परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

प्रलाप भित्रका प्रचण्ड !

फुटनी

हेर भिरघरे ! संसदीय राजनीति बुझिनसक्नु हुँदो रहेछ । एकातिर हाम्रो काम्रेड प्रचण्ड अबको चुनापमा हाम्रो पार्टी सबैभन्दा ठूलो हुन्छ भन्छन् । अर्कोतिर नेपाल देश नै ओलीमय बनेको देख्छन् । अनि कार्यकर्तालाई एमाले विरुद्ध जाइलाग्न निर्देशन दिन्छन् ।

यस्तै हो विध्वंसे काका ! अहिलेको राजनीति ओलीको वरिपरी घुमेको छ । विरोध गर्नेले पनि ओलीकै विरोध, प्रशंसा गर्नेले पनि ओलीकै प्रशंसा । जसले सपना देख्छ, योजना बनाउँछ, कार्यान्वयन गर्न दवाव दिन्छ जनताले उसैलाई चिन्छन् । अहिले मेरो पार्टी नेपाली काँग्रेसको सभापति शेरबहादुर दाइ प्रधानमन्त्री छन्, भर के गर्नु ? आले न उले ! देश विकासको सपना देख्ने, योजना बनाउने, कार्यान्वयन गर्ने जस्ता काम हाम्रो देउवा दाइबाट हुँदैन ।

भतिज भिरघरे ! तँ काँग्रेस भन्नु मात्रै । ओली भक्त भै सकिस् । प्रचण्ड, माधव, झलनाथ, बाबुराम, देउवाका पालामा नभएको विकास के छ ? सप्पै विकास उनार्कै पालामा भाको हो ।

त्यै त केही पनि छैन । ओलीको पालामा ल्याएको रेल पनि फेरि ओली नै प्रधानमन्त्री भएपछि चलाउने होला । सरकारले पूर्णता नपाएरै तीन महिना चिलिमच्वाँट भयो । अब हाम्रो देउवा दाइलाई कम्निष्टेहर्ले घेरेर निद्रा न भोक बनाएका छन् । खाओवादीहर्लाई लिएर हिड्न धेरै गाह्रो छ । ओलीसंग मिलेर चुनाप गर्न बेर छैन । कि कसो सण्डे ?

हो नि भिरघरे दाइ ! एउटा मासुको लाप्सोलाई वेद व्यासले महिनौं मिहिनेत गरेर एक सय भाइ कौरव जन्माएजस्तो गरी भएपनि हाम्रा देउवा दाइले सरकार गठन गरेरै छाडे । यो सरकार प्राकृतिक हैन भन्ने कांग्रेसले पुरै बुझिसक्यो । आखिर, काँग्रेसका धेरै जसो नेताको इच्छा पनि चुनाप नै हो, एमालेको पनि त्यही हो । चुनापदेखि तर्सिने भनेको त प्रचण्ड, माधव, बाबुराम खलक मात्र हो । संसदीय व्यवस्था, पार्टी र नेताहरु को कति लोकप्रिय छन् भनेर जाँच्ने कसी नै चुनाप हो ।

बेला नपुगी चुनाप गराउनु हुँदैन । संविधानमै पाँच वर्ष भनेर उल्लेख गरेको छ । अनि चुनाप नगर्ने कसैले भनेको छैन । अहिले नै किन गर्नु प¥यो ? हाम्रो र माधवजीहर्को पार्टी भर्खर लैनो पाडो जस्तो धरङमरङ गर्दैछ । हामीले एमालेलाई पछार्ने भएपछि चुनाप गर्नुपर्छ

लु यो जुनिमा चैं, यही पाराले तिमार्को पार्टीले एमालेलाई पछार्दैन । सुदुरपश्चिमकै कुरा गर जनता चटमटाएनन् । प्रदेश सदस्य जाँदैमा एमालेमा खोलोपैह्रो गयो भनेर नसोचे हुन्छ । ओली नेपालगञ्जदेखि झापासम्म कार्यकर्ता बटुल्दै र आफ्ना कुराहरु राख्दै हिड्दै छन् । तिम्रा नेताहरु देउवा र ओलीलाई भेट गर्न दिनु हुँदैन भनेर काठमाडौं खाल्डोमा धर्नामा छन् ।

यो झुम्री पनि बढी जान्ने हुन्छे । प्रचण्ड जस्तो महान राष्ट्रनायक, विचारक, स्पष्टवक्ता बोलेको पु¥याउने, देश विकासका अगुवा व्यक्ति देउवाले महारथी भटेका छन्। यही बेला एमालेलाई समाप्त नपार्ने हो भने के हाम्रो पार्टी चैं मोहन विक्रमको जस्तो बनाउने ? सर्वोच्च अदालतको २३ गतेको फैसलाले गर्दा हाम्रो यो गति भाको हो । नत्र एमाले हाम्रो हुन्थ्यो । त्यसपछि भनेको एमालेका १० भाइले धोका दिएर खत्तम पारे !

के १० भाइलाई दोष दिन्छौ काका ! उनारु आफ्नै पार्टीमा बस्ता धोका हुन्छ ? उनारु तिमार्कै माओवादीमा प्रवेश गरेको भा पनि एकजना पनि उनार्को पछि आउने थिएनन् । यदि आउँथे भने सबैभन्दा ठूलो पार्टी माधव नेपालको हुन्थ्यो ।

ठिक भने भिरघरे दाइले । यो गाउँपालिकामा सप्पै माधवतिर लाग्ने जस्तो बुझेर म पनि उतै लागें । भरे त एकजना पनि लागेनन् अनि म आफ्नै एमालेमा फर्किए । झापा, संखुवासभा, ओखलढुङ्गा, काभ्रे, पोखरा, रुपन्देही, बाँके, धनगढी लगायतका जिल्लामा माधवतिर गएकाहरु पनि फर्किए । सबैतिरको अवस्था यही हो । त्यही भएर माओवादीका अध्यक्ष प्रचण्ड ओली, १० भाइ र एमालेलाई सत्तोसराप गर्छन् । नगरुन पनि कसरी आफूतिर हे¥यो रुन मन लाग्ने, एमालेतिर हे¥यो दाह्रा किट्ने रिस जाग्ने !

वाइयात कुरा गर्छ यो सण्डे पनि ! अहिले पनि हाम्रै पार्टी ठूलो छ भनेर प्रचण्ड काम्रेडले भनी सकेका छन् । एमालेहर्लाई सखाप पार्न उभिण्डे खोलामा बाढी आइरहनु पर्दैन । अदुवा खोलको पुल भत्काए पुग्छ । हेर सण्डे फेरि हतियार बोकेर जङ्गल जानुपरे जान्छौ ।

सण्डेले ठिकै भनेको छ त काका ! नभको कुरो छ भनेर हुने हो र ! तिमी जस्तै कार्यकर्ताले गर्दा प्रचण्डहरु प्रलाप गर्न बाध्य भएका छन् । हेर कहिले कि क्रान्ति, कि आत्माहत्या भन्छन्, कहिले अदालतले खप्परमा घन नबजारेको भए एमाले कब्जा गरी सकेको थिएँ भन्छन् । कहिले मैले पाँच हजार मात्रै मारेको हो भन्छन् । कहिले हामीलाई त खाओवादी पो भन्छन् भन्दै भाषन गर्छन् । यो भनेको राम्रो लक्षण होइन नि काका !

सत्य कुरो गर्दा तिमार्लाई पोल्छ । तिमार्को देउवाले हाम्रो नेताहर्को टाउकाको मूल्य ५० हजार तोकेको, उद्योग धन्दा काँग्रेसले कौडीको मूल्यमा बेचेको, प्राडो पजेरो काण्ड गरेको, लाउडा र उठ्ती काण्ड मच्चाएको जस्ता कुरा हाम्रो प्रचण्डले गरेकै छैन ।

यदि त्यो कुरा प्रचण्डले यो अवस्थामा बोले भने देउवाले त्यही दिन चुनाप घोषणा गर्छन् । अब तिमारु हाम्रो देउवा दाइसंग लेपासिने, टाँसिने र दाइले जे भन्छन् त्यो मान्ने अवस्थामा छौ । यसले तिमार्लाई एक वर्ष अस्तित्वमा राख्छ । त्यसपछि तिमारु डाइनोसर हुन्छौ ।

के टिमुर्किएर बोल्छस् ! किन निचोरिएको कुरो गर्छस् । अहिले हामी संकटमा छौं भन्दैमा हेपेर नबोल । शक्ति भनेको आर्जन गर्ने कुरा हो । जनता एमालेतिर छन् भन्दैमा हुँदैन । विद्रोहको राँको फुकेपछि पहिलो मारिने भनेको काँग्रेस र एमाले नै हो । तिमारुलाई गाउँ गाउँबाट लखेट्ने भनेको हामीले हो । पहिला पनि गरेकै हो फेरि पनि गर्छौ ।

हो नि काका ! जे जानेको छ त्यही गर्ने हो । तर, अब तिमारुसंग को पछि लाग्छ र ! कोही आउँदैन । पहिला झुक्याको कस्ले बिर्सेको छ र !

ठिक भन्यो सण्डेले । काका ! तिमी पनि ‘चेकअप’ गराउ । अन्टसन्ट कुरो गर्न थाल्यौ । हिड् सण्डे । यस्ता कुरो सुनेर बस्नु हुँदैन । प्रचण्ड प्रलाप यिनमा पनि सरेछ।

लौ काका, जै नेपाल !

Facebook Comments