परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आऊ साथी बनौँ बालक

चट्याङ-प्रहार

आऊ साथी बनौँ बालक, नाङ्गै नाच्न परे पनि

ईश्वरले नै खटाइदिन्छन् दुइटा नोकर असल धनी

दुःख  एउटा दिनुपर्छ बाँकी उनले दिलाउँछन्

माया त यस्तरी गर्छन् परे प्राण चढाउँछन्

 

बालक हुन् मजै हुन्थ्यो तर बृद्ध सबले सताउँछन्

चाहिँदो नचाहिँदो सिकाएर आफैँ जस्तो बनाउँछन्

बुढो जिउ गन्हाउँछ बालकलाई नुहाउँछन्

उनकै थोत्रो अनुहार छोडी बालकैलाई सजाउँछन्

 

तातेताते भनी पैले उनै हिँड्न सिकाउँछन्

बल्लबल्ल सिक्यो हिँड्न समातेर थच्याउँछन्

चाचा नानाथरी ल्याई उनै खेल्न सिकाउँछन्

बल्ल बल्ल सिक्यो खेल्न खेलाई रोक लगाउछन्

 

हाटबजार डुलाएर खर्च गर्न सिकाउँछन्

बल्लबल्ल सिक्यो फेरि पैसा माग्दा रिसाउँछन्

घरैमा छन् सबै जान्ने पढ्न स्कुल पठाउँछन्

स्कुलका गुरु ओहोहो! झन्डै पागल बनाउँछन्

 

दुई र दुई जोडे चार पहिले भन्न लगाउँछन्

भोलिपल्ट उनै  फेरि तीन र एक चार पढाउँछन्

दुईमा दुई घटाएर सुन्ना भन्न लगाउँछन्

दुई र दुई गुनी फेरि चारको चारमै पुर्याउँछन्

 

मीठो लाग्ने थोरै दिन्छन् नमीठो झन् कोच्याउँछन्

उठिराखे सुताउँछन् सुतिराखे उठाउँछन्

कहाँबाट म आएको, सोधे आकाश देखाउँछन्

त्यस्ता मूर्ख फटाहा बुढा साँचो बोल्न सिकाउँछन्

 

Facebook Comments