परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आफैं न्यास्रिएको विचरा दशैं

गाउँमा खासै तामझाम देखिएन । धरान आएपछि, एक्लोपन महशुस गरेपछि, दुई घन्टाको मोटर बाटो झापा, पृथ्वीनगर जान आमा र भाइलाई हुटहुट्याएँ । हामी घरमा उसलाई माईला भन्ने गर्छौं । मेरो एकोहोरो बालहठ पछि आमाको मन पग्लियो । अनि, आमाले माईला भाइलाई फकाउनु भयो वा आदेश दिनुभयो । ‘पृथ्वीनगर जाने, तुरुन्त तयार होउ’, आमाको उर्दी जारी भयो । पृथ्वीनगर जाने आमाको पनि आत्म चाहना थियो जस्तो लाग्यो । त्यसैले त, हामी भन्दा अघि उहाँ लुगा फेरिवरि तयार भईसक्नु भएको थियो । तर, माईलो ननिस्की हाम्रो यात्रा अघि बढ्थेन । गाडीको चाबी उसकै हातमा थियो ।

गाउँमा अहिले पनि मेरा एकजना दाइ छन् । म उनलाई कति कुरामा आफ्नो आदर्श मान्छु । सानोमा उनले मलाई माया र जवरजस्तीले पढाएका हरेक पाठ याद छ । अहिले उनी मेरो दाइ साथी हुन । म उनको अगाडि सम्मानले शिर झुकाउँछु । लामो समयको मास्टरी पेशा त्यागेर अहिले राजनैतिक कार्यकर्ता भएका छन् । भद्रपुर नगरपालिकाका वडा नम्बर एकका अध्यक्ष । गाउँ जाँदा उनलाई नभेटी फर्केको विगत छैन । यसपाली पनि दशैं छुट्टीमा आराम गरिरहेका उनलाई भेटें । उनी भन्छन, “गाउँमा स–साना समस्याहरु छन् । जस्को समधान पनि सानो छ । ती समस्याहरु पनि राज्यले मानेको सानो (गरीब, अशिक्षित, महिला, सिमान्तकृत, आदिवासी, दलित, जनजाति) मानिसकै छन् । तर, त्यसमा कसैको विशेष दृष्टि छैन । सानो समस्याको समाधानका लागि लामो बाटो बनाइएको छ ।”

क्षणभरको मेरो बाल लहड, आमाको अन्तरमन र माईलाको चाबीले हामीलाई हाम्रो यात्रामा हिडायो । अष्टमीको दिन थियो । सबैका घरमा आउनुपर्ने आफन्त आईसक्ने बेला, सबैका आँगनमा दशैंको रमाईलो भित्रिसक्नु पथ्र्यो । हाम्रो गाडी धरानबाट इटहरीतिर लाग्यो । सडक सुनसान थियो । थोरै गाडी, केही बटुवा सडकमा थिए । सोचें, यो सडकमा कमै घुईचो हुनेगर्छ । भित्री मनले भन्दै थियो– इटहरी चौक पुगेपछि, वल्ल थाह पाउँछस् । तर, इटहरीको अव्यवस्थित चौक, ट्राफिकको पूर्व केन्द्रमा रहेका यी सँधै ट्राफिक जाम हुने चौक पार गरेको पत्तै भएन ।

अनि मात्र लाग्यो, सडक सुनसान नै रहेछ । मान्छे थोरै राजमार्गमा रहेछन् । त्यसपछि, पूर्व लागेको हाम्रो गाडी सँधै झै विर्तामोडबाट दझिण लागेन । मेरो अभ्यस्त यात्रामा विर्ताबजार, अनारमुनी आएनन । बरु, माईलाले गाडीको रुट विर्तामोडबाट अझ पूर्वतिर तेस्र्याए । चारआलीबाट मात्रै दझिण तर्फ मोडे । यो चौकलाई मैले पहिलो चोटी ईलाम जाँदा चिनेको हुँ, भेटेको हुँ । काकडभिट्टा जाँदा त यसलाई गन्ती नै गरिदैन थियो । त्यसपछि, जङ्गल र गाउँको फराकिलो सुनसान बाटो भएर फेरि गाडी हुईकियो । कुनैबेला मेची अञ्चल मुकाम, अञ्चालाधीश दरबार भएको चन्द्रगढी पुग्दा नपुग्दै फराकिलो पिच बाटोले बिदा माग्यो । शुरुभयो, वन्दै गरेको, बनाउन बाँकी, खाल्डो पुरिएको, पूर्नलाई बाँकी, धुले ग्रेभल सडक । जुन झापा मोडमा गएर टुंगियो ।

झापा मोडबाट फेरि उही सललल कालो पत्रे सडक सुरु भयो । त्यसपछि कुन कुन ठाउँ आए, कुन कुन गए मैले हेक्का राख्न सकिन । किनभने, पन्ध्र बीस मिनेटमा त म आफ्नो गाउँ पुगिसकेको थिए । जुन बाटो, मेरा लागि केही बर्ष अघिसम्म पुरै एकदिनको हुने गथ्र्यो । बिर्तामोडबाट कोच्चिएर, उफार्दै, थेचार्दै, वाफले उम्लिएर आफुले आफुलाई चिन्न नसक्ने हुनेगरि धुलो खाएर, धुलोमा डुबेर गाउँ पुगेको अस्ति भर्खर जस्तो लाग्छ ।

खुसी लाग्यो । गाउँमा चिप्लो बाटो पुगेछ । विजुलीका पोल पुगेछन् । पानीको धारो पुगेछ । घर अगाडिको हिले बाटो समेत ग्रेभल भईसकेछ । धानबारी चिया बगान भएछ । दर्लामेको घर छेउमा त ‘प्लटि’ पो गरिसकेछ । उता, एकजना आफन्तको बिच बारीमा कुनी केको हो, कारखाना खुलेछ । रात परेपछि पनि घर घरमा उज्यालो पुगेछ । घर त के सडक समेत राती अँध्यारो देख्दैन । म हुर्केको गाउँ, अब कता कता अर्कै जस्तो गाउँ भईसकेछ ।

तर, मध्य दशैमा म छिर्दा, गाउँ सुनसान थियो । एकदम सुनसान । समसान थियो । सडक बन्यो, सडकमा हिडने भेटिएनन । घरहरु पक्की भए, घरमा बस्ने पाईएनन । यो मेरो बाल स्मरणको त्यो गाउँ थिएन । गाउँ छिर्ने वितिक्कै मैले मच्चिनुपर्ने लिङ्गे पिङ थिएन । म पुग्दा, कुदाकुद गरेर अँगालो मार्ने हातहरु, खुसीले रसाउने आँखाहरु, वेतौड दौडिने खुट्टाहरु कोही थिएन । गाउँ सुनसान थियो । विजुलीका खम्बाहरु टाढा टाढा उभिएर मलाई जिस्काइरहे झैं लाग्दै थियो । तातिएको ग्रेभलमा टाँसिएका ढुंगाहरुले पोल्दै, सुनसान दशै देखाईरहेको थियो । थोरै खुसीमा धेरै रमाउने मेरो गाउँ । अब, धेरै खुसीमा थोरै रमाउने भएछ । रोगले गलेका, उमेरले थाकेका, वाध्यताले अड्केका वेखुसहरुको सानो बथान जस्तो भएछ । सानो भिडको सुनाउनै अफ्ठ्यारो लाग्ने दुखको ठूलो चाङ भएछ, मेरो गाउँ ।

पिङ, सररर ! हुँइकिएको छैन । दशैं मनाउन आउनेहरुको हल्लाखल्ला छैन । मासु पाकेको वास्नाले गाउँ नै मगमग हुन छाडेछ । कोही लाहुरे भका छन् । कोही शहरिया भका छन् । कोहीले देशैं छाडिसकेका छन् । कसैको धर्म नै अर्को भएछ । कसैको घर झगडाले दशैं मिलाप असम्भव छ । कसैलाई घर भन्दा ससुराली प्यारो भएछ । कसैलाई गाउँ आउन अल्छी लाग्न थालेछ । कसैलाई गाउँसंग लाज लाग्न थालेछ ।

मेरो गाउँमा दशै सुनसान छ । जो जो छन्, उनीहरु पनि घर भित्र छन् । रमाइलो साटासाट बन्द भएछ । पिङ हाले पो केटाकेटीका हल्लाखल्ला सुनिने । घर घर छिरेर मार् हान्ने मेरा दाइका पाखुरामा अब त्यो बल छैन । नयाँ पुस्तालाई हामीले किताबको दशैंमात्र सिकाएछौं । नवरात्रभर मेरा मामाले गर्ने अनेक पुजा उनले आफैंसित लिएर गएछन् । दशैंको फुर्सदमा भेला हुने बुढापाका कि परलोक भईसके कि शहरवासी । दोश्रो पुस्ताका सन्तान गाउँ भन्दा शहरमै रमाइलो खोज्छन् । किनभने, उनको जीवन शहरी माटोमा जोडिएको छ । हामी न शहरको हुन सकेका छौ, न गाउँलाई आफ्नो बनाउन सकेका छौं । सबैतिरका लागि आप्रवासी जस्ता ।

गाउँमा विकास पुग्दा, मन जल्छ । लौ, गाउँले पनि जान्ने भए । भित्री मन तर्सिन्छ । किनभने, अब शहरबाट नयाँ सुनाउन, देखाउन लैजाने कुरा वाँकी छैन । सुचना र सञ्चारको पहुँचले अझ चार फड्को मारेको छ । मेरी ठुली आमाकी नातिनी टिकटकमा आफ्नो चहलपहल देखाउदै थिइन । म बरु टिकटक खासै बुझ्दिन, अहिलेसम्म बनाएको पनि छुइन । बनाउन पनि आउँदैन । हरेकको हातमा मैले वोक्ने भन्दा चार गुना महंगो र उतिकै आधुनिक मोबाइल सेट छ । ईन्टरनेट सुविधा छ । कसैका सन्तान अष्ट्रेलिया, कसैका अमेरिकामा छन् ।

धेरै वर्ष अघि,वातावरण पत्रकारिताको सुरुवातीताका ‘ग्लोबल भिलेज’ भनेर पढाईयो, पढियो । अहिले लाग्दैछ, ‘ग्लोबल भिलेज’ यो पो रहेछ । गाउँमा पनि अब धेरैथोक अनलाईन हुन थालेछन् । सायद, चाडपर्वहरु पनि अब वस्तविक जगतमा होएन, भर्चुअल जगतमा तर्फ नै लाग्दैछन् जस्तो छ ।

गाउँमा अहिले पनि मेरा एकजना दाइ छन् । म उनलाई कति कुरामा आफ्नो आदर्श मान्छु । सानोमा उनले मलाई माया र जवरजस्तीले पढाएका हरेक पाठ याद छ । अहिले उनी मेरो दाइ साथी हुन । म उनको अगाडि सम्मानले शिर झुकाउँछु । लामो समयको मास्टरी पेशा त्यागेर अहिले राजनैतिक कार्यकर्ता भएका छन् । भद्रपुर नगरपालिकाका वडा नम्बर एकका अध्यक्ष । गाउँ जाँदा उनलाई नभेटी फर्केको विगत छैन । यसपाली पनि दशैं छुट्टीमा आराम गरिरहेका उनलाई  भेटें । उनी भन्छन, “गाउँमा स–साना समस्याहरु छन् । जस्को समधान पनि सानो छ । ती समस्याहरु पनि राज्यले मानेको सानो (गरीब, अशिक्षित, महिला, सिमान्तकृत, आदिवासी, दलित, जनजाति) मानिसकै छन् । तर, त्यसमा कसैको विशेष दृष्टि छैन । सानो समस्याको समाधानका लागि लामो बाटो बनाइएको छ ।”

बाटो त बन्यो, तर त्यस्को मजा लिने, फाईदा लिने फेरि हुनेखाने नै भए । बत्ती त वल्यो तर त्यसबाट कारखाना चलाउने व्यापारी नै भए । सडकले गाउँ र शहरलाई जति नजिक बनाएको छ, धनी र गरीब विचको भ्वाङ् झन ठूलो बनाएको छ । सञ्चारले गाउँलाई संसारसित जोड्यो । तर, छिमेकीपन हराएको छ । अनि त्यसको फाईदा म्यासेन्जरको फ्रि कल, फेसबुक, टिकटक र युटियुबमै सिमित छ । यसरी गाउँ एक्काइसौं शताब्दीमा त पुगेको देखिन्छ । तर हाम्रो सोच, आचरण, विचार, दैनिकी र भावि दृष्टिकोण भने कहीँ कतैबाट पनि त्यतातिर सोझिएको देखिदैन ।

त्यसमा पनि केही भेट्नै पर्ने आफन्तहरु कोरोना लागेर आईसोलेसनमा रहेछन् । तिनका घरमै कोही छिर्दा रहेनछन् । गाउँमा कोरोना त्रास छ । दशैंको टीका पछि आएको अविरल वर्षले पनि ठूलो मात्रामा पूर्वाञ्चललाई नै रुवाबासी थप्यो । बाढी र पहिरोले कैयनको ज्यान लियो । खेतमा बाढी पसेपछि पाक्न लागेको धान सखाप पारिदियो । किसानको वर्षभरिको मेहनत केही क्षणमै सत्यानास पा¥यो ।

गाउँमा सुनसान छ, चहलपहल छैन, दशै लागेकै छैन, चकमन्न छ । पिङ हालेकै छैन । सोमबारेमा मेला लागेकै छैन, भन्दै म पनि लुसुक्क गाउँ छिरेँ, सट्याकसुटुक भेटघाट गरेँ, खुसी पार्नु पर्नेलाई पार्न खोजे अनि चालै नदिई गाउँबाट फर्किए ।

अनि भन्न मनलाग्यो, दशैंमा पनि दशैको न्यास्रो मेटिएन । दशैं आफैं न्यास्रिएछ ।

Facebook Comments