परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

दोस्रो मिडिया युगमा पहिलो मिडिया युगको रेडियोः सान्दर्भिकता र औचित्य

सञ्चार विशेष

१.     पृष्ठभूमिः

अहिले संसार नै बहुसूचना उत्पादन तथा वितरण प्रणालीमा गएको छ । पोस्टर (१९९५) ले भने जस्तै अहिले हामी दोस्रो मिडिया युगमा छौँ । पहिलो मिडिया युगलाई प्रतिनिधित्व गर्ने पत्रपत्रिका, सिनेमा, रेडियो, टेलिभिजनको सामग्री उत्पादन तथा वितरण, प्रसारण, प्रकाशन प्राधिकार अब हरेक व्यक्तिको हातमा गएको छ । पहिलो मिडिया युगका सञ्चारमाध्यमलाई परम्परागत मिडिया समेत भन्ने गरिएको छ । यी परम्परागत मिडियाको सामग्री निर्माण प्रक्रिया हिजो पनि जटिल थियो र अहिले पनि छ । काम गर्नका लागि एक स्तरको पढालेखा भएका र तालिम लिएका व्यक्तिहरूको ठूलो कार्य समूह आवश्यक थियो र अहिले पनि छँदैछ । जबकि दोस्रो युगका मिडिया एउटै व्यक्तिले हाँकिरहेको अवस्था छ ।

एकपल्ट यी पहिलो युगका मिडियाको संरचना र सञ्जाललाई केलाइहेरौँ । पुस्तक उद्योगमा लेखक, सम्पादक, प्रकाशक, टङ्कनकर्ता, शुद्धाशुद्धि हेर्ने, साजसज्जाकर्ता, फोटो खिच्ने, प्लेट बनाउने, छाप्ने, बाइन्डिङ गर्ने र वितरण गर्नेसम्मको ठूलो समूह आवश्यक पर्छ । पत्रपत्रिका उद्योगमा व्यवस्थापक, सम्पादकदेखि संवाददाता, डिजाइनरदेखि छाप्ने र वितरण गर्नेसम्मको समूह चाहिन्छ । यी दुबै उद्योगमा ठूला स्वचालित छपाइ यन्त्रका प्लान्ट आवश्यक छन् ।

चलचित्र र टेलिभिजन उद्योगमा निर्माता, निर्देशकदेखि स्क्रिप्ट लेखक, प्रस्तोता, क्यामेरापर्सन, साउण्डपर्सन, लाइटपर्सन, इन्जिनियर, प्राविधिक, मेकअपपर्सन हुँदै सहयोगीसम्मको ठूलो समूहको आवश्यकता पर्दछ । विशाल उपकरण सहितका ठूला स्टुडियो र तिनमा आवश्यकताअनुसारका फिल्ड व्वाई र अन्य सहयोगी पनि चाहिन्छन् ।

रेडियो उद्योगमा व्यवस्थापक, निर्देशक, निर्माता, सम्पादक हुँदै संवाददातादेखि इन्जिनियर, रेकर्डिस्ट, प्रस्तोता र सहयोगीसम्म आवश्यक पर्छन् । गीत–सङ्गीत उद्योगमा पनि गीतकार, सङ्गीतकार, बाद्यवादक, रेकर्डिष्टको खाँचो पर्छ । रेडियो र गीत–सङ्गीत उद्योगमा विभिन्न उपकरण सहितका स्टुडियो निर्माण गर्नुपर्ने हुन्छ । गीत–सङ्गीत उद्योगमा वितरकको सञ्जाल चाहिन्छ । यी सबै उद्योगमा माथि भनिए बाहेक विज्ञापन, बजार प्रवद्र्धन, प्रशासन, अर्थ सङकलन, लेखा लगायतका क्षेत्र पनि सँगै जोडिएर आउँछन् नै ।

२.     पहिलो मिडिया युगः विशाल संरचना र एकाधिकारः

यसको अर्थ, पहिलो मिडिया युगका आमसञ्चार माध्यमको संरचना र सञ्जाल निकै विशाल र जटिल रहँदै आएको छ । उपकरणहरू पनि त्यत्तिकै विशाल र जटिल आवश्यक पर्छन् । यी मिडियामा काम गर्न चाहने व्यक्तिले एक तहको साक्षरता, सिप र दक्षता हासिल गर्नु पूर्व शर्त नै हो । यस्ता मिडिया भिन्नभिन्न सञ्चारगृहले सञ्चालन गरेका हुन्छन् वा एउटै संस्थाले केही मिडिया सञ्चालन गरेको हुन्छ । त्यस्ता मिडिया सञ्चालन गर्ने सञ्चारगृहले राज्य सरकारबाट कानून बमोजिमको रित पु¥याएर इजाजत लिनु पर्दछ । दर्ता हुनुपर्छ । कानूनी दायरामा रही सञ्चालन गर्नुपर्छ । यस्ता सञ्चारगृहले कानून बुझेर दायराभित्र बस्न जानेका हुन्छन् । स्वतन्त्रताका नाममा सामाजिक, मानवीय र राष्ट्रिय हित विपरीत जानुहुँदैन भन्ने ज्ञान यिनीहरूमा हुन्छ भन्ने विश्वास गरिन्छ । किनभने यस्ता मिडिया सामाजिक जिम्मेवारी र कानूनी जवाफदेहिताको दायरामा सञ्चालन हुन्छन् ।

यसरी सञ्चालन हुने पहिलो युगका मिडियामा तहगत संरचना अनुकूल दक्ष जनशक्तिको ठूलो समूह कार्यरत हुनु स्वाभाविकै हो । यो ठूलो समूहमध्ये सम्पादकीय नेतृत्व गर्ने वा विषयवस्तुको नेतृत्व गर्ने समूहमा तहगत ‘गेटकिपिङ’ (समाचार वा सामग्रीको छनौट प्रक्रिया) व्यवस्था पनि हुन्छ । समाचारकक्ष सञ्चालन (Newsroom Operation) प्रभावकारी ढङ्गले हुनु आवश्यक हुन्छ । दैनिक काम र जिम्मेवारीको बाँडफाँड, नियमित बैठक, विषयवस्तु र समाचारबारे समीक्षा, आगामी बुलेटिन, दिन वा संस्करणको प्रक्षेपण, प्रतिस्पर्धीको आँकलन, समयसीमाको निर्धारण, समाचार वा सामग्रीको फाइलिङ, सम्पादन, पुनर्लेखन जस्ता प्रक्रिया नियमित रूपमा चलिरहेका हुन्छन् (मेन्चर, २०११) ।

आम उपभोक्तामाझ पुग्ने सामग्रीमा सिप, शिल्प पेशागत आचार, मूल्य, मान्यता तथा सिद्धान्त अनुकूलको मानक तह कायम गर्न र प्रकाशन÷प्रसारण हुने सामग्रीलाई प्रभावकारी तथा रोचक तुल्याउन तहगत रूपमा हथौडा, छिनो, कैँची अनि छुरा चलाउनुपर्ने हुन्छ ।

साथसाथै, त्यस्ता सामग्रीलाई सामाजिक तथा कानूनी उत्तरदायित्व अनुकूल बनाउन आचारसंहिता तय गरी पालना पनि गर्नुपर्छ । चालचित्रले त सेन्सरको पनि सामना गर्नुपर्ने हुन्छ । कुनै पनि सामग्री समाजमा पस्केबापत आइपर्ने त्यसको प्रभाव र कानूनी जवाफदेहिताबाट भाग्न पाइन्न भन्ने पहिले नै बुझेर मिडिया चलाउनु पूर्व शर्त नै हो ।

त्यसैले पहिलो मिडिया युगको प्रतिनिधित्व गर्ने सञ्चारमाध्यम विशाल संरचना सहित सामाजिक जिम्मेवारी र कानूनी जवाफदेहिताको बोझ बोकेर सामग्री उत्पादन, वितरण वा प्रकाशन÷प्रसारणमा संलग्न भएका हुन्छन् । यिनको उत्पादन, वितरणदेखि अर्थ सङ्कलनसम्मको ठूलो सञ्जाल र चक्र सक्रिय भइरहेको हुन्छ र त्यो सञ्जाल र चक्रमा प्रत्यक्ष वा परोक्ष रूपमा हजारौँ व्यक्ति संलग्न भइरहेका हुन्छन् । यी मिडियाले सामग्री उत्पादन तथा वितरण वा प्रकाशन÷प्रसारणदेखि अर्थ सङ्कलनसम्मको प्राधिकार आफैँमा निहीत राखेका हुन्छन् ।

३.     दोस्रो मिडिया युगः एक व्यक्ति पत्रकारिता र धूमिल सूचना

पोस्टर (१९९५) ले विभाजन गरेको दोस्रो मिडिया युगका मिडिया भनेका अनलाइन तथा सामाजिक मिडिया हुन् । पहिलो युगका मिडिया जस्तै सङ्गठित संरचनाका आधारमा चल्ने प्रयत्नमा रहेका केही अनलाइन मिडिया पोर्टललाई छोड्ने हो भने दोस्रो मिडिया युगमा सामग्रीको प्राधिकार व्यावसायिक संगठित संरचनाबाट व्यक्तिको हातमा गएको अवस्था हो । यी अनलाइन पोर्टलले पनि पहिलो मिडिया युगको पत्रकारिता अर्थात् मल्टिमिडिया भन्दा पनि शब्दचित्र र व्याख्यानमा नै अझै पनि जोड दिइरहेका छन् । यिनको ढप अझै पत्रपत्रिकाको धङधङेमै अड्केको छ ।

तर प्रविधिको सहजताले एउटा मोबाइल फोनकै भरमा चलचित्र, रेडियो, टेलिभिजन, पत्रपत्रिका सबैको व्यवसाय अव व्यक्ति एक्लैले गर्न सक्ने अवस्थामा पुगेको छ । यो अवस्थालाई मोजो वा मोबाइल जर्नालिज्म पनि भन्ने गरिन्छ । प्रविधिको सहजता र सुगमताका कारण यो दोस्रो मिडिया युगमा एक व्यक्तिले एक्लै मल्टिमिडिया सामग्री उत्पादन गर्नसक्छ, सम्पादन र मिक्सिङ गर्नसक्छ, त्यसको प्रकाशन, वितरण वा प्रसारण गर्नसक्छ अनि बजार प्रवद्र्धन र अर्थ सङ्कलन पनि आफैँ गर्नसक्छ ।

यसको मतलब अब त्यति धेरै ठूलो संरचना र दक्ष पेशेवर मान्छेको समूह लागेर चलाएको उद्योग अब एक व्यक्तिका हातमा आएको छ । त्यसैले दोस्रो मिडिया युगको पत्रकारितालाई वान म्यान जर्नलिजम वा एक व्यक्ति पत्रकारिता पनि भनिन्छ ।

यसरी दोस्रो मिडिया युगमा सूचना वा सामग्री एक केन्द्रबाट प्रसार हुनुको सट्टा बहुकेन्द्रबाट प्रसार हुन थालेको छ । यो भनेको हरेक व्यक्तिले आफैँ सामग्री उत्पादन र प्रसार गरिरहेका छन् । यो कार्य ‘वेभ २.०’ र त्यसभन्दा पछिको युगसँगै विकास भएको सामाजिक मिडियाका कारण सम्भव भएको हो ।

तर यसको समस्या के छ भने यसरी एउटा व्यक्तिले उत्पादन र प्रसार गर्ने सामग्रीमा सूचनाका विभिन्न चरणलाई ख्याल गरिँदैन । पहिलो वा कच्चा चरणमै पनि सूचना प्रसार हुन सक्दछ । यसमा हल्ला र भ्रमहरू पनि पर्दछन् । जसरी वर्षाका बेला पानीका मुहान र पानीका स्रोत धमिलो हुनपुग्छन् र जमिनमा रहेको समग्र पानी धमिलो हुनपुग्छ, त्यसरी नै यसरी एक व्यक्तिबाट प्रवाह हुने सूचना पनि धुमिल र भ्रामक हुनसक्दछन् ।

अहिलेका कच्चा, अदक्ष र अव्यावसायिक रिल उत्पादक, युट्युबर र तिनले प्रवाह गर्ने सामग्रीलाई यस कोटीमा राखेर हेर्दा एक व्यक्ति पत्रकारिताको छवि ऐना हेरे झैँ छर्लङ्ग देखिएकै छ । यसलाई धुमिल सूचना प्रवाह पनि भन्न सकिन्छ ।

जसरी हामी सबैसँग धमिलो पानी छानेर खानयोग्य बनाउने प्रविधि, ज्ञान र सिप नभएका कारण धमिलो पानी पिउन वा घरको भान्छामा प्रयोग गर्न सकिँदैन, त्यसरी नै एक कच्चा व्यक्तिले उत्पादन र प्रसारण गरेका सबै धुमिल सूचनालाई छनौट गरेर प्रयोग गर्ने क्षमता समाजमा सबैसँग हुँदैन । अझ मिडिया साक्षरता नभएको हाम्रो जस्तो समाजमा त यो निकै ठूलो समस्या हो ।

त्यसैले भ्रामक, झूठा र नियोजित सामग्रीलाई छुट्याउने मिडिया साक्षरता सम्बन्धी ज्ञानको अभावमा आमसर्वसाधारण त्यस्ता सूचनालाई सत्य मानी आफ्नो विचार र कर्म त्यसकै आधारमा तय गर्दछन् । जब गलत र दूषित सूचना हामी पाउँछौँ, त्यसले हाम्रा विचार पनि दूषित बनाउँछ । यस्तो बेलामा सही र सत्यतथ्य सूचना प्रवाह गर्ने र आमसर्वसाधारणलाई सुसूचित गर्नुका साथै शिक्षित गर्ने जिम्मेवारी यस्ता सूचना वा सामग्री प्रवाहकर्ताको हुँदैन । किनकि पेशागत अध्ययन र ज्ञानको अभावमा उनीहरूले त्यससम्बन्धी दक्षता हासिल पनि गरेका हुँदैनन् र कानूनी, आचार, सैद्धान्तिक वा पेशागत मूल्यमान्यताप्रति उनीहरूको प्रतिबद्धता र समाजप्रतिको उत्तरदायित्व अनि जवाफदेहिता पनि हुँदैन । समकालीन लोकतान्त्रिक बहुलवादी समाजमा तिनमाथि पूर्ण रोक लगाउन पनि सकिँदैन जसका कारण तिनले प्रवाह गर्ने धुमिल, भ्रामक र गलत सूचना-सामग्री समस्याकै रूपमा रहिआएका छन् र रहने पनि छन् । यिनीहरूसँग सूचना वा सामग्री छनौट गर्ने ‘गेटकिपिङ’ को कुनै संयन्त्र नै हुँदैन ।

४.     गेटकिपिङ र गुणस्तरः सैद्धान्तिक पक्ष

खासमा समाचारजन्य कर्म अर्थात् पत्रकारिताको कर्म पत्रकारकै हो । यो कर्म गर्ने क्रममा उनीहरूले समाचार, ामग्री र कतिनका स्रोतको तहगत छनौट गर्छन् । सञ्चारमाध्यमका सामग्री छनौट प्रक्रियालाई अङ्ग्रेजीमा ‘गेटकिपिङ’ र त्यसरी सामग्री छान्ने संवाददातादेखि सम्पादकसम्मलाई ‘गेटकिपर’ भन्ने गरिएको छ ।

लिपम्यान (१९२२) ले ‘गेटकिपिङ’ ‘गेटकिपर’ शब्दको प्रयोगबिना नै पहिलोपल्ट सम्पादकको सामग्री छनौट कार्यलाई औँल्याउँदै उसका कारणले अन्धकारमा रहेको अबोध आमव्यक्ति (Phantom Public) सम्म सहज ढङ्गले छानछुन र केलाइकुलाइ गरिएका व्यवस्थित सूचना वा विचार सामग्री पुग्ने गरेको औँल्याएका छन् ।

लेविन (१९४७) ले दोस्रो विश्वयुद्धमा सैनिक क्याम्पमा कसरी खानेकुराको छनौट हुने गरेको थियो भन्ने अध्ययन गर्न पहिलोपल्ट ‘गेटकिपर’ शब्दको प्रयोग गरे । ढोकाभित्र के र कसलाई छिर्न दिने वा नदिने भन्ने कुरा जसरी पालेले छनौट र नियन्त्रण गर्छ, त्यसरी नै खाद्यसामग्रीको निर्णय भान्छाको जिम्मेवारी लिएको व्यक्तिले गरिरहेको हुन्छ भन्ने उनको अध्ययनको सार थियो । भान्छाको जिम्मेवारी लिएको व्यक्तिले सेनाको स्वाद, पोषण र पौष्टिकता अनुरूप पालैपालो खानेकुराको छनौटमार्फत सन्तुलन मिलाएको हुन्छ भन्ने लेविनको निष्कर्ष थियो । पछि उनले यही अध्ययनको सारलाई पत्रपत्रिकामा ढाल्दै सञ्चारमाध्यममा एउटा विन्दुसम्म पुगेपछि समाचार र अन्य सामग्री छापिने कि नछापिने भनेर अन्तिम निर्णय लिइने गरेको खुलासा गरे । यो प्रक्रियालाई ‘गेटकिपिङ’ र यो काम गर्ने सम्पादकलाई उनले ‘गेटकिपर’ को संज्ञा दिए ।

तर लेविनको अल्पायुमै निधन भएपछि यो धारणालाई परीक्षण गर्ने र सिद्धान्तका रूपमा विकास गर्ने कार्य गरे प्रोफेसर ह्वाइट (१९५०) ले अमेरिकाको करीब एक लाख जनसङ्ख्या रहेको एउटा सानो सहरको करीब ३० हजार प्रति नियमित बिक्री हुने दैनिक पत्रिकामा समाचार एजेन्सीका सामग्री अन्तिम विन्दुमा रहेको सम्पादक (‘गेटकिपर’ जसलाई उनले नाम राखिदिएका थिए मिस्टर गेट) ले कसरी छनौट गर्छ भनेर सन् १९४९ मा एक हप्तासम्म अवलोकन गरे । त्यही अवलोकनको परिणामका आधारमा उनले ‘गेटकिपिङ’ सञ्चार सिद्धान्त अगाडि सारे ।

ह्वाइटपछि धेरै अध्ययनकर्ताहरू जस्तैः वेस्ट्ली र म्याकलियन (१९५७), म्याकनेली (१९५९), ग्याल्टुङ र र्‍यूज (१९६५), बास (१९६९), इरिक्सन लगायत (१९८७), सुमेकर र रीज (१९९०), मेकवेल र विन्डल (१९९३), हार्कप र ओ’निल (२००१), सुमेकर र रिक्को (२०१६) आदिले समयअनुसार ‘गेटकिपिङ’ सञ्चार सिद्धान्तका विविध पक्ष, आयाम र प्रवृत्ति उजागर गरे । यी सबै विद्लेवानले एक वा अर्को कोणबाट विभिन्न प्रवृत्ति र आयामको चर्चा गर्दा समाचार वा अन्य सामग्री छनौट प्रक्रिया समाचारीय मूल्य तथा सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक परिवेशबाट प्रभावित भए पनि अन्तिम छनौट समाचारकक्ष र यसका संवाददाता तथा सम्पादकहरूबाटै हुने कुरा स्वीकारेको पाइन्छ ।

पहिलो मिडिया युगका सञ्चारमाध्यमहरूमध्ये पत्रपत्रिका, रेडियो र टेलिभिजनबाट समाचार छनौटपछि मात्रै आमजनमानसमा सामग्री पुग्ने कुरामा सबै विद्वानको मतैक्यता रहेको पाइन्छ । हर्मन र चम्स्की (१९८८) ले त प्रोपागाण्डाका पाँचवटा फिल्टर प्रस्ताव गर्दै मिडियाको समाचार वा अन्य सामग्री सरकार, व्यापारी÷उद्योगपति र सम्भ्रान्त वर्गबाट प्रभावित हुने र तिनका स्रोतबाट प्राप्त सामग्री बढी प्रयोग गर्ने धारणा अगाडि सारेका छन् । उनीहरूले पनि ‘गेटकिपिङ’ र ‘गेटकिपर’ को सैद्धान्तिक अवधारणालाई भने चुनौती दिएका छैनन् ।

५.     ‘गेटवाचर’ र ‘गेट–ओपनर’:

पहिलो मिडिया युगका मिडियाको समाचार छनौट वा गेटकिपिङबारे छलफलपछि अब चर्चा गरौँ दोस्रो मिडिया युगका सञ्चारमाध्यममा समाचार छनौटको । सन् १९९९ को सुरुतिरै संयुक्त राज्य अमेरिकामा एउटा गफगाफ पोष्ट गर्ने एउटा अनलाइन पोर्टल ‘ड्रज रिपोर्ट’ ले तत्कालीन राष्ट्रपति बिल क्लिण्टन र ह्वाइटहाउसकी २३ वर्षीया प्रशिक्षार्थी मोनिका लिओन्स्कीको यौन–प्रकरणसम्बन्धी सनसनीपूर्ण खबर ‘ब्रेक’ ग¥यो । यसको स्रोत भनेको केबल एकातर्फी टेलिफोन टेप थियो । त्यो टेप पहिले न्यूजविकमा पुगेको थियो, तर प्रमाणको भार नपुग्ने देखेपछि न्यूजविकले खबर प्रकाशन गरेन । अर्थात् न्यूजविकको ‘गेटकिपिङ’ बाट त्यो समाचार पास हुन सकेन । गेटकिपर (सम्पादक) ले समाचार रोक्यो । उता मेट ड्रजको ‘ड्रज रिपोर्ट’ ले बिना पुख्त प्रमाण त्यो सनसनीपूर्ण खबर पोष्ट ग¥यो । केही महिनामै यो पोर्टल एक करोड ३० लाख व्यक्तिको पहुँचमा पुग्न सफल भयो । यो गफगाफवाला पोर्टलले गरेको काम भनेको कत्ति हो भने पहिलो मिडिया युगको ‘गेटकिपिङ’ र ‘गेटकिपर’ प्रक्रिया दुबैलाई समाचारकक्षबाट हटाइदियो (विलियम र डेल्ली, २०००) । बिना छनौट हल्लाको समाचारले बजार पिट्यो ।

हल (२००१) ले यो काण्डलाई ‘जिपरगेट’ काण्डको संज्ञा दिएका छन् । सन् १९७२ को अमेरिकी राष्ट्रपतीय चुनावमा तत्कालील बहालवाला राष्ट्रपति रिचार्ड निक्सनले विपक्षी डेमोक्र्याट पार्टीको चुनावी रणनीति जासूसीमार्फत् हत्याएको काण्ड ‘वाटरगेट स्क्याण्डल’ को खोज समाचारका श्रृङ्खला वाशिङ्गटन पोस्ट दैनिकमा प्रकाशन गरेर चर्चामा आएका दुई जना पत्रकारमध्येका एक बब वुडवर्डले त यसलाई जबरजस्ती तन्काएको वा पकाएको समाचारको संज्ञा दिए ।

आलोचकहरू के भन्छन् भने दोस्रो मिडिया युगको प्रतिनिधित्व गर्ने अनलाइन मिडियाले गेटकिपिङ गर्दैनन् । बरु उनीहरू गेटकिपरको सट्टा ‘गेटवाचर‘ (ढोकामा बसेर जो आए पनि र गए पनि हेरिरहने पाले) पो बन्न पुगेका छन् । ब्रन्स (२००४) ले अनलाइन मिडियाले गेटकिपिङ कार्य त्यागेको बताउँदै अब ‘गेटकिपिङ’ को सट्टा ‘गेटवाच’ मात्रै गर्ने भएकाले यिनको गुणस्तर र विश्वसनीयतामा प्रश्न उठाएका छन् । प्रतिसेकेण्ड करीब तीन लाख किलोमिटर (प्रकाशको गति) का दरले यात्रा गर्ने इन्टरनेटको गतिमा काम हरदम प्रत्यक्ष काम गर्दा छनौटको क्षमता नपुग्ने भएकाले समाचार, सूचना र अन्य सामग्रीहरू गल्ती सहित प्रवाह हुने उनको ठम्याइ छ ।

अझ एक पाइला अघि बढेर मफ, कार्पेन्टियर र क्यामरेट्स (२००६) ले त ‘गेट ओपनर’ (ढोका पूरै खोलिदिने पाले) को अवधारणा अगाडि ल्याएका छन् । उनीहरूको तर्क छ, दोस्रो मिडिया युगमा अब मिडियाले सबैका लागि ढोका खुला गर्नुपर्छ । ढोकामा नियन्त्रण र नियमन गर्ने होइन । सामाजिक समावेशिताका आधारमा नमिले पनि यो अवधारणाको एउटा पक्ष ठ्याक्कै अहिलेको अनलाइन मिडिया र सामाजिक मिडियामा मिल्न पुगेको छ ।

अनलाइन मिडियाले प्रमाणबिना पनि खबर पोष्ट गर्ने गरेका प्रशस्त उदाहरण दैनिक रूपमै पाइएको पनि छ । सामाजिक मिडियाको त कुनै जिम्मेवारी नै देखिँदैन । जसले जे लेखे पनि जसलाई गाली गरे पनि भएकै छ, एकादुई अपवादमा कारवाही परेका घटनालाई छोड्ने हो भने गाली बेइज्जति, अदालतको अवहेलना, वैयक्तिक गोपनीयता भङ्ग जस्ता प्रसङ्ग सामान्य जस्तै बन्न थालेका छन् । केही दिनअघि सीधाकुराडटकमलाई अदालतको अवहेलना गरेबापत कारवाही भएको प्रसङ्ग यसको एउटा उदाहरण हो ।

लेखेकै भरमा कारवाहीमा पर्नुहुन्न भन्ने गलत भाष्य तयार गरी जे लेखे पनि हुन्छ भन्ने भावनाको विकास गराउनमा पत्रकारहरूका सङ्गठन नै लागेका देखिन्छन्, जुन गलत हो । यसले मिडियाकर्मीको जिम्मेवारी र जवाफदेहितालाई गौण बनाउन मद्दत गर्दछ । लोकतान्त्रिक गणराज्य नेपालको संविधानको धारा १७ (२)(क) ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक र धारा १९ ले सञ्चारको हक प्रदान गरेको छ । तर यिनै धाराका प्रतिबन्धात्मक वाक्यले मिडिया र मिडियाकर्मीलाई जिम्मेवार र जवाफदेही पनि बनाएका छन् । स्वतन्त्रताको सीमा निर्धारण समेत गरेका छन् जसबारे सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले ब्याख्या समेत गरेको छ ।

अझ सामान्य व्यक्ति विशेषले सामाजिक मिडियामा प्रवाह गर्ने सामग्रीमा ‘गेटकिपिङ’ नै नहुने भएकाले जस्ता पनि सामग्री प्रवाह भइरहेकै छन् । यस्ता सामाजिक मिडिया प्रयोगकर्तामध्ये अधिकांशले सामाजिक जिम्मेवारी र जवाफदेहिता बुझेकै पनि हुँदैनन् । सामाजिक मिडिया मात्रै हैन, दोस्रो मिडिया युगका अन्य सञ्चारमाध्यममा पनि गेटकिपरको भूमिका या त ढोकामा बसेर जेजस्ता सामग्रीलाई पनि प्रवाह गर्ने ‘गेटवाचर’ या जेजस्तो सूचना, सामग्री र विचारलाई पनि पूरै ढोका खोलिदिने ‘गेटओपनर’ जस्तै हुन पुगेको छ ।

यसो हुनुको कारण पनि समाचार वा सामग्री प्रवाहको गति अति तीब्र हुनु र प्रकाशन वा प्रवाहको कुनै समयसीमा (Deadline) नहुनु हो । किनभने हल (२००१) का विचारमा अनलाइन पोर्टल वा डिजिटल माध्यमममा समयसीमा नै हुँदैन । तत्कालको तत्काल प्रवाहमा जानुपर्ने हुन्छ । यसो हुँदा ठीक कि बेठीक भनेर छुट्याउने जिम्मेवारी सूचना वा सामग्री प्रवाह गर्नेका काँधबाट प्राप्त सूचना वा सामग्री प्राप्त गर्ने व्यक्तिमा स्वतः सर्नु स्वाभाविकै हो । मिडिया साक्षरताको अभावमा जेजस्तो सामग्रीप्रति पनि विश्वास गरिहाल्ने ठूलो जमात हुने हुँदा दूषित सामग्रीको मार समाजले भोग्ने नै भयो ।

यहाँ ठूला र विश्वासिला भनिएका सञ्चारमाध्यमले सञ्चालन गरेका अनलाइन पोर्टल समेतले त मर्दै नमरेको मान्छे मारेर पछि पोष्ट डिलिट गरेका उदाहरण छन् । यसैकारण दोस्रो युगका मिडियाको जति बाहुल्य भयो, त्यति नै भ्रामक, झूठा र नियोजित सूचना र सामग्री प्रवाह हुन थालेका छन् । यिनले आममानिसमा भ्रम उत्पन्न गराएका पनि छन् । यस्तो बेलामा गेटकिपिङयुक्त मिडिया विश्वसनीय र प्रभावकारी हुन सक्छन् । व्यावसायिक पत्रकारहरूले सञ्चालन गरेका अपवाद अनलाइन पोर्टलहरूका सही सूचना र सामग्री प्रवाहलाई समेत यिनले छायाँमा पारेका छन् ।

६.     मिडिया कन्भर्जेन्स (सम्मिलन) र रेडियोः

पत्रकारिता कर्म पत्रकारकै भएको बारे माथि पनि केही चर्चा गरियो । तर पत्रकारले सूचना प्रवाह गर्ने माध्यम पहिलो मिडिया युगको दायराभित्र मात्रै सीमित हुनपुग्यो भने उनीहरूका प्रयास दोस्रो मिडिया युगले निलिदिने निश्चितप्रायः  छ । अतः पहिलो मिडिया युगका सञ्चारमाध्यम दोस्रो मिडिया युगमा सम्मिलन (Convergence) हुन आवश्यक छ । अब पहिलो मिडिया युगका सञ्चारमाध्यमको कुरा गरौँ । पहिलो मिडिया युगका सञ्चारमाध्यममा रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई लिन सकिन्छ । यीमध्ये पछिल्ला दुईवटा माध्यमको उपलब्धता शुल्कका आधारमा तय हुन्छ । शुल्क तिर्न सक्दा ती मिडिया उपयोग गर्न सकिन्छ, नसक्दा तिनको उपयोग हुन सक्दैन ।

रेडियो सर्वसुलभ र सरल माध्यम मानिन्छ, किनकि यसको उपयोग सहज र सरल छ । एकपटक सेट जोडे सधैँभरि सबै रेडियो स्टेसन डायल घुमाइघुमाइ वा फ्रिक्वेन्सी अङ्क थिचिथिची सुन्न सकिन्छ । अर्कातिर रेडियो माध्यमको सजिलोपन भनेको काम गर्दै सुन्न मिल्छ । संयुक्त राज्य अमेरिकामा अहिले पनि अनुसन्धानले देखाएका छन्, ९० प्रतिशत मान्छे रेडियो सुन्छन् । घरमा, यात्रा गर्दा वा गाडी चलाउँदा रेडियो सुन्न कुनै समस्या हुन्न । अरु मिडियाले आँखालाई व्यस्त राख्छन् तर रेडियोले कान मात्रै व्यस्त राख्छ । कानले पनि आवश्यक परेमा रेडियो बाहेकका अन्य आवाज र ध्वनि (बहुध्वनि ग्रहण क्षमताका कारण) समेत टिप्न सक्छ नै ।

रेडियोको प्रसारण हामीकहाँ विश्वसनीय मानिन्छ । तर रेडियोले पहिलो युगको मिडियादेखि दोस्रो युगको मिडियासम्म रूपान्तरण हुन आवश्यक छ । पहिलो मिडिया युगको प्रतिनिधित्व यसले परम्परागत फ्रिक्वेन्सी वेभ प्रसारणबाट गर्छ भने दोस्रो युगको मिडियाको भूमिका अनलाइन पोर्टल, विभिन्न एप्लिकेसन्स, ओटिटी (ओभर द टप, अर्थात् माग भएअनुसारको सामग्री उपलब्ध गराइने डिजिटल प्रविधि), पोडकास्ट, फेसबुक, युट्युव, एक्स लगायतका सामाजिक मिडियामा पहुँच पु¥याएर खेल्न सक्छ । दोस्रो युगको मिडियाको विशेषता भनेको एकोहोरो प्रसारण मात्रै हैन, यो अन्तरक्रियात्मक हुन्छ । यसमा सूचनाको उपयोग गर्ने व्यक्तिले समेत सामग्रीमा योगदान गर्न सक्छ । तत्काल प्रतिक्रिया दिन सक्छ । साथै, गेम र प्रश्न मार्फत उसलाई च्यानलमा मस्त र व्यस्त बनाउन समेत सकिन्छ । रेडियोले अनलाइन माध्यममा पठाउने समाचारको स्क्रिप्ट, अडियो, भिडियो, तस्बिर, प्रश्न र खेल प्रवाह गर्न सक्छ । यसैले रेडियोलाई परम्परागत रूपमा सुन्ने एकोहोरो माध्यमको सटटा सुन्ने, हेर्ने, पढ्ने र खेल्ने माध्यमका रूपमा विकास गर्न सकिन्छ (लुइँटेल, वि.सं.२०७८) ।

७.     नेपालको भूगोल, प्रकृति र रेडियोको अपरिहार्यताः

कतिले अब दोस्रो मिडिया युगमा पहिलो मिडिया युगको प्रतिनिधित्व गर्ने रेडियोको आवश्यकता सकिन थालेको हो कि भन्ने आशङ्का पनि गरेका छन् । यो शङ्काको सुविधा दिनु पनि पर्छ । तर नेपालको भौगोलिक बनावट र यहाँ बारम्बार हुने विपत्तिहरूमा रेडियो सबैभन्दा प्रभावकारी मिडिया सावित भइसकेको छ । उदाहरणका लागि वि.सं. २०७२ सालको विनाशकारी भूकम्पका बेला अरू माध्यमको उपलब्धता हुन सकेन । जब पत्रकारिता कमजोर हुन्छ, तब भ्रामक र झूठा सूचनाको प्रवाह फैलिन्छ । यो एक कान, दुई कान हुँदै मैदान भने झैँ अन्तरवैयक्तिक र समूह सञ्चारका माध्यमबाट तत्कालै समाजमा फैलिन्छ । त्यसबेला पनि यस्ता भ्रामक र झूठा सूचना प्रवाह नभएका हैनन् । तर रेडियोले सूचना प्रवाहमा सक्रिया भूमिका खेलेका कारण मान्छेहरूले रेडियोबाट विज्ञहरूका कुरा र सही सूचना पाउन सके । उद्धार र राहतमा समेत रेडियोको महत्त्वपूर्ण भूमिका रह्यो ।

वि. सं. २०८१ असोजको दोस्रो हप्ताको अन्त्यमा तीन दिनसम्म भएको भीषण अविरल वर्षाले नेपालका विभिन्न भागमा ठूलो विनाश ग¥यो । राजधानी काठमाडौँ उपत्यका झनै प्रभावित हुन पुग्यो । ठूलो मात्रामा जनधनको क्षति हुन पुग्यो । यो आलेख तयार गर्दासम्म बाढी र पहिरोमा परी २३९ जनाको ज्यान गइसकेको छ । अति भारी वर्षाका कारण विपत्तिका बेला विजुली उपलब्ध हुन सकेन । इन्टरनेटको फाइबर या त बग्यो, या टुट्यो । विजुली नभएपछि यसै पनि इन्टरनेट चलेन । टेलिभिजन चलेन । पत्रिका पाइएन । मान्छेले रेडियो सुने । रेडियो सेट जोहो गर्ने मान्छेको संख्या ह्वात्तै बढ्यो । उनीहरूको भनाइ थियो, घरमा एउटा रेडियो राखिराख्नुपर्ने रहेछ ।

विपत्तिका बेला रेडियो मात्रै सूचनाको विकल्प हुँदो रहेछ । वास्तवमा नेपाल प्राकृतिक विपत्तिका हिसाबले विश्वका २०० देशमध्ये २० औँ जोखिमयुक्त राष्ट्रमा पर्दछ । एशियन डिजास्टर रिडक्सन सेन्टरका अनुसार नेपाल जलवायु परिवर्तनबाट हुने विपत्तिका हिसाबले चौथो स्थानमा रहेको छ । यसैगरी भूकम्पका हिसाबले ११ औँ र पानीजन्य विपत्तिका हिसाबले ३० औँ स्थानमा रहेको छ (खनाल, २०१९) । यस्तो विपत्तिको जोखिमपूर्ण अवस्थामा रहेको नेपालमा ठूला विपत्का बेला रेडियो नै एक मात्र भरपर्दो सूचनाको साथी हुने निश्चित भएकाले हाम्रो सन्दर्भमा यसको अपरिहार्यतालाई नकार्न सकिँदैन ।

८.     सूचनाको बढ्दो माग र रेडियो उद्योगको क्षमताः

नेपालको सन्दर्भमा रेडियोको अपरिहार्यता रहे पनि रेडियो उद्योग भने खुम्चिँदै गएको छ । रेडियो स्टेसनको संख्या धेरै भए पनि रेडियोको विषयवस्तु र स्वरूपमा साँघुरोपन आएको छ । सङ्ख्यात्मक विकासमा फड्को मारे विपरीत प्रसारणको गुणस्तर र विविधतामा रेडियो प्रसारण कमजोर बन्न पुगेको छ ।

यसले समाचार कक्ष र कार्यक्रम उत्पादन कक्षलाई खुम्च्याउँदै लगेको छ । समाचार यताउताबाट तानतुन गरेर प्रसारण गर्नाले त्यसको विश्वसनीयता कम हुँदै गएको छ । स्थलगत समाचार, स्थलगत आवाज सहितका सामग्रीको प्रसारण कमजोर बन्न पुगेको छ । साथै, रेडियो रिपोट, रेडियो फिचर, रेडियो डकुमेन्ट्री लगायतका रेडियोको आत्मा मानिने ओ–टोन सामग्रीहरूको खडेरी जस्तै बन्न पुगेको छ । रेडियो उद्योगमा राम्रा सम्पादकहरूले स्थान पाउन सकेनन् । कार्यरत जनशक्तिले स्थायित्व पाउन सकेन । यो उद्योग खासै जम्न सकेन । काम गर्न आउने व्यक्तिले रेडियोमै भविष्य देख्न नसक्दा रेडियोको जनशक्तिमा स्थायित्व आउन सकेन । त्यसैले अस्थिरताले गुणस्तर ल्याउन सकेन ।

अझ रेडियो सञ्चालकहरूमा रेडियोको जिम्मेवारी र भूमिकाबारे जानकारी नै नहुनु, अल्पकालीन रूपमा रहेको जनशक्तिले रेडियो पेशालाई पूर्ण रूपमा अँगाल्न नसक्नु, समय र बजार अनुसारको पारिश्रमिक नहुनु, पेशाको सुरक्षा नहुनु, छाता सङ्गठनहरू आफैँ कार्यक्रम उत्पादक र सिण्डिकेटको भूमिकामा रहनु, तालिमको अभाव रहनु, बजार कमजोर बन्नु, सही सरकारी नीति नहुनु जस्ता समस्याले रेडियो उद्योग नेपालमा धराशायी हुन पुगेको छ । यही अवस्थामा भने रेडियोले आमनागरिकको सूचनाको माग भने पु¥याउन सक्ने देखिँदैन (लुइँटेल, वि. सं. २०७८) ।

यो अवस्थामा दोस्रो मिडिया युगको प्रतिनिधित्व गर्ने डिजिटल मिडियाको भ्रामक, झूठा र नियोजित सूचना र सामग्रीलाई काट्ने क्षमता पनि नेपाली रेडियो उद्योगमा देखिएको छैन । किनभने अन्तरिक्षको युद्ध लड्न अन्तरिक्षमै जानुपर्छ । पानीको युद्ध लड्न पानीमै जानुपर्छ अनि आकाशको युद्ध लड्न आकाशमै जानुपर्छ । यसो गर्न नसके त्यस्ता युद्ध लड्न सकिन्न । यसो भन्नुको मतलब हो, दोस्रो मिडिया युगका सञ्चामाध्यमसँग प्रतिस्पर्धा गर्ने हो भने रेडियोले पनि दोस्रो मिडिया युगभित्रै प्रवेश गर्नु आवश्यक छ ।

एक केन्द्रबाट प्रसारण भएका सामग्री हुक मात्रै गरेर विजुलीको बिल तिर्ने कतिपय रेडियोहरूको त समाचारकक्ष र उत्पादन कक्ष नै छैन भन्दा फरक पर्दैन । समाचार कक्ष र उत्पादन कक्ष हुने रेडियोले पनि विरालो बाँधेर श्राद्ध गर्ने परम्परा मात्रै निर्वाह गरेका छन् । राम्रो पढेलेखेका, तालिम पाएका दक्ष र योग्य जनशक्ति रेडियोले थामेर राख्नै सकेको छैन । यस्तो अवस्था आइसक्दा पनि रेडियो उद्योगको अवस्थाबारे जति छलफल र बहस हुनुपर्ने हो, त्यति हुन नसक्नुलाई बिडम्बना नै मान्नुपर्छ । यो उद्योगलाई टेवा दिने र टिकाउ बनाउनेतर्फ बहस गर्न र सही कदम चाल्न वास्तवमा ढिलो भइसकेकोे छ ।

सन्दर्भ सामग्रीः

लुइँटेल, घमराज । (२०७८) । मिडिया कन्भर्जेन्सको युगः सुन्ने, हेर्ने, पढ्ने र खेल्ने रेडियो । झङ्कार, वर्ष ७१, २०७८ । ९७–१०५ ।

Bruns, A. (2004). Gatewatching: Collaborative online news production. Peter Lang Publishing.

Carpentier, N. & Cammaerts, B. (2006). Hegemony, democracy, agonism and journalism: An interview with Chantal Mouffe. Journalism Studies, 7(6), 964–975.  

http://dx.doi.org/10.1080/14616700600980728

Galtung, J. & Ruge, M. (1965). The structure of foreign news: The presentation of the Congo, Cuba and Cyprus crises in four Norwegian newspapers’, Journal of International Peace Research 1(1965), pp. 64–91. https://doi.org/10.1177/002234336500200104

Hall, J. (2001). Online journalism: A critical primer. Pluto Press.

Harcup, T. & O’Neill, D. (2001). What is news? Galtung and Ruge revisited. Journalism Studies 2(1), pp. 261–280. https://doi.10.1080/14616700118449

Herman, E. S. & Chomsky, N. (1988). Manufacturing the consent: The political economy of mass media. Pantheon Books. https://doi.10.1177/001872674700100201

Khanal, B. N. (2019). Nepal: A brief country profile on Disaster Risk Reduction and Management. Asian Disaster Reduction Center. https://www.adrc.asia/countryreport/NPL/2019/Nepal_CR2019B.pdf

Lewin, K. (1947). Frontiers in group dynamics. Human Relations, 1(2), 143–153.

Lippmann, W. (1922). Public opinion. The Macmillan Company.

Luitel, G. R. (2024). News sourcing in Nepali radio broadcasting. [Doctoral dissertation, Tribhuvan University, Nepal]. Tribhuvan University Central Library.

McNelly, J. T. (1959). Intermediary communicators in the international flow of news. Journalism Quarterly, 36(1), 23–26.  https://doi.10.1177/107769905903600103

McQuail, D. & Windahl, S. (1993). Mass communication models for the study of mass communication (2nd ed.). Routledge.

Mencher, M. (2011). Melvin Mencher’s news reporting and writing (12th ed.). McGraw Hill.

Poster, M. (1995). Second media age. Polity.

Shoemaker, P. J. & Reese, S. D. (1990). Exposure to what? Integrating media content and effects studies. Journalism & Mass Communication Quarterly, 67(4), 649–652. doi:10.1177/107769909006700418

Shoemaker, P. J., & Riccio, J. R. (2016). Gatekeeping. The International Encyclopedia of Political Communication, pp. 1–5. https://doi.10.1002/9781118541555.wbiepc202

Westley, B. H. & MacLean, M. S. (1957). A conceptual model for communications research. Journalism & Mass Communication Quarterly, 34(1), pp. 31–38.

White, D. M. (1950). The Gatekeepers: a case study in the selection of news. JournalismQuarterly, 27(4), pp. 383–390. https://doi.org/10.1177/107769905002700403

Williams, B. A. & Delli Carpini, M. X. (2000). Unchained reaction: The collapse of media gatekeeping and the Clinton-Lewinsky scandal. Journalism, 1(1), 61–85. doi:10.1177/146488490000100113

(वरिष्ठ पत्रकार डा‍. लुइँटेल त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक हुनुहुन्छ।)

आलेख साभारः नेपाल द्वैमासिक । वर्ष ५४, अङ्क‍ १, पूर्णाङ्क २४६ । २०८१-८२ । नेपाल सरकार सूचना तथा प्रसारण विभाग, नेपाल ।

Facebook Comments