परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

जागीर वयष्क भएपछि

दुईहजार सन्ताउन्न सालको भदौमा आनेकाने गर्दै शुरू गरेको मेरो माष्टरी जागिर आजबाट बयष्क भएको छ । एक्काईस वर्ष पूरा भयो धुलिखेलको भ्याण्डोल र बखुण्डोल बिचको यो सानो डाँडामा वर्तमान र भविष्य बाँचेको । विगत सम्झिनु पर्दा लाग्छ,  हिजोमात्र यो ठाउँमा पाइला टेकेको हुँ । हिजोजस्तो लाग्छ बनेपाको गान्धीभवनको पुरानो आवासघरबाट सुलसुलेसंग भाग्दै काठमाडौँ विश्‍वविद्यालय केन्द्रीय क्याम्पसको स्टाफ क्‍वार्टरमा डेरा जमाउन आएको । उसबेला पच्चीसको उमेरकी भरभराउँदी मेरी जीवन-संगिनी छयालीस पछिको मिडलाइफ क्राइसिस पार गरेर गाउँमा घरबार सम्हालेर बसेकी छिन् । म फेरि डेरावाल जस्तो भएको छु यही ठाउँमा ।

म अवकाश र अवशानको अपरिहार्यतालाई बेलैदेखि आत्मसात गरेर बाँच्‍न चाहन्छु। यही कुरा विद्यार्थीहरूलाई पनि सिकाउँछु। परिवार र आफन्तहरूलाई मेरो पूर्ण निष्क्रियता र पूर्ण अनुपस्थितिमा बाँच्‍नु पर्ने क्षणहरूको कल्पना गर्न लगाउँछु। होस हुँदाहुँदै वेकार हुनु वा मर्नु पर्‍यो भने त्यो पिडादायी क्षणको तयारी कसरी गर्ने होला भन्ने सोच्‍ने गर्छु। तर अडचालीस मै किन? यो प्रश्न पनि मनमा उठिरहन्छ। उत्तर पनि छ। सुखद जीवन सँगसँगै सुखद मरणको चिन्तन किन बेलैमा नगर्ने? त्यही निहुँमा बेलाबेला बुरूक्‍क-बुरूक्‍क उचाल्ने महत्वाकांक्षा र थचक्‍क-थचक्‍क थेचार्ने वास्तविकताबाट अलग रहने अभ्यास पनि त हुन्छ यसरी । वेकारी, मरण र गमनको वास्तविकता मनन गर्न योगी-भोगीहरूका प्रवचनमात्र किन सुन्नु पर्‍यो? आफूले भोगेको-देखेको संसार नै जीवनको उत्तम पाठशाला होइन र ?

आकाश छुने,  तारा खसाल्ने अलिकति जोश लिएर उबेलाको उम्दा विश्‍वविद्यालयमा छिरेको पनि मिडलाइफ क्राइसिसबाट उम्किसकेको छु ।  विश्‍वविद्यालयले तीन दशक काटेर आफू वयस्क भएको घोषणा गरिसकेको छ, र यदाकदा देखापर्ने केही उमेरजन्य उल्झनहरू बाहेक गरीखाने लक्षणदेखाउन थालेको छ । दर्जनौँ समकालीन सहकर्मीले छोडिसक्दा, हजारौँ विद्यार्थीले जिन्दगीको बाटो भेटिसक्दा, म र मजस्ता केही चाहिँ यही डाँडामा भाग्य-कर्मको अर्थ खोज्दै बसेका छौँ।

म एक्काईस वर्ष बसिसक्दा कति दिन यो डाँडाबाट टाढा गएँ हुँला र !  आफ्नो निजी कामका लागि नियमित काम त झन् कति समय छोडेँ हुँला । चौबीसै घण्‍टा संस्थाको चौघेरामा रहँदा, कार्यलय जाने र आउने समयको निश्‍चित तालिका नहुँदा, लिनुपर्ने जिम्मेवारीको संख्यात्मक सीमा नहुँदा कति समय बाहिर रहियो भन्ने प्रश्‍न नै गौण बनेछ ।  कहिलेकाहिँ लाग्छ, जीवनको यति लामो समय एउटै  भूगोलभित्र बसेर धेरै सत्यहरू देख्‍ने अवसरबाट वञ्‍चित भएँ कि?  यो स्यानो भूगोललाई आधार बनाएर देश र विदेशका केही भूगोलको अवलोकन पनि गरेको छु । काम गरी-गरी पोखरा विश्वविद्यालयबाट एमफिल र आफ्नै विश्वविद्यालयबाट पीएचडी गरेँ । तर आफ्नो भागमा त्यतिमात्र सम्भावनाहरू थिए त?  जे गरियो त्यसभन्दा धेरै किन गरिएन?  धेरै भनेको कति हो?  सोच्दा सोच्दै जेठो छोराले बीसवर्ष काट्यो। कान्छो बीस पुग्दा जेठो सत्ताईस पुग्छ।  कान्छोले घरजम गर्दा जेठो बा बनिसक्ला। कान्छो बा बन्दा नबन्दै म साठी पुग्‍ने रहेँछु । अनि खेलै खत्तम, यस डाँडामाथिको ।

भ्याण्डोलमा बसेर जीवनको मूल समय युवा विद्यार्थीहरूको संगतमा बित्यो । शिक्षक हुनुको अति राम्रो पक्ष यही हो, सधैँ तन्नेरीहरूको साथमा रहिने । अनि आफू छिप्पिएको दिक्दारी अनुभव हुनै नपाउने। मेरा अधिकांश विद्यार्थीहरू आफ्नो अध्ययनको लक्ष्यमा पूर्ण समर्पित थिए र छन् । उनीहरूलाई आफ्नो कामभन्दा परको मतलब थिएन र हुँदैन पनि। आफ्ना, परिवार र आफन्तका सपनाहरू पूरा हुनेगरी मिहेनत गर्नु, सोचे अनुसारको परीक्षाफल हाँसिल गर्नु र आआफ्नो कर्मको बाटोमा लाग्‍नु उनीहरूको धर्म थियो र छ। कति नै थिए जसले शिक्षा र डिग्रीलाई खरीदको वस्तु अनि विश्‍वविद्यालय र शिक्षकहरूसँगको सम्बन्धलाई सिमित लेनदेन ठाने, अनि हाम्रा एकाध गल्तीहरूमा हामीलाई दु:ख दिए। शिक्षण आफ्नो एउटा सानो कमजोरीमा माफी मागेर सयौँ कमजोरी माफ गर्नुपर्ने पेशा हो। मलाई यसमा गुनासो छैन।

म कतै सुनेको यो भनाइमा सहमत छु: हामी शिक्षकहरू समुद्रको किनार हौँ र विद्यार्थीहरू त्यसमा आइरहने छालहरू हुन् । छालहरू आउँछन्, अनि जान्छन् । किनार निरन्तर रहन्छ, कहिलेकाहिँ फोहोर बन्दै अनि सफा हुँदै । कुनै आलोकाँचो व्यक्ति वा समूहले दिएको नराम्रो नाम र देखाएको कृतघ्‍नता त्यही फोहोर हो शायद। वहुसङ्ख्याले देखाएको आदर  र विश्‍वासले त्यस्तो दागलाई पखालिदिएकै हुन्छ। कहिलेकाहिँ हाँसो वा आलोचनाको पात्र भइए पनि पेशाको महानताले आफूमा खिन्‍नता आउन दिँदैन। म त सधैँ भन्छु, शिक्षण पेशामा प्रतिवद्ध मान्छेमात्र आउनुपर्छ,  सहनशीलता भएको विद्वान्‌मात्र छानिनु पर्छ। अन्यत्र काम पाउञ्‍जेलको संक्रमणकालीन जागिरका रूपमा लिनेहरूले शिक्षण पेशालाई न्याय दिन सक्दैनन् वा वदनाम गरेर छोड्छन्।पेशालाई माया गर्नेहरूले यथेष्‍ट चिन्तन गर्नुपर्छ, तालीम लिनुपर्छ, व्यक्तिगत तयारी गर्नुपर्छ। शिक्षण तालीम र तयारीमा विषयगत ज्ञान र सीपको अतिरिक्त निष्‍ठा र प्रतिवद्धतासम्बन्धी विशेष अभिमुखीकरण हुनुपर्छ ।

अन्य आकर्षणहरू

फैलिएको धर्ती देऊ

हेमराज काफ्लेका दुई कविता

फलको आशा पनि गर

हाम्रो आगत

दुई टुक्रा कविता

मैले चार तहका सहकर्मीहरूको संगत गरिसकेको छु । पहिलो तहमा संस्थापक समूह र आफूभन्दा पाका र आदरका पात्रहरू थिए। अहिले सेवानिवृत्त भइसकेको यही समूहको प्रभावले एक्काईस वर्ष यस ठाउँमा बस्‍न प्रेरित गर्‍यो। दोश्रो तहमा सुरूबाट काम गरेका अग्रजहरू छन्, जसमध्ये अधिकांश अहिलेका नेतृत्वदायी व्यक्तिहरू हुन् र जसले खेपिरहने हण्डरहरूको साझेदारी बेला बेलामा मैले पनि लिने गरेको छु। तेश्रो तहमा आफ्ना समकालीन र समकक्षीहरू छन्, जो भविष्यको नेतृत्वको तयारीमा छन्, जसको साथ लिनु र यदाकदा छिर्केबाट जोगिएर हिँड्नु मेरो अहिलेको व्यवसायिक दिनचर्या हो। चौथो तहमा आफूभन्दा पछि आएका, आफूले पढाएका वा आफैँले अवसर दिएका साथीभाइहरू छन्, जसको एक हदको नेतृत्व मेरो पुस्ताले गरिरहेको छ ।

मैले यी सबैखाले पात्रहरूको संगतबाट पाएको अनुभवको सार के हो भने विश्‍वविद्यालय विश्‍वभरिका सबै खालका स्वाभाव र संवेगहरूको संगमस्थल हो।  अन्यत्र संलग्‍न साथीभाइहरूको समेत  भोगाइको आधारमा भन्‍नु पर्दा आफ्नो काम र मान्यतामा इमान्दार रही कर्मस्थललाई मन्दिरतुल्य मानेर सेवा गर्नेदेखि लिएर त्यही सेवा भावनालाई निरिहता ठान्नेहरूको बिचमा बसेर काम गर्नुपर्ने  हुँदोरहेछ। संकटको समयमा अहोरात्र खट्नेदेखि संकटको बेला आफ्नो कर्मथलो चरामुसा र आलोचकहरूको जिम्मामा छोडेर लाखापाखा लाग्ने, बरू मौका परे परैबाट राँको झोस्न खोज्‍ने अनि सहज समयमा संकट निवारणमा भएका प्रयासहरूको वदख्वाइँ गरेर झर्को लगाउनेहरूसँग हातेमालो गर्नुपर्ने रहेछ ।  अझ नेतृत्वदाताहरूको दृष्‍टिकोणबाट हेर्दा कुनै विश्‍वविद्यालय हाँक्‍नु आधा दर्जन प्रतिपक्षी दलहरूसँग पौँठेजोरी खेल्दै अल्पमतको सरकार चलाउनु जस्तै हुँदो हो।  भारतीय विश्वविद्यालय संघद्वारा प्रकाशित Governance in Action नामको किताबमा पनि यस्तै वास्तविकताहरूको चित्रण छ। भारतका  विश्‍वविद्यालयहरूका डेढ दर्जन जति भूतपूर्व उपकुलपतिहरूका हण्डर, ठक्‍कर, लडाइ र उठाइका मार्मिक संस्मरणहरू समेटेको यो किताब नेपाली विश्‍वविद्यालयहरू सञ्‍चालनमा आइपर्ने कठिनाइहरूको पनि हुबहु कथा हो भने हुन्छ।  यो पढेपछि लाग्यो राजनीतिक अस्थिरता र  प्रशासनिक विचलनहरू बढी भएको समाजमाविश्‍वविद्यालयहरू स्थापित हुनु र चलिरहनु नै ठूलो गर्व र सन्तुष्टिको विषय हुँदो रहेछ।

तर भाग्यले कि कर्मले हो, मैले मूलत: पदले आफूभन्दा माथि रहेका व्यक्तिहरूसँग काम गर्न पाएको छु । यसले विरलै महसुस हुने लघूताभाष बाहेकआफूमा संगत र नेतृत्वको आत्मविश्‍वास विकास भएको पक्षलाई पनि नकार्दिनँ । मैले पाउनुपर्ने बढुवाको गति भने अति नै ढिलो रहेको महसुस गरेको छु । लाग्छ, जीवननै ढिलाइ भोग्‍न पाएको हुँ । एक्काईस वर्षमा कम्तिमा सात वर्ष त ढिलाइले नै निलिदिएको छ। मसँग जागिर सुरू गरेका साथीहरू प्राध्यापक भइसके। म उनीहरूभन्दा कम्तिमा पाँच वर्ष पछाडि छु। यसले कहिलेकाहिँ मन चस्स घोच्छ। तर म अगाडि बढेकाभन्दा पछाडि छोडिएका वा आफ्नै पङ्तिमा रहेका साथीहरूको मनोदशा महसुस गर्ने कोशिश गर्छु। अनि चित्त बुझाउँछु, अगाडि बढेकाहरू पनि मलाई पछारेर बढेका होइनन्।पछाडि छुटेकाहरू मैले पछारेर छुटेका होइनन्। हाम्रो बाटो, दौडको नियम र दौडने क्षमता शायद अलग-अलग थियो । शायद भाग्य अलग-अलग थियो। त्यसैले अघि-पछि भयौँ।

समय बितेको भान बाँकी जीवनको लेखाजोखा गर्न थालेपछि मात्र हुने रहेछ। हजुरबा बाँचेको उमेर कै हिसाब गर्ने हो भने त मेरो अझै ५५ वर्ष जीवन बाँकी छ। बाले बाँच्दै गरेको उमेर हेरे पनि ३६ वर्ष सक्रिय रहन सकिने देखिन्छ । कम्तिमा बाको उमेर त बाँच्‍नैपर्छ मैले, शरीरले साथ दिए। आफूले नाघेर आएका ठेसहरूमा को-को  ठोकिन्छन् हेर्नुछ। आफू ठोक्‍किएकालाई क-कसले नाघ्छन्, त्यो समेत हेर्नुछ। अवकास समयको दृष्‍टिकोणबाट हेर्दा अब १२ वर्ष सक्रिय  रहिन्छ, यस संस्थामा।  त्यतिञ्‍जेलसम्ममा आफूले पढाएकाहरूको संख्या पनि हजारौँ हजार पुग्ला। म देखिरहेको छु, ममा रहेका महत्वाकांक्षा र लोभहरू त्यसबेला निस्तेज भइसक्‍नेछन्। यो चरीले यहाँबाट अर्को अपरिचित आकाश नाप्‍न बूढा पखेटाहरू फट्फटाउने छैन। बरू आफू अण्डाबाट निस्केपछि उड्न शुरू गरेको आकाशमै फर्कनेछ। बाको उमेरसम्म बा बाँचेको आफ्नो गाउँमा काम लाग्‍ने बुज्रुग भएर बाँकी जीवन बिताउने रहर छ उसलाई किनभने उसको आजसम्मको जीवन वेकाम रहेको छैन र अवकाशसम्म पनि रहने छैन।

आफूले संगत गरेका अग्रजहरूबाट सिकेको एउटा मन्त्र मेरो हृदयभित्र अटल रहेको छ। त्यो हो,  ‘तिमी आफू जन्मेको ठाउँलाई फाइदा हुने काम पनि गर। तिमीले लिएको उपाधी  र ज्ञान अनि बाहिर हाँसिल गरेको योग्यता र अनुभव त्यसबेला सार्थक भएको हुनेछ, जब तिमीलाई कहिल्यै नदेखेका तिम्रा आफ्ना र हितैषीहरूले तिम्रो उपस्थिति  महसुस गर्नेछन्।’

म अवकाश र अवशानको अपरिहार्यतालाई बेलैदेखि आत्मसात गरेर बाँच्‍न चाहन्छु। यही कुरा विद्यार्थीहरूलाई पनि सिकाउँछु। परिवार र आफन्तहरूलाई मेरो पूर्ण निष्क्रियता र पूर्ण अनुपस्थितिमा बाँच्‍नु पर्ने क्षणहरूको कल्पना गर्न लगाउँछु। होस हुँदाहुँदै वेकार हुनु वा मर्नु पर्‍यो भने त्यो पिडादायी क्षणको तयारी कसरी गर्ने होला भन्ने सोच्‍ने गर्छु। तर अडचालीस मै किन?  यो प्रश्न पनि मनमा उठिरहन्छ। उत्तर पनि छ। सुखद जीवन सँगसँगै सुखद मरणको चिन्तन किन बेलैमा नगर्ने?  त्यही निहुँमा बेलाबेला बुरूक्‍क-बुरूक्‍क उचाल्ने महत्वाकांक्षा र थचक्‍क-थचक्‍क थेचार्ने  वास्तविकताबाट अलग रहने अभ्यास पनि त हुन्छ यसरी ।  वेकारी, मरण र गमनको वास्तविकता मनन गर्न योगी-भोगीहरूका प्रवचनमात्र किन सुन्नु पर्‍यो?  आफूले  भोगेको-देखेको संसार नै जीवनको उत्तम पाठशाला होइन र ?

Facebook Comments