परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

षडानन्दसम्बन्धी कृतिहरू सार्वजनिक

काठमाडौँ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित नीलकण्ठ भट्टराईको षडानन्द (महाकाव्य), षडानन्दले स्थापना गरेको दिङ्लाको संस्कृत विद्यालयका सत्रौँ प्रधानाध्यापक हरिप्रसाद काफ्लेको संस्कृत कविता सङ्ग्रह हरिकाव्यसुधा गौरीशङ्कर काफ्लेको संस्कृत काव्यआबाल ब्रह्मचारी षडानन्द चरितम् लोकार्पण गरिएका छन् ।

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको शनिबार आयोजित पन्ध्रौ वार्षिक साधारणसभाको अवसरमा मरणोपरान्त रचयितात्रयका कृति लोकार्पण गरिएका हुन्।

त्यस अवसरमा राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान (नेपाल प्रज्ञा प्रतिष्ठान तथा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको सहकार्यमा आयोजित गोष्ठीको प्रतिवेदन) पनि सार्वजनिक गरियो ।

प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतमको सभापतित्वमा आयोजित सभामा प्रतिष्ठानका उपाध्यक्ष प्रा. लालानाथ सुवेदीले प्रतिष्ठानको स्थापना काल २०६४ देखि २०७९ सम्म (पन्ध्र वर्ष) को संक्षिप्त इतिहास प्रस्तुत गर्नुभयो।

संस्थापक सदस्यहरुले आ-आफ्नो जनही एक/एक हजार रुपियाँ उठाएर स्थापना गरेको प्रतिष्ठानको कोष हाल ९२ लाख रुपियाँ हुनपुगेको सूचना पनि प्रा. सुवेदीले दिनुभयो ।

सभामा प्रतिष्ठानका सचिव प्रा. डा. बद्रीविशाल भट्टराईले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुतिका क्रममा वि.सं. २०७५ देखि थालिएको आबाल ब्रह्मचारी षडानन्दको जीवनयात्रा वृत्तचित्र निर्माणको काम हाल पूरा गरिएको जानकारी दिनुभयो ।

त्यस क्रममा उहाँले षडानन्दका सशक्त सहयोगी यज्ञनिधि चापागाइँको स्मृतिमा उहाँका पनाती उदयकुमार चापागाईं र दिलीपकुमार चापागाईंले प्रतिष्ठानको कोषमा पाँच लाख रुपियाँको अक्षय कोष राखी त्यसको ब्याजबाट सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने राष्ट्रिय व्यक्तित्वलाई हरेक दुई वर्षमा प्रदान गरिने गरी षडानन्द-यज्ञनिधि सामाज सेवा पुरस्कार स्थापना गरेको जानकारी पनि दिनुभयो ।

उहाँले आफ्नी आमा केदारकुमारी भट्टराईले आफू दिवङ्‍गत हुनुअगि केही रकम यस प्रतिष्ठानमा प्रदान गर्ने इच्छा राखेको भनी छोरा बद्रीविशाल भट्टराईले प्रदान गरेको एक लाख २५ हजार रुपियाँ प्रतिष्ठानको छात्रवृत्ति कोषमा जम्मा गरिएको जानकारी पनि दिनुभयो।

यसैगरी, सचिव प्रा. डा. भट्टराईले प्रतिष्ठानले आउने मङसिर १२ गते विवाह पञ्चमीका दिन आयोजना गरिने षडानन्दको १८८ औँ वार्षिकोत्सवका अवसरमा षडानन्द राष्ट्रिय पुरस्कार एवम् डण्डपाणि तथा युवाकुमारी चापागाईंको स्मृतिमा स्थापित षडानन्द क्षेत्रीय पुरस्कारलगायतका पुरस्कार एवम् छात्रवृत्ति वितरण गरिने जानकारी दिनुभयो ।

प्रतिष्ठानका कोषाध्यक्ष आत्मेश्वर चापागाइँले वार्षिक लेखा परीक्षणको प्रतिवेदन प्रस्तुत गरिएको सभामा लोकार्पण गरिएका कृतिमाथि सहप्राध्यापकद्वय मेघराज कोइराला र हरिप्रसाद पराजुलीले संक्षिप्त समीक्षा गर्नुभयो ।

त्यस अवसरमा प्रतिष्ठानलाई नैतिक तथा आर्थिक सहयोग गर्नेहरुलाई मानार्थ सदस्यताको प्रमाणपत्रसहित सम्मान गरियो । त्यसैगरी, आबाल ब्रह्मचारी षडानन्दको जीवनयात्रा वृत्तचित्र निर्माणमा आर्थिक सहयोग गर्ने र षडानन्द राष्ट्रिय पुरस्कार कोषमा रकम प्रदान गर्नेहरूलाई दाता सम्मानपत्र प्रदान गरियो ।

Facebook Comments