परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

चार्वाक नीति : भौतिक चिन्तनको प्राचीन दर्शन 

पूर्वीय सभ्यता आफैंमा विशाल र महासागर हो । यस सभ्यता भित्र कला, साहित्य र संस्कृतिको वेजोड सङ्गम छ र विशाल भण्डार रहेको छ । पूर्वीय सभ्यताको मुख्य विषेशता भनेकै विभिन्न चिन्तन र विचारधाराहरुको वैचारिक मतभेद वा शास्त्रार्थ गर्ने ज्ञानभूमिका रुपमा पहिचान गर्न सकिन्छ । ऋग्वेदको रचना हुनु पूर्व नै यस भूमिमा सिन्धु नदीले आफ्नो विशिष्ट पहिचान गराई सकेको थियो । आर्य, द्रविण र मङ्गोलहरुको ज्ञान, सीप र दक्षता हासिल गर्दै सभ्य र सुव्यवस्थित समाज निमार्णको नेतृत्व गरेको इतिहास हामीले पाएका छांै । मानव सभ्यता र यसले निमार्ण गरेको सङ्गठानिक संरचना आफैंमा विचित्र छ । यो सभ्यता भित्र चरम भौतिकवादी र अन्ध आदर्शवादी विचारहरुको संघर्ष, एकता र रुपान्तरण शताव्दीयौं देखि चलिआएको छ ।

यहाँ आ–आफ्ना कालखण्डहरुमा विभिन्न पहिचान बोक्ने प्रखर तथा प्रचण्ड विद्वान र चिन्तकहरुको जन्म भएको छ । आज धर्मको नाममा जति पनि ग्रन्थहरु पुजिन्छन् ती सवैको रचना यहाँकै चिन्तक र दार्शनिकहरुले गरेका हुन । यहाँ वेद, उपनिषद, पुराण, महाकाव्य तथा वोधी चिन्तन, महावीर जैन विचार, किरात दर्शन, शिक परम्परा, सांख्य दर्शन लगायत विविध विचारधारत्मक ग्रन्थहरुको आ–आफ्नै विषेशता रहेको छ । यिनै विचारधारा र चिन्तनको माझमा एउटा आफ्नै मौलिकता र फरक पहिचान भएको लोकले मनपराएको भ्रम र मिथ्या परम्पराको कडा आलोचक भौतिकवादी विचार चार्वाक दर्शन बारे एकै छिन चर्चा गरौं ।

चार्वाक नीतिलाई लोकायत दर्शन पनि भनिन्छ । मूलतः यो दर्शनलाई पूर्वीय दर्शन धारामा भौतिकवादी नास्तिक दर्शन वा विचारधाराको रुपमा लिइन्छ । यथार्थ र सत्यपरक कुरामा विश्वास गर्न, कपोकल्पित र मिथ्या कुराको पछाडि नलाग्न, भ्रमजन्य विचारबाट पर रहन यो दर्शनले प्रेरित गर्दछ । यो दर्शनलाई वाहस्पत्य दर्शन भन्ने गरिन्छ ।

पूर्वीय सभ्यताका प्राचीन ग्रन्थहरुमा वृहस्पतीको चर्चा खुव गरिन्छ । खासगरी अर्थनीति र सामाजिक नीतिका बारेमा विभिन्न मतहरु पाइन्छन् । वृहस्पतीले धर्म र राजनीति एकै होइन, यो फरक छ भनी अलग गरेका हुन, उनले खासगरी दण्ड नीति, राजनीति र अर्थनीति बारे सूत्रवद्ध विचर प्रस्तुत गरेको पाइन्छ । खास गरी उनी भौतिकवादी विचारधाराका पक्षपाती थिए । धेरै पछि मौर्य बंशका संस्थापक तथा प्रधानमन्त्री आचार्य विष्णुगुप्तले त्यही अर्थनीतिलाई थप व्याख्या र समृद्ध बनाउँदै त्यही आधारमा राज्य सञ्चालन गराए । जसलाई चाणक्यको अर्थनीति भनियो । वृहस्पती खासगरी अग्निहोत्री गर्नु, वेद पढ्नु, त्रिखण्ड भष्म लेपन गर्नु, अलाप विलाप गर्दै ईश्वर पुकार्नु यी सवै कुरा कमजोर मानिसहरुको पेट पाल्ने युक्ति मात्र हुन भन्ने तर्क अघि सार्दथे । चार्वाक उनै वृहस्पतिका अनुयायी हुन ।

चार्वाक विचारधारा भित्र विशुद्ध भौतिकवादी चिन्तन भेटिन्छ । यो चिन्तनले समाजिक चेतनालाई माथि उठाउन र यर्थाथवादी धरातलमा रहन प्रेतित गरेको पाइन्छ । ऐतिहासिक भौतिकवादी दृष्टीकोणबाट हेर्ने हो भने यो विचारधारा उत्पादनको स्वमित्व, श्रम र वर्ग व्यवस्था सम्बन्धी सामाजिक मान्यताको आधारमा चलेको व्यवस्था माथिको विद्रोहको रुपमा बुझ्नु पर्ने हुन्छ । वहुसंख्यकको शोषण गर्दै उत्पादनको स्वमित्व राजा रजौटा, सामन्त एवम् जमिन्दारहरुमा रहेको र यिनीहरुको चाकरीका लागि  प्रसंशाका कथा र कविता रचना गर्ने अनि आफ्ना निश्चित स्वार्थ पुरा गर्नका निम्ति पुण्य वा पापको हवाला दिँदै दान र कर्मकाण्ड गराउने ऋषिमुनिहरुका विरोधीका रुपमा जनस्तरबाट आएको विद्रोही विचारधाराको रुपमा लिन सकिन्छ । यो विचारको दुई महत्वपूर्ण कथन यस्ता छन् ः

यावज्जीवेत् सुखं जीवेद् ऋणं कृत्व घितं पिबेत् । भस्मीभूतस्य् देहस्य पुनरागमनं कुत :

यसको भावार्थ हेरौं, हाम्रो भौतिक जीवन जहिलेसम्म रहन्छ तबसम्म सुख तथा आनन्दपूर्वक जिउनु पर्दछ । यो जीवन सुखी राख्नका निम्ति दूधबाट बनेका पदार्थहरु जस्तै दही घ्यू जस्ता तागतिला वस्तुहरुको सेवन ऋण गरेर पनि गर्नु पर्दछ । यो शरीर मरेर खरानी हुन्छ फेरि फेरि फर्केर आउँदैन ।

त्रयो वेदस्य कर्तारो भाण्डधुर्तनिशाचराः । जर्फरी तुर्फरीत्यादि पण्डितानां वचः कुत : 

भाण्ड, धुर्त र निशाचर यी नै तिन वेदका रचयिता थिए । जर्फरी तुर्फरीजस्ता निरर्थक तथा अस्पष्ट शब्दहरुको प्रयोग गरेर पण्डित रुपी विद्वानहरुले दुनियाँ ठग्ने काममा गरेका छन् ।

चार्वाक नीतिमा यस्ता अनेकांै श्लोक र कथनहरु रहेका छन् । शतकौं वर्ष अघि कर्मकाण्डी धुर्त विद्वानहरुले यो नीतिलाई जलाउने र प्रचार गर्नेलाई प्रतिबन्धसंगै भौतिक सफाया गरेका तथ्य महाभारत जस्ता महाकाव्यहरुमा उल्लेख गरेको पाइन्छ  ।

आजको आधुनिक युग वैज्ञानिक युग हो । समाज व्यवस्थाको हिसावले यो युग पुँजीवादी युगको रुपमा चिनिन्छ । सामन्तवादी व्यवस्थाको अन्त्य र पुँजीवादी व्यवस्थाको विकसित तथा उन्नत समय हो । यस पुँजीवादी युगमा उत्पादनको स्वमित्व पुँजीपतिहरुमा निहित भएका कारण बहुसंख्यक जनता मजदुर हुनुपरेको छ । १९ औं शताब्दीको मध्यतिर पुँजीपतिहरुको चरम शोषण र अत्याचारका करण माक्र्सवादको जन्म भएको यर्थाथ हो । माक्र्सवादले जसरी समतामूलक समाज निमार्ण गर्न वर्ग विहिन समाजको परिकल्पना ग¥यो त्यस्तै दास युगबाट सामन्तवादी समाज विकसित हुने समयमा सामन्तहरुको शोषण र अन्यायको विरुद चार्वाक नीति आएको थियो । माक्र्सवादले द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद बारे जति प्रष्ट बोलेका छ, त्यस्तै आफ्नो समयमा र्चावाक नीति प्रष्ट भएको पाइन्छ । कतै न कतै माक्र्सवादको सम्बन्ध चार्वाक नीतिसंग रहेको अनुमान लगाउन सकिन्छ । चार्वाक बारे विभिन्न लेख रचना छिटफुट पाइने भएपनि आवश्यक सामाग्री भेट्न मुस्किल नै छ ।

Facebook Comments