परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

छाउको ताकत

म सानै थिए । घर फर्कंदै गर्दा बाटोमा रगतका थोपाहरु पोखिएको देखें । बाटोमा हेर्दै केहि अगाडि बढें । कुर्कुच्चाको छाप परेका रगतका डोबहरु देखिए । मलाई अचम्म लाग्यो र केही डर पनि । बाटोमा अगाडि हेरें, छिमेकको आमा पिठिमा डोको बोकेर घरतिर जाँदै हुनुहुन्थ्यो । उहाँलाई देखेर अलि चाँडो हिडेर अगाडि आँए । उहाँले पिडौला देखिने गरी छोटो पारेर गुन्यू बेर्नु भएको थियो । धाराबाट नुहाएर घर आँउदै हुनुहुन्थ्यो क्यारे । उहाँको पिडौला भरी रात्तै रगत लतपतिएको टाढैबाट देखें । अनि नजिकै पुगेर सोधें, आमा, तपाईको त पछाडि रगतै रगत छ, के भएको तपाईलाई ? उहाँले सहजै उत्तर दिनु भयो । म छाउ भएको लाटी, आज तीन दिन भयो । अलि धेरै रगत बग्छ चार दिनसम्म त, भोली देखि कम होला । अहिले नुहाएर आँए । हिडेपछि झन धेरै भयो । तपाईँलाई गाह्रो भएको छैन आमा ? मैले सोधें, उहाँले छैन, भन्नु भयो । भोलीबाट कम हुन्छ, चार दिनसम्म त धेरै नै हुन्छ मलाई । उहाँले सहजै जवाफ दिनु भयो । तर मलाई भने अनौठो लाग्यो र केही कौतुहलता पनि ।

यो छाउ भनेको महिला परिपक्व भएको संकेत हो । यो एक प्रक्रिया हो । यो प्रक्रिया प्रत्यक महिनामा यसरी नै चलिरहन्छ । त्यसैले यो नियमित प्रक्रिया हो । यदि यो अवधिमा डिम्ब सेचन भयो भने महिलामा गर्भ धारण हुन्छ र छाउ हुन रोकिन्छ । यति हुँदा पनि हाम्रो मुलुकमा यसलाई नराम्रो दृष्टीकोणले हेर्ने, गलत ब्याख्या गर्ने गरिएको छ । अझै पनि छाउलाई संकुचित रुपले हेर्ने गरेको पाईन्छ । मुलुकको सबै भागमा यो चलन छ ता पनि मध्यपश्चिमी तथा सुदुरपश्चिमी भागहरुमा छाउलाई अलि बढी नै बर्जित गरिएको छ ।

घर देखि आधा किलोमिटरको दुरीमा पानी खाने प्राकृतिक (मुल) पानीको धारा थियो । त्यहाँको पानी हिउदमा तातो र बर्खामा चिसो हुन्थ्यो । खानेपानीको धाराको केही पर छाउ हुँदा नुहाउन धुनको लागि अर्काे एउटा धारा बनाईएको थियो । त्यो धारामा प्रायः लोग्ने मान्छेहरु जाँदैन थिए । हामीहरु भने खानेपानीको धारामा पालो पाईएन र भिंड भयो भने छाउ नुहाउने धारा मै नुहाई दिन्थ्यौं । घरमा थाहा पाए भने गाली खानु पथ्र्यो । त्यो धारामा गाईबस्तुको नाकमा पस्ने जुकाहरु हुन्थे । मुवाहरु पनि छाउ हुँदा अर्कै घरमा बस्नु हुन्थ्यो । उहाँहरु चार दिनको दिनमा नुहाईसकेपछि भित्र आउनुहुन्थ्यो । उहाँहरु बच्चा जन्माईसकेको भएर चार दिनमा भित्र आउन मिलेको रे । दिदी छाउ हुँदा त सात दिनसम्म बाहिरै बस्नु हुन्थ्यो किन भने उहाँले बच्चा नजन्माएको र विवाह पनि नभईसकेको रे । पाको नभएको रे । अचम्मको थियो, छाउ बार्ने नियम पनि ।

दिदी छाउ हुँदा बुवा, दाजु, भाई, बोटविरुवा, गाई भैंसी, फलफूलका रुख विरुवा, तरकारी बारी कतै पनि छुन दिईन्नथ्यो । पानीको धारामा पनि जान मिल्दैनथ्यो । गोरस खान दिईन्नथ्यो । तर भैंसीको हो भने चाही खान दिईन्थ्यो । तीन दिन पछि त गाई भैंसी दुबैको मोही खान दिईन्थ्यो । तीन दिनसम्म खाएका सबै भाँडा बाहिरै हुन्थे । तीन दिन पछि नुहाएर धोईपखाली गरेपछि गहुँत तथा सुनपानी छर्केर घाममा सुकाएर मात्र भित्र लिईन्थ्यो । तीन दिनमा नुहाईसकेपछि त सबैतिर छुन मिल्ने अनुमति हुन्थ्यो । हाम्रो घरमा छाउघर त थिएन तर घर भित्र भने बस्न मिल्दैनथ्यो । घरसंगैको सानो घर (स्थानिय भाषामा आटो) मा बस्न लगाईन्थ्यो । मुबाहरु छाउ हुँदा पनि त्यही बस्नुहुन्थ्यो ।

मैले मुवासंग सोध्थें, छाउ भएको बेला किन घर भित्रै बस्न मिल्दैन मुवा ? किन अरु कसैलाई छुन मिल्दैन ? उहाँ भन्नुहुन्थ्यो, छाउ भएको बेला हाम्रो सरीर अशुद्ध भएको हुन्छ । फोहोर पनि हुन्छ । यस्तो बेलामा गाईबस्तुलाई छोयो भने दुध दिन्नन् । दाजुभाईलाई छोयो भने मोटाउँदैनन्, ज्यान लाग्दैन । जुनी आउदैन । फलफुल र तरकारीबारीलाई छोयो भने किरा लाग्छ, फल कुहिन्छ, राम्रो फल लाग्दैन, विरुवाहरु सुक्छन् । देवदेवताको मन्दीरमा त झन जानै हुन्न, देउता लाग्छ । हामीलाई राम्रो हुदैन । यति सुन्दा मलाई पनि एए…. हो रहेछ भन्ने लाग्थ्यो । किनभने गाँउ भरी नै यस्तै चलन थियो । छाउ हुँदा कोही पनि घरभित्र बसेको देखेकी थिईन र कसैलाई छोएको पनि ।

जब म चौध बर्षमा हिड्दै थिंए । म होस्टेलबाट फर्कें, अनि म घर मै पहिलो पटक छाउ भएं । मलाई थाह थियो, अब मलाई घरमा आउन दिन्नन् भन्ने, त्यसैले घर बाहिरै भाईबहिनीहरुसंग खेल्दै बसें । दिउसोको खाजा खान पनि भित्र गईन । बहिनीलाई भनेर बाहिरै ल्याएर खायौं । जब जब बेलुकी साँझ पर्न थाल्यो, मेरो मनमा डरले डेरा जमाउन थाल्यो, अब के गर्ने । अबेलासम्म बहिनी र म बाहिरै बस्यौं । बहिनीलाई म पहिलो चोटी छाउभएको कुरा सुनाई सकेकी थिएं । उमेरमा पनि हामीमा धेरै भिन्नता थिएन । उनले कुरा बुझ्थिन् । तर कसैलाई छाउ भएको कुराको जानकारी नदिएर भित्र जाने कुरामा भने उनी पनि सहमत भईनन् । त्यसैले मेरो पनि आँटै आएन ।

साँझले कालो च्यादर ओढ्यो । अब त अर्काे उपाय थिएन । हामी फार्महाउसमा थियौं । त्यो घरमा अरु लोग्ने मान्छेहरु थिएनन् । मुवा र साना भाईबहिनीहरु मात्रै थिए । मुवाले भित्र आउनको लागि निकै बेर बोलाईसकेपछि मात्रै बहिनीले दिज्जु भित्र नआउने कारण मुवालाई बताईन् । अनि मुवाले मेरालागि बाहिरै बस्ने ब्यवस्था बनाई दिनु भयो । मलाई नौ दिनसम्म फार्महाउस मै राख्नु भयो । घर आउन दिनु भएन ।  घरमा पनि सबैजनालाई म छाउ भएर घर नआएको कुरा थाह भईसकेछ । मेरो बलले गर्दा नौ दिनको दिनमा घर आउन पाँए । निकै खुशी थिए । तर मनमा एक किसिमको डर पनि । कसैले केही भन्ने हो की ? केही सुनाउने पो हो की ? कसरी सबैको अगाडि जाने होला ? मानौं की मबाट कुनै सानोतिनो अपराध भएको छ, जस्तो मलाई लागेको थियो । तर धेरै दिन देखि घर नआएकाले गर्दा सबैजना मलाई देखेर खुशी भए । म पनि खुशी ।

अन्य आकर्षणहरू

सर्जक पदम गौतमको विश्रामपुर !

यात्रा

यहाँ अझै मानिस बाँकी छन्

नेपालगन्जिया

त्यो जमाना त्यस्तै थियो । अहिले जमाना परिबर्तनसंगै सबै कुरा बदलिएको छ । साथसाथै छाउको परिपाटी पनि बदलियो । अहिले बुझ्दै जाँदा त महिलाहरुको लागि छाउ त एउटा अनौठो ताकत पो रहेछ । सृष्टी कर्ता, अंश र बंश चलाउने, महिलालाई बलवान बनाउने, नयाँ परिबर्तनको संबाहक पो रहेछ छाउ । महिलाको सुन्दरता र निख्खारता पो रहेछ छाउ । यो त महिलाका लागि प्राउड गर्न लायकको विषयबस्तु पो रहेछ । परम्परागत रुपमा हामीले सुन्दै आएको छाउ त हाउगुजी पो रहेछ । यो त पुस्ताबाट हस्तान्तरण हुँदै लम्बिदै आएको चलन पो रहेछ । आमाले छोरी जन्मेर जान्ने भए देखि नै सिकाएको अपचलन पो रहेछ । तर अबको शिक्षित समाजमा यसले असर नपार्नु पर्ने ठान्दछु ।

छाउ एक सक्षम महिलाको लागि प्राकृतिक प्रकृया हो । मानिसमा मात्रै नभई स्तनधारीहरु बाँदर, गोरिल्ला, कुकुरहरुमा पनि छाउ हुने प्रक्रिया हुन्छ । छाउले महिलाको प्रजनन स्वास्थ्य राम्रो छ भन्ने कुराको संकेत गर्छ । यसको आफ्नै निर्धारित समय हुन्छ, जुन मानवीय जीवनकालागि यो अपरिहार्य प्राकृतिक प्रक्रिया हो । यो यति नै बेला देखि हुन्छ भन्ने एकिन गर्न गाह्रो छ । तर पनि साधारणतया छाउ नौ देखि सोह्र बर्षको उमेर भित्र भई सक्छ । ढिलो चाँडो हुने कुरामा कोशोरीको शारिरीक अबस्था र उसको लालन पालन र पालन पोषण अनुसार पनि तय हुन्छ ।

छाउ हुनु भनेको महिलामा प्रजनन समय शुरु भएको संकेत हो । फुल नफुलेर कहाँ फल लाग्छ र फल लाग्नलाई त फुल फुल्नु जरुरी छ । त्यसैले यसको फुल फुल्ने तरिका आफ्नै किसिमको हुन्छ । एउटा रिप्रोडक्टीभ हेल्थको विद्यार्थीको हैसियतले भन्न चाहान्छु, बच्चा हुर्किनको लागि पाठेघरको भित्री सतहमा शारिरीक बनावटले बनाएको एउटा तह हुन्छ । मासिक चक्रको मध्यसमयमा पाठेघरको भित्रि भागमा शिशुको विकासको लागि सहयोग पुर्याउन एक किसिमको सतहको निर्माण हुन्छ । यो निर्माण कार्यलाई सहयोग पुर्याउन सरीरमा प्रोजेष्टेरोन भन्ने हारमोनको उत्पादन हुन्छ र यसैको सहायतले पाठेघरको भित्री सतहमा नरम तह तयार हुन्छ । यो तह पूर्ण विकसित भईसके पछि महिलाको कुनै एउटा डिम्बासयबाट विकसित डिम्ब निस्किन्छ । त्यो डिम्ब डिम्बबाहिनी नली हुँदै पाठेघर तिर आउँछ । ठिक त्यही समयमा शुक्रकिटसंग डिम्बको मिलन हुन गएमा डिम्ब निशेचित भई गर्भ रहन्छ र छाउ हुन पाउँदैन । यदि शुक्रकिटसंग डिम्ब सेचन हुन सकेन भने पाठेघरको भित्तामा बनेको सतहको पनि कुनै काम हुदैन ।  डिम्ब सेचन भएन भने पाठेघरको सतह बलियो बनाउने एस्टोजेन र प्रोजेस्टेरोन हार्माेनको उत्पादन पनि बन्द हुन्छ । अनि सतहका कोषहरु कमजोर भई भत्कन थाल्छन् र रक्तश्राव हुन्छ । योनी हुँदै रगत बाहिर निस्कासित हुन्छ । यसै क्रमलाई महिनावारी या छाउ या छुई या परसर्ने भनेर आ आफ्नो ठाँउ अनुसार नामाकरण गरिएको छ ।

त्यसैले यो छाउ भनेको महिला परिपक्व भएको संकेत हो । यो एक प्रक्रिया हो । यो प्रक्रिया प्रत्यक महिनामा यसरी नै चलिरहन्छ । त्यसैले यो नियमित प्रक्रिया हो । यदि यो अवधिमा डिम्ब सेचन भयो भने महिलामा गर्भ धारण हुन्छ र छाउ हुन रोकिन्छ । यति हुँदा पनि हाम्रो मुलुकमा यसलाई नराम्रो दृष्टीकोणले हेर्ने, गलत ब्याख्या गर्ने गरिएको छ । अझै पनि छाउलाई संकुचित रुपले हेर्ने गरेको पाईन्छ । मुलुकको सबै भागमा यो चलन छ ता पनि मध्यपश्चिमी तथा सुदुरपश्चिमी भागहरुमा छाउलाई अलि बढी नै बर्जित गरिएको छ ।

यहाँ महिनावारीलाई छाउ या छुई भनिन्छ । छाउ भएकी महिलालाई छाउपणी भनिन्छ । छाउपणी बस्ने ठाँउलाई छाउगोठ भनिन्छ । कतै कतै यसलाई छुई पनि भन्ने हुँदा छुई बस्ने घरलाई छुईखुल्ला पनि भनिन्छ । सहरियाहरु त्यही छुई खुल्ला लाई नै छाउपणी भन्ने गर्छन् । तर छाउपणी भनेको छाउ भएकी महिला भन्ने बुझिन्छ । नेपालमा लामा (भोटे) समुदायमा बाहेक अन्य सबै जात जातिहरुले छाउ बार्ने चलन छ । सुदुरपश्चिममा मात्रै छाउको बारेमा चर्को नारा लगाए तापनि शहररियाहरुमा पनि चार दिनसम्म भान्छामा जान नदिने, खाना बनाउन नहुने, सधैं सुत्ने बेडमा सुत्न नदिने, पुजाआजामा सामेल हुन नदिने, मन्दिर जान नदिने चलन अहिले पनि छ । अलग्गै सुत्ने ब्यवस्था शहरिया बाहुनहरुले अहिले पनि गरेकै छन् । किन सुदुरपश्चिममा मात्रै यस्तो चर्काे भयो भन्ने कुरामा यहाँ एउटा सत्य तर्क छ । यहाँका घरमा प्रयाप्त कोठाहरु छैनन् । भएका घरहरु साना छन् । छाउ हुँदा प्रयोग गर्नको लागि प्याड र भित्री लुगा लगाउन र बनाउन जानेका छैनन् । सहजै किन्न पनि पाईदैन । पाईहाले पनि सबैले किन्ने हैसियत राख्दैनन् । प्याड प्रयोग नगर्दा सबै रगत लुगामा बाहिरै देखिन्छ । दिनहुँ फेर्नको लागि सबैसंग प्रयाप्त लुगा पनि हुदैन । यसो हुँदा लाज र घिनको अबस्था आँउछ । छाउपणी आफै संकुचित भई अरुको अगाडि जान असज हुने भएकोले अलि टाढा एक्लै राख्नु पर्ने अबस्था आएको हुन सक्छ । यसो हुनुमा यौन शिक्षाको ज्ञानको अभाव पनि अर्काे कुरा हो ।

तर अहिले छाउलाई पहिला जस्तो छि छि र दुर दुर गरेको पाईदैन । सर्ब प्रथम त महिला आफैले आफ्नो सक्षमता (छाउ) लाई सबै सामु भनि राख्नु पनि जरुरी छैन । आफ्नो सक्षमतालाई  सबैलाई सुनाउँदै हिड्नु पनि जरुरी छैन । आफु राम्रो सरसफाई गरेर स्वस्थ भएर बस्ने । प्याड नपाए सफा पुरानो सुतीको कपडा धोईपखाली गरेर, घाममा सुकाएर प्रयोग गर्ने, नियमित हलचल गर्ने या ब्यायाम गर्ने जस्ले गर्दा पेटका मांसपेशी कसिलो भई ढाड र पेट दुख्न कम हुन्छ । यस्तो बेलामा पोषिलो खाना चाहिन्छ । सकेसम्म पोषिलो खाना खाने । पाठेघरमा असर नपरोस भन्ने हेतुले यस्तो बेलामा कडा परिश्रम गर्नु हुँदैन । यो सक्षमतालाई अक्षमतामा नबदलौं ।

Facebook Comments