परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कर्मथलो कर्णाली

कविता

कर्म थलो कर्णाली रोजें, तिमी भित्रै सुन खानी खोजें ।

मलाई थाह छ तिमीसंग हिरा छ,

तर पनि मैले नुन खानी खोजें ।।

तिम्रो ओइलिएको मुहार र चाउरीएको गाला भित्र ।

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

कति रातहरु अनिदा रहे, कति रातहरु अनिला रहे,

हुन त मलाई तिमीले निद र विस्तरा दुबै दियौ ।

तर पनि मैले नादान कोमल हात खोजें ।

तिम्रो निदको निदरी र विस्तराको खोल भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

कहिले तिम्रो सोच मसंग नमिल्दा,

कहिले मेरो सोच तिमीसंग नमिल्दा,

म आफै भित्र ठोक्कीएँ, मन्थनिएँ, मक्किएं,

न तिमीले निकास दियौं, न मैले निकास पाएँ ।

तर तिम्रो सोच र मेरो मन्थन भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

तिमी कहिले नादान बन्यौ, कहिले अन्जान बन्यौ,

आफै कमजोर भई, हात थाप्ने बन्यौ,

केही थाह छैन भनी, जान्दै नजान्ने नाटकी बन्यौ ।।

आखिर सुनको थालीमा भिख माग्ने भिखारी बन्यौ ।।

तर तिम्रो अन्जान र भिखारी चोला भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

तिम्रा सुन्दर हिमाल र मुल्यवान जीवनबुटी राजें,

चामल कहाँ निस्किन्छ र भुस कुटेर कतै धान खोजें,

तिमी रित्याउँदै गयौ, र रित्तिदै गयौ निरन्तर ।

म चुपचाप रमीते भएँ, लाचार र निरिह बनें,

तर तिम्रा सुन्दर हिमाल र जीवनबुटी भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

हिराको विस्कुन पोखिंदा, आना पैसा टिप्यौ,

सुनको थालीमा अजिनोमोतो पियौ,

अब त तिम्रा आलु र फापर पनि शहर पसे ।

कोदो, चिनो, कागुनो, जौ, उवा सबै विदेशीए,

तर मैले भने आँखा बन्द गरें, र

विदेशीन लागेको अर्गानिक खाना भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

तिमी जात र सेतो भातको पछि दौडिदा,

तिमी थोरा र बंश धान्ने छोराको पछि दौडिंदा,

सहकर्मीले विकासको फड्को मारी डिजिटलाईज्ड भयो,

तिमी क्षतिपूर्ति कै पछि दौडिंदा ।।

तिम्रो पाखण्डी उचो जात र बंश धान्ने छोरा भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

चोराएर पास गराउने मास्टर ठिक भन्यौ,

सहयोगका नाममा विष दिने सर ठिक भन्यौ,

छोरो दुनियाँ भन्दा पछि छ, छिमेकी देशको गुलामी छ ।

आज उ जीउँदाको जन्ती न मर्दाको मलामी छ,

बुढेशकालमा आफै ठिक्क पर्यौ ।

तिमीले राहतमा पाएको विष र तिम्रो बुढौली भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

तिम्रै हिमाल र बनजंगल रोजें, तिनै भित्र भविश्य खोजें ।

मलाई थाह छ, तिमी भित्र अथाह ताकत छ,

तर पनि तिमी क्षणिक सुन्दरता मै रमायौ ।

मैले कल्पना गरेको तिम्रो सामथ्र्य र सुन्दरता भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

गुराँस फुल्ने तिम्रो बन रोजें, हिंउ फुल्ने हिमाल राजें,

आखिर तिमी ओइलाउँदै र बिलाउँदै गयौ,

स्याहार सम्भारकोे नाममा थमथम्याईयौ ।

मेटिन लागेको तिम्रो साख नियाली रहें ।।

अन्ततः तिम्रा हिमाल र गुराँस सुनाखरी भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

अविरल कञ्चन कर्णाली रोजें,

साथै बहने तिला, जवा र चुवाँ रोजें,

तिमी निरन्तर बहिरह्यौ, सुसाई रह्यौ ।

मानसरोवरको पवित्र जल बहाई रह्यौ ।।

तर तिम्रो कञ्चन जल र बहाव भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

 

मैले रारा रोजें, सेफोक्सुन्डो अनि दुधेदह रोजें,

तिनको मन्द मुस्कुराहट अनि नशालु सुन्दरता रोजें,

तिमी एकतमास मुस्कुराई रह्यौ ।

फगत आफ्नो माधुर्य पस्किंदै गयौं ।।

तिम्रो माधुर्य नशालु सुन्दरता भित्र,

मैले जिन्दगानी खोजें । मैले जिन्दगानी खोजें ।।

Facebook Comments