परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

माओवादीको कन्तविजोग!

फुटानी

बुझिस भिरघरे भतिज ! हाम्रो प्रचण्ड काम्रेडले प्रधानमन्त्री देउवालाई फाइदा पुराई दिए । राणाजीलाई पनि राणाका ज्वाइँलाई पनि मख्खै बनाए । एकातिर कांग्रेसलाई एउटा कोटा थपिदिए अर्कातिर…!

के जिब्रो चबाएर बोल्छौ विध्वांसे काका ! हाम्रो देउवालाई बदनाम बनाएर आफू हिरो हुन खोज्ने प्रचण्ड आफू पनि बदनाम भए । ‘ओलीको सेटिङ’ भएको प्रचार गर्थे अहिले आएर प्रचण्ड, माधव, बाबुराम र देउवाहर्को भयङ्कर सेटिङ रहेछ भन्ने खुलस्त भयो । पूर्वको कोशी पारि घुम्न गा’को काका त्यता त सचेत मान्छेहरू ओली नै ठिक भन्दै थिए । त्यतातिर माओवादी छँदैछैन अनि समाजवादी हुने कुरै भएन ।

तैले भनेर हुँदैन । वाइयात कुरो गर्दो रैछ । सात दिन घुम्न जानेले के बुझ्नु ! पूर्व न पश्चिम सप्पैतिर हाम्रो माओवादी छ । हाम्रो छेउमा ओली त जिरो । कि कसो सण्डे भतिज !

तिम्रो कुरा सोह्रै आना गलत हो विध्वांसे काका ! प्रचण्ड सकिए, बहकिए, मक्किए, भत्किए, चोइटिए, उछिट्टिए सप्पैले छोड्दै गए अहिले ‘मुटुमाथि ढुङ्गा राखी…’  भा’को छ । आफ्नो वरिपरि हेर्नु छैन ओली सकियो भन्यो, आफू सकिएको थाहा छैन । प्रदेशका केही सांसाद माधवतिर गए भन्दैमा एमाले सकियो भन्दै नाच्दै बस तिमारू चैं ।

तँ ओली भक्त भएर न बोल । अहिले हमाललाई मन्त्री बनाउँदा केही कमजोरी रहन गयो । अर्को कुरा हाम्रो काम्रेड प्रचण्डले ‘हमाललाई कांग्रेसकै कोटाबाट मन्त्री बनाको, सेटिङको आरोप नलगाए हुन्छ’ भनेर कांग्रेसको प्रवक्ता बनेर बोल्दा केही घाटा भने भयो । हाम्रो काम्रेड अलि छिटो बोल्छन् । आखिर सेटिङमा कामकुरो भएकै हो किन कांग्रेसको वकालत गर्नु परेको ?

हौ काका ! सबैतिर त्यस्तै हो । अघि सण्डेले भने जस्तो मैले पनि माओवादी र समाजवादी चैं सकिएकै देखें । अब एक वर्ष जति खेलोफड्को गर्छन् । त्यसपछि समाप्त । चुनापपछि हाम्रो कांग्रेस र एमाले मात्रै रहने प्रष्ट भयो । यसपालि पूर्वको अनुभवले त्यै बतायो ।

खुस्केट कुरो नगर भिरघरे ! तैले बिर्तामोड पुगेर अदुवा खोलाको फोहोर पानी पिइस क्यारे । त्यहाँको पानी पिएपछि मान्छे खुस्केट बन्छ भन्छन । हँडिया खोलाको पानी अलि सफा छ अरे । अहिलेसम्म हाम्रो जनयुद्धका महानायक, राष्ट्रनायक, नेपालका एक मात्र कुशल पूर्व प्रधानमन्त्रीले जे सोचेको छ त्यो पुरा भएको छ । हाम्रो राष्ट्र नायकको अगाडि ओलीको प्रसंसा गर्ने बानीमा सुधार गर । आफ्नै नेता देउवाको प्रसंसा गर्न छाडेर कहिले ओलीले ल्याई दिएको रेल पनि नचलाउने भए भन्छ, कहिले पुन निर्माणको कामलाई निरन्तरता नदिने भए भन्छ, कहिले तुइन काटेर मान्छे मारेको विषयमा बोल्न पनि सकेनन् भनेको छ, कहिले नाकाबन्दीमा ओलीले लिएको अडानको प्रसंसा गरेको छ…!

हौ काका ! तिमीले रिस गरेर केही लछारपाटो लाग्दैन । कुन चैं नेताले देशका लागि के कति काम गरे भन्ने कुरा जनताले आफ्नो बहिखातामा लेखेर राखेका छन् । चुनापमा त्यही बहिखाता पल्टाएर हेर्दै भोट हाल्छन । सामाजिक, आर्थिक, राजनैतिक, राष्ट्रियता र विकासको काममा कुन पार्टी र कुन नेता अगाडि छ उसैलाई भोट दिएर जनताले जिताउछन् । तिम्रा प्रचण्डले जस्तो काम गरेको छ त्यस्तै फल पाउँछन् । राम्रो चाहिँ प्रचण्डले के गरे ? तिमीले पनि हिसाब राखे हुन्छ ।

ठिक भन्यो भिरघरे भतिजले । ओलीले बाहेक अरुले केनै गरेर ! चाहे चीनसँगको सन्धी भनौं चाहे भारतले थोपरेको नाकाबन्दीमा लिएको अडान भनौं । भूकम्पले क्षतविक्षत बनाएका धरहरादेखि थप विकासका काममा पनि ओलीकै छाप देखिन्छ । सामाजिक सुरक्षा भत्ता बृद्धिको कुरा यी बुढालाई पच्दैन अनि राष्ट्रिय गौरवका आयोजनामा धमाधम काम गर्ने वातावरण पनि ओलीकै पालामा बन्यो भन्दा यिनलाई रिस उठ्छ रेल, पानीजहाज अथवा जनता र राष्ट्रलाई आवश्यक पर्ने विषयका योजना बन्यो भने माओवादीहर्लाई रिस उठ्छ ।

के रिस उठ्छ भन्छेस् झुम्री ! नीति, सिद्धान्त, विचार, पद्धति केही नहुनेले हामीसँग निहुँ खोज्नकै लागि विकासको कामलाई अघि बढाएको हो । अब यो सरकारले जे गर्नु पर्ने हो सप्पै गर्छ । पुननिर्माण नभए पनि ‘अर्थोक’ गर्छ ।

‘अर्थोक’ बाहेक हाम्रो देउवा दाइलाई प्रचण्डले केही गर्न पनि दिदैनन् । अब हुँदाहुँदै सुकुमबासी मारेको पनि ‘ओलीले गर्दा’ भन्न थालेछन् । गजेन्द्र हमाल मन्त्री भ’को पनि ओलीकै सेटिङमा भने। यो जेजे अपशकुन भैरहेको छ सबै प्रचण्डले गर्दा हो भन्ने कुरा दुनियाँदारले बुझेको छ। हाम्रो नेपाली कांग्रेसले पनि अहिले राम्रैसँग बुझ्यो। त्यसैले हाम्रा नेताहरू ‘चुनापमा जाउँ’ भन्न थालेका छन्। अब जान्छन्।

अन्ट र सन्ट नबोल भिरघरे ! मेरो कन्पारो तातेर आम्छ । केजाति भन्दा उजाति कुरो गर्छ । तँलाई पूर्वको हावाले छोको छ । दिमाखको भुत पन्छाउने गर । अहिले केको चुनाप ? हामीले चाहेको बेलामा चुनाप हुन्छ । हाम्रो पार्टीको अहिलेसम्म चुनापै नगर्दा पनि भकै छ । जबसम्म हाम्रो प्रचण्ड काम्रेडले चुनाप गर्ने निर्णय गर्दैनन् तबसम्म चुनाप हुदैन । लुजा…!

हेर विध्वांसे काका ! माओवादीले सोचे जस्तो र प्रचण्डले बके जस्तो हुने दिन गए । अब देउवा र ओलीले जे निर्णय गर्छन् त्यही हुन्छ । पहिलो पार्टी ओलीको दोस्रो पार्टी देउवाको होइन ? कि कसो सण्डे भाइ !

हो नि भिरघरे दाइ ! तर, सकिएका, मकिएका, टुक्रिएका, जनआधार नभएकाहरू मान्दैनन् । ओलीको रिसले बौलाहा बनायो । बाहिर बाहिर ‘प्रतिगमन सच्चियो’ भन्दै उफ्रिन्छन्, भित्र भित्र ओलीले समाप्त पारो भन्दै पिलपिल गर्छन् ।

फेरि यो सण्डेले बढी कुरो गरो । आइतेलाई सण्डे नाम राख्दैमा बुद्धि पलाउने होइन रहेछ ।

हौ काका ! प्रचण्डको प्रसंसा गर्ने जति सबै बुद्धिजीवी अरु बेकार । तिमार्को यही कुबुद्धिले गर्दा माओवादी सकिएको हो । हिड् सण्डे जाउँ उभिण्डे खोलातिर । लौ काका ! तिमी चैं सप्पै भन्दा ठूलो पार्टी हाम्रै बन्छ भन्दै बसी राख ।

जै नेपाल !

Facebook Comments