परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आफैंले जन्माएको संस्थामा आगो झोस्ने दुस्कर्म कसैले नगरुन

आज मलाई स्मार्ट  चितवन मेडिकल सिटी र नर्सिङ शिक्षा बारे केही कुरो प्रकाशित गर्न हुटहुटी चलेको छ । कतिले मलाई के सम्म भन्न भ्याए भने आफु ठूलो कलेजमा काम गर्दैछ, त्यहाँको सबै सेवा सुविधा लिएको छ र अन्य नर्स, शिक्षक र कर्मचारीहरुलाई गर्नसम्म शोषण र दमनमा राखेको छ भनेर । यहाँसम्म कि एउटै कार्य समितिमा काम गर्ने अध्यक्ष र महासचिव समेतले यस्ता आक्षेप लगाउन पछि परेनन्।

नेपाल न हो, जसरी राजनीतिक खिचातानी अनेकौं भए त्यसको असर यो संस्थामा पनि पर्ने नै भयो। कतिले हाम्रो संस्थालाई जराबाट नै उखेलेर नामो निशान मेटिदिने उद्धेश्यले कुटिल रणनीतिका साथ अनेक दुःख दिनसम्म दिए। त्यो बेला आफुले ज्यान, घरपरिवार सम्पूर्ण दाउमा राखी यो संस्थाका लागि चट्टानी अडान राखेर डटियो। संस्थाको गाडी आगो लगाउँदा त्यो घृणित कार्यमा संलग्नहरुको खोजीमा दिनरात नभनी खटिएकै हो।

कसैलाई आक्षेप लगाउनु भन्दा पहिले उनीहरूको कार्यको पृष्ठभूमि बुझ्न जरुरी हुन्छ। चितवन मेडिकल कलेज स्थापना गर्ने सवालमा शुन्य समयदेखि आफू लगायत श्रीमती घर परिवार सम्पूर्णलाई साथ लिएर दिनरात स्वयंसेवी रुपमा खटिने काम गरियो । हाल आमा हुनुहुन्न उहाँको  पनि चितवन मेडिकल कलेज स्कूल अफ नर्सिङ स्थापना गर्न ठूलो योगदान छ।

चितवन मेडिकल कलेज (सिएमसी) स्थापना गर्न एउटा परियोजना शुरु गरी आय व्यय प्रक्षेपण गर्न एउटा घर भाडामा लिएका थियो । त्यसमा थुप्रै बैंकहरुलाई राखेर परियोजनाका बारेमा प्रस्तुती दिने गर्दथ्यौं ।  चितवन मेडिकल कलेजको प्रथम चरणमा नर्सिङ कलेज ल्याउने योजना बन्यो, त्यसमा मेरो भूमिका भनेको चितवन र देशभरि भएका नर्सिङ विज्ञहरु समेट्नु थियो। कारण मैले पुरानो मेडिकल कलेज र अर्को आई.ओम.टी नर्सिङ कलेजमा अध्यायपन गराएको प्रशस्त अनुभव बटुलिसकेको थिएँ । साथै नर्सिङ शिक्षकहरुका माझ प्रगाढ सम्बन्ध स्थापित गर्न सफल पनि भएको थिएँ । त्यस्तै विपि कोइराला विज्ञान प्रतिष्ठान धरानमा काम गरेको, काठमाडौं स्थित महाराजगंज नर्सिङ कलेजमा स्नातक नर्सिङ अध्ययन गरेको र त्यहाँका नर्सिङ फ्याकल्टीहरु साथै काठमाडौंका नाम चलेका नर्सिङ विज्ञहरु धेरै जनासंग राम्रो सम्बन्ध स्थापित गर्न सफल भएको थिएँ ।

त्यही दौरानमा वर्तमान सिएमसीका प्रमुख व्यवस्थापक डा. हरीश चन्द्र न्यौपाने लगायत अन्य स्थानीय डाक्टरहरु प्रशुती रोग विशेषज्ञ जागेश्वर गौतम, डाक्टर लोक बहादुर सेढाई, डाक्टर केशवराज भुर्तेल, नाक कान घाँटी विशेषज्ञ ढुण्डिराज पौडेल, हाड जोर्नी विशेषज्ञ  आनन्द राज रेग्मी, अर्जुन श्रेष्ठ,मनोचिकित्सक विशेषज्ञ सिपी सेढाई, सर्जन चिकित्सक आफैं हरीश चन्द्र न्यौपाने, विनय ठाकुर, ईश्वरचन्द्र घिमिरे, फिजिसियन शितल अधिकारी,कालिदास अधिकारी, बाल रोग विशेषज्ञ शान्ति रेग्मी, इमर्जेन्सी मेडिसिनका भोलाराम श्रेष्ठ, दयाराम लम्साल, एनेस्थेसिया गोपेन्द्र देव आदिको विशेष समूह थियो । उहाँहरु सबैसँग मेरो असल सम्बन्ध थियो । अझ क्यान्सर अस्पतालका त्यस बेलाका डाक्टर अञ्जनी कुमार ओझा, डाक्टर हरि ढकाल लगायत नर्सिङमा दया लक्ष्मी वैध, सरोजनी शर्मा, उषा थापा, अनुपा थापा, अयोध्या पाठक, त्यस्तै सरकारी अस्पताल अन्य निजी संस्थाका अस्पतालका गोमा निरौला श्रेष्ठ, माया पाण्डे, शकुन्तला पन्त, गोमा पाण्डे, मिना भुषाल, कमला रेग्मी, उषा थापा आदि सबै नर्सिङ विज्ञहरुबाट राम्रो सहयोग जुटाउन सफल पनि भएको थिएँ ।

त्यही प्रयत्नका आधारमा नर्सिङ जनशक्ति जुटाउन सहज भइयो । चितवनका सम्पूर्ण नर्सिङ समूहले चितवन मेडिकल कलेजमा स्कूल अफ नर्सिङ स्थापना गरी उच्च नर्सिङ जनशक्ति तयार पार्नसफल भइयो। त्यसको नेतृत्व गर्ने अवसर मलाई जुरेको थियो । कार्य त्यति सहज थिएन । त्यहाँ आन्तरिक राजनीतिक चलखेल व्याप्त थियो । नर्सिङ परिषद्को अनुमति पत्र नलिई चलाउन नदिने, त्यसमा चितवन पनि भित्र नै एउटा यस्तो सक्रिय जमात थियो जसको उद्देश्य यो प्रोजेक्ट फेल गराउनु थियो ।

म यो कलेज ल्याउन आफूले खाइआएको जागिर छोडेर बिना तलब भरतपुर आएर बसेँ र बिहान बेलुकी खाना लामाजीको होटेलमा खाने गर्दथे । एक साँझ मलाई कुट्न मान्छे खटाएछन् ताकि भरतपुर छोडेर भागोस भनेर। तर म डराउने कुरो नै थिएन । मैले सामना गरेँ र मलाई कुट्न आउने उनको कुनियति बुझे पछि मैले विस्तारै कुरा सुरु गरेँ । खोतल्दै जाँदा उनी त मेरो विद्यार्थीको बाबा रहेछन् । त्यसपछि उनी माफी माग्दै बिदा भए । त्यस्तै अर्को चितवनका ठूलै नाम चलेका प्राध्यापक आफंै लाग्नु भएको रहेछ संस्थाको बिरुद्द र मेरो बिरुद्द पनि । उनले एउटा अन्तरराष्ट्रिय सेमिनारमा यो कुरा उद्घोष गरे । उनीसंग मैले अति संयमित भएर आमनेसामने बसेर भलाकुसारी गरँे । पछि उनले मलाई गलत कुरो सच्याउँछु भनी महशुस गरे । यसरी शून्य अवस्थामा रहेको चितवन मेडिकल कलेज स्थापना गर्न वीरगन्जको जागिर छोडेर भरतपुरमा स्वयंसेवी काम गरेँ ।

त्यसैबीचमा धरानका साथी गायानन्द मण्डल, सिनियर दिदी स्वर्गीय देबु कुमारी राई, पुष्पा पराजुलीहरुलाई त्यहाँ दुई वर्ष विदा लिएर चितवनमा फ्याकल्टीका रुपमा काम गर्न प्रस्ताव राखेँ। उहाँहरु तयार हुनुभो, क्यान्सर अस्पतालबाट उषा थापा र सरोजनी शर्मा म्याम तयार हुनुभो। त्यस्तै महाराजगञ्ज शिक्षण अस्पतालबाट लक्ष्मी राजवंशी म्याम,  यूएनओमा कार्यरत शोभा नेपाली म्याम  पनि तयार हुनुभो। यसरी चारैतिर सम्पर्क बढाएर नर्सिङ फ्याकल्टीहरु तयार गरी परिषद्को स्वीकृति पत्र लिने कोसिस गथ्यौं। चितवनका त्यो समूह असफल बनाउन राजनीति खेलिरह्यो । यसलाई स्वीकृति प्रदान गर्न मेरो पहलमा धरान विपिका प्राध्यापक समी लामा दिदीले गर्नु भयो।

अब विद्यार्थी जुटाउनु पर्ने भो । जानीजानी हामीहरूलाई ढिलो गराएर स्वीकृति दिइएको थियो। भौतिक पूर्वाधार केही पनि नभएकाको संस्थालाई चितवनमा नर्सिङ परिषद्ले बी.एन, बी.एस्सीको स्वीकृति पत्र दिइसकेको थियो तर हामीहरूको कलेजलाई जानीजानी दिन चाहेको थिएन। म, समी लामा दिदीप्रति धेरै नै आभारी छु। उहाँको साहसिक कदमकै कारण हाम्रो कलेजले बी.एन अध्यापन गराउन नर्सिङ परिषदबाट स्वीकृति लिन सफलता पाएको थियो ।

म यसरी कसिएर सिएमसी नर्सिङ कलेज स्थापित गराउन किन लागि परेँ भन्ने कुरा पनि तपाईलाई यहाँ सुनाउन चाहन्छु।

हाम्रो यो चितवन मेडिकल कलेजको मिशन, भिजन स्पष्ट र सरल थियो साथै डा. हरीश, डा. जागेश्वर गौतम, आनन्द राज रेग्मीबीच अति राम्रो समन्वय थियो। समूहमा स्पष्ट धारणा राख्ने, हाम्रा सन्तानहरु अध्ययन गर्न, काम खोजी गर्न विदेश भौतारिनु नपरोस् भन्ने पनि सबैको एउटै मत थियो।

सिएमसीको प्रमुख उद्देश्य अनुसार चिकित्सा शिक्षा अध्ययनका लागि बिदेशीन बाध्य विद्यार्थी र उनीहरूको भबिष्यका लागि चिन्तित अभिभावकहरुलाई मध्यनजर गरी स्पष्ट रणनीतिसाथ अघि बढ्ने काम गरियो। अझ रोजगारीका सिलसिलामा बिदेशीनेहरुलाई पनि यही भरतपुरमा रोजगारीको अवसर सिर्जना पनि थियो । बिदेशीन बाध्य जनशक्ति र उनीहरुले झेल्नु परेका दुःख कष्टबाट मुक्ति दिलाउन देश भित्रै केही गर्न सकिन्छ भन्ने महत्वपूर्ण संदेश देशभरि दिने रणनीति पनि तय गरियो। हो यो पवित्र उद्देश्य राखी हामीसबैको पूर्ण सहभागितामा गहन छलफल पश्चात् निर्णय गरिएको हुँदा अन्य स्थानबाट मेट्रोन र क्याम्पस प्रमुखको दोहरो भूमिका दिने प्रस्ताव आउँदा पनि त्यसलाई स्वीकार गरिन। त्यस्तै आफ्नै लगानीमा हेटौडामा स्थापना गरिएको नर्सिङ कलेज सिनियर साथीलाई हस्तानान्तरण गरी एकचित्त, एक ध्यान लगाएर कसरी एउटा स्तरीय नर्सिङ कलेज र अस्पताल स्थापित गर्ने र राम्रो बनाउने भन्ने कार्यमा अग्रसर भइयो।

वास्तवमा भन्ने हो भने धरान विपि बनाउन गरिएको अनुभव र त्यहाँको स्थायी जागिर, सरकारी स्थायी जागीर र विभिन्न कलेजमा अध्यापन गराउनुका साथै नर्सिङ कलेज र अस्पताल व्यवस्थापनमा आर्जित निखारिएको समष्टिगत अनुभव सिएमसी नर्सिङ कलेजमा लगानी गरेँ। वास्तविक सही अर्थमा भन्ने हो भने सिएमसीको जीवित नर्सिङ कलेजको इतिहासमा संस्थापक सदस्यको प्रमुख हैसियतले काम गरिएको थियो भनेर गौरव गर्न सकिन्छ र अरु कसैले उल्लेख नगरे पनि लिखित रुपमा यो इतिहासको हकवाला हुँ भनी घोषणा पनि गर्दछु। यसको साक्षी भरतपुरमा स्थायी बसोबास गर्ने स्वास्थ्यकर्मीहरु मात्र नभई देश विदेश चारैतिर फैलिएर कार्यरत स्वास्थ्यकर्मीहरु पनि हुनुहुन्छ ।

अझ यसै शिलसिलामा एम.एस्सी दक्षिण भारतमा अध्ययन गर्न जाँदा त्यहाँको स्तरीय नर्सिङ शिक्षा यहीँ किन नदिने भन्ने हेतुले त्यहाँका राम्रा दुई शिक्षकहरुलाई लिएर यहाँ काम गर्न लगाइयो । त्यति मात्र कहाँ हो र अझ विपि धरानको पहिलो ‘ब्याच’का नर्स जसलाई नर्सिङ शिक्षाको सुरु अवधिदेखि पूरा नगरुन्जेल आफ्नो आँखा अगाडि र कतिपय ठाउँमा आफुले हातले समाएर सिकाएकालाई समेत अनेक मिहेनत साथ यस संस्थामा ल्याइयो। साथै दक्षिण भारतको नाम चलेको केएलई विश्व विद्यालयमा हाम्रो स्नाकोत्तर नर्सिङका विद्यार्थीहरुलाई प्राक्टिकलमा लैजाने व्यवस्था मिलाइयो।

नेपाल न हो, जसरी राजनीतिक खिचातानी अनेकौं भए त्यसको असर यो संस्थामा पनि पर्ने नै भयो। कतिले हाम्रो संस्थालाई जराबाट नै उखेलेर नामो निशान मेटिदिने उद्धेश्यले कुटिल रणनीतिका साथ अनेक दुःख दिनसम्म दिए। त्यो बेला आफुले ज्यान, घरपरिवार सम्पूर्ण दाउमा राखी यो संस्थाका लागि चट्टानी अडान राखेर डटियो । संस्थाको गाडी आगो लगाउँदा त्यो घृणित कार्यमा संलग्नहरुको खोजीमा दिनरात नभनी खटिएकै हो । यी कार्यको साक्षी अहिले राम्रो ठूलो संस्थाको ठूलो पदमा जीवित इतिहास भै कार्यरत हुनुहुन्छ। कलेज बिरुद्ध सम्पूर्ण निकाय जुरुक्क उचालेर सडक सडक, चोक चोकमा नारा बाजी लगाउँदा ज्यान हत्केलामा राखेर संस्थाका लागि टोल टोलमा, प्रत्येक पल पलमा सम्पर्कमा आएका आधिकारिक व्यक्तिहरुलाई संस्थाको पक्षमा परामर्श सेवा दिइयो । संस्थाको उपल्लो आधिकारिक पद लिएर, संस्थाका उपल्लो वर्गमा कार्यरत व्यक्तिहरू डरले चुसम्म बोल्न नसकिएको अवस्थामा, उल्टै आफ्नो बचावका लागि बाध्यताले गर्दा पनि होला आगो लगाउनेहरुसंगै हो मा हो मिलाउँदै उनीहरुलाई उकासी रहेको अवस्थामा मैले भेटेको पनि हो।

मलाई राम्ररी सम्झना छ, एक्लै भए पनि हाम्रो संस्था बिरुद्द लगाइएको आगोको बीचमा, आगो लगाउनेहरू माझ संस्थाको पक्षमा वकालत गर्दै आन्दोलनकारीहरुलाई चेतावनी साथ परामर्श सेवा दिएकै हो । त्यही अवस्थामा मेरा आफ्ना हितैषी विद्यार्थीहरुले यस्तो कार्य मेरो आफ्नो घर परिवार र म आफैंको सुरक्षाका लागि रोक्नु भनेर सुझाव दिएका थिए पनि। तर अझै कतिले यो कार्यलाई अवमुल्यन गर्न अनेक रणनीतिका साथ मेरा बिरुद्द गलत कुराको प्रचारप्रसार व्यापक रुपमा गर्ने काम गरिएको थियो नै।

कोरोना महामारीको प्रथम चरणमा मेरो विरुद्धमा हल्ला फैलाइयो, सुक्ष्म रणनीतिका साथ म सिएमसी संस्था बिरुद्ध लागेँ भनेर। कारणहरु अनेकौं हुनसक्दछ। पहिलो कारण थियो ती जालीझेलीहरु, जो संस्थाको जागिरे छन् र अति स्वार्थी छन्, उहाँहरुका गलत कुरा बाहिर आएर अनुहार उदाङ्गिएला भनेर, दोस्रो कारण मेरो स्वभाव पनि हो देखिएको सही कुरा ड्याङ्ड्याङ बोलिदिने, तेस्रो कारण थियो उपल्लो निकायमा कार्यरत आधिकारिक व्यक्तिहरूलाई पनि संस्थाको पक्षमा हित हुने कुरा छ भने उनीहरुले अह्राएको खटाएका व्यक्तिहरू कै अगाडि यो गलत छ यस्तो कार्य संस्थाको पक्षमा राम्रो होइन भनेर निर्धक्क बोली दिने मात्र होइन, भनेको नमान्दा यसरी नै लेखी दिने पनि गरियो । यतिसम्मकी कतिले मेरो हैसियतमाथि नै प्रश्न पनि उठाए र मैले त्यसको जमेर विरोध गरेँ । अनि ठूलो पद ओगट्ने तर नर्सिङ विधालाई नजर अन्दाज गरेर नर्सिङका आम सभामा बोल्दा मलाई सह्य हुँदैनथ्यो, चुप लागिन पनि ।

आफूले यसरी दिन रात नभनी आफ्नो सम्पूर्ण घर परिवार यो संस्थाका लागि घर पाइक खाईपाई आइरहेको सरकारी जागीर त्यागेर, अति मिहेनतका साथ सिँगारिएको घर आँगन नै छोडेर सिएमसी बनाउन हुटहुटी जाग्नु एउटै मात्र कारण के थियो भने अवमुल्यन गरिएको नर्सिङ पेशालाई माथि उकास्नु । कारण थियो सिएमसीसंग आत्मीय रुपमा नर्सिङको सम्बन्ध रहेको महशुस गरेको थिएँ । साथै भरतपुरका घर घरमा अस्पताल र क्लिनिकहरु विकास हुँदै थिए भने नेपालको एकमात्र ठूलो क्यान्सर अस्पताल, सरकारी अस्पताल, आँखाको विशिष्ट अस्पताल, सिटीइभिटीबाट अनुमति प्राप्त अन्य प्रशस्त नर्सिङ कलेजहरु र ठूला मेडिकल कलेज आदिका कारणले उदाउँदो स्मार्ट मेडिकल सिटीका रुपमा स्थापित हुँदै गरेको सपना मैले देखिरहेको थिएँ ।

यी सबैकुरा म अहिले यहाँ किन झलझली सम्झिरहेछु भने आफ्नो जीवनका अति उत्कृष्ट र उत्पादनमूलक दिनहरू सिएमसीमा लगाउँदा आफुलाई अझ परिपक्क र अनुभवले पोख्त पाएको छु । त्यसैले व्यक्तिगत बचावका लागि धर्म परिवर्तन गर्ने, आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टी परिवर्तन गर्नेदेखि निर्धक्क बोल्न, लेख्न र सामना गर्न दुवै थरिबाट अथाह ऊर्जा निरन्तर प्राप्त गरिरहेको छु।

यहाँ म चोइटिएर गएका पार्टीमा आबद्ध मेरा अग्रज दिदी, दाजु र गुरुहरूलाई विनम्र निवेदन के गर्न चाहन्छु भने आफूले बनाएको घरमा आगो लगाएर त्यसको खरानी धसेर कहिले पनि ठूलो साधु सन्त कोही पनि हुनेवाला छैन। बरु स्वार्थको राजनीतिले बनीबनाउ घर र इज्जत दुवै धरासायी बनाउने छ । कृपया आफ्नो पुरानो घरमा फर्कनुहोस् । यहाँ कम्तीमा आनन्दको निन्द्रा लाग्नेछ, भावी सन्ततिले श्राप दिने छैनन् किनकी कृष्ण भगवानले गीतामा भन्नु भएको छ सबै धर्मको रक्षा गर तर आफ्नो धर्म परिवर्तन नगर। आफ्नो पिता पुर्खाले जोगाएको, हुर्काएको संरक्षण र सम्बद्र्धन गर्दै आएको धर्मको अवमुल्यन गर्नु अझ त्यसलाई त्याग्नु जस्तो जघन्य अपराध केही हुँदैन ।

यो कुरो बुझ्न र बुझाउन भित्री शक्ति सिएमसी खडा गर्दा र यसको रक्षाका लागि कडा मिहेनत साथ मुकाबिला गर्दा आर्जित ज्ञान र खारिएको अनुभवका आधारमा भन्दैछु, निर्माण कति कठिन चिज हो भनेर ।

त्यसैले सिएमसी भित्र नै मेरा बिरुद्ध आगो सल्काउने, मलाई र मेरो परिवारलाई नजर अन्दाज गर्नेदेखि रत्तिभर डर छैन। मैले पनि अरु लगानीकर्ता जत्तिकै शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक परिश्रम यो सिएमसी निर्माण गर्न शुन्य अवस्थादेखि नै लगाएको छु। मात्र अरु सरह नगद लगानी गरेको छैन । त्यसैले गर्वका साथ आफूलाई यस संस्थाको संस्थापक सदस्य रुपमा अहिले स्वघोषणाा पनि गर्दछु, किनकि आफुले रोपेको बिरुवा आफुले संरक्षण नगरे अरूले गर्ला र ! त्यस्तै आफूले गरेको काम यो स्वार्थी समाजमा अरू कसले उल्लेख गर्देर्ला र ! त्यसैले आफूले बनाएको घरमा आगो लगाउने काम मानव भएर कसैले नगरुन, जीवनमा उतार चढाव आइरहन्छ त्यसबाट आत्तिने भाग्ने नगरुन । हाताहाति नगदी फाइदाका लागि अथक प्रयासबाट आफूले जन्माएको संस्थामा आगो लगाउने काम कसैले नगरुन । हो यसरी नै नर्सिङ पेशालाई कसरी स्थापित गर्न सकिन्छ यस बारे व्यापक छलफल चलाउँ, स्थानीय तहमा, राष्ट्रिय तहमा र अन्तरराष्ट्रिय तहमा। नर्सिङ शिक्षालाई अवमुल्यन गर्ने काम नर्स भएर कदापि नगरौं। मेरो आग्रह यही हो, इच्छा तपाईको बस् ।

Facebook Comments