परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

डरले थर्कमान माधव- प्रचण्ड – उत्तेजित  रवि!

जो शक्तिशाली छ, सबै पक्षमा आफू भन्दा सवल छ त्योसँग डराउनु अस्वभाविक होइन । इतिहासले पनि यस्तै भन्छ । त्यही कारणले होला अहिले प्रचण्ड – माधव कमरेडहरू एमालेसँग कहालीलाग्दो गरी डराउनु भएको छ । उहाँहरू आत्तिएर “एमालेले हाम्रो पार्टी फुटाइ दिन्छ होला” भन्दै हुनुहुन्छ । एमालेलाई शक्तिहीन बनाउन कमर कस्नु भएका प्रचण्ड – माधवहरूले अहिले आफ्नै पार्टीको अवस्था कमजोर भएको र आफ्नै नेता- कार्यकर्ताले आफूहरूलाई छाड्दै एमालेतिरै गएको बुझ्न थाल्नु भए छ ।

यता रवि लामिछाने जीको कुरा अर्कै हो । उहाँ जहा आबद्ध भएर काम गर्नु हुन्थ्यो त्यो संस्थाको उध्देश्य नै सर्वसाधारण गरिब जनताले बडो दुख गरेर जम्मा गरेको रकम अपचलन गर्नु थियो भन्ने बुझिन्छ । त्यस संस्थासँग आबद्द्ध व्यक्तिहरूको अतित र वर्तमानले यही पुष्टि गर्छ । यसो भन्दैमा रविजीले पनि  “अपराध गर्नु भएको थियो” भन्न खोजेको होइन ।

तर, रविजीको लागि  विडम्बना के भयो भने उहाँ जहा आबद्ध हुनु भयो त्यहाँको कार्यकारी पदमा रहनु भयो । “भ्रष्ट नेताहरूलाई टुडिखेलमा उभ्याएर नाकको डाँढी भाँच्नुपर्छ” भन्ने रविजीको उध्द्घोघोष र व्यवहारले पनि अहिले रविजीलाई गाह्रो बनायो । रविजीले ठिक भन्नु भएको थियोे । भ्रष्टाचार निर्मूल पार्नुपर्छ । यसलाई हृदय देखिनै नेपालीले समर्थन गर्छन् । तर,उहाँले त्यो शब्द प्रयोग गर्नु भन्दा पनि “भ्रष्टहरूलाई कानुनी दायरामा ल्याएर जेल हाल्नु पर्छ” भन्नु भएको भए उत्तम हुने थियो होला । नेतृत्वको उत्तेजक भाषणले केही समय कार्यकर्तालाई उत्साहित बनाए पनि केही समयपछि भने उनीहरूको उत्साह निराशामा परिणत हुन्छ ।  यो यथार्थ बुझ्न टाढा जानु पर्दैन प्रचण्डजीको पार्टीको अवस्था हेरे पुग्छ । पहिला कति कार्यकर्ता थिए अहिले कुन अवस्था छ ? यसै कारण धरातलीय यथार्थमा उभिएर नेतृत्वले अभिव्यक्ति दिनु पर्छ । रविजी दुई दुई पटक गृहमन्त्री बन्नु भयो । त्यस बखत उल्लेख गर्न लायक र जनताले सम्झनु पर्ने खालको कुनै काम गर्नु भएको थाहा भएन । “गर्दै थिएँ , गर्न लागेको थिएँ” भन्नु र गर्दै नगर्नु एउटै कुरा हो भन्ने रविजीले पक्कै बुझ्नु भएको छ ।

रविजीले सहकारीको रकम अपचलन गर्नुभयो वा गर्नु भएन त्यो  रविजी र संलग्न साथै सम्बन्धित पक्षलाई नै थाहा छ । यस विषयमा तेस्रो पक्षले टीकाटिप्पणी गर्नुले खासै अर्थ राख्दैन । त्यसलाई चिया गफ भनिदिए हुन्छ । अहिले रविजी पुर्पक्षका लागि थुनाम हुनुहुन्छ । यत्तिमै आत्तिनु पर्ने कुनै कारण छैन । तर, किन हो रविजी बडी नै आत्तिनु भएको छ र उत्तेजित बन्नु भएको देखिन्छ । यसले रवि जीलाई नै कमजोर बनाउँछ । उहाँले रमतेलजी र छवि जोशीजीको पनि बयान सुन्नु पर्ने अवस्था आइलागेको छ । सहकारी बारे थाहा नभए  रविजीले पहिलाका आफ्नै सहकर्मी  जोशी जीहरूसँग सहकारीको रकम अपचलन बारे बुझ्नु राम्रो हो भन्ने सोच्नु पर्ला ।

अब पार्टीहरूको कुरा गर्नुपर्दा जसले जे भने पनि अहिलेसम्म नेपालमा उम्रिएका पार्टीहरू मध्य नेकपा एमाले नै संगठनका हिसाबले बलियो देखिन्छ । यसको पुष्टि गत निर्वाचनमा प्राप्त पार्टीगत  मतले पनि गरेको छ । स्मरणीय छ एमालेबाट चोइँटिदा माधव नेपाल जीको अवस्था संविधानले निर्दिष्ट गरेको केन्द्रीय समिति र संसदीय दलमा ४०/४० प्रतिशत पुग्ने थिएन । त्यस बखत शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले माधव जीलाई पार्टी चोइट्याउन सजिलो होस् भनेर केन्द्रीय समिति वा संसदीय दल कुनै एकमा २० प्रतिशत मात्र भए पनि  पार्टी चोइट्याउन पाउने अध्यादेश ल्याएर सहज बनाइ दिनुभयो । अहिले त्यसैको साँवा माधवजी खाँदै हुनुहुन्छ । व्याजको आशा गर्ने ठाउँ ठहर केही नै बनाउन सक्नु भएन ।

अब हुबहु त्यही अध्यादेश आयो भने “पहिला र अहिलेको अभ्यासमा आकाश जमिनको फरक छ” भन्नु बाहेक माधव काम्रेडसँग अर्को विकल्प रहे जस्तो छैन । त्यस ताका पनि अध्यादेशको विरोध भएको थियो । अहिले पनि त्यस्तै अध्यादेश आयो भने विरोध गर्नै पर्छ । यो विरोध तपाईंहरूको पार्टी जोगाउनका लागि मात्र  हुनुहुँदैन । तपाईंहरूको पार्टी जेसुकै होस् अधिकांशलाई मतलब छैन । तर, जहिले पनि  आफ्नो आवश्यकता अनुसार नियम, कानुन, परम्परा र संविधानको धज्जी उडाउने काम नगर्नुहोस् । पहिला तपाईंहरूलाई खुशी लिएर आएको अध्यादेश अहिले पीडा बनेर आउदै छ । यसो सम्झनुहोस् र गम्नु होस- परिस्थितिले कसरी ङ्यक्छ ।

यही डरको मातहत रहेर गत शुक्रबार नयाँ वानेश्वरमा प्रतिपक्षी नेताहरूको बैठक बसेको खबर आयो । बैठकमा अर्कै विषय भनेर सत्ता पक्षकै दुई पार्टीका दुई अध्यक्षलाई पनि बोलाइएछ । उहाँहरू मध्य महन्थ ठाकुरले त्यस खालको बैठक भनेर नबोलाएको र थाहा पाएपछि सुरुमै उठेर हिडेको भनेर पत्रकारहरूलाई सुनाउनु भयो । अर्की अध्यक्ष रन्जिताजीले बैठक सकिएपछि आफू पुगेकाले बैठक बारे थाहा नभएको भन्नु भयो । माओवादी र नेकपा समाजवादीका नेताहरूको सोच नेपाली काङ्ग्रेसलाई नचिढ्याइ र सुमसुम्याँउदै एमालेलाई चिथोर्दै कमजोर बनाउने रहेको बुझिन्छ । तर, नेपाली काङ्ग्रेसका सभापति प्रचण्ड जीको पहिलाको गतिविधि सम्झिएर अरकच्च पर्नु भएको देखिन्छ । र, देउवाजीले प्रचण्डजीलाई यति छिट्टै विस्वास गर्ने परिवेश पनि तयार भएको पाइँदैन । माधवजीलाई भने “रिस खा आफू, बुद्धि खा अर्को” को अवस्था झेल्नु परिरहेको छ ।

गत शुक्रबारको बैठकमा  गम्भीर छलफल भयो – रवि जीलाई “सहकारी काण्डबाट कसरी जोगाउने”, “माधव जीको पार्टी नफुट्ने लेपन कसरी तयार गर्ने” र विभिन्न पार्टीका नेता-कार्यकर्ता एमालेतिर जानबाट कसरी रोक्ने ? भन्ने विषयमा गम्भीर छलफल भएको समाचारहरूमा पढ्न पाइयो ।  वनको बाघले नखाए पनि मनको बाघले खानु अस्वभाविक थिएन । मानिसलाई परिस्थितिजन्य डरले डसेपछि जोसुकै व्यक्ति भयग्रस्त बन्न पुग्छ । अहिले प्रतिपक्ष दलका नेताहरूलाई त्यही मनको  बाघले खाएको  पाइयो । रविजीले “सहकारी” देखि उतर्सिनु उहाँको विगत भोगाइ, बोलाइ र व्यवहारले गर्दा हो । यो लेख तयार गर्दैगर्दा रविजी पक्राउ परिसक्नु भएको छ । तर, माधवजी नतर्सिए पनि हुने अवस्था छ । उहाँ प्रतिको आकर्षण विकर्षणमा परिणत भएपछि भविष्य खोज्न नेता-कार्यकर्ता अर्को पार्टीमा जान्छन् भने जान दिनुपर्छ ।

त्यसमाथि माधव कामरेड स्वतन्त्रता मनपराउने नेता भनेर चिनिनु हुन्छ । अरुलाई पनि स्वतन्त्रता  दिनुहुन्छ भन्ने त्यहाँ धेरैलाई लाग्न थालेको हुनुपर्छ । एमाले चोइट्याउदा नेकपा समाजवादीको नीति र लक्ष्य एमालेलाई कम्जोर बनाउने थियोे । अब त्यसको मूल्यांकन गरेर बस्ने बस्छन् , यहाँ बसेर भविष्य “सुरक्षित” छैन भनी ठान्नेहरू एमाले फर्किन्छन भन्ने नेताहरूले पनि बुझ्नुपर्छ । जस्तै रामकुमारी जीको चित्त कुँडिएको छ, आले जीको मन भाँचिएको छ, किसनजीमा दोधार छ, धनबहादुरले खुट्टा उचाल्नु भएको छ, मिश्रजी एमालेमा फर्कौ भन्न थाल्नु भएको छ, अरुहरू दलबलसहित एमालेमा जान तयार हुदैछन् । यस्तो बेलामा माधव कामरेडको “अपमान सहेर बसिदैन” भन्ने शब्द बोल्दै हिड्छन् भने जान दिनुपर्छ । थामेर बस्न सक्ने अवस्था पनि देखिदैन ।

अब प्रचण्डजी- उहाँ  “सबैभन्दा ठूलो पार्टीको अध्यक्षको नाताले” भन्ने गर्नु हुन्थ्यो । अब सायदै त्यो शब्द बोल्न पाउने दिन आउला ! तथापि प्रचण्ड नेपाली राजनीतिको संसदीय अभ्यासमा सफल नेता भनेर मान्नुपर्छ । किन भने एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्डले बारम्बार प्रयोग गर्न सक्नु भयो । ३२ सिटे आफ्नो पार्टीलाई प्राय सबैपटक सरकामा राख्न सफल हुनु भयो । आफ्नो बुताले नभ्याउदा कहिले ओली र कहिले देउवालाई प्रयोग गरेर प्रधानमन्त्री बन्न सफल हुनु भयो । पार्टी सग्लो राख्न नसके पनि ३७ वर्षदेखि पार्टीमा सर्वेसर्वा अध्यक्ष हुनुहुन्छ । यो उहाँको सफलता हो । अहिले सत्ताको स्वादबाट विमुख हुनु पर्दा  उहाँमा लोभ मिश्रित इर्स्या र डाहा चुलिनु साथै उत्तेजित बन्नु स्वभाविक हो ।

माओवादी केन्द्र खिइदै गयो । मोहन बैद्य, बाबुराम भट्टराई, विप्लवलगायत सहयोद्धाहरूले पुष्पकमल दाहालको नेतृत्वमा रहन चाहेनन् । माओवादी केन्द्रसँग होइन प्रचण्डसँग वितृष्णा भएको बैद्य र भट्टराईको अभिव्यक्ति थियोे । सायद विप्लव बाहेक पूर्व माओवादीहरू अब प्रचण्डलाई नेता मानेर त्यो पार्टीमा फर्कने अवस्था आउदैन । किन कि संसदीय अभ्यासका पार्टीहरूको सवल र दुर्बल पक्ष जाँच्ने कसी भनेको जनमत नै हो  । यो जनमतमा  माओवादी तिव्र गतिमा ओरालो लागेको छ । २०६४ सालदेखि यता निर्वाचनको नतिजाले माओवादीलाई घुँडा टेकाउदै लगेको प्रष्ट देखिन्छ । यस्तो अवस्था देखेपछि  कोही पनि माओवादीमा फर्कदैन । अब प्रचण्डजीले माधवजी र विप्लवजीलाई आफ्नो पार्टीमा समाहित गरेर अगाडि बढ्ने अर्को विकल्प देखिदैन ।

प्रचण्ड र माधव कामरेडसँग अब “बैशाखी” छैन । अहिले “सानो पार्टी हुनाको नाताले”  बैशाखी नहुदाको पीडा उहाँहरुले भोग्दै हुनुहुन्छ । प्रत्यक्ष  रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली र अप्रत्यक्ष रुपमा (ओलीसँग मिलेको कारणले) शेरबहादुर देउवासँग उहाँहरू रिसाउनु भएको छ । २०८४ लाई सम्झिएर तर्सिदै देउवातिर अझै पनि मायाँमोह छ भन्ने दर्शाउन लागि पर्नु भएको देखिन्छ । तर, नेपाली काङ्ग्रेसले “अबका चुनावहरूमा कसैसँग पनि सहकार्य नगर्ने” भनेर उहाँहरूको छट्पटी झन बढाइ दिएको छ । यता एमाले भने नेकपा समाजवादीका धेरै जसो नेता-कार्यकर्ता एमालेमा फर्किन्छन्, माओवादी फेरि पनि टुक्रिन्छ भनेर सोच्दै छ । राजनीतिक विश्लेषकहरुले भने माधवजीको पार्टीका प्राय नेताहरू एमालेमा फर्किने र प्रचण्डको पार्टीको जनमत भने अरु घट्ने विश्लेषण गर्दै छन् ।

Facebook Comments