परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नेपालगन्जिया

मक्क साँझ परिसकेकाे थियाे । वा, रातले ढाेका ढक्ढक्याइसकेकाे थियो । मुश्किलले वरपरका दृश्य देखिन्थे । म सहित हामीलाई घाेडा गाडी (टाङ्गा) मा चढाइयाे । घाेडाले एकचाेटी, ‘हिई.कि..कि .. क्क ‘ गर्याे । अनि, सुनसान बाटाेमा ‘ खटपट.. खटपट..खटपट’ गर्दै हामी र हाम्रो भारी बाेकेर पहिला हिँड्न थाल्याे, अनि केही बेरमा दाैडिन थाल्याे । बेताैड । म र मेराे नेपालगन्ज आगमन राजकीय ठाँटमा भएकाे थियाे । घाेडा गाडीमा । म घाेडागाडी (टाङ्गा) चढेर नेपालगन्ज छिरेकाे थिएँ, अँध्यारो रातमा । विक्रम संवत् २०३४ सालकाे कुरा हाे। त्यसपछि सालाखाला झण्डै सत्र बर्ष म नेपालगन्जिया भएँ । उसवेला सुदूर पूर्व झापाबाट दुई रात, तीन दिनकाे रेल यात्रा गरेर सुदुर पश्चिम याे बिरानो सहरमा हामी पुगेका थियौँ ।

नेपालगन्जसित मेरा अवस्मरणीय सम्झनाहरु छन् । म अझै पनि नेपालगन्जसित एकदमै नजिक छु । त्यहाँकाे लु र शितलहरी समेत मलाई मन पर्छ । हलुवा, जलेवी, पुरी तरकारी, छाेला समाेसा, चाट, कचाैरी चना, बतासा, टिकिया, दहीबडा, राबडी, गाँजर हलुवा सबथाेकले मेराे वाल्यकाल सिंचित छ । गन्ने (उखु) को रस, खिरा (काँक्रा) नुन/खुर्सानी, कच्चा आम, ईमली, बेलरस, अमिलाे बयर सबथाेक मेराे जिव्राेबाट निस्कनै सकेका छैनन् । तीताे निमपातकाे रस पनि ! पुदिना सर्वत । गन्ने जुस । अनि, एकलैनीकाे कवाब र पुलाव, बिरयानी, निलहरी, राेगंन गाेश, रुमाली राेटी, मुर्ग मुसल्लम । र, मसाला खिर । सबथाेक ।

तस्बिरः शंकर शरण

यसरी नेपालगन्जले मलाई तन्नेरी बनाएकाे हाे । त्यसबेलाका टाेल टाेलमा फैलिएका पाेखरीहरू हाम्रा स्विमिङ पूल थिए । छानी छानी पाैडिन जान्थ्याै । खेल्नका लागि हरेक खाली मैदान हाम्राे स्टेडियम थियाे । रमाईलाे नेपालगन्ज । त्रिभुवन चाैकमा रात रातभर रामलीला हेरिन्थ्याे । मेराे बालसुलभ मनले रामलीलाका ती पात्रहरूलाई साँच्चैका राम, सीता, लक्ष्मण, रावण ठानेकाे थियाे । अनि, अन्तिम दिन रामले रावण बध गरेपछि, मेराे मन एक किसिमले शान्त हुन्थ्यो । त्यसअघि हरेक साँझ, टाेल टाेलमा राम लझ्मण र सीता चढेकाे टाँगा घुमाइन्थ्याे । रामलीलाका पात्र टाँगामा हाम्रो टाेल आउँथे । मान्छे झुम्मिएर, तिनका पाउ छुन्थे ।

त्रिभुवन चाैकमै जवाबी किर्तन हेर्न, सुन्न पाइन्थ्याे, नबुझिकनै । भारतबाट एक से एक कीर्तनीहरू त्यहाँ आउँथे । रातभर दुई प्रतिस्पर्धी समूहबीच घमासान प्रतियाेगिता हुन्थ्याे । कुनै एक समूह नहार्दा बिहानसम्म पनि चल्थ्याे ।  प्राय: वर्षेनी कृष्ण जन्माष्टमी उत्सवका रूपमा पाँच दिन जवाबी किर्तन आयाेजन हुन्थ्याे । कव्वाली, मुशायरा पनि अवसर विशेष पारेर यदाकदा आयाेजन हुने गर्थे। रमाइलाे मेलालाई हामी सबैले पर्खेर बसेका हुन्थ्यौँ । वर्षकाे एकचाेटी जाडाेयाममा लाग्ने याे मेला खुब रमाइलाे हुन्थ्याे । काठकाे बेरामा माेटरसाइकल कुदाउने खेल, माैतका कुवा । मध्यरातमा शरीरभरि आगाे बालेर झण्डै १०० फिट माथिबाट तल खनिएकाे पानी खाल्डाेमा हाम फाल्ने माैतका छलाङ सम्झँदा अझै पनि जीउका रौँ ठाडा हुन्छन् ।

सर्कसमा टेण्टभित्र देखिने कलाकारहरू बाहिर कस्ता देखिँदा हुन्, त्याे कौतुहलता पनि मैले त्यहीँ मेटेँ । रिङ मास्टर भेटेँ । जाेकरहरूसित हात मिलाएँ । अनेकन मनखुशी खेलहरु खेलेँ । कठयाँग्रिँदाे जाडाेकाे वास्ता हुदैनथ्याे । लक्ष्मी चलचित्र मन्दिर, जहाँ मैले थुप्रै रंगिन सपनाहरूसित खेल्दै हुर्किँन पाएँ । कहिले म चलचित्रको हिरोमा आफैँलाई ढालेर एक्लै डाकाहरू पिटिरहेकाे हुन्थेँ । कहिले इन्सपेक्टर बनेर स्मगलरका अड्डा तहसनहस पारिरहेकाे हुन्थेँ । त्यहाँ, म‌ैले थुप्रै हिराेइनहरुसित कल्पनामा गाएँ, नाचेँ । अनेकन, वाग वगैंचामा । म राेएँ, म हाँसेँ । मैले, त्यहाँ आँखाले मात्रै हाेइन, कानले समेत सिनेमा हेरेँ — चलचित्र मन्दिरकाे ढाेकामा कान थापेर । यी सब म घरबाट स्कूल गएकाे बेला गर्थेँ । कैयन दिन स्कूलबाट हराउन पनि मैले नेपालगन्जमै सिकेँ ।

अन्य आकर्षणहरू

जुम्लामा हल्ला हमला

विज्ञान, विकास र जर्नल

जुविथामा खल्बल

घरबारी टाेलदेखि सदरलाइन हुँदै गडरियपुरियासम्म मेराे बाल सखी सम्राज्य फैलिएकाे थियाे । म जसको आँगनमा पनि खेल्न सक्थेँ । म जसको भान्छामा पनि छिर्न सक्थेँ । नेपालगन्ज, मेराे जीवन पाठशाला हाे । त्यहाँ मैले किताबज्ञान मात्रै हाेइन, जीवन ज्ञान पाएँ । नयाँ भाषा, नयाँ माहाैल, नयाँ रङ्ग रुप, नयाँ जातजाति, नयाँ धर्म, नयाँ विचार । यी सबसित साझात्कार भयाे ।

अझै पनि, नेपालगन्जमा मेरा साथीहरू मेराजुल, अब्दुल, असलम अनि कपाल काटने भाइजान, अब्बु, माैशीकाे सम्झना आँउँछ । मेरा देशी साथीहरू शंकर शरण, पंकज, निर्मल, सुरेश सबैसित सम्पर्कमा छु । सुवाेध, विकास, विपिन, रुपक र अनुपसित कुरा भइराख्छ । कमला, निशा, रीता र करुणासित सम्पर्कमा छु । राजेश र प्रकाश डाइरेक्टरी मनमा छन् ।

तस्बिरः जे. पाण्डे

मेराे विहान, मन्दिरकाे घण्टी र मस्जिदकाे नवाजसँगै सुरु हुन्थ्याे । दुवैले मलाई झिसमिसेमै उठाउँथे । ‘अल्लाह…ओ….अकबर…अल्लाह’ अनि ‘सीताराम’ दुवै मेराे कानमा बिहानीको सुरुवातसँगै गुन्जिन्थे । मेराे बालापन धर्म भेद विना हुर्केकाे हाे । ईद, मुहर्रममा मेराजुल, असलम, अफताबसित रमाउँथेँ । रामनवमी र रामलीलामा शंकर, पवन, रामभराेसेसित मेलामा हराउँथेँ । अष्ठमीकाे दिन विपिन, अनुप, रुपकसित वागेश्वरमा वाेका लिएर पुग्थेँ । अनि, तिहारमा सबैसँग मिलेर देउसीकाे मज्जा लिन्थेँ । हाेलीकाे कुरा गरिसाध्य छैन । त्याे वेलुका हुने मूर्ख कवि सम्मेलन कहिल्यै बिर्सिन्नँ ।

बाँके गाउँ जहाँ मैले जीवनकाे अमूल्य समय बिताएँ । ईट्टाले विच्छयाएकाे त्याे बाटाेमा मैले मेरा धेरै पाइला गनेँ । धेरै चप्पलका फिता चुँडाएँ । अनि, जाेडेर लाएँ । बर्षामा घरकाे आँगनमै बगेर आउने माछा समाएँ । गर्मीमा लू र जाडाेमा शितलहरी थेगेँ । धेरैचाेटी घरकाे पर्खाल नाघेँ । वागेश्वरी जहाँ मैले भगवान चिनेँ । बाँके बगिया, रामलीला म‌ैदान, बाल मन्दिर । सबै, म फैलने, उड्ने, धर्ती नाप्ने, आकाश छुने खुल्ला आधारहरू थिए । अनि म चाहिँ तिनकै नेपालगन्जिया ।

Facebook Comments