परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

भाग्यमानी देउवा, अभागी माधव

फुटानी

हेर विध्वंसे काका ! हाम्रा देउवा दाइ भाग्मानी छन् । यो पटक प्रधानमन्त्री बन्ने कुनै छेकछन्दो थिएन । हाम्रो देउवा दाइ बुढानिलकण्ठ सुते झैं सुतीरहेका थिए । रमरम भ’र सुतेको मान्छेलाई रामणको सेनाले कुम्भकर्णलाई उठाए जसरी उठार जबरजस्ती प्रधानमन्त्री बनाए । माधव र प्रचण्ड रामण सेना बनेर कुम्भकर्ण जस्तो हाम्रो दाइलाई उठाउनमा नै आफ्नो सफलता भएको ठान्दै छन् । तर, उठाई सकेपछि त्यो रामण सेनाको गति के भयो भन्ने चैं उठाउनेहर्ले बिर्सिए ।

के कुरा गर्छस् भिरघरे ! अहिलेको अवस्थामा हाम्रो प्रचण्ड काम्रेड नै राजनीतिक रङ्गमञ्चका नायक हुन् र माधव नेपाल सहनायक हुन् ।

हौ काका ! के कुरो गर्छौ ? प्रचण्ड नायक भए के देउवा खलनायक हुन त ! खलनायक देउवा होइन प्रचण्ड र माधव नै हुन् । र मुख्य नायक अहिले पनि ओली नै हुन । चिया पसलको धतुरे भने पनि भट्टीको चतुरे भने पनि ओलीलाई गाली वा प्रशंसा गरेर आफ्नो भडास् पोखीरहेका हुन्छन् । अरुको कुरा विरलै आम्छ ।

सण्डे भाइको कुरो ठिकै हो । म नेपाली काँग्रेसको कार्यकर्ता भएपनि ठोकेर भन्छु अबको राजनीतिमा ब्यक्तिको कुरो गर्दा ओली र देउवा, पार्टीको कुरो गर्दा काँग्रेस र एमालेकै वरिपरी घुम्छ । प्रचण्ड, माधवहरु भनेको घाम छायाँ हुन् ।

वाइयात कुरो नगर भिरघरे ! प्रचण्ड जस्तो सर्वश्रेष्ठ नेताको बारेमा बोल्दा सोचेर बोल्ने गरेस् । अहिले पनि प्रचण्ड र माधव मिलेपछि सप्पै भन्दा ठूलो पार्टी हाम्रै माओवादी बन्छ । चितवन र झापाका माओवादी एमाले बन्दैमा हाम्रो पार्टी सानो हुँदैन । जनताले मन नपराउँदैमा हाम्रो पार्टीलाई हेपेर नबोले हुन्छ ।

लु हेर, यी बुढा त्यसै रिसाउँछन् । अहिले पनि चुनाव नहुने हो भने सप्पै भन्दा ठूलो पार्टी तिमार्कै हो । प्रचण्ड त त्यसै आत्तिएका मात्र हुन । कहिले आफ्नै पार्टी भङ्ग गर्ने कुरा गर्छन्, कहिले आफ्नै पार्टीका नेतालाई ‘त्यस्ता जनाधार भएका साथीले त छाडेर गए भने अरु पनि गए हुन्छ’ भन्छन्, कहिले ‘म एक्लै बन्ने भएँ’ भनेर रोइलो गर्छन ।

यो झुम्री पनि समाचार पढेको भरमा कुरा गर्छे । ‘पोल्टिकल फ्रस्टेसन’ भएपछि हाम्रो महान काम्रेड प्रचण्ड त्यति भन्न बाध्य भएका हुन् । माओवादीका सांसद नेता जति सप्पैले मन्त्री पद र पैसाको कुरामात्र गरेपछि के गर्नु ! प्रचण्डले ‘अब त्याग गर्नु पर्छ’ भनेका हुन् ।

काकीको कुरा ठिकै त हो नि काका ! तिमीले लिपो–पोतो गर्नै पर्दैन । माओवादीका सांसदले अहिले पद नमागे कहिले माग्ने ? चुनाप पछि त प्रचण्ड र माधव ‘तिमी हामी जाउँ उँदै उँदै, कैले रुदै कैले मन बुझाउँदै’ भन्दै अंगालो मारेर…!

चुप लाग भिरघरे ! यस्तो कुरो ग¥यो भने मेरो कनसिरी तात्तिन्छ । नेपाली काँग्रेसको नेता भएर तँ यस्तो कुरा गर्ने हँ ? के कुरो सत्य हो भने माधव नेपालले एमाले आधा नै फुटाउँछन् भन्ने थियो त्यो भएन । प्रदेश सभामा जस्तै स्थानीय निकायमा पनि भैदिएको भए अच्छा हुने थियो । तर, सप्पै प्रदेशमा स्थानीय निकाय टसमस भएन । गण्डकी, लुम्बिनी र १ नं. प्रदेश स्थानीय निकायका जनप्रतिनिधिले माधव नेपाललाई ठूलो धोका दिए । बागमती र अन्य प्रदेशका पनि छिटफुट मात्र आए। यही कारणले माधव नेपाल अहिले निरास छन् ।

त्यै त काका ! माधव नेपाल कार्यकर्ता नभएर निरास छन् । माओवादीमा पनि बैद्य, बाबुराम, विप्लप, बादल, रायमाझी, भट्ट, प्रभु लगायत जनाधार भएका नेता टाप ठोके । अहिले फुुस्रो ओठ बनाएर तिम्रा प्रचण्ड मदौरोले जस्तो बरबराउँदै छन् ।

हैन सण्डे कान्छा ! पहिलो कुरो त नलुकाई भन्नु पर्दा नेकपा एमाले चकनाचुर पार्ने योजना असफल भयो । अदालतले हाम्रो खप्पर फुट्ने गरी घनले हान्यौ । हाम्रो प्रचण्डले मिलाएरै ओलीलाई साधारण सदस्य समेत नरहनेगरी नेकपाबाट तीन पटक निकालेकै हो । तर, जब अदालतलको फैसला आयो तब हाम्रो प्रचण्ड निरास भए । त्यसपछिका फैसला हाम्रो पक्षमा भयो, पार्टी हाम्रो पक्षमा भएन । कि कसो भिरघरे !

पार्टी मात्र होइन काका जनता र कार्यकर्ता पनि तिमार्को पक्षमा भएन । टाढा किन जानु यही जिल्लाको कुरा गरन । नेकपा हुँदा मिलाएर बनाएको जिल्ला कमिटी सदस्यमा माओवादीका ३३ जना थिए । ३० जना उत्तै छुटे तिमीसमेत तीन जना आफ्नै पुरानो पार्टीमा फर्कियौ । अरु जिल्लाको पनि अवस्था यही हो । अहिले हेर हाम्रो काँग्रेसलाई गाउँ गाउँमा अधिवेशन लागेको छ, एमाले सदस्यता नविकरण र वितरण गर्नै व्यस्त छ । तिमार्को र माधवको गफ ठूलो छ सङ्गठन छैन । ‘ओलीले खत्तम पारेको छ हामी सपार्छौ’ भन्दै भाषण गर्ने प्रचण्ड–माधवहर्ले देउवालाई मन्त्रिपरिषद समेत विस्तार गर्न नदिएर फेरि ‘नालायक’ बनाउदै छन् ।

त्यै त भिरघरे दाइ ! ओलीले चुनापमा जाउँ भनेको थियो । चुनाप भनेपछि यिनारु १० हात पर भागे। अब फेरि कुरो उठ्दै छ चुनापमा जाने । यदि प्रचण्ड–माधवहरु चुनापमा जादैनन् भने ओलीको सहमतिमा देउवाले चुनाप घोषणा गर्छन् । मन्त्री बनाउन नसक्नेले राष्ट्र र जनताका लागि काम गर्छन् भनेर अब जनताले नि पत्याउदैनन् । देउवाले नि बाँकी राख्दैनन्।

के गर्नु एमाले भत्काउन ल्याको अध्यादेश माधव र उपेन्द्रतिर फर्किएर सुरसाको जस्तो मुख बाएर बसेको छ । त्यो अध्यादेश निष्कृय नपारी मन्त्रिपरिषद् बिस्तार गर्ने हो भने माधव तीन टुक्रा, उपेन्द्र चार टुक्राको अवस्थामा पुग्छन् । चुनाप भै हाले चार जना पूर्व प्रधानमन्त्री अदृष्य हुन्थे, ढुक्क हुने थियो । त्यसपछि दुई जनाको घच्ची हुन्थ्यो ।

ए झुम्री नचाहिने कुरा नगर ! प्रचण्ड माधव, झलनाथ, बाबुराम सप चुनाप जितेर आम्छन् ।

हौ काका ! वाइयात कुरो नगर । अब हाम्रो काँग्रेसले काठमाडौं, चितवन र गोर्खामा रुख चिन्हमा मात्र भोट हाल्छ । तिमारुलाई जिताउने ठेक्का हामीले लेको छैन। एमाले र काँग्रेसको प्रतिस्पर्धा हुन्छ । अरु चिलिमच्वाँट ।

जै नेपाल !

Facebook Comments