रवि दाइ झ्यालखानबाट छिट्टै आम्नु है !
त्यसताका अब पुराना पार्टीले काम गरेनन्, नयाँ पार्टी नखोजी भएन भनेर घोत्लीरहने बानी बसेको थियो । मान्छेको मन न ! हो के जाती, उ जाती कुरो आइरहने । एक दिन यस्तै सोचेर लम्पसार परिरहेको बेला रेडियोले फ्याट्ट नयाँ पार्टी खुलेको समाचार सुनायो । मलाई त “के खोज्छस् साथी, जन्मियो नयाँ पार्टी” भने जस्तो भयो । हुर्रिंदै उठेंर लागेँ उभिण्डे खोला बजारतिर ।
गाउँका बुढापाका पुछारघरे काइँलाको च्या पसलमा भेला भएर गफ चुट्तै रान । म पनि त्यहीँ सामेल भए । पल्लो घरको बिजुली पसलको एउछा युवा आएर हाम्रो रवि दाइको नयाँ पार्टी खुल्यो नि थाहा पाउनु भो भनेर बुढाहर्को ध्यान अर्कैतिर मोडेर गयो । मलाई भने कौतुहल बढेर उखरमाउलो भयो । के गरौं र कसो गरौं, रवि दाइ भनेको को हो, पार्टीको नाम के हो भन्ने लागेर आयो ।
कसलाई सोधौँ भइरहेको बेला आफूलाई नेपाली काङ्ग्रेसको नेता मान्ने भिरघरे टुप्लुकै आइपुग्यो । र, आफ्नो बानी अनुसार चुनाउ चिन्ह घण्टी भएको राष्ट्रिय स्वतन्त्र पार्टी नाम गरेको नयाँ पार्टी दर्ता भएको कुरा सुनायो । पार्टीको सभापति भने रवि लामिछाने नाम गरेको व्यक्ति भएको पनि सुनाउन बिर्सिएन । बुढापाकाहरू एकछिनका लागि भए पनि अलमल्ल परेर भिरघरेको मुखतिर हेरिरहे ।
मलाई भने के गरौं र कसो भनौं भई रह्यो । आफू पोहोरसम्म माओवादीको प्रचारमा खटेको व्यक्ति । कम्युनिस्टले मात्रै यो मुलुकमा परिवर्तन ल्याउन सक्छ भनेर यिनै बुढापाकासँग छलफल गर्ने व्यक्ति । हिजोको आजै कसरी “नयाँ पार्टीमा लाग्छु” भन्नु । दोधारमा परेकै बेला जुरुक्क उठेर हिंडे ।
उकालो बाटो, मनमा विविधखाले विचार र अपरिपक्व तन्तुले दिमागमा रेलोपेलो गरिरहेकाले ओल्तिर पल्तिर पनि हेर्न भ्याइन छु । अलि पर ढुकुरे जेठा आम्दै रान । हौ टाँडघरे ! सँगसँगै जाम्न भने । यी पनि आफूलाई खाट्टी माओवादी र जान्नेसुन्ने हुँ भन्थे ।
अलि माथि पुगेपछि आफ्नो बानी अनुसार ढुकुरेले भट्याउन थाले– हेर टाँडघरे ! नयाँ पार्टी खुल्यो अरे सरबजारतिर हल्ला छ तर हामी आत्तिएर हुत्तिनु भने हुँदैन । अहिलेका युवा “तातै खाऊँ, जली मरौं” भन्ने सोच्छन् । सामाजिक सञ्जालमा आएको अफवाहलाई “सत्य नै हो” जस्तो बनाएर अरू भ्रम फैलाउने काम गर्छन् । हाम्रो अध्यक्ष काम्रेडले रविलाई ठिक्कमा राखेर हिडाउँछन् र कुनै पनि दिन पछाडिबाट हुत्त्याइ दिन्छन् ।
यति भनेपछि ढुकुरेले उकालोतिर हेर्दै खुइ गरे । उनी उभो लागे म भने घरतिर तेर्सो लागे । त्यसपछि विभिन्न कुरा सोचेर मेरो मथिङ्गल अरु रिङ्गायो । जोसुकैले जेसुकै भनोस्, मेरो मनले रवि दाइकै पार्टीमा लाग्ने निर्णय गर्यो ।
दुई/तीन महिनापछि मान्छेहरू रवि दाइको पार्टीतिर ह्वारह्वार्ति लाग्न थाले । हुन पनि रवि दाइ अम्रिकाको त्यत्रो आमदानी, त्यत्रो शानसौकत, त्यत्रा श्रीमती र छोरीहरूसमेत चटक्कै छाडेर त्यसै नेपाल फर्किएका होइनन् भन्ने सबैले बुझेका रान । त्याग र तपस्याको प्रतिमूर्ति महान रवि दाइलाई हामीले भगवानमा परिणत गरेर देखायौं । अम्रिका र नेपाल दुवैतिरको नागरिकता र पासपोर्ट हाम्रो रवि दाइसँग सुरक्षित रहेछ । पहिले “अमेरिकी साम्राज्यवाद मुर्दावाद” भन्ने नजानिँदो गरी म नजानिँदोसँग “महान अम्रिका जिन्दावाद” भन्न पुगेँ । रविदाले पार्टी हाँक्न घन्टी बजाउनु भयो । हामी भातभान्सा खान पाइने लोभले घन्टीको तालमा बुर्कुसी मार्दै उफ्रिन थाल्यौं ।
उहिलेका कुरा के गर्नु ! डा. गोविन्द केसीका पछाडि दौडिँदा खुट्टा मर्काएर उनकै अस्पतालमा पुग्दा उपचार खर्च सुनेर मुर्छा परेको थिएँ । त्यसपछि वीर अस्पतालमा निःशुल्क उपचार गरेर फर्कने मै हुँ भन्दा अहिलेका लठेप्राहर्ले पत्याउँदैनन् । त्यसपछि कुलमानलाई महान बनाउन पनि हामी नलागेको होइन । जब एक जना विद्युत्का जानकारले भारतबाट कति आयत भैरहेको छ ?, कुलमान हाकिम बनेपछि उत्पादन बढ्यो कि बढेन ?, भारतबाट किनेको बिजुलीको मूल्य कति तिर्छौं र यताबाट कतिमा दिन्छौं ? हामीलाई जम्मा कति घाटा छ ? भारतले बिजुली दिएन भने हाम्रो हविगत के हुन्छ ? भनेर प्रष्ट बुझाएपछि मैले कुलमानलाई चटक्कै छाडी दिएँ । त्यसपछि रवि दाइलाई पछ्याउन थालेको अहिलेसम्म आँखा चिम्लिएर पछ्याउँदै छु ।
दुर्गा प्रसाईंतिर पनि बुर्कुसी मारेर नकुदेको होइन । त्यसपछि उर्लिएर हलक्क बढेको घन्टीको रालो घनन बजाउन पाइने लोभले रवि दाइ जिन्दावाद भन्न पुगे । नढाँटी भन्ने हो भने हाम्रो घन्टी पार्टी सामाजिक सञ्जालले निर्माण गरेको हो । रकम हिनामिना गर्नेको रविदाले नाकको डाँडी भाँच्ने भनेपछि हाम्रो हिम्मत दिनमा एक बित्ता रातमा चार बित्ता बढेको थियो । अहिले आएर रवि दाइलाई झ्यालखाना कोचेको कुरो सुन्दै छु ।
नाथे सहकारीको दुई/चार अरब रुपियाँ यताउता गर्दा के चाहिँ बिग्रेको थियो र ! त्यसबेला टेलिभिजन चलाउनै पर्ने बाध्यता थियो । जसरी हुन्छ चलाइयो । अहिले रविले यसो गर्यो, उसो गर्यो भनेर के नापिन्छ ? टुडिखेलमा तानेर ल्याएर नाकको डाढी भाँचिने गरी हानेपछि सबलाई थाहा हुन्छ ।
हाम्रो रविदाइका बारेमा नानाथरी कुरा गरेर दोचारे केही व्यक्तिले खाना पचाउँदै छन् । रवि दाइका बारेमा चितौनका महिला जति पनि अरूले केही जानेको छैन । त्यसै बोलेका छन् । चितौनकी महिलाले त रवि दाइका चार ओटी सिरिमती छन् भन्नेलाई पनि मुखभरिको जवाफ दिएकी थिइन । उनले “मर्दका १० ओटी हुन्छन्, सक्छौ भने तिमारू पनि ल्याओ” भनेर फरिया सुर्केर बोलेकी थिइन् ।
अब आफू त रवि दाइको पार्टी ज्यान गए छाडिदैन । उस्तै मिल्यो भने २/४ ओटी सिरिमती ल्याइन्छ । १/२ अरब कुम्ल्याइन्छ । माओवादीमा लागेर बेलामा राम्रै जम्मा नगरेको भए मलाई यही अहिले भएका दुईटी सिरिमतिले पनि छोडेर जाने थिए । रवि दाइ पाउर लगार भा पनि छुट्छन् । अहिले हामी कोक्याउने पिंडालु खाएको मुख बनाएर बसेका छौँ । रवि दाइ छुटेपछि फेरि गृहमन्त्री बन्छन् । त्यसबेला सहकारीमात्र होइन, भकारी पनि लुड्याँउछौँ । तिमारूले केही लच्छारपाटो लाम्दैनौ । लौ जा त !