परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

विध्वंसेको धमास !

फुटानी

दशैंको माहोल सकिए पनि त्यसले छाडेर गएका केही गनथनहरू बाँकी छन् । त्यसले छाडेर गएका विविध विषयका आशय केलाउन बाँकी विषयमा पछिनै लेखौला । अहिलेलाई भने अर्कै खालको गनथन ।

यो वर्ष मौसममा थोरै परिवर्तन देखियो । असोजको अन्तिम साता पनि तराईलाई गर्मिले मुक्त गरेन । पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्म एकनासले अत्यधिक गर्मी भएको खबर आइरह्यो । जब कार्तिक लाग्यो  तब अनौठो गरी ठूलो वर्षा सुरु भयो । धनजनको क्षतिले धेरैलाई आहात बनायो । झापाको कनकाई, बिरिङमा ठूलै बाडी आयो भने साना खोलाहरूले पनि ताण्डव नृत्य देखाए । विराटनगर एयरपोर्ट पानी जमेकै कारण केही दिनलाई बन्द भयो, यस्तै नेपालगंज, दाङ, सुर्खेत पनि अछुतो रहेन । हाम्रो यहाँ पनि मेरै घरको खाँबो लच्काई दियो । अरु त अरु हाम्रो गाँउको यही उभिण्डे खोला उर्लेर ओलीको पालामा बनेको पुल पनि झण्डै हुत्याएको ।

नमस्कार है विध्वंसे काका ! यसपालिको दशैं कस्तो भो कुन्नि ! हाम्रो नेपाली कांग्रेसले त धुनधानले मनायो । उभिण्डे खोलाको बगरमा ‘यसपालिको चुनापमा कम्निष्टलाई बढार्ने’ भन्ने गीतमा युवा–युवती खुब नाचे ।

हेर भिरघरे ! तिमारूले कम्निष्टलाई बढार्नु त उही हो । बढारिए एमाले बढारिएला हाम्रो माओवादीलाई कुनै लछारपाटो लाउन सक्तैनौ । हाम्रो पार्टी अहिले पनि सबैभन्दा ठूलो, विस्तारित, संगठित, मार्न–मर्न तयार…!

लौ सुनिस भतिज भिरघरे ! यी बुढाको कुरो ! यिनले सप्पैतिर माओवादी देख्छन् । यही उभिण्डे खोलागाँउको कुरा गर्ने हो भने यी बुढाबाहेक एकजना पनि माओवादी छैनन् । चम्सुरे कान्छो र धोर्ची जेठा एकपटक यो गाँउमा माओवादी बनेर खुब हिंडे । उनारु पनि आफ्नै पुरानो पार्टी एमालेमा मै फर्किए । आखिर माओवादी हेर्दाहेर्दै सकियो । त्यसै रामेश्वर खनालले बोलेका होइनन नि !

नचाहिने कुरो नगर झुम्री ! के रामेश्वर खनालले ‘माओवादी नसकिएसम्म राष्ट्रमा विकास हुँदैन’ भन्दैमा हामी सकिनु पर्ने ? कसैको सरापले कोही मर्दैन । हाम्रा केही कमिकमजोरी होलान, हामीसँग देश विकास गर्ने योजना र कार्यन्वयन गर्ने तौरतरिका छैन भन्दैमा मनपरि भन्ने !

होइन काका ! हाम्रो वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन काम लाग्ने खालको भएन, एक्ला एक्लै चुनापमा जाँदा एमाले नै अहिले पनि दह्रो छ । हराउन सकिदैन भनेर भासन गरे । मुमाराम खनाल भन्ने राजनीतिक विश्लेषक अरे उनले पनि माओवादीको अस्तित्व अबको चुनापसम्म मात्र हो भनेर ठोकुवा गरे ।

भतिज भिरघरे ! वास्तवमा माओवादीको विकासवादी अवधारणा, ब्यक्तिगत आर्थिक लाभ लिने तिव्र प्रतिस्पर्धा, त्यहाँ भित्र रहेको लुटतन्त्रको चरम रुप, राष्ट्रिय ढुकुटी रित्याउने मानसिकता लगायतका बारेमा रामेश्वरले नजिकबाट बुझेका छन् । अर्कातिर रामचन्द्रले पनि ठिकै भने । अबको भिडन्त एमाले र कांग्रेसकै हो । अरु भनेका ऐरेगैरे नत्थुखैरे नै हुन । चुनापमा पर बसेर रमिते हुने ।

धेरै बाठी नहो झुम्री ! चुनापमा बाकस बोक्न र मान्छे ठोक्न हामीले पनि जानेको छ । कांग्रेसले पनि हामीसँग मिलेरै चुनापमा जानुपर्छ, माधवको चोइटो हामीतिर आइहाल्छ । यदि कांग्रेस हामीतिर आएन भने त्यसको पनि धर्नासो फुस्काउन हामीले जानेको छ ।

केही नाप्तैन काका अब तिमार्को पार्टीले । नेता र कार्यकर्ता लाखापाखा लागिहाले । सङ्गठन छैन, जनताले पत्यउदैनन् । तिमारूबाट राम्रो काम र नवनिर्माणको काम हुँदैन भन्ने जनताले बुझी सकेका छन् । लु नरिसाइकन भन चुनापमा यो वडाबाट तिमी वडा अध्यक्षमा उठ्छौ । अब सदस्यहरू कसलाई उठाउछौ ? भा पो उठाउनु ! कि कसो काकी !

काकीलाई के सोध्छस् ! हेर भतिज तेरो कुरा सबै बेठिक भन्दिन । तर, माओवादीको पनि योगदान थियो भन्ने कुरा चाहिँ  नेपालीले चटक्कै विर्से । हामीलाई यति छिट्टै नेपाली जनताले यस्तरी लात मार्छन भन्ने लागेको थिएन ।

काका ! तिमार्को चुरिफुरी पनि बढी नै चुलिएको थियो । हिन्दी सिनेमाको संवाद जस्तो ‘माओवादी जहाँ उँभिन्छ, विश्व राजनीति त्यहीबाट सुरु हुन्छ’ भन्ने धाक दियौ । हामी जहाँबाट उठे पनि चुनाप जित्छौ, त्यसमा पनि प्रचण्डले त नामाङ्कन दाखिला गर्दिएपछि मतदाता त्यहीँबाट लाइन लाग्नुपर्छ, प्रचण्ड जस्तो सर्वाधिकार सम्पन ब्यक्तिलाई हराउने कोही छैन भन्ने ठानेका थियौ । काठमाडौं गुमायौ, चितवन खपिनसक्नु गरी तिमार्को विपक्षमा एकतावद्ध हुँदै छ । हाम्रो नेपाली कांग्रेसका चितवन सभापतिले चितवनमा माओवादीको विउ पनि उखेल्ने भनेर घोषणा गरिसके ।

हो नि भिरघरे ! हाम्रो एमालेले पनि आफ्नो महाधिवेशन चितवनमै गर्ने घोषणा गरेर माओवादीको सातो हरण गर्यो । यो घोषणा सुनेपछि विचरा प्रचण्ड मन वहलाउन सुकुटेतिर लागे अरे ।

सप्पै मिलेर हामीलाई एक्ल्याउने योजना बनाउँदैछन् । तर, त्यत्ति सजिलो छैन । हामी पनि आफ्नो तरिकाले प्रतिकार गर्छौं । यदि कांग्रेसले हामीसँग चुनावी मोर्चा बनाउँन मानेन भने त्यसको गर्धन मर्काउन हामीले पनि जानेको छ ।

विध्वंसे काका ! आफ्नो लिटिङ खुस्किसकेको थाहा छैन अर्काको गर्धन मर्काउने कुरो गर्छौ । ओलीले नभनीकन माओवादीको आधाभन्दा बढी लिटिङ खुस्काए, अब बाँकी भएको हाम्रो कांग्रेसले मर्काउँछ । अनि तिमारू चिलिमच्वाँट ।

मेरो कन्सिरी तातिने कुरो नगर भिरघरे !

तिमी कन्सिरी तताउँदै बसी राख काका । म लागे अर्को फुटानी चोकतिर ।

जै नेपाल !

Facebook Comments