परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

हिमालपारीको कथा

पुस्तक समीक्षा

‘म खन्छु

बाँचुञ्जेल खन्छु

त्यसपछि नातिले खन्छ

त्यसपछि पनातिले खन्छ

खन्दाखन्दा एकदिन

त्यो पहाड पन्सिन्छ

र मेरो घरमा घाम लाग्छ ।’

चिनियाँ बूढाको आँट, हिम्मत र संवाद मेरा लागि कविता भयो । यस्तो कविता मलाई पढाउने अर्जुन ज्ञवालीप्रति म कृतज्ञता चढाउँछु ।

चीनले कसरी विकास गरेको रहेछ त ? एउटा काममा एकोहोरो लागिरहेपछि एक दिन दिग्विजय प्राप्त पनि हुन्छ भन्ने बेहोरा चिनियाँ बूढाले पढाएका छन् । सुरूमा ती बूढालाई मूर्ख नभन्ने कोही चिनियाँ थिएनन् तर पछि ती बूढा चीनका आदर्श भए ।

अर्जुन ज्ञवालीकृत नियात्रा ‘हिमालपारीको कथा’ पढ्दा मलाई चीन गएजस्तै लाग्यो । मेरो किशोर वयका नायक माओ त्सेतुङ्लाई मेरो लाल सलाम छ । उनी नै आधुनिक चीनका परमेश्वर हुन् । म कुनै दिन चीन पुगेँ भने ती परमेश्वरको दर्शन गर्नेछु ।

हिजो सिनो खाने चिनियाँहरूले आज सेकुवा खान थालेका छन् । हिजो फाटेका लुगा लगाउने चिनियाँहरूले आज संसारभरिका मान्छेको आङ ढाकिदिएका छन् । हिजो ओडारमा बस्ने चिनियाँहरू आज ७० तले घरमा बस्न थालेका छन् । अनि हिजो भारी बोकेर हिँड्ने चिनियाँहरू आज संसारको सबैभन्दा छिटो कुद्ने रेल, जहाज र मोटरमा चढ्न थालेका छन् । वास्तवमा हिजो सबैले मूर्ख भनिएका चिनियाँ बूढा आजका चीनका जग भएका छन् ।

अर्जुन ज्ञवालीको ‘हिमालपारिको कथा’ले चीनको गाथा गाएको छ । यस कृतिले कतै नेपाल र कतै अमेरिकाको तुलना दिएको छ । तर व्यवहारिक नापोमा ती तुलना शाश्वत रूपमा आएका छन् ।

‘हिमालपारिको कथा’मा वास्तविक कुरा आए । अर्जुन ज्ञवालीबाट कहीँ कतै सपना लेखेको मैले देखिन, विपनाले यो कृति लेखिएको पाएँ । मैले नदेखेका, नभेटेका र नबेलेका ज्ञवालीको यो कृति अरूहरूलाई पनि पढ्न सिफारिस पनि गरिसकेँ । किनभने यस कृतिमा मैले एउटा सग्लो चीन देखेँ ।

Facebook Comments