परमादेशी हर्कत र राष्ट्रिय दुर्भाग्य
धेरै भएको छैन, अस्ति पुष महिनाको कुरा हो । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालेले एउटा भाषणमा देश विकास गर्ने रोडम्याप आफूसँग मात्र भएको दावी गर्नुभयो । त्यो उहाँसँग ‘मात्र’ भएको रोडम्याप, गुरुयोजना वा अवधारणका बारेमा अरु केही भन्नु भएन । त्यतिमै सकी दिनु भयो । नेपालले गोप्य राख्नु भएको विकास योजना गोप्य नै रह्यो । त्यसैताका नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अवधारणालाई मिसमास गरेर आफ्नो बनाउन खोज्नु भयो । उहाँलाई ओलीको नारा चोरेर बिगारेको आरोप गज्जबले नै लाग्यो । सायद महाधिवेशनमा सहज तरिकाले चुनाव जित्न गगनले त्यो नारा आफूलाई काम लाग्ने ठानेर त्यसो गर्नु भएको थियो होला । अतिअस्ति पूर्व प्रधानमन्त्री झलनाथ खनालले धरहरा, रानीपोखरी र काष्ठमण्डप मिस्त्रीले बनाको हो । माथिल्लो तामाकोशी र मेलम्ची लगायतका आयोजना मजदुरले निर्माण गरेका हुन भनेर ठोकुवा गर्नुभयो ।
नेतृत्वको काम नेतागिरी गर्ने मात्र पकै होइन । सपना देख्ने, योजना बनाउने र विकासका अवधारणालाई कार्यरुपमा परिणत गर्ने काम पनि नेताकै हुन आउछ । यदि ओलीले हुटहुटी नलगाएको भए माथिल्लो तामाकोशी अहिले नै सम्पन्न हुने थिएन। नेपालमा रेल आउने थिएन, उत्तरतिरबाट पनि रेल आउन सक्छ र काठमाडौं लगायत नेपालमा पूर्व–पश्चिम रेल कुदाउन सकिन्छ भनेर नेपालीले कल्पना गर्न अरु केही वर्ष लाग्ने थियो होला। जतिसुकै धारेहात लगाएर ओलीलाई सरापे पनि उल्लिखित विकास योजनाहरूको सपना देख्ने, कल्पना गर्ने, योजना बनाउन लगाउने र समयमै काम सम्पन्न गर्न दवाव दिने काम ओलीले गर्नु भएको थियो।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बनेपछि विकास सम्बन्धी केही अवधारणा राख्नु भएको थियो । नेपालमा पानी जहाज, रेल चलाउने प्रसङ्ग ओलीले निकाल्दा केही बुद्धिजीवी, केही लेखक, केही नेता, केही पत्रकार र केही ओलीका सदावहार विरोधीहरूले कस्तरी उडाए भने उस्तै हो भने फेरि भुइँमा खुट्टा टेक्नै नसक्ने । जसरी नेपाली काङ्ग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईले “मेलम्चीको पानी काठमाडौंका जनतालाई खुवाउछु” भन्दा उडाएका थिए त्यसरी नै ओलीलाई उडाए । अहिले के प्रमाणित भएको छ भने पाँच फिट मात्र गहिराइ र हाम्रो कोशी जत्रो नदीमा मध्यम खालको पानी जहाज मजाले चल्छ र आवश्यकता अनुसारको लिक तयार गर्ने हो भने पहाडमा पनि रेल कुदाउन सकिन्छ । भारतको दार्जिलिङले यो कुरा धेरै पहिल्यै सिद्ध गरेको हो । यसका लागि उत्तर दक्षिण दुवैतिरबाट प्रारम्भिक कामको थालनी हुँदैछ । हामी भने अहिले पनि ओलीलाई उडाउँदै छौ।
नेताहरूले बोल्नु भएका माथिका अभिव्यक्तिले देशमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासको जग बसाउन थाल्नु भएको रहेछ भन्ने सन्देश दिन्छ । ओलीको ईष्र्या र डाहाले चुर भएर नकारात्मक भाषण गर्नु एउटा कुरा हो भने विकासको योजनालाई मूर्तरुप दिनु अर्कै कुरा हो । माधव नेपाल र झलनाथ खनालले नेपालको प्रधानमन्त्री बन्ने अवसर पनि पाइसक्नु भएको छ । आफ्नो प्रधानमन्त्रीत्व कालमा उहाँहरूले ‘यो यो ऐतिहासिक काम गरें’ भनेर दावी गर्दा भने जनताले पत्याई दिन सक्छन् । दुई पूर्व प्रधानमन्त्रीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सम्झन लायक काम कुनकुन गर्नु भयो? यो प्रश्नको उत्तर खोज्न पंक्तिकार निकैबेर घोरियो । तर, ओल्टाइ पल्टाई गर्दा पनि कतै भेटिएन । सायद उहाँहरू स्वयमले पनि आफूले गरेको सम्झन लायक काम भेट्नु हुनेछैन ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही ऐतिहासिक काम गरेको लिस्ट भेटिन्छ । जसले काम गरेको हो उसलाई जस दिने हो भने ओली जसको भागिदार हुनुहुन्छ । चीनसँगको पारवहान सन्धी, माधव नेपालले पत्र लेखर रोक्नु भएको अरुण तेस्रोको भारतसँग मिलेर संयुक्त सुरुवात, काठमाडौं–धादिङ जोड्ने सुरुङ मार्ग, ध्वस्त भएका नेपालका धरोहर रानीपोखरी, धरहरा, काष्ठमण्डप लगायका संरचना निर्माण ओलीकै पालामा भएको देखिन्छ । पछि बाढीले विमाख गरे पनि मेलम्चीको पानी काठमाडौंमा ल्याउने र राजधानीका जनताको घरमा पु¥याउने व्यक्ति पनि ओली नै हो । पकै पनि मेलम्चिको पानी काठमाडौं ल्याउने कसरत धेरै अघिदेखि भएको हो । धेरैको लगानी, परिश्रम र मिहिनेत यसमा परेको छ । तर ओलीको हुटहुटीपूर्ण नेतृत्व नभएको भए त्यसबेला पनि पानी आउने थिएन भन्ने अहिले पुष्टि हुँदैछ । बाढीले मुहानमा क्षति पु¥यायो तर अहिलेसम्म मर्मतको काम सुरु हुन सकेको छैन। र, यो सरकारले गर्दा पनि गर्दैन ।
ओलीले पूर्व–पश्चिम राजमार्गलाई फराकिलो बनाउँदै स्तरोनती गर्न र हुलाकी मार्ग छिटो सम्मपन्न गर्न बारम्बार ताकेता गर्नु भएको थियो । अहिलेको सरकार बनेको आधा वर्ष भयो, सबैतिर चकमन्न छ ।
विकासका शब्दहरू ननिस्की रहेका बखत पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गत पुष २५ गते ‘गफ हाँकेर समृध्दि आउदैन’ भन्नु भयो । उहाँले ओलीप्रति लक्षित गर्दै उक्त अभिव्यक्ति दिनु भएको थियो । वास्तवमा बाबुरामजीले ठिक भन्नु भयो । गफ हाँकेर समृद्धि आउँदैन । अब जनता र राष्ट्रका लागि के हाँक्दा समृद्धि आउछ बाबुरामजीले त्यो बताई दिए हुने थियो । यसरी पदमा पुग्दा पनि बाबुरामजी र माधवजीले विकास सम्बन्धी अवधारणा, योजना र खाका आफ्नै मनमा गुम्फित गरेर, लुकाएर राख्दा राष्ट्र र जनतालाई ठूलो घाटा हुन्छ । वर्तमान सरकारकै कुरा गर्दा पनि पाँच दले गठबन्धन सरकार हो । नेपाल र भट्टराई पनि गठबन्धनको हस्ति मध्ये हुनुहुन्छ । तसर्थ समृद्धिका योजना छन् भने यसैबेला लागु गर्न सक्नुहुन्छ । भविष्य स्पष्ट छैन । अहिलेको भन्दा प्रतिकुल अवस्था आउन सक्छ ।
विकासका मोडलहरू अफ्नै खालका हुन सक्छन् । परिभाषा र आवश्यकता बेग्लाबेग्लै हुन सक्छ । राष्ट्र र जनताको आवश्यकता बुझेर विकास गर्न अग्रसर हुने नेता पनि विरलै पाइन्छन् । उच्च छलाङ, आमूल परिवर्तन र ‘आइस व्रेक’ले विकासमा नेपाली मोडल स्थापित गर्न सक्तैन । हुम्लाका जनताले सडक सञ्जालमा जोडिन पाए विकास भएको मान्छन् भने काठमाडौंका जनताले सधैभरि आफ्नो धारामा मेलम्चीको पानी आए विकास भएको ठान्नु पर्ने अवस्था छ । तर, जबसम्म हामी मुलुक भित्र सामान उत्पादन गर्ने कलकारखाना खोल्न र विदेश पलायन भई रहेको युवा जनशक्तिलाई स्वदेशमै रोकेर काम दिन सक्तैनौ तबसम्म हाम्रा विकासका अवधारणा फोस्रा गफ सावित हुनेछन् । हामीले केही पनि उत्पादन गर्न सकेका छैनौ । हामीसँग निर्यात गर्ने वस्तु छैन । सबै उपभोग्य वस्तु आयात गरेर बाँचेका छौ । यही आयात गरेर ल्याइने सामानमा पनि ढुवानी भाडा अत्यधिक तिर्नु परिरहेको छ । बाटघाटो, पुलपुलेसा र ढुवानी साधन अहिले पनि भने जस्ता छैनन् ।
कृषि प्रधान मलुक, ८५ प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर छन् भनेर हामीले अहिले पनि भन्नु पर्ने अवस्था छ । तर, देशमा बनेका कुनै पनि सरकारले कृषिलाई कहिल्यै महत्व दिएन । हामीले विश्वका लागि अदक्ष श्रमिक निर्यात गर्ने राष्ट्र भन्ने परिचय बनाएका छौ । यो अवस्थाबाट अब देशलाई मुक्त बनाउन सक्ने नेता जनताले खोज्नुपर्छ ।
राष्ट्र बैंकका अनुसार अहिले देशको आर्थिक अवस्था भयावह र निराशाजनक छ । आयात अत्यधिक बढेकाले सञ्चित विदेशी मुद्रा समाप्त भइसकेको छ । विकास आयोजना प्राय ठप्प छन् । छ महिना भयो कतै कुनै काम भएको छैन । जस्ले गर्दा पूँजी चलायमान हुनबाट रोकियो । प्रदेश सरकारले गर्नु पर्ने विकास कार्य पनि अघिल्लो सरकारले थालनी गरेको भनेर योजानहरू नै खारेज गरियो । केन्द्र सरकारका अर्थमन्त्री जनार्दन शर्माले पैसा बचत गर्न भन्दै ओली सरकारका पालासम्म सुचारु काम पनि रोकी दिनु भयो ।
अहिले सबै अर्थविद्हरू राष्ट्र टाट पल्टिने अवस्थामा पुगेको ठोकुवा गर्दैछन् । सरकार कानमा तेल हालेर बसेको छ । ओलीको प्रधानमन्त्रीत्व कालसम्म ठिकै रहेको अर्थतन्त्र र सञ्चित विदेशी मुद्रा कसरी ठिकै अवस्थामा राख्न सकिएन त्यसतर्फ पटक्कै ध्यान नदिएर ‘पाँच दले’ परमादेशी गठबन्धनका नेताहरू ओलीलाई सरापेर बसेका छन् । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबाट केही लछारपाटो लाग्दैन भन्ने पहिले चारपटक प्रधानमन्त्री हुँदा थाहा भएकै थियो र फेरि पनि केही हुनेवाला छैन । परमादेशी सरकारका हर्कतले नेपालीको भविश्य भने नराम्ररी विथोलिदै गएकोछ । शायद राष्ट्रिय दुर्भाग्य यसैलाई भन्नुपर्ला ।