परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मानव अधिकार उल्लङ्घन र ज्यादतीका ७ हजारभन्दा बढी घटना

इन्सेक मानव अधिकार प्रतिवेदन २०२२

काठमाडौं । काठमाडौँमा आयोजित एक कार्यक्रममा सन् २०२२ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा सो तथ्याङ्क समेटिएको हो । आज काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को विमोचन गर्नु भएको हो ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भए । सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

सन् २०२२ मा राज्य पक्षाबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षाबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ र तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसहित ६ हजार ७ सय ५४ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले  बताउनु भयो ।

सार्वजनिक तथ्याङ्क अनुसार महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित देखिएको छ ।

महिलाविरुद्धको हिंसामा पनि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १ हजार ६ सय २३, सुदूरपश्चिम प्रदेशमा ९ सय ५६, प्रदेश १ मा ४ सय ५७, बागमती प्रदेशमा ४ सय ३४, गण्डकी प्रदेशमा ३ सय ३७, कर्णाली प्रदेशमा २ सय ११ र मधेश प्रदेशमा २ सय १० जना पीडित भएका इन्सेकले जनाएको छ ।

Facebook Comments