन्ती नाचिरहेको देखेँ । हाम्रै स्कुलको माथि हुँदै उड्यो हेलिकप्टर । हाम्रो स्कुल त भताभुङ्ग पो भत्केछ । त्यसपछि हाम्रो गाउँमाथि पुग्यो । गाउँका घर त सबै लडेका रहेछन् ।
एकैछिनमा हामीलाई एउटा ठुलो चौरमा ओरालियो । मथ्लाघरे गम्भीरे बाजे पनि हेलिकप्टरमै रहेछन् । हेलिकप्टरमा चढाइएकाहरूमध्ये कसैको खुट्टा भाँचिएको सुनियो, कसैको हात भाँचिएको रे ।
मलाई स्ट्रेचरमा राखेर लगे । खुला चौर । त्यही रे चौतारा अस्पताल । मेरो परीक्षण सक्यो क्यारे । डाक्टरले मेरा बुवा–आमा खोज्नुभयो ।
“उसको बुवा आउँदैछ होला गाउँबाट, अहिले के गर्नुपर्ने हो मलाई भन्नु,” गम्भीरे बाजे बोलेको सुनेँ ।
“ओ हो तपार्इँ आफै घाइते, कसरी भन्ने र ?” डाक्टर बोलेको सुनेँ ।
“हामीलाई काठमाडौं पठाउनुपर्ने हो भने म जिम्मा लिन्छु नानीलाई,” बाजेले भन्नुभयो ।
“हुन्छ त्यसो भए । आर्मीको गाडी तयार छ । तपाईहरूको केस अलि सिरियस नै छ, काठमाडौँ जानुपर्छ,” डाक्टरले भनेको सुनेँ ।
मैले भने बुवा पर्खेँ । तर, उहाँ आइपुग्नु भएन । बाटो कति लामो हो । थाहा थिएन । चौतारा कहिल्यै आएको पनि थिएन । गाडी आउने बाटो पहिरो खसेर बन्द भएको छ भन्ने सुनेँ । आमा सम्झेँ । उहाँ त विदेशमै हुनुहुन्छ । अब अस्पतालमा मेरो साथी कोही नहुने भो । घाउहरू त्यसै बुरुरु भएर ठूलो ठूलो भए झैं लाग्यो । आँखा टिलपिल भयो । कस्तो अचम्म, मन दुख्दा पनि आँशु आउने रहेछ ।
गम्भीरे बाजेको जिम्ममा म काठमाडौं जाने भएँ । हामी छाउनीमा रहेको आर्मी क्याम्पमा पुग्यौँ । कति धेरै बिरामी रहेछन् अस्पतालमा ।
“ओहो! ओठमा ठूलो चोट लागेछ । अरू ठाउँमा पनि हेरौँ । एक्स–रे गर्नुपर्छ ल कल्पना,” डाक्टर सापले भन्नुभयो ।
टाउको हल्लाएँ । कहिल्यै नदेखेको डाक्टरले मेरो नाम जानेको देखेर म त त्यसै खुसी भएछु ।
“ल ल सिस्टर, कल्पनाको एक्सरे गरिहाल्नु त,” उही डाक्टरको आवाज सुनियो ।
एक जना दिदी आएर मेरो स्ट्रेचर विस्तारै ठेल्नुभयो । अनि अर्को कोठामा लानुभयो । कोठामा भएको कालो खाटमा सुताएर अलि पर गएर मेसिन घट्याक्क पार्नुभयो ।
आम्मै मेरो त सातो उड्यो । खाटबाट जुरुक्क उठे र ढोकातिर कुदे । मेरो शरीर डरले लगलगी काँपिरहेको थियो ।
“धत्तेरी ! नानी किन आत्तिएकी ? केही हुन्न । फोटो खिचे जस्तै हो ।” दिदीले भन्नुभयो ।
“ल जाऊ सुत । मैले एक्स–रे लिन्छु । उहाँले सम्झाउँदै भन्नुभयो । झिलिक्क बत्ती बल्यो । दिदीले पहिला ओठको फोटो खिच्नुभयो । त्यसपछि खुट्टाको । अनि मलाई पहिलेकै कोठामा लगेर राख्नुभयो ।
“यो कल्पनाको एक्स–रे रिपोर्ट” फोटो खिच्ने दिदीले डाक्टर अंकललाई एउटा कालो पाता दिएको देखे ।
“ठीक छ, कल्पनालाई ओठमा बाहेक अरू ठाउँमा त्यति खतरनाक चोट लागेको छैन । ओठ चाहिँ सिलाउँनुपर्छ, है कल्पना,” डाक्टर अङ्कलले भन्नुभयो ।
मेरो हात ओठमा पुग्यो । तर, ब्यान्डेजले छोपेको थियो । चिउँडोसम्मै च्यातिएको थियो रे । गम्भीरे बाजेले भन्नुभएको सुनेको । उहाँ त कता पुग्नुभयो, यता आइपुगेपछि भेट नै भएन ।
मलाई एकजना आर्मी अङ्कलले स्ट्रेचरमा राखेर बाहिर ल्याउनु भयो । त्यहाँ हरियो रङको एम्बुलेन्स थियो । त्यसमा राखेर मलाई पाटनको राजदल गणमा पुर्याइयो ।
त्यहीँ बुवा आइपुग्नुभयो । बुवाले मेरो कपाल मुसार्नुभयो । त्यहीबेला चिउँडो छेउमा चस्स भए जस्तो लाग्यो । तीन चारपटक चस्स दुखे झै लागेको थियो । त्यसपछि केही थाह पाएन ।
तेस्रो दिन मलाई फेरि छाउनी पुर्याइयो । “ल ! कल्पनालाई धेरै सुधार भएको छ । कुनै खतरा छैन । आजलाई डिस्चार्ज गरिदिन्छु पाँच दिन पछि फेरि ल्याउनू ।” डाक्टर सापले बुबालाई भन्नुभयो ।
“गाउँ जाने गाडी चल्दैन । फेरि भूकम्प आएर बाटो भत्केका छन्, कहाँ जाने होला पाँच दिन,” बुवा एक्लै फतफताएको सुनेँ ।
“बाबा, सानीमा काठमाडौँमा बस्नुहुन्छ भनेको होइन र?” मैले सम्झाएँ । ओहो म त बोल्न पनि सक्ने भएछु । मनमनै खुसी लाग्यो ।
“हो, त तर कुन ठाउँमा पो हो,” बुबाले भन्नुभयो ।
बुवाले सानीमालाई फोन गर्नुभयो । सानीमा पनि गाउँ जानुभएको रहेछ ।
सानीमाले उहाँसँगै बस्ने साथी छाउनीमा पठाउने कुरा गर्नुभयो ।
सानीमाको साथीसँगै हामी अस्पतालबाट बाहिर निस्क्यौं । झन्डै १५ दिन भएको थियो होला, सानीमा गाउँबाट फर्कनुभयो । बुवा चाहिँ गाउँ निस्कनुभयो । ठीक नभएसम्म म सानीमासँग काठमाडौँमै बस्ने भएँ ।
त्यही दिन मेरो कुरा सुन्न धेरै जना कोठामा जम्मा भएका थिए । “भूकम्पले दिनु दुःख दियो है कल्पना,” कृष्ण दाइले त्यो दिन सम्झाउन खोज्दै थिए ।
‘भूकम्प !’ सानीमा चिच्याउनु भयो । भाग दौड मच्चियो ।
म पनि सडकतिर कुँदे । वाह ! सडकमा त सबभन्दा पहिले म नै पो पुगेछु ।
एक महिनापछि बुवा र सानीमासँगै अस्पताल पुगें । सबै चेकअप भयो ।
“कल्पना तिमलाई सब ठीक छ । अब गाउँ गएर राम्रो सँग पढ्नु ल,” डाक्टर सापले गालामा हत्केलाले थप्थपाउनुभयो ।
गाउँ पुगेँ । गाउँ त कस्तो विरक्त लाग्दो । पहिलेका घरहरू नदेख्दा बुचो जस्तो देखिने । तर, सबैको छाप्रो बनेको रहेछ ।
“ए कल्पना ! आइस् ।” पल्ला घरकी काकी खुसी देखिनुभयो । “ओ ! हो ! लौ लौ राम्रो भएछ,” छाप्राबाट मान्छेहरू फुत्त–फुत्त बाहिर निस्केको देखेँ ।
एकै छिनमा धेरै मानिसहरूले मलाई घेरे । म त अक्क न बक्क भएँ । केही बोल्नै सकिनँ । मैले ट्वाल्ल परेर गाउँलेहरूलाई हेरी मात्र रहेँ । पछाडिबाट मधुरो स्वर सुने “भाग्यमानी रहिछ ! काललाई पनि जितेर आई ।”
मैले सिर्जना दिदीलाई देखेँ । बहिनीलाई पनि देखे । भिडमा आमा खोजेँ । उहाँ त हाम्रो भविष्य उज्ज्वल पार्न भनी विदेश जानु भएको हो नि । कतै त्यता पनि भूकम्प त आएन । म आमा सम्झेर भक्कानिएँ । आफूलाई सम्हाल्न खोजेँ तर सकिन । दौडिदै दिदीको काखमा अँगालो हालेँ ।
समाप्त