परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालमा रेडियो प्रशारणको इतिहास : रोमाञ्चकतादेखि रूपान्तरणसम्म–१२

रेडियो इतिहासमा प्रशारण विद्रोह

नेपालको रेडियो प्रशारण इतिहासमा प्रशारण विद्रोहको संयोग विभिन्न कालखण्डमा अनौठो र जबर्जस्त कुँदिएको छ । अर्थात् नेपाली रेडियो प्रशारणको इतिहासमा प्रशारण विद्रोह छुटाउनै नमिल्ने घटना बनेका छन् । २००७ सालको जनक्रान्तिताका भोजपुर र विराटनगरमा राजनीतिक विद्रोहीहरुले ‘रेडियो प्रशारण’बाट तत्कालीन शासकहरुलाई चुनौती दिएका थिए । तीनै विद्रोही रेडियो सञ्चालकहरुको सक्रियतामा पछि रेडियो नेपालको जन्म हुनपुग्यो । २०५२ साल चैतमा ‘मिडिया प्रोफेसनल’ले व्यवसायिक विद्रोही प्रशारण सुरु गरेका थिए । जसले रेडियो सगरमाथाको जन्म दियो र दक्षिण एसियामै स्वतन्त्र रेडियोको ऐतिहासिक आवश्यकता प्रमाणित गरी सम्भावनाको मार्ग प्रसस्त गर्‍यो । यी दुवै प्रशारण बारे माथि पर्याप्त उल्लेख भइसकेको छ । नेपालको प्रशारण इतिहासमा तेस्रो राजनीतिक प्रशारण विद्रोह पनि सशक्त रुपममा रहेको छ ।

२०५२ सालमा नेकपा (माओवादी) ले सुरु गरेको आन्लदोलन क्रमशः सशस्त्र विद्रोहमा परिणत भयो । माओवादीलाई आतङ्ककारी घोषित गरी सरकारी सञ्चार माध्यमहरुले एकोहोरो प्रचार गर्न थालेपछि माओवादी सशस्त्र विद्रोही पक्षले पनि प्रचारलाई बलियो बनाउनु पर्ने आवश्यकता महशुस गर्‍यो । पहिलो शान्तिवार्ता असफल भएर फर्किएपछि माओवादीले रेडियो प्रशारणलाई प्रयोगमा ल्याउने सोच बनायो । क्यानडाको भेरोनिका कम्पनीद्वारा उत्पादित १०० वाट क्षमताका एफएम ट्रान्समिटर रहेका पाँच वटा सुटकेस मोवाइल रेडियो स्टेशन माओवादीका लागि मगाउने व्यवस्था काठमाडौं महानगरका पूर्व मेयर केशब स्थापितले मिलाए । विभिन्न च्यानल मार्फत पैसा भुक्तानी पाएपछि क्यानडियन कम्पनीले अमेरिकाको उत्तरपश्चिमी राज्य वासिङटनस्थित एक नेपालीको ठेगानामा सामान पठायो । त्यहाँबाट प्याकिङमा “नेशनल पानासोनिक रेडियो” को लेबल लगाएर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो गर्ने कार्य भयो । यो कार्गो काठमाडौंको एउटा ठूलो व्यापारिक कम्पनीका नाममा आएको थियो (स्थापित, २०८१) । व्यापारिक कम्पनीले नै भन्सार कार्यालयबाट सामान छुटाएपछि केशव स्थापितलाई खबर गर्‍यो र उनले माओवादीको सम्पर्क सूत्रलाई खबर गरे । पार्टीकै जिम्मेवारीमा रहेका दिलिप प्रजापती र देबेन्द्र श्रेष्ठ, सुचिन्द्र श्रेष्ठ तथा निश्चल नकर्मीले न्यूरोडस्थित ती व्यापारीलाई पैसा भुक्तानी गरी पाँचवटा सुटकेस रेडियो स्टेशनहरु लिएर ललितपुर ग्वार्कोस्थित एउटा कोठामा राखे । त्यहाँबाटै देशका विभिन्न भागमा सुटकेस रेडियो पठाइएको थियो (श्रेष्ठ, २०८१, दाहाल, २०८१, रोका, २०८१) । मिक्चर, क्यासेट तथा सीडी प्लेएर, एन्टिना, एन्टिना केवल र ट्रान्समिटरसहित एउटा सुटकेस रेडियो स्टेशनको सालाखाला तौल १० केजी हुन्थ्यो ।

माओवादीले २०६० साल भदौ २३ गते विद्रोहमा मारिएका गोरखाका माओवादी नेता सुरेश वाग्ले ‘वासु’को चौथो स्मृति दिवस पारेर पहिलो परीक्षण प्रसारण माओवादी आधार इलाकामा पर्ने रुकुम र रोल्पाको सिमानास्थित उच्च पहाडी जङ्गली क्षेत्र तीन बहिनीको लेकबाट सुरु गरेको थियो। प्रशारण भएको पहिलो वाणी गोर्खबहादुर केसी ‘सन्देश’ को थियो– “हामी रेडियो जनगणतन्त्र नेपालबाट बोलिरहेका छौं । आजदेखि हामी जनयुद्धका घटनाहरुका सम्बन्धमा प्रतिक्रियावादी शाही सत्ताले गरिरहेको दुश्प्रचारको खण्डन गर्दै सत्य तथ्य सूचनाहरु, जनवादी गीत संगीत र जनउपयोगी सन्देशहरु प्रसारण गर्नेछौं” (रोका, २०८१) । यी सुटकेस रेडियोहरुले स्वास्थ्य, शिक्षा, प्रगतिशील संस्कृति, अनुशासन, छुवाछुत, जातिय विभेद, लैङ्गिक हिंसा, समावेशीकरण, राष्ट्रभक्ति जस्ता विषयमा सन्देश (पिएसए) पनि प्रसारण गर्ने गर्दथे । नेपाली, लिम्बु, राई वान्तवा र राई कुलुङ, शेर्पा, तामाङ, मैथिली, भोजपुरी, खाम, थारु, अंग्रेजी लगायत पाँचवटै विद्रोही स्टेसनबाट कुल १४ वटा भाषामा समाचार प्रशारण हुन्थ्ये (रोकाय, २०६९, घर्ती, २०८१, किराँती, २०८१, पुन, २०८१, न्यौपाने, २०८१, बराल, २०८१) ।

सशस्त्र विद्रोहको उत्कर्षको समयमा २०६० साल भदौदेखि माओवादी कमाण्डको भौगोलिक विभाजन अनुसार देशका रणनीतिक भूभाग समेट्ने गरी पाँचवटा प्रमुख क्षेत्र, पूर्वी कमाण्ड (सगरमाथा–मेची–कोशी) को उदयपुर, काठमाडौं भ्याली कमाण्डको काभ्रे (महाभारत क्षेत्र), पश्चिम कमाण्ड (विशेष आधार इलाका रोल्पा), भेरी–कर्णाली क्षेत्रको कालिकोट र सेती–महाकाली (कर्णाली नदी पारी समेत) क्षेत्रबाट विद्रोही रेडियो प्रशारण सुरु भए । रेडियो सुरक्षाका हिसाबले ठाउँ सारीसारी बजाउने गरिन्थ्यो । पूर्वी कमाण्ड अन्तर्गत उदयपुरको नगरेडाँडा र कमेरेडाँडा, खोटाङको ऐंसेलुखर्क, भोजपुरको ट्याम्केडाँडा, संखुवासभाको चित्रे, धनकुटाको राजारानी र भेडेटार, सिन्धुलीको फिक्कल, सोलुखुम्बुका एक दुई स्थानहरू पटके प्रशारण स्थल थिए । रोल्पाको जलजला, गाम, थवाङ, रुकुमको मेलगैरी–झिझिकाँडा, कालीकोटको कोटवाडा, जाजरकोटको रुवादहको डाँडा दैलेख र अछामका उच्च पहाडी भूभागहरू, कालिकोटको घोडसेन लेक तथा जुनी लेक, अछामको रामारोशन, पासे, चिर्किटे, नेटाकोट, मदाने, डोटीको सिमलगाँउ र कैलालीको खिमडीबाट पनि प्रसारण गरिएको थियो (रोकाय, २०६९, रोका, २०८१; सापकोटा, २०८१; किराँती, २०८१, न्यौपाने, २०८१, बाराल, २०८१) । विद्युतका लागि जेनेरेटर प्रयोग गरिएको थियो । यी विद्रोही रेडियोहरू पार्टी प्रचार विभाग र सांस्कृतिक विभागको समन्वय र प्रत्यक्ष फौजी कमाण्ड अन्तर्गत सञ्चालित थिए (दाहाल, २०८१) । रेडियोलाई फौजी कमाण्डमा राख्ने कि नराख्ने भनी त्यसबेला माओवादी भित्र विवाद समेत उत्पन्न भएको थियो ।

नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६० साल मंसिर २३ गते उद्घाटन गरेपछि रेडियो जनगणतन्त्र नेपालको औपचारिक प्रसारण प्रारम्भ भएको थियो (जनपत्रकारिता, २०७९) । स्टेशनको दैनिक नेतृत्व पूर्वमा विष्णु सापकोटा जुगल, काठमाडौंमा चन्द्रमान श्रेष्ठ, विशेष आधार ईलाकामा गोविन्द रोका ‘सचिन’, भेरी–कर्णाली क्षेत्रमा रामलाल विक र सेती–महाकाली क्षेत्रमा लक्ष्मण जोशी र पुष्प न्यौपानेले नेतृत्व गरेका थिए (रोका, २०८१) ।
यी विद्रोही रेडियो स्टेशनहरुको प्रशारण शान्ति प्रक्रिया शुरु हुँदासम्म करिव साढे तीन वर्ष जारी रह्यो । २०६३ मंसिर ५ गते माओवादीसंग ऐतिहासिक शान्ति सम्झौता सम्पन्न भयो । त्यसपछि २०६३ चैत १८ गते प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा माओवादी समेत सम्मिलित अन्तरिम सरकार बन्यो । यस सरकारको सञ्चारमन्त्री कृष्णबहादुर महरा भए । सञ्चारमन्त्री महराको कार्यकालमा यी विद्रोही रेडियोहरुलाई वैधानिक बनाउन २०६४ असारमा राष्ट्रिय प्रशारण नियमावली, २०५२ लाई संशोधन गरियो । यो संशोधन निश्चित अवधि कायम रहने र त्यसपछि स्वःत खारेज हुने व्यहोरासहित राजपत्रमा सूचना प्रकशित भयो । त्यो सूचना अनुसार इजाजत नलिइ प्रशारणमा रहेका रेडियोहरुले प्राविधिक विवरण सहित १५ दिनभित्र निवेदन दिइसक्नु पर्ने सूचना गोरखापत्रमा प्रकाशित भयो । यस प्रक्रिया अन्तर्गत रेडियो जनसन्देश– किर्तिपुर, रेडियो जनआवज– बाँके र दुईवटा ‘रेडियो गणतन्त्र’का नाममा सुनसरीको धरान तथा दाङको घोराहीमा रेडियोहरू स्थापना गरी विद्रोही रेडियोलाई ‘वैधानिक’ बनाइएको थियो । सेती–महाकाली (कर्णाली नदी पारी समेत) मा सञ्चालित विद्रोही सुटकेस रेडियोका उपकरण बिग्रिएकाले इजाजतका लागि सञ्चार मन्त्रालयमा निवेदन नै परेन (न्यौपाने, २०८१) ।

Facebook Comments