परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आउनुहोस् ओलीलाई बेसरी सरापौं !

फुटानी

हेर विध्वंसे काका ! यो गठबन्धन भनेको ओलीलाई सराप्नका लागि बनेको हो । केही दिन अघिको भाषणमा प्रचण्डले माधव र झलनाथको पार्टी बनाउन आफ्नो ठूलो खर्च भएको बताए । वास्तवमा माधवको पार्टी बनाउन प्रचण्डले तन, मन, धन, बल र षडयन्त्र सबै प्रयोग गरे । उनले मोहन बैद्य, बाबुराम, विप्लव, माधव, नेपाली काँग्रेस र ओलीतिर लागेका घनश्याम, योगेश लगायतलाई गाली नगर्नु मयाँ गर्नु । ओलीलाई हड्डी मक्किने गरी सराप्नु भनेर आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

सण्डे भतिज ! हाम्रो राष्ट्रनायक, छलङकार, झनझनाकार, योजनाकार, प्रचण्डपथका प्रतिपादक, महानायक प्रचण्ड काम्रेडले कार्यकर्तालाई जे निर्देशन दिए, ठिक दिए । हाम्रो काम्रेडले एमाले कब्जा गर्ने योजना बनाएको थियो, त्यो अदालतले समाप्त पार्दियो । ओलीलाई तीनपटकसम्म साधारण सदस्यबाट निकाल्दा पनि सकिएन । अहिले पार्टी फुटाई दिंदा पनि ओलीकै पार्टी ठूलो हुनु भनेको हाम्रो माओवादी समाप्त हुनु नै हो । यस्तो अवस्थामा ओलीई नसरापे कसलाई सराप्नु त !

सुनिस सण्डे यी बुढाको कुरो ! अहिले सरकार कसको छ थाहा पत्तो छैन । तीन महिना हुन लाग्यो मन्त्रिमण्डल विस्तार गर्न सकेनन् । माओवादीमा मन्त्री बन्नका लागि मारामार छ । माधव नेपालको झुण्ड मन्त्री नपाए टाप ठोक्छन् । उपेन्द्र यादवको अवस्था दयनीय बन्दैछ । यदि एमाले फुटाउन ल्याको अध्यादेश निष्किय नपार्ने हो भने यादवको पार्टी नै नरहन सक्छ । माधव र प्रचण्ड कार्यकर्ता विहिन अवस्थामा छन् । लुट्न नपाएका युद्ध सर्दार जस्तो अवस्था प्रचण्डको भएको बुझिन्छ ।

नभाको कुरो नगर झुम्री ! हाम्रो प्रचण्ड काम्रेड सत्य कुरो गर्छन् । अरु जस्तो जिब्रो चपाएर बोल्दैनन् । तीन हजार लडाकुलाई ३३ हजार बनाएको, एमाले कब्जा गर्न खोजेको, १७ हजार मध्ये पाँच हजार मात्र आफुहरुले मारेको, ठूलो मिहिनेत गरेर एमाले फुटाएको सप्पै कुरो छर्लङ्गै भनेका छन् ।

हौ काका–काकी नमस्कार है ! म त आम्दा–आम्दै अलि ढिला पो भयो । के कुरो हुदैछ कुन्नि !

के कुरो हुनु हौ भिरघरे दाइ ! अहिलेको राजनीति कुरो हुँदैछ । पद र पैसोको लागि मारामार छ । कालो धनलाई सेतो बनाउने बाटो माओवादीले खोली दियो । करोडपतिहरु खुशी छन् । विचरा देउवा भने मन्त्रिमण्डल विस्तार गर्न नसकेको आरोप खेपेर बसेका छन् । अहिले प्रचण्ड, माधव, उपेन्द्र कसैलाई पनि मन्त्रिपरिषद् विस्तार गर्ने चाहना छँदैछैन । यदि अहिले आफ्ना चार पाँच जनालाई मन्त्री बनाउने हो भने मन्त्री बन्न नपाका जति सप लाखापाखा लाग्छन् । बरु चुपो लाग्यो बस्यो !

को लाखापाखा लाग्ने ? को ओलीतिर जाने ? कहाँ छ जाने ठाउँ ? वाइयात कुरो गर्छ यो सण्डे पनि । केही जिल्लाका मान्छे एमालेमा गए भन्दैमा हुन्छ ? प्रचण्डले घोषणै गरिसकेका छन् सप्पै भन्दा ठूलो पार्टी माओवादी नै हुन्छ भनेर ! हाम्रोमा माधवको, बाबुरामको, मोहन बैद्यको, मोहन विक्रमको, विप्लवको, कट्टेलको सप्पै झुण्ड–मुण्ड विलय हुन तयार छन् । एकसेएक नेता हाम्रोमा हुन्छन् !

वास्तवमा विध्वंसे काकाको कुरा ठिकै हो । कम्युनिष्ट नेता जति माओवादीमै हुन्छन् । अन्तिममा एमालेतिर कार्यकर्ता र जनता मात्रै रहने भए । कठै बरा ! माओवादीको राजनीति ! उच्च छलाङ मार्दा भड्खालामा परेको भेडाको जस्तै भयो । गयो काका अब सकियो । बिचरा प्रचण्ड बरबराउँदै ओलीलाई सरापेर बसेका छन् । हुन त हाम्रै पार्टीको सभापति शेरबहादुर दाइ प्रधानमन्त्री छन् । भर के गर्नु ! वरिपरि कम्युनिष्ट थुपारेर काँग्रेसको सरकार चलाउछु भनेर सोच्नु नै गलत हो । ‘अर्काको पार्टी फुटाउन सिपालु प्रचण्ड आफ्नो पार्टी फुटाउन सिपालु बामदेव’ भन्ने त चर्चित भनाई नै छ । हुन त सप्पै भन्दा बढी काँग्रेस मार्ने प्रचण्ड, प्रचण्डको टाउकाको मोल तोक्ने हाम्रो दाइ देउवा ! अनि चल्छ सरकार ।

ठिक भने भिरघरे दाइले ! तर, भिरघरे दाइ ! माइ खोलाको पानी आचमन गर्न मिल्छ, अधुवा खोलको पानी आचमन गर्न मिल्दैन भन्ने चैं काँग्रेसले बिर्सिएकै हो ।

सण्डेको भनाई ठिकै हो ! हाम्रो कर्णालीको दहमा पौडी खेल्न छाडेर उभिण्डेको बगरमा भुत्भुते खेले जस्तै भयो काँग्रेसलाई । अब भालुको कम्पट देउवाले समाते । त्यो छुटाउन ओली बाहेक अरुले सकतैन । तुलना गर्दा नेकपाका ओली बाहेक अरु नेता जन्मिएन छ । गठबन्धनको काम ओलीलाई सत्तोसराप गर्नु मात्रै भएको छ । हुन पनि हो काँग्रेस बाहेक गठबन्धनका अरु नेतासंग कार्यकर्ता र जनता छैनन् । देउवा लगायत अहिलेका गठबन्धनका नेतासंग देश विकास गर्ने नीति छैन, योजना छैन, बिचार छैन, निर्देशन छैन । यस्ताले के गर्छन् ? ओलीलाई सराप्दै चुपचाप बस्ने ठेक्का यही गठबन्धनका नेताले पाए जस्तो छ ।

झुम्री काकीले ठिकै भनिन् । हाम्रो देउवा दाइ त सपना पनि देख्दैनन्, योजना पनि बनाउँदैनन्, देश विकास आफै हुँदै जान्छ भन्ने सोच राख्छन् । प्रचण्ड विकास होइन विनासको शिलान्यास गर्न रुची राख्छन् । माधवलाई आफ्नो धोती स्याहार्दै ठिक्क छ । यावदलाई देश विकास गर्नुपर्छ भन्ने थाहा पनि छैन ।

लखनपाँडे कुरा नगर भिरघरे ! हाम्रो प्रचण्डले बाहेक कसैले देशको विकास गरेको छैन । आफू प्रधानमन्त्री भएको बेला सप्पै विकास एक्लो प्रचण्डले गरे । त्यो पनि गरे, उ पनि गरे । के जाती अरे यो पनि गरे । अहिले पनि लक्षण देखाइसकेका छन् विकासको । अस्ति श्रीमती सीतालाई ठूलो सम्मान गरे । माधबका स्वर्गीय बाबुले पनि पदक पाएछन् । यो अपूर्व विकासको सूचक हो ।

हेर विध्वंसे काका ! त्यो र उ मात्रै गरे । केही पनि गरेनन् । हाम्रो देउवा दाइ र माधवको विकासवादी धारणा अहिलेसम्म देखिएकै छैन । खोक्रो कुरो गरेर हुँदैन । सपना देख्ने, योजना बनाउने, कार्यान्वयन गराउने काम सप्पैले केपी ओलीको भागमा छाडी दिए । लौ काका । तिमी ओलीलाई सरापेर बस् । म लागें उभिण्डेतिर।

जै नेपाल ।

Facebook Comments