परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पदको लोभ छैन, अध्यक्ष भए हुन्छ !

फुटानी

हेर भतिज ! तेरो नाम जसरी आइतेबाट सण्डे भयो त्यसै गरी हाम्रो माओवादी पार्टीको नाम पनि फेरिने भयो । अब भोलि अदालतको फैसलापछि माधव काम्रेडहरु हाम्रै पार्टीमा प्रवेश गर्ने निर्णय भएको छ । त्यसछि नाम फेर्ने भन्ने कुरो छ ।

अनि हौ बाटाघरे काका ! ओली र माधव मिल्ने कुरा सकिएछ र ! हाम्रो माधव काम्रेडले ‘पदको लोभ छैन’ भनेर घोषणा गरी सकेपछि ओलीले थपक्क अध्यक्ष पद माधव काम्रेडलाई अधिकारसहित दिए हुदैन !

ए झुम्री चियाले हौ खाँउ ! भिरघरे पनि आइपुग्ने बेला भयो । अघि आइपुग्नु पर्ने उभिण्डे खोलातिर अलमलियो होला ! भिरघरे काँग्रेस भए पनि सत्य कुरो बोल्छ । तर अलि बढी ओलीको समर्थन गर्छ र पो मलाई मन पर्दैन ।

हौ काका नमस्कार है ! थाहा पायौ होलानी भोलिदेखि हाम्रो काँग्रेसको सभापति शेरबहादुर दाइ प्रधानमन्त्री बन्ने भए । तिमार्को माओवादीलाई दुईवटा मन्त्रालय दिने अरे ।

भिरघरे दाइ एमाले मिल्ने भनेको हैन र ! हिजो हस्ताक्षर गर्ने दिन थियो । मैले त हिजोदेखि समाचार पनि सुनेको छैन । हाम्रो माधव काम्रेडले ‘पदको लोभ छैन एकल अध्यक्ष मलाई दिए हुन्छ’ भनेर ओलीलाई भनी सकेका छन् । आफूले पार्टीमा एकलौटी निर्णय गर्न पाउनु पर्छ अधिकार चाहिंदैन भनेर पनि माधव काम्रेडले घोषणा गर्नु भएको । हिजो के भएछ ।

हेर सण्डे भाइ ! एमालेका नेताहरु मिले पनि नमिले पनि सही गरेर अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नहुने भएपछि हाम्रो देउवा दाइ प्रधानमन्त्री । हाम्रो दाइले चुनाप गराउँछन् ।

लौ चियाँ खाँदै गफ गर ! अनि भिरघरे ! आफ्नो प्रधानमन्त्रीका विरोधमा अदालतमा बुझाएको हस्ताक्षर फिर्ता पनि नगर्ने अनि एमालेकै नेता र सांसद पनि बनी रहने भन्ने पनि हुन्छ र !

हेर झुम्री ! यदि एमाले मिल्यो भने हाम्रो काम्रेड प्रचण्डको अहिलेसम्मको परिश्रम समाप्त हुन्छ । हाम्रो सबैभन्दा ठूलो कार्यभार र योजना नै एमाले तहसनहस पार्ने हो।

नाप्यौ बुढा ! आफ्नो पार्टी तहसनहस भाको थाहा छैन अर्काको घर भत्काउन ताउर–माउर गर्छौ । चुनाप भयो भने तिमारु कुन हालतमा पुग्छौ जनतालाई थाहा छ ।

काकीले ठिक भनिन् ! वास्तवमा यो एमाले मिल्यो भने प्रचण्डको खेल सकिन्छ । यिनी भनेका अर्काको शक्ति मिलेन भने अगाडि बढ्न सक्ने मान्छे होइनन् । पछिल्लो समयको कुरो गरौं यिनी कहिले मोहन बैद्य, कहिले बाबुराम, कहिले बादल र कहिले केपी ओलीको भरमा उचालिए । हिजोसम्म यिनलाई माधव नेपालनै एकमात्र सहारा थिए । अब त्यो पनि छुट्यो भने यिनको राजनीति समाप्त ।

क्या वाइयात कुरो गर्छ भिरघरे । नेपालमा कुनै नेता छ भने त्यो प्रचण्ड मात्र हुन् । त्यत्रो खुङ्खार क्रान्ति गरेर, सर्वहारा वर्गको नेतृत्व गर्दै उच्च छलाङसहित आइस्ब्रेक सहित नेता बनेका प्रचण्डको अबमूल्यन नगर ! सप्पै एकातिर प्रचण्ड एक्लै एकातिर भए पनि कसैले सक्तैन । उनी भनेको हलेदो हुन्, जता फाल्यो उतै उम्रिन सक्दछन् ।

तिम्रा कुरा पनि बढी नै भए । अब यही जिल्लाको कुरो गर्दा हुन्छ । यहाँ प्रतिनिधिसभाको उम्मेद्वार बन्ने माओवादीबाट तिमी एमालेबाट चोप्लेको जेठा, काँग्रेसबाट घिरघरे होइन ! अनि चोप्लेको जेठोलाई कसले कसले हराउने ? माओवादीलाई जम्मा जम्मी सात सय, हाम्रो चोप्ले जेठाको २१ हजार, काँग्रेस आठ हजार । अनि तिमार्को माओवादी र काँग्रेसले कहाँको भोट ल्याएर जित्छ ?

त्यो होइन काकी ! यसपाली सूर्य चिन्हमा भोट हाल्ने सर्लक्कै घट्छन् । माओवादी त हाम्रो जिल्लामा छैनन् । काँग्रेस र एमालेकै घमासान पर्छ ।

तिमारु जेसुकै भन प्रचण्डले बहुमत ल्याउनु पर्छ । होइन भने नेपालको राजनीति समाप्त हुन्छ । आ… भिरघरे ! यी कुरापछि गरौंला, हिजो एमालेको के भयो र भोलि अदालतले के गर्ला ? यस बारेमा तँलाई के लाग्छ ?

हिजोको कुरा सकियो । अर्थात् माधवहरु सकिए । लोतिखरे रान, कामै नलाग्ने, लैनोपाडो जस्तो । डो¥याउँदा पनि नहुने, बोक्ता पनि नहुने, घिस्याउँदा पनि नहुने । ओली नभए माधवको पनि काम रैनछ । एमालेको ता भन्नु नै एक मात्र ओली रान । माधव नेपाल नत चुनाप जितेर पार्टी अध्यक्ष बन्न सक्छन् नत प्रतिनिधिसभामा चुनाप जितेर प्रधानमन्त्री बन्न सक्छन् ।

फेरि ओलीको प्रशंसा गर्न थाल्यो । तँ काँग्रेस कि ओलीको कार्यकर्ता ? जहिल्यै ओलीको प्रशंसा गर्छ ! लु अदालतले के गर्ला त्यो चाँहि भन त !

हाम्रो देउवा दाइलाई प्रधानमन्त्री बनाई दिन्छ । किन कि माधव नेपालहर्को समर्थन देउवा दाइलाई छ । दस्तखत फिर्ता नलिएपछि अदालतलाई प्रमाण त्यही भई गयो ।

होइन होला भतिज ! बहुदलीय व्यवस्थामा पार्टीको निर्देशन विरुद्ध लाग्न पाइँदैन । अनि अर्को कुरा अदालतले फलानालाई प्रधानमन्त्री बनाउनु भनेर निर्देशन दिन पनि मिल्दैन होला !

तैले भनेर हुन्छ झुम्री ! मुद्दाका नौ सिङ हुन्छन् । गरेपछि जे पनि मिल्छ ! त्यसो भए भिरघरे भोलि उभिण्डेको गुप्ताको मिठाई पसलबाट एक किलो लड्डु लिएर आइज । कमफर्टेवल हुने गरी खानु पर्छ ।

हैन काका ! म कम्युनिष्टहर्ले जस्तो गरी उत्साहित हुँदै लड्डु चैं खान्न । पहिला माधव–प्रचण्डहर्ले खाँदा अड्किएको लड्डु उनार्को घाँटीमा अहिलेसम्म छ भन्छन् । हौ काका अब सण्डे र म घरतिर जान्छौ । भोलि फैसला भएपछि आउँला !

जै नेपाल !

Facebook Comments