परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लड्डु कोचाकोचदेखि हामी यहाँ छौं सम्म 

फुटानी

काठमाडौंको खबर नसुनेको पनि थुप्रै दिन भयो । सण्डे एमालेको महाधिवेशनतिर लाग्यो होला। भिरघरे चाहिँ आज आउँछ कि! आएर पनि के गर्नु खाली प्रचण्डको विरोध गर्छ, कांग्रेस भन्नु मात्र ओलीको प्रसंसाबाहेक अरु कुरो गर्न जान्दैन । हुनत हाम्रा महान काम्रेड प्रचण्ड पनि उस्तै छन्। सङ्गठन गर्ने तौरतरिका ओलीबाट सिके पनि हुने नि! बाहिर भन्न मिल्दैन तर पनि हामी जस्ता माओवादीको मनमा आफ्नो पनि सङ्गठन एमालेको जस्तै भै दिए हुने थियो भन्ने लागेकै छ। भित्र भित्र हाम्रो सङ्गठन भत्किएको, मक्किएको, सक्किएको सबैलाई थाहा छ । बाहिर सबैको भन्दा ठूलो गफ गरेर के गर्नु!

के सोचेर बसेका छौ बुढा ! एमालेमा प्रवेश गर्नेहर्को लर्को देखेर तिमार्को मन करक्क बाँउडिएको होला। धनकुटामा अब दुइटा पार्टी मात्र रहे अरे एमाले र नेपाली कांग्रेस । यता नेपालगञ्जमा पनि एमाले प्रवेश गर्नेहर्को ताँती देखेर तिमार्को भुँडी पोलेको होला । जता एमाले उतै जनता। सबै जिल्ला एमालेमय बन्दै छन्।

बढी कुरो नगर झुम्री! ओलीको गुणगान गाउनु पर्दैन । हाम्रो पनि एमाले समाप्त पार्ने योजना छ, हाम्रो पनि ३३ लाख कार्यकर्ता बनाउने निर्णय छ, हाम्रो पनि एमालेका भए जति कार्यकर्ता माओवादीमा समाहित गर्ने खाँका तयार भएको छ । एमाले र ओलीलाई पछार्न हाम्रो राष्ट्रनायक, विश्व सर्वहारा वर्गका एक मात्र नेता, माक्र्स, लेनिन र माओपछि महान विश्व सर्वहारा क्रान्तिले जन्माएको एक मात्र ‘लिडर’ काम्रेड प्रचण्ड अगाडि बढी सकेकाछन्।

नमस्कार है काका–काकी ! कस्को प्रसंसा गर्दै छौ काका ! सकिएर पत्रु भैसकेका, आफ्नो प्रसंसा आफैं गर्ने, आफूलाई विश्वको महान नेता ठान्ने, घमण्डले चुर भएर पार्टी नै तहसनहस पार्ने र आफू समाप्त भएर टुप्पीसम्म भासिए पनि ‘ओली सकियो’ भनेर चिच्याउनेको प्रसंसा त होलानी!

यी बुढाले आफ्नो नेताको प्रसंसा गर्न बाहेक अरु के जानेको छ र! टेक्ने न समाउने भै सको, मुख्य नेता र कार्यकर्ता एमालेतिर हामफाली सके । सङ्गठन छैन, नीति, सिद्धान्त विचार  प्रजातान्त्रिक पद्धति नास्ती, अनि विश्वका नेता मध्य चौंथो लम्बरमा आफू जन्मिएको र यस्तो नेता एक जुगमा  एक मात्र जन्मिन्छ भनेर गफ ठोक्छन्। अर्को के भन्छन् भने– हामी एमाले जस्तो बन्ने होइन एमालेलाई हामी जस्तो बनाउनु पर्छ अरे।

वाइयात कुरो नगर झुम्री! हाम्रो प्रचण्ड काम्रेडले जे भन्यो त्यही पुग्छ। सर्वोच्च अदालतले ‘२८ घण्टा भित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति दिनु’ भनेर राष्ट्रपतिलाई आदेश दिने फैसला त्यसै गरेको होइन, सभामुख अग्नि सापकोटाले माधव नेपाल लगायतको संसद् पद पनि हाम्रै प्रचण्डले जोगाई दिएको हो । अरु सप्पै प्रचण्डकै खटनपटनमा चलेको थियो। २३ गतेको सर्वोच्चको फैसलाले हाम्रो खप्पर फुट्ने गरी नहानेको भए अहिले ओलीको कन्तविजोग हुन्थ्यो।

विध्वंसे काका! लड्डु कोचाकोच काण्डसम्म ठिकै थियो, ‘हामी यहाँ छौं’ भनेर छातीमा ब्यानर टाँसेर आफूले आफैंलाई चिनाउनु पर्ने अवस्थामा पुगेपछि मात्र जनताले चिन्न छाडेका हुन। अबको चुनापमा पनि चारजना पूर्व प्रधानमन्त्रीले ‘तपाईंको अमूल्य मत कृपया मलाई दिनु होस् है’ भन्ने यमानको ब्यानर छातीमा टाँसेर मतदान केन्द्रको गेटमा बसेर भोट माग्नुपर्छ। दया जागेर जनताले दिए भने दिए नभा चारैजना गए गोलखाडी।

खै यसै भन्न सक्ने अवस्था रहेन भिरघरे! हाम्रो प्रचण्ड गफ त सानो गर्दैनन्। कुनै दिन थियो– म ठूलो पार्टीको अध्यक्ष भएको नाताले– भनेर भाषण सुरु गर्थे। अनि अरु सबैलाई हरुवा भन्थ्ये। अहिले ओलीको विरोध गर्दागर्दै कहिलेकाहीँ त कुरो खुस्केको थाहा पाउदैनन्। हुन पनि हो, ओलीले कार्यकर्ता मात्र होइन नेता पनि लगी दिए । गाउँको त कुरै छाडौं धेरै जिल्लामा त पार्टीको गतिविधि जिरो छ।

ठिक हो काका! तर तिम्रो नेताले उम्लिए पछि पोखिन्छ भन्ने त विर्सिएकै हो नि। कुम मर्काउँदै आकाशतिर मात्र हेरेर हिड्दा भुईँ विर्सिए। अहिले भुइँतिर हेर्छन भुइँ छैन। प्रचण्डलाई पैसा भए पुग्छ भन्ने दुनियाँले बुझी सके।

अब त्यही भयो भन्नु पर्ने भो। नढाँटी भन्ने हो भने हाम्रो पार्टी सङ्गठन नै छैन। तहसनहस भै सकेछ हामीले थाहा नै पाएनौं। सप्पै हामीतिरै ओइरिन्छन् भन्ने भ्रम थियो। त्यो भ्रम लास्टै भर सकियो।

विध्वंसे काका! तिमी त भखर भ्रम मुक्त हुँदै छौ भने प्रचण्डले त चुनापमा हरिविजोग भएपछि मात्र थाहा पाउछन् होला। काका! माओवादीमा रहेकाहर्को भने अब विजोग हुने देखिन्छ।

आ… भिरघरे भतिज! नेताले पछिसम्मको सोच राख्न र जनताको मनोभाव बुझ्न नसक्दा हुने यस्तै हो। हामीले दुख मानेर केही हुँदैन। यो कुरा छोड्दे। बरु भन एमालेको चितवन महाधिवेशनमा हाम्रो यो गाउँपालिकाबाट कति जाने रान?

खै काका! एमालेका कार्यकर्ता जति सप्पै जाने भन्दै छन्। झुम्री काकी जान्छिन कि जान्नन कुन्नि अरु त सप्पै जान्छन अरे।

तेरो काकीले जाने भनेर अस्तिदेखि तयारी गरी सकेकी छ। कसैले उसलाई रोक्न सक्दैन। मैले पनि जा भनी दिएँ। आफ्नो माओवादीको यो गाउँमा कोही छैन अनि उसलाई किन रोक्नु!

ठिकै हो काका! जान दिनुपर्छ। लौ काका अब दुख मानेर हुने वाला केही छैन। म पनि आज उभिण्डे खोलातिर जानु छ। लागें है काका।

जै नेपाल!

Facebook Comments