परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सर्जक पदम गौतमको विश्रामपुर !

पदम गौतम अहिले कुन मुलुकमा हुनुहुन्छ मलाई थाहा छैन । उहाँ एकताका पत्रकार बन्नु भएको थियो र कविता पनि लेख्नु हुन्थ्यो । त्यसताका पदम र म एउटै पेशामा भएको हुँदा भेट नहुने कुरै भएन । सायद २०५५ सालको कुनै दिन हुनुपर्छ डिल्लीबजारमा हाम्रो भेट भयो । उहाँले गोजीबाट ल्वाङ र सुपारी निकालेर मलाई दिदै भन्नु भयो ‘दाइ ! यो मेरो विवाहको निम्तो ! जसरी पनि जन्त जानुपर्छ है !’ मैले ‘हुन्छ । तर, कहिले?’ भनेर सोधे ।

पदमले बडो विश्वासका साथ ‘२०६५ साल मंसिर २५ गते’ भनेर १० वर्ष पछिको समय बताएपछि म अलमलमा परेँ । उहाँले मेरो हात समाएर विश्वास दिलाउँदै जन्त जाने स्थान पनि खुलाउनु भयो । स्थान समेत खुलाएपछि मैले विश्वास गरे । किन भने अलि अघिदेखि पदमका बारेमा पत्रकार बिच चर्चा हुन थालेको थियो । निम्तो पाएको ५।७ वर्षसम्म हाम्रो भेट पातलो रुपमा हुँदै थियो । पछि मैले सुने उहाँ विदेश जानु भयो ।

म अहिले पदमको अवस्था, विवाह, परिवार वा अन्य विषयमा लेख्न गईरहेको छैन । बरु पदमद्वारा लिखित ‘विश्रामपुर’ नाम गरेको उपन्यासको बारेमा केही गनथन गर्न खोज्दै छु । केही दिन अघि पत्रकार रघु मैनालीले मलाई विश्रामपुर उपलब्ध गराउनु भएको थियो । बल्ल यो पुस्तक पढ्ने मौका मिल्यो । मैले किताब पढीसकें । किताब पढ्न थालेपछि रोकिनु पर्ने अवस्था आउँदैन । पढी सकेर मात्र थन्क्याउन मन लाग्छ ।

विश्रामपुर पूर्वी तराईमा भरर्खरै झोडा फाँडेर बनाइएको कलिलो गाउँको छिप्पेको कथा हो । उपन्यासको धेरैजसो भाग सत्य घटनामा अधारित छ। पुस्तक पढ्दै जाँदा २०३६ सालको असपासको कोशी पारि त्यो पनि इटहरी पूर्व राजमार्ग नजिकका वस्तीहरुमा प्रवेश गर्न सकिन्छ । पूर्वी पहाडका दुर्गम भेगबाट बसाई सरेर आएकाहरु, वर्मा र भारतका विभिन्न ठाउँबाट परिवार सहित त्यही बसोबास गर्ने उद्देश्यले आएका नव आगन्तुकहरु र त्यही जंगल भित्र पुस्तौ अघिदेखि बसोबास गर्दै आएका आदिवासीहरुको दुःखको कथा हो विश्रामपुर ।

जंगल उजाड हुँदैछ, वस्ती बढ्दै छ । निम्न वर्गीय र मध्यम वर्गीय परिवार आफ्नो गच्छे अनुसार वासस्थान निर्माण गर्ने र उत्पादन क्षेत्र बढाउन सकेजतिको उपक्रम गर्दै छ । मोरंग र झापाको सिमाना छेउमै छ पदम गौतमको नयाँ गाउँ विश्रामपुर । यहाँ नायक नायिका छैनन् । प्रेममा डुबेका प्रेमिल जोडी छैनन् । बाँच्नका लागि चारतिरबाट आएको समाज छ । लगन, परिश्रम र पसिनाको समिश्रण विश्रामपुरमा समाजमा देखिने दुःख, सुख, विद्रोह, कुण्ठा, गरिवी, अशिक्षा र राजनीति सबै देख्न पाइन्छ । सायद विश्रामपुरका लेखकलाई यी सबै समस्या भोगाउन पहाडबाट आफ्ना अभिभावकले ल्याएका हुन ।

लेखकलाई (कुमार नामक सानो केटोलाई) वनजंगल, त्यहाँका पन्छी, जनावर, लतालतिका, फूल र सिमसार मनपर्छ । जब नव आगन्तुकहरुले प्रकृतिमाथि धावा बोल्छन् तब जंगलमा रहेका वस्तुहरु एकपछि अर्को नासिदै जान्छन् । सन्थाल, ताजपुरिया र राजवंशीहरुको वस्ती खोला किनार अथवा जंगलको उपल्लो छेउतिर धकेलिदै जान्छ । कुमारलाई दुःख लाग्छ ।

उपन्यासको पृष्ठ ६३ मा ‘मञ्जहरुको चहलपहल’ उपशीर्षकमा लेखिएको छ :

गाउँको स्कुलमा राम्रो पढाइ हुन थालेपछि केही पढेलेखेका परिवार पनि यतै बसाइँ सरे । केही पढ्दै गरेका युवाहरुको परिवार पनि थपियो । तिनीहरुका साथमा तिनका आफन्तका परिवार पनि थपिए । यसले गर्दा पहिला पातला गाउँहरु बौदलकाल लगत्तै घना बस्तीमा परिणत भए । पहिले नै झोडा फाँडेर आवादी गरिएका ठाउँ अलिक हुनेखाने परिवारको कब्जामा गएका थिए– किनेर फकाएर वा कुनै तरिकाले लिएर ।

अन्य आकर्षणहरू

अलिक साधारण र पहुँच नभएकाहरु वस्तीका किनारमा रहेको झोडा फाँडेर खनीखोस्री गर्थे । तिनले मधेसको उखुम गर्मी हुने ठाउँमा पनि आफूलाई बचाउनु थियो । घर बनाउनु थियो र बालबच्चा पढाउनु थियो । समय अनुसारका नयाँ सपना देख्नु थियो । सके आफैँ पूरा गर्नु थियो र नसके सन्ततिलाई सपना हस्तान्तरण गर्नु थियो । औलो नियन्त्रण हुँदै गरे पनि विभिन्न समयमा देखिने अनौठा रोगब्याधीसँग लड्दै बाँच्नु थियो । यसका लागि नयाँ र पहाडमा नदेखिएका पाटा लगायतका बाली लगाएर गर्जो टार्नु थियो । यस्ता परिवारको सङ्घर्ष र दुःखको कथा अलगअलग तर धेरै हदसम्म मिल्दो जुल्दो थियो ।

अर्कातिर सन्थाल, ताजपुरिया र राजवंशीहरु भने मूल वस्तीबाट विस्तारै किनारा लाग्दै थिए । बजार र नयाँ बस्ती तिनीहरुको टोलबाट टाढा बनाउने गरिन्थ्यो । अर्कोतिर मालपोत, चाडबाड र बिहे कार्यका लागि खर्चको जोहो गर्न पुख्र्यौली सम्पत्ति बेचेर नदी किनारका ऐलानी वा सस्तो जग्गामा सर्नु उनीहरुको बाध्यता थियो । यिनीहरुको समुदाय नै विस्तारै समाजको मूलप्रवाहबाट किनारा लाग्दै थियो । विस्तारै त्यहाँका पुराना बासिन्दा किनारमा र पछि आउनेहरु मूल ठाउँमा मालिक बनिरहेको दृश्य निकै अनौठो थियो । किनारामा पुग्नेहरुको समाज दन्त्यकथाको पात्र लाग्ने आफ्नै जिन्दगी सङ्घर्ष गर्दै भोग्दै थियो ।

गाउँका युवाहरु प्राय जसो २०३६ सालमा बहुदलतिर आकर्षित भए । उनीहरु नयाँ जोश र जाँगर बोकेर जनतामा चेतना फैलाउने काममा लागेका थिए । झापा विद्रोहको विउ पनि सन्ध्यापुर, चुनामारी, वर्मेली टोल, तलैयापुरम, लारकट्टा लगायतका स्थानमा छरिदै थियो । आ–आफ्नै तरिकाले सबै बिचारहरुमा वादविवाद र छलफल हुन्थे । कुमार पनि जानेर वा नाजानेर वामपन्थी विचारप्रति झुकाव राख्दै गए ।

विश्रामपुरको समाज अन्धविश्वासी छ । गरिबकी छोरी अलि राम्री छ भने विभिन्न खाले नाम राख्ने र हेप्ने गरिन्थ्यो । समाजबाट वहिस्कृत, उपेक्षित र गाउँ निकाला गरिएका हेमामालिनी जस्ता दुखियाहरु यही समाजमा छन् । पहिलाको जमिन्दार दुर्गा मुर्मुलाई यही समाजले गरिब बनायो । बड्का मुर्मुलाई यही समाजले माओवादी बन्न बाध्य बनायो । विश्रामपुरको यो समाजमा मुलुकको अन्य भागमा जस्तै प्रधानपञ्च र हेड सरहरु छन् । फौदहाङ, छेत्रबहादुर, राका सतार, थारु समुदायका चेला लालदेव र विनोद सरहरु पनि छन् । छैन त केवल पहिलाको रुख, विरुवा, सिमसार, चराचुरुङ्गीको वासस्थान इमान्दारिता र लोभलालचरहित समाज । ठग, चोर, डाका, फटाहा, इमान्दार, सज्जन, चरित्रहिन, दुर्जन, नेता, कार्यकर्ता सबै अटेका छन् विश्रामपुरमा ।

विश्रामपुरको कथा तत्कालीन समाजको पीडाको अथवा द्वन्द्वको चित्कार र हुँकार पनि हो । पढ्दै जादा बसाई सर्नेको, विदेशमा बस्न नसकेर आएकाहरुको, झोडा फाँडेर जमिन आवाद गर्दै बस्न पाइन्छ भनेर दक्षिणी सीमा पारिबाट आएकाहरुको, पहाडे, मदेशी र स्थानीय पुराना वासिन्दाको सङ्गम स्थल विश्रामपुर बन्न पुगेको बुझ्न सकिन्छ । ३८ वटा उपशीर्षक दिएर छोटा, मिठा, सरस् र विश्रृङ्खलित हुन नदिई लेखिएको यो उपन्यास २६९ पृष्ठको छ ।

राजनीतिको जाँतोमा पिसिएको विश्रामपुरलाई राजनीतिले नै थिलथिलो बनाएको छ । यो उपन्यास स्वादिलो र मिठासपूर्ण छ । लेखकले आफ्नै बारेमा पनि राजनीतिमा पवित्र उद्देश्यले लागेको तर, नेताहरुले गति छोडेपछि आफू निरास बनेर पन्छिएको विचार दिएका छन् । पवित्र विचार, राष्ट्र र जनताप्रतिको समर्पण नेताहरुमा नरहेको ठहर लेखकले गरेका छन् । उपन्यास पढी सकेपछि राजनीतिले बाटो नविराएको भए पदम गौतम जस्ता सिर्जनशील र होनहार युवा पलायन हुने थिएनन् भन्ने लाग्छ ।

Facebook Comments