परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

एमसिसी ल्याम्ने देउवा र दाहाल, अब्जस पाम्ने ओली !

फुटानी

हेर विध्वंसे काका ! भोलिको मन्त्रिपरिषद् बैठकले चुनाप घोषणा गर्ने भयो । हाम्रो कांग्रेसका कार्यकर्ताहरू ‘गठबन्धन सठबन्धन जान्दैनौं, माथिको आदेश मान्दैनौ एक्लै चुनापमा होमिन्छौं’ भन्दै चुनाप प्रचारका लागि गाउँतिर कुलेलम ठोके । वास्तवमा स्थानीय तहको निर्वाचनमा गठबन्धनको काम छैन । यहाँ आफूले जित्ने ठाममा अर्को पार्टीको अरवपति सर्वहारा काम्रेडलाई छाडिदिनु र भोट पनि हँसिया हथौडामा पड्काई दिनु भनेर कोही मान्छ ? विद्रोही उठेर पनि कांग्रेसको कार्यकर्ताले जित्छ ।

त्यस्तो कुरा नगर भिरघरे भतिज ! एक्कासि मेरो कन्पारो तातेर आम्छ । यो गठबन्धन कांग्रेसले टुटाउन पाउन्न । बरु हाम्रो माउवादीले एमसिसी सर्लक्क पास गरी दिन्छ । अस्ति बुधवारकै दिन देउवाले हाम्रा महान हस्ती काम्रेड धोएलाई एमसिसीको छ बुंदे ‘होम वर्क’ देका छन् । अब दुई चार दिनपछि हाम्रा धोएले ‘होम वर्क’ राम्ररी अर्थात एमसिसी ‘ओके’ हुने गरी बुजाम्छन् । र, गठबन्धन नतोडिने बनाम्छन् । अहिले गठबन्धन टुट्यो भने तँ हामीले उभिण्डे खोलामा गएर बल्छी थापेर बसे हुन्छ ।

हौ काका ! कांग्रेसले बल्छी थाप्नु पर्दैन । तिमार्को माउवादी र माधवको समाजवादीले भने झोली तुम्बा बोकेर ‘कता गाको हराउने बिलाउनेको फेद’ भन्दै आफूले आफैंलाई लोपार्दै हिडे हुन्छ । तिमारू कांग्रेससँग भिख माग्दै कति ल्यङल्याङ गर्छौ । कांग्रेसले गठबन्धनका ‘महान दललाई’ काँधमा बोकेर बैतर्णी तार्न सक्तिन भनी सक्यो । अनि नेपाल र दाहाल चाहिँ ‘निक्पा एमालेलाई धूलो बढारे जसरी बढार्छौं, काम्रेडहरू डराउनु पर्दैन । यो गठबन्धन टुट्दैन’ भन्दै भासन ठोक्दै हिडेका छन् ।

तँ जान्ने नहु सण्डे ! तँ भनेको ओलीको पार्टीको मान्छे होस् । हाम्रो गठबन्धन एमालेले टुटाउन खोजी रहेको छ । यदि गठबन्धन रहेन भने चुनापमा एमालेले हामीलाई बोइलर कुखुरा भुत्याए जसरी भुत्याउँ छ । यो कुरा देउवा, दाहाल र नेपाललाई थाहा छ । त्यसैले गठबन्धन टुट्दैन । अर्को कुरा पूर्णरुपले प्रतिगमन सच्ची सकेको छैन् । हाम्रो मान्छेहरू ठाम–ठाममा नियुक्ति भएपछि, ललिता निवास काण्ड डिसमिस भएपछि र हाम्रो अग्नि काम्रेडलाई लागेको ज्यानमारा मुद्दामा सफाइ मिलेपछि प्रतिगमन ७५ प्रतिशत सँचिन्छ । अर्को २५ प्रतिशत चाहिँ चुनापपछि बन्ने सरकारको प्रधानमन्त्री हाम्रो राष्ट्रनायक, सर्वहारा वर्गका एक मात्र विश्व नेता, नेपाली जनताले घरघरमा पूजा गर्ने व्यक्तित्व प्रचण्ड काम्रेड प्रधानमन्त्री भएपछि सँचिन्छ । गठबन्धन टुट्छ भने त्यसपछि टुट्छ । अहिले जसरी बजारमा हल्ला फिजाइएको छ त्यस्तो केही होइन ।

हेर काका ! एमसिसी यही गठबन्धनले पास गर्छ । त्यसपछि कांग्रेसले गठबन्धन टुटाउ छ । अब गिरिजाप्रसादलाई राष्ट्रपतिको र देउवालाई चितवनको ललिपप खुवाए जस्तो हुँदैन । कांग्रेसका कार्यकर्ताले एकपटक छोड्दा पाँच वर्ष ‘कोल्याप्स’ हुन्छ ।

हार्दा पनि ‘कोल्याप्स’ हुन्छ नि ! बाठो भर के कुरो गर्छस् भिरघरे । जितियो भने फेरि यस्तै सरकार बनार लुड्याउन पाइन्छ भन्ने बिर्सन हुँदैन ।

हेर काका ! हेर भिरघरे दाइ ! तिमारूको नाडी हामीले छामी सक्यो । तिमारू जस्ता १० वटा पार्टी मिलेर आए पनि हाम्रो एमालेलाई हराउन सक्तैनौ । चुनाउ घोषणा नहुँदै तिरिमिरी झ्याइँ  देख्दै छौ, चुनाउ घोषणा भएपछि तिमार्को के गति होला ? यतिखेरै तिमार्लाई एमसिसीको घाँडो आई लागेको छ । अनि एमालेलाई सरापेर बस्छौ । तिमार्लाई एमसिसी पास गर्न वा फेल गर्न एमाले चाँहिदैन भन्ने त थाहा होला नि ! राष्ट्रिय सहमति पनि चाहिदैन । वाइयात तर्क गरेर देउवालाई अलमल्याउने र आफ्नो दुनो सोझ्याउने काम नगर्दा हुन्छ । अग्निलाई पनि एमालेले हटाउन सक्तैन । जे गरे पनि हुन्छ ।

तैले सिकाइरहनु पर्दैन सण्डे ! एमसिसीको घानमा एमालेलाई पनि मिसाउन खोजेको मात्र हो । अहिलेको सर्वेसर्वा भनेको गठबन्धन नै हो । निक्पा एमालेलाई हेक्का रहोस्– हाम्रो गठबन्धन त्यल्ले टुटाउन सक्तैन । बज्रलिप भएर सिमेन्ट जस्तो हामी कांग्रेससँग टाँसिएका छौं । छोड्नेवाला छैनौं र गल्नेवाला पनि छैनौं । लिसो उप्काएर फ्याक्न खोजेर अब फ्याँकिदैन । टाँसिएपछि टाँसियो टाँसियो । माधव काम्रेडले भनी सके ‘गठबन्धन टुट्दैन, काम्रेडहरू नआत्तिनु’ भनेर ।

हेरहेर यी बुढाको कुरा ! भनेपछि गठबन्धन टुट्यो भने चाहिँ आत्तिने रान । गठबन्धन रहँदैन अहिले नै आत्तिए हुन्छ । कि त तिमारु कांग्रेसमा विलय हुनु प¥यो । नत्र कांग्रेसको कामकुरो अर्कैतिर छ, तिमार्को जात्रा ठिमीतिर छ । हे उभिण्डे भगवान यिनार्को रक्षा गर ! कस्ता कस्ता दिन देख्नु प¥यो । कांग्रेसको काँधमा चडेर कम्युनिष्टहरू वैतर्णी पार होइन्छ कि भनेर ‘लौन प्रभू हामी तिम्रो सरणमा छौं पार गराइ देउ कांग्रेस प्रभू’ भन्दैछन् ।

झुम्री काकीले ठिक भनिन ! चुनाप गर्दा हुने ‘प्रतिगमन सच्याउन’ र क्रान्तिकारी बन्न कांग्रेससँग गठबन्धन गरेर लम्पसार पर्दै बैसाखी नखोसीदेउ प्रभू भन्दै छन् । कि कसो भिरघरे दाइ !

कुरा ठिकै हो । हाम्रो कांग्रेसको लोकमार्ग विशाल छ । रोकटोक काहीँ कतै छैन । कम्युनिष्टहर्लाई साथ लिएर हिड्नु पर्ने खाँचो पनि छैन । यिनारू कहिले सभामुखलाई बोकेर हिडछन्, कहिले अदालततिर बिलौना गाउँदै हुन्छन्, कहिले एमसिसी आफै ल्याको बिर्सिन्छन्, कहिले एमसिसीसंग् आफै तर्सिएको नाटक गर्छन् । जनता अब लाटा छैनन् । अहिले एमसिसीका बारेमा नाटक नगरे हुन्छ । त्यसताका प्रम देउवा र पुष्पकमल दाहालको सल्लाहमा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी ल्याको हो । एमसिसी ल्याम्ने देउवा, बावुराम र दाहाल, अब्जस पाम्ने ओली ! यस्तालाई बोकेर हिड्यो भने हाम्रो कांग्रेस पनि भड्खालामा जाकिन्छ । गठबन्धनलाई भूइँमा पछारेर फाल्नै पर्छ ।

नचाहिने कुरो नगर तिमारू । तिमार्को सोचाईले काम गर्ने हो भने ओलीलाई सत्ता बुझाइ दिएर हिडे हुन्छ ।

हो त विध्वंसे काका ! अब तिमार्ले गेरु वस्त्र पहिरने, कमण्डलु बोक्ने, चिम्टा भिर्ने र अलख निरञ्जन भन्दै हिड्ने दिन आए । हाम्रो नेपाली कांग्रेसले हात र साथ छाडेका दिन तिमारू जरा नभाको विरुवा झै लड्छौ । वास्तवमा कार्यकर्ता नहुने र जनतालाई विश्वासमा लिन नसक्ने पार्टी अब रहनु पनि हुँदैन । अब दाहाल र नेपाल मिलेर गफले चिउरा भिजाउदै बस्ने । हिड सण्डे, जाउँ उदै उदै, कैले रुदै कैले मन बुझाउदै ।

काका, लु जै नेपाल !

Facebook Comments