यो जानकारी छ कि छैन लौ भन ।
कोरोना कविता
युरोप सारा र अमेरिकातिर,
संसारका देशहरू सबैतिर ।
मार्दैछ यो कोविड रोगले जन,
यो जानकारी छ कि छैन लौ भन ।
कठै कसैका परिवार सिद्धिए
माता पिता बन्धु र मित्र रित्तिए
थाम्छन् त्यहाँ जीवित के गरी मन !
यो जानकारी छ कि छैन लौ भन ।
मातापिताको शव सुम्सुम्याउन,
परै रहोस् बाहिर नै बसी रुन-
पाइन्न हेर्नै पनि अन्त्यको क्षण,
यो जानकारी छ कि छैन लौ भन ।
यो रोग लागेर मर्यो भने यदि,
हुन्नन् मलामी तिनका कुनै पनि ।
आगो दिने हुन्छ अरू कुनै जन,
योजानकारी छ कि छैन लौ भन ।
बढ्दैछ यो कोबिड झन् दिनैदिन,
हारे महाशक्तिहरू यसै क्षण ।
विज्ञानको हुर्मत भो अहा ! किन !
यो जानकारी छ कि छैन लौ भन ।
रोगीहरूका उपचार खातिर,
अकालमैं धेर बिते चिकित्सक ।
तिनीहरूको अवसान भो किन !
यो जानकारी छ कि छैन लौ भन ।
मैमत्त भै डुक्रिन तम्सनेहरू,
ब्रह्माण्ड, तारातिर लम्कनेहरू ।
विषाणुद्वारा भयभीत छन् किन !
यो जानकारी छ कि छैन लौ भन ।
जहाँ छँदैछैन कुनै प्रदूषण,
चल्दैन यो कोबिडको कुनै दम ।
नेपालका रक्षक ईश हुन् कुन !
यो जानकारी छ कि छैन लौ भन ।
यो बन्दले को, कुन वर्ग पीडित,
भयो धनी या त गरीव ताडित !
सो वर्गको रक्षक व्यक्ति हो कुन !
यो जानकारी छ कि छैन लौ भन ।
प्रजा मरेमा कसमाथि शासन-
गर्छौ र को सुन्छ निरर्थ भाषण !
मर्ने भए खाद्य अभावमा जन,
यो जानकारी छ कि छैन लौ भन ।