परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

श्रीमती र दाँत उस्तै उस्तै हुन्छन्

चट्याङ्-प्रहार

केटाकेटीमा आएका केटाकेटीमै जान्छन्
पछि आएका बसिरहन्छन्
जति आउँछन् सबै देखिँदैनन्
देखाउने र चबाउने बेग्लाबेग्लै हुन्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन्

कसैका टम्म मिलेका हुन्छन्
कसैका टेडामेडा हुन्छन्
कसैका बाहिर उछिट्टिएका हुन्छन्
कसैका भित्रै खप्टिएका हुन्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।

दिनका दिन माझे सफा देखिन्छन्
माझ्न छोडे गन्हाउँछन्
पछि आएका नदेखिने बङ्गारा
पहिलेका देखिनेभन्दा बलिया हुन्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।

अगाडि देखिने दाँतभन्दा
बङ्गराले काम धेरै दिन्छन्
दुख्न पनि बङ्गारा नै बढी दुख्छन्
अगाडिकाको काम पनि कम
दुख्न पनि कम नै दुख्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।

उमेर बढदै जाँदा मैलो देखिन थाल्छन्
पहिलाभन्दा अग्ला र ठूला बन्छन्
हल्लिछन् र काम पनि खास्सै गर्दैनन्
त्यस्सै पनि दु:ख दिन थाल्छन्
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।

कुनै दाँत पत्तै नदिई झरेर जान्छन्
कुनैलाई थुतेर झार्नु पर्छ
बुढ्यौलीमा कसैका दाँत टम्म मिलेका सफा देखिए
पक्कै पनि ती दाँत नक्कली नै हुन्छन
श्रीमती र दाँत उस्तै उस्तै हुन्छन् ।

Facebook Comments