परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपाली नारी रङ्गकर्मी र नाटक कृतिलाई पढ्दा  

साहित्यका विविध विधाहरूमध्ये नाटक सशक्त र प्रभावशाली, सिर्जना चेतले भरिपूर्ण विधा हो । सुन्न, अवलोकन गर्न (हेर्न वा देख्न) पढ्न र  अभिनयका माध्यमबाट प्रस्तुत गरिने भएकाले यसलाई बुझ्न सहज हुन्छ । नेपालमा अन्य विधाको तुलनामा यसको सिर्जना कम छ । पुरुष नाटककारहरूसंगै नारी नाटककारहरूले गरेको योगदानको पाटो भने कम छैन । नाटक विधामा नारी नाटककारको नाट्यकारितालाई लिएर खास छुट्टै खोजपरक पुस्तक प्रकाशन भएको पाइँदैन ।

नाटक विधामै विद्यावारिधि गरेकी समालोचक कान्छी महर्जनले निकै खोजतलास गरी प्रस्तुत अनुसन्धानात्मक कृति पाठकसामु ल्याउनु भएको छ । ‘नेपाली नारी रङ्गकर्मी र नाटक’ नामको पुस्तकमार्फत् लेखक महर्जनले नारी नाटककारको नाट्यचेतनालाई सटीक ढङ्गमा उतार्नु भएको छ । सम्भवतः नेपाली नारी नाटककारका बारेमा अन्वेषण गरी प्रकाशन भएको प्रस्तुत कृति नेपाली वाङ्मयकै पहिलो पुस्तक हुनु पर्दछ । स्मरणीय कुरा, यसअघि नै प्रकाशन भएको डा. महर्जनको ‘नाटक र नाट्यप्रस्तुति’ पुस्तक नेपाली साहित्यक्षेत्रमा निकै लोकप्रिय कृतिका रूपमा लिइन्छ ।

नेपाली नाट्यजगतमा नारी नाटककारको उपस्थिति कहिले भयो ? भन्ने जिज्ञासा हुनु स्वभाविक हुन्छ । वि.सं १९८६ मा प्रकाशित बालकृष्ण समको ‘मुटुको व्यथा’ नाटकसँगै आधुनिक नेपाली नाटकको आरम्भ भयो तर नारी हस्ताक्षरको उपस्थिति भने २०११ सालबाट भएको तथ्य लेखकले अघि सार्नुभएको छ । नेपाली नाटकमा महिला नाट्यलेखनको आरम्भ नाटककार राधिका रायाको ‘जीवनको इच्छा’बाट भएको महर्जनको खोजले देखाउँछ ।

पुस्तक सात भागमा विभक्त छ । पहिलो भागमा आधुनिक नेपाली नाट्यपरम्परामा नारीको उपस्थितिका बारेमा उल्लेख छ । दोस्रो भागमा नेपाली नाट्यजगतमा नारी नाटकहरूको फेहरिस्त छ । जसमा राधिका राया, मायादेवी सुब्बा, सावित्री  पोखरेल (उपाध्याय), बेञ्जू शर्मा, सावित्री सिल्वाल, कुमारी किरण शाक्यलगायत ३१ जना नारी नाटककारको छोटो परिचय प्रस्तुत छ । यसैगरी तेस्रो भागमा नेपाली नारी नाटकहरूको प्रतिनिधि नाटकका बारेमा संक्षिप्त परिचयात्मक विवरण उल्लेख भएको छ । चौथो भागमा प्रतिनिधि नारी नाटककारका नाटकको अध्ययन अन्र्तगत राधिका रायाको ‘जीवनको इच्छा’ (२०११), सावित्री पोखरेल (उपाध्याय)को ‘कलंकी समाज’ (२०१५) बाबा बस्नेतको ‘योद्धा’ (२०५३), वेदकुमारी न्यौपानेको ‘विचलित वर्तमान’ (२०५८), शारदा सुब्बाको ‘यशोधरा’ (२०६५), हरिमाया भेटवालको ‘कतामरी’ (२०६९) को नाट्य विश्लेषण गरिएको छ ।

नाट्यकृतिको विश्लेषण गर्दा लेखकले नाटकको वस्तुविधान, चारित्रिक अभिनेयता, निर्देशन पक्ष, परिवेश, सन्देशलाई आधार बनाएको पाइन्छ । भाग पाँचमा भने नारी स्रष्टाका नाटकका पुरुष पात्रमा नारीवादी चिन्तनलाई प्रस्तुत गरिएको छ । यद्यपि नारी हृदयका अन्तरकुन्तरसम्म नारीले मात्र चहार्न सक्छन् भन्ने मान्यता यथार्थवादी दृष्टिकोण हो । छैटौं अध्यायले नारी स्रष्टाका नाटकमा नारी पात्रमा नारीवादी चिन्तन प्रतिबिम्बित गरिएको छ । सातौं भागमा नाटककार शिवानीसिंह थारूद्धारा लिखित प्रयोगधर्मी नाटक ‘भर्चुअल रियालिटी ः परोक्ष यथार्थता’ (२०६४) का बारेमा अध्ययन रहेको छ । साइबर जगत् र संस्कृति अहिलेको विज्ञान र प्रविधिले ल्याएको क्रान्तिकारी परिवर्तनको उपज हो भन्ने कुरामा लेखकको सहमति देखिन्छ । उत्तरआधुनिकवादमा साइबर संसार र संस्कृतिको चित्रणलाई समाहित गर्नु निकै सान्दर्भिक र अर्थपूर्ण प्रयोग देखिन्छ ।

नेपाली नारी रङ्गकर्मी र नाटकका बारेमा बुझ्न चाहने जिज्ञासु पाठक, उच्च तहका विद्यार्थीहरू, शोधार्थी आदिका लागि महर्जनद्धारा लिखित प्रस्तुत अनुसन्धानात्मक कृति निकै उपयोगी, स्तरीय र सुपठनीय ग्रन्थ हो । यसमा नेपालका सबै नारी रङ्गकर्मी र नाटकलाई समेट्न नसकिएको भन्ने कुरा लेखक महर्जनले भूमिकामा पनि स्वीकारी सक्नु भएको छ । प्राध्यापक डा. रामचन्द्र पोखरेलको भूमिकाले पुस्तकको गरिमालाई अझ बढाएको छ । सरल, सरस र बोधगम्य भाषाशैलीमा लेखिएको प्रस्तुत पुस्तक नाट्य विधामा अन्वेषण गरिएको एक आधिकारिक पुस्तक हो भन्न सकिन्छ ।

Facebook Comments