दया स्वयं क्रूर र निष्ठुर बनेर आएको विस्मयकारी क्षण!
धत्तेरि, लग्यो ! रेडियोकर्मी मित्र चन्द्र न्यौपानेलाई लग्यो । भिनाजु रामचन्द्र उप्रेतीलाई लग्यो । अग्रज पत्रकार ब्रजेश शर्मालाई लग्यो । पत्रकार भाइ शान्तिराम कार्कीलाई लग्यो । प्राध्यापक डा. निर्मला उप्रेती र दीपक मैनालीहरुलाई लग्यो । साहित्यकार राजेन्द्र सुवेदी, बानिरा गिरी र चेतन कार्कीहरुलाई लग्यो । नर्स गीता गुरुङ र डाक्टर आईएल आचार्यहरुलाई पनि लग्यो । गायक प्रेमध्वज प्रधान र स्वयम्भूराज शाक्यहरुलाई लग्यो । निष्ठावान नेता पशुपति चौलागाई, रत्न शर्मा न्यौपाने र नरेन्द्र बस्नेतहरुलाई लग्यो । ज्या है, लगिछाड्यो ।
बुवाको शौर्यले ढाक्न सकेन। ममताको भाषामात्र जान्ने आमाको करुणा र आशिर्वादले लपेट्न सकेन। सात जन्म सघैं बिताउने बाचा गरेका जीवन साथीको अङ्गालोले बाध्न सकेन। छोराछोरीको पुकारले पगाल्न सकेन। दाजुभाइ, दिदीवहिनीको स्नेहले भुलाउन सकेन। ईष्टमित्र र साथीभाइको कामनाले टार्न सकेन। आयो, हेर्दाहेर्दै टप्पक्क टिप्यो लग्यो।
उफ ! कलकलाउँदा लालाबाला लग्यो । जगमगाउँदा किशोर किशोरी लग्यो । सक्रिय र जुझारु युवा लग्यो । पारङ्गत, कर्मवीर र पौरखी अधवैंशे लग्यो । श्रद्देय र विवेकी अभिभावक बृद्धबृद्धा लग्यो। प्रियजन, नाताआफन्त, साथीसंगाती, छरछिमेकी, वरपरबाट चिनेजानेका अनगिन्ती मानिसलाई लग्यो । आयो, टप्पक्क टिप्यो लग्यो।
बुवाको शौर्यले ढाक्न सकेन । ममताको भाषामात्र जान्ने आमाको करुणा र आशिर्वादले लपेट्न सकेन। सात जन्म सघैं बिताउने बाचा गरेका जीवन साथीको अङ्गालोले बाध्न सकेन। छोराछोरीको पुकारले पगाल्न सकेन। दाजुभाइ, दिदीवहिनीको स्नेहले भुलाउन सकेन। ईष्टमित्र र साथीभाइको कामनाले टार्न सकेन । आयो, हेर्दाहेर्दै टप्पक्क टिप्यो लग्यो।
हरक्षण लगी रहेछ । एकपछि अर्को दर्द र पीडा दिइइरहेछ । तर सहानुभुति दिन कोही पुग्दैन । जताजतै विरामी नै विरामी छन्, भेट्न कोही आउँदैन । हरेक पाँच–सात मिनेटमा आफन्त, छिमेकी, सारा नेपाली बन्धुबान्धव कोही न कोही मरिरहेछन् । तर प्रियजनको अन्तिम विदाईमा उपस्थित हुने भावविह्वल मन र आँखा वरिपरि पुग्दैनन् । दागवत्ति दिन आफन्त हुँदैन । मलामीको लर्को कतै देखिदैन, शोकको एकोहोरो शङ्ख बज्दैन । घरघरमा क्रियापुत्री छन् । तर संस्कार अनुसार सिधा लिएर कोही जाँदैन । पितृ तार्न गरिने शास्त्रीय मन्त्रोच्चारण र गरुढ पुराण कतै गुञ्जिदैन। भरअभरमा सहयोग गर्ने समाजको स्वाद टर्रो भएको छ । सबैतिर केवल सन्ताप छ, सन्नाटा छ, हताशा छ, सुस्केरा छ र लखतरान क्रोध छ ।
यमराजको कालो छायाँ कहिले अघि, कहिले पछि, कहिले दायाँ, कहिले वायाँ चारैतिर मडारिइरहेछ । जोगिने र लुक्ने ठाउँ कतै छैन । अन्तिम सास फेर्दै गरेका थुप्रै छटपटाहटपूर्ण आशाहरुलाई क्वारक्वार्ती हेर्न हामी विवस छौं । हर शुभ विहान अशुभैअशुभ खबर छन् । खबरले हातगोडा चिसा हुन्छन्, ओठ काँप्छ, स्वर दवेको छ, हृदय भारी हुन्छ, छाती चरक्क चिरिन्छ, अनुहार फुङ्ग हुन्छ, मन अतालिन्छ, दिमागमा नराम्ररी झड्का लाग्छ र शरीर धरमराउँछ । गर्न सक्ने केही छैन । जवरजस्ती लुकाएर राखेका आँशु थाहै नपाई झर्छन् । हिजोआज मेरो पहिलो र एकमात्र लवज यही आँशु हो । शायद यी आँशु विरामीको शीघ्र स्वास्थ्य लाभको कामना र मृतआत्माको चीर शान्तीका लागि अन्तरमनका जोडदार प्रार्थना हुन ।
यस्तो लाग्छ अब साँच्चै चक्रवर्ती अनिष्टको युग प्रारम्भ भएको छ । सारा जीवन अवरुद्ध छ । हामी अदभूत र आश्चर्यजनक चुनौतिहरुको सामना गरिरहेका छौं । दया स्वयं अधम, कठोर र निष्ठुर अवतार धारण गरेर आएको छ । हामी सबै एकाएक कष्टको महासागरमा चोभलिएका छौं । दुविधा, अधैर्य र भयले मन सदा चर्चराइरहेछ । धत् ! सृष्टिको विडम्बना !
कहिलेकाहीँ विचलित मनमा अनौठा भाव पलाउँछन् । एक मन लाग्छ, प्रकृतिको यो क्रूर र विभत्स कर्तुतका बारेमा हामी सबै मिलेर एकिन विवरण सहित सार्वजनिक मुचुल्का उठाउनु पर्छ । हाम्रा दिन फर्किएका बेला प्रकृतिलाई महाअभियोग लगाएर कठघरामा उभ्याउन यो मुचुल्का अकाट्य प्रमाण हुनेछ । अर्को मन अलि स्थीर छ । शान्त भावमा सान्त्वना दिन खोज्छ र भन्छ, मानिसलाई जीवन कला सिकाउने शिक्षक भनेकै प्रकृति थियो र हो । बुझ, प्रकृतिले सिकाउँदो मात्रै रहेनछ, कडा परिक्षा पनि लिने गर्दो रहेछ । अहिले हामी प्रकृतिको यही घोर निर्दयी परिक्षामा सामेल छौं । यो परिक्षा कति लामो हुन्छ कसैलाई थाहा छैन । आगामी दिनमा उत्तर दिनु पर्ने थप प्रश्नहरु कति जटिल छन्, त्यो पनि थाहा पत्तो छैन । बस् ! सबै जना एउटै बाक्लो कोलाहलमा एकाकार भएका छौं । यस्तो बेला यथार्थ स्वीकारेर निर्णय लिदाँ सरल हुन्छ ।
मनको यो भाव परतिर आशाको धमिलो क्षितिज देखाउँदै दार्शनिक पारामा सम्झाउन बल गर्छ– अहिले हाम्रा घाइते चेतनाहरु आवेशमा छन् । प्रकृतिले विगतमा पटकपटक लिएका परिक्षाबाट सिकेको पाठ भनेकै विपत्का बेला चाहिने संयम र धैर्य हो भन्ने सार हामीले बिर्सिएका छौं । पूर्खाले पनि त कालबेला अनुसार हामीलाई भनेकै थिए– अन्धकार जति गाढा भयो, सूर्योदयको सम्भावना त्यतिनै नजिक हुन्छ । मानव भविश्यमाथि मडाडिइरहेको यो गाढा अन्धकार शायद सन्निकट रहेको शुभ विहानीको सङ्केत हो ।
अहिले हाम्रा घाइते चेतनाहरु आवेशमा छन् । प्रकृतिले विगतमा पटकपटक लिएका परिक्षाबाट सिकेको पाठ भनेकै विपत्का बेला चाहिने संयम र धैर्य हो भन्ने सार हामीले बिर्सिएका छौं । पूर्खाले पनि त कालबेला अनुसार हामीलाई भनेकै थिए– अन्धकार जति गाढा भयो, सूर्योदयको सम्भावना त्यतिनै नजिक हुन्छ । मानव भविश्यमाथि मडाडिइरहेको यो गाढा अन्धकार शायद सन्निकट रहेको शुभ विहानीको सङ्केत हो।
बाँच्ने उत्कट अभिलाशा नै जीवनलाई नित्य हाक्ने अद्भुत चालक रहेछ । अवश्य नै विकल्प सबै कुराको हुन्छ । आशा र निराशा दुवै आखिर मानवीय अभिलाषाहरु नै त हुन । यस महाविपत्को घडीमा कुन अभिलाषा रोज्ने भन्ने कुराले हाम्रो जीवनको गति र गन्तव्य निर्धारण गर्ने रहेछ । मन अलि थामिएको बेला मलाई लाग्छ– आशावादी रहनु नै अहिलेको एकमात्र निर्विकल्प बाटो हो। आशावादीताले हामी सबैलाई सक्रिय र गतिशील बनाउँछ। मैले कतै पढेको पनि छु– अजेय मानव सामथ्र्य भनेको मनको दृढता हो । हाम्रा जीवन अनुभवहरुले पनि पटकपटक यस्तै प्रमाणहरु जुटाउने गरेका छन् । अनुभवहरु ज्ञानका कच्चा पदार्थ हुन । अब हामीले ज्ञान र बुद्धिलाई अझ परिस्कार गर्दै आफ्नो कर्म अगाडि बढाउनु जरुरी छ । इरादा पक्का हुनुपर्छ, सबै ठीकठाक भएर जान्छ ।
नानाभाँती कुरा मनमा खेले पनि यस विस्मयकारी क्षणमा मेरा व्याकुल भावनाहरु विछिप्त, अशान्त र मलिन छन् । दिमाग भाव शुन्य र रित्तो भएको छ। एकपछि अर्को बज्रपात आइलाग्दा तपाईहरुलाई विदाई गर्न मसंग अहिले सामान्य चेत पनि बाँकी छैन । आँटले नराम्ररी आत्मसर्मपण गरिसक्यो, तपाईहरुको अन्तिम पटक मुख हेर्न समेत आउन सकिन । शोकाकुल आफन्तजनलाई भेटेर समवेदना भन्ने उत्कट इच्छा हुँदाहुँदै पनि सकिरहेको छैन । अब तपाईहरुलाई भेट्न मैले एकोहोरो टोलाएर स्मृतिका पीडादायी पाना पल्टाउनु पर्नेछ । यो असाधारण क्षणमा अवरुद्ध गला लिएर टाढैबाट चीर कामना गर्छु– तपाईहरुको अनित्य यात्रा सहज र सफल रहोस् ! अल विदा ! सअश्रु श्रद्धाञ्जली !!