परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

देउवा दाइको कन्तविजोक!

फुटानी

देख्यौ विध्वंसे काका ! राष्ट्रियसभाको चुनाउमा एमालेलाई समाप्त पारियो नि । यदि हामी पानदल नमिलेको भए एमालेले गोहोरो चुटाई चुट्ने रछ । कतिपय प्रदेशमा त पानदलेका मतदाताले पनि एमालेलाई नै भोट दिएछन् ।

त्यसैले त भतिज भिरघरे ! पानदले गठबन्धन अनन्त कालसम्म रहनु पर्छ भनेको । तर, के गर्नु कांग्रेसमा विद्रोह होला जस्तो छ । शेखर कोइरालाहरू त्यसै परक्क बटारिन्छन् । अलिपछि एमालेको सङ्गठन, उनार्का कार्यकर्ताको खटाई, ओलीको पालामा भएको विकास निर्माणको प्रचार र सामाजिक सुरक्षा भत्ताहर्को प्रशंसा सुरु भएपछि अनि थाहा पाम्छन् कांग्रेसीहर्ले । हाम्रा सरकारका पालामा त्यस्ता विकासका कुरामा माखो मारेको नाई ।

नमस्कार है काका–काकी, दाइ सबैलाई ! आज खरौटेका लुरे काम्रेड आका रान उनका गफ सुन्दासुन्दै ढिला भयो । गफ पनि जानेकै हो लुरेले ! अस्तिको चुनाप प्रचण्डको जाल र माधवको घुमाइले जितेको भनेर खोके । अब हाम्रो माधव काम्रेडले २०७९ साल चैतमा चुनाप हुने भनेर बोली सकेपछि देउवाले लुरुक्क परेर त्यही अनुसार कानुन बनाउन निर्देशन दिएको पनि भने । म त चकित भए काकी !

सण्डे ! यो अग्रगामी सरकार हो । यसले प्रतिगमन पुरै सच्यायो । जय सिंह धामी मारेको र कालापानीको नेपाली भूमिमा भारतले सडक निर्माण गरेको पनि कमफर्टेबले पानदलेले गज्जबले मिलायो । यता एमसिसीको गीतमा पानदलेको नाच वेजोड छ । २४ लाख डोज खोप चिरिप्प पारेपछि अग्रगमनले उच्च छलाङ मारो । ओलीले खोतली दिएको ललिता निवास पनि …!

बढी जान्ने भर नबोल झुम्री ! हाम्रो काम्रेडले यो सरकार भारतका लागि पनि कमफर्टेवल भनेपछि विरोध गर्ने कुरो आएन क्यारे । अब एमसिसी पनि पास गर्ने भनेर झलनाथ काम्रेडले भनेकै छन् । त्यो २४ लाख नाथे खोपको कुरो किन गर्नु ! स्वभाविक मान्नुपर्छ मह काढ्नेले हात चाट्छ । अहिलेसम्म नेपालमा बनेका सरकार मध्य यही नै ऐतिहासिक सरकार हो । यो सरकारले गरेको काम अहिले जतासुकै देखिन थालेको छ । कि कसो भिरघरे !

जनताले नपत्याए पनि तिमी र मैले त्यही भन्नुपर्छ काका ! अलि बुझ्नेले त ज्यानगए पत्याउदैनन् । यो सरकारले वरको सिन्को पर सारेको भापो पत्याउनु । हाम्रो सोझो देउवा दाइलाई नराम्रोसँग फसाए टपरटुइयाँ गफाडी ब्रम्हलुटेहर्ले । दाहाल–नेपालहरू विकासका योजना ल्याउदैनन्, राष्ट्रियताका सवालमा सरकार बोल्नुपर्छ भन्दैनन् । जहिल्यै “हामी त अग्रगामी पो त अहिले नै चुनाप घोषणा गर्नु हुँदैन भन्छन् । अनन्त कालसम्म गठबन्धन चाहिँ टुट्नु हुँदैन भन्छन् । यता कांग्रेसका कार्यकर्ता छिटो चुनाप घोषणा गरेर गठबन्धन तोड हामी एक्लै चुनाप जित्छौ भन्दै छन् । अब हाम्रो देउवा दाइलाई गठबन्धन नै भालुको कम्पट हुने भो ।”

के वाइयात कुरा गर्छस् भिरघरे ! कांग्रेस भर पनि तँ एमालेलाई फाइदा पुग्ने कुरो गर्छस् ! गठबन्धन तोडेर चुनावमा जाने हो भने एमालेले सबैलाई धोबी धुलाइ धुन्छ । यो कुरा हाम्रो प्रचण्ड र माधव काम्रेडलाई थाहा छ । त्यसैल अस्ति शुक्रवार विहानै प्रधानमन्त्री देउवालाई धम्क्याउन हाम्रा दुवै नेता बालुवाटार पुगेका थिए। तँ भने डेब्रो कुरा गर्छस् । अध्यादेश ल्यार हुन्छ कि परमादेश ल्यार हुन्छ कि अथवा ऐन संशोधन मात्र गरेर हुन्छ कि भनेर हाम्रो नेताहरू उकिलहरसँग कानेखुसी गर्दैछ । पार लागे लाग्छ नलागे चुनाप घोषणा गर्नु भन्दा त चुपो लागेर बस्छ । होइन भने हाम्रो तर्फ सिंगो सर्वोच्च अदालत छ । कोस्ले के नाप्छ ?

काका ! अहिले चुनाप घोषणा नगर्ने हो भने फेरि हाम्रो देउवा दाइलाई अर्को कलङ्क लाग्छ । पहिला पनि देउवा दाइले गर्दा २० वर्षसम्म स्थानीय निकायको चुनाप भएन । अब पनि फेरि त्यसै गर्नु मनासिब हुदैन । कांग्रेस खतम हुन्छ । तिमारूको त केछर ! अहिलेसम्म ‘उठ जोगी फड्कार छाला, जहाँ जाला त्यहीँ खाला’ नीतिमा छौ ।

ठिक भने भिरघरे दाइले !  यिनारू जुन पार्टीमा छिर्छन् त्यही पार्टीलाई पिर्छन् र हिड्छन् । कुनै विश्वास छैन । कुनै चुनापमा कांग्रेससँग, कुनैमा एमालेसँग । यिनारू जंगलबाट आएपछि १६ पटक सरकार फेरबदल भए छ । यिनारू १० पटक सरकारमा लिसो जसरी टाँसिएका थिए । सत्ता नभए पानी बाहिरको माछो बन्छन् । सत्तामा पुगेपछि ब्रम्हलुट गर्छन् । अहिले हेर त मुलुकको अर्थतन्त्र ! विश्व बैंकले ‘नेपाल टाट पल्टिने अवस्थामा’ भनेर घोषणा गरी सक्यो ।

आ… सण्डे भाइ ! यस्ता कुराले माओवादीलाई छुँदैन । भारतीयद्वारा पालित पोषित, अम्रिकाको हितैषी यिनारू नै हुन भन्ने अब पुष्टि गर्नुपर्छ र ! जब यो कमफर्टेवल सराकर बन्यो भारतले नेपाली भूमिमा खुल्लमखुल्ला सडक बनाएको घोषणा ग¥यो । एमसिसीको वारेमा धन्न हाम्रो देउवा दाइले पोल खोली दिए । पुष्पकमल र मैले ‘एमसिसी पास गर्छौ भनेर सहीछाप ठोकेर अम्रिकालाई पत्र पठाकै हो भनिदिए’ । त्यो दुईजनाले सही ठोकेको पत्र, कालापानीमा भारतको विरोधमा बोल्न नसकेको कमफर्टेवल नारा, २४ लाख खोप गायब प्रकरण, जय सिंह धामी काण्ड, डामाडोल अर्थतन्त्रको अवस्था, ठप्प पारिएका विकासका कामको फेहरिस्त बोकेर एमालेहेरू चुनापमा जान्छन् । हामी के बोकेर जानु !

यो भिरघरे पनि कस्तो बाङ्गो कुरो गर्छ ! ‘प्रतिगमन सच्याउने हामी नै हौ, भोट हामीलाई दिनु ! नत्र ढाड सोझिने छ’ भन्दै जान्छौ ।

तैट ! यस्ता टपरटुइयाँका कुरा सुनेर के बस्नु । हिड सण्डे लागौं उभिण्डेतिर ।

काका, जै नेपाल !

Facebook Comments