परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

आमा र नर्सलाई सम्मान दिन नसक्ने समाज कहिल्यै उँभो लाग्दैन

सन्दर्भ : अन्तर्राष्ट्रिय आमा दिवस

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले केही दिन अघि नर्सलाई आमाको संज्ञाले सम्मानित गर्दै सामाजिक सञ्जालमा ट्वीट गर्दा अलिकति गर्व महशुस भए पनि नर्सिङ कार्यक्षेत्र लगायत समग्र स्वास्थ्य सेवाका बारेमा नेताको ज्ञान यति फितलो हुँदा निकै दुःख लाग्यो । आजको मितिसम्म हामी नर्सहरुले हाम्रा राजनीतिकर्मी तथा विद्वान वर्गमा हाम्रो कार्य दायरा बुझाउन सकेका रहेनछौं भनेर चित्त बुझाउनु बाहेक अरु कुनै कुराले पनि आफूलाई सन्तुष्टि पार्न सक्ने अवस्था छैन ।

मैले जीवनमा जन्म दिने आमा पछि, कर्म दिने आमाका रुपमा नर्सिङलाई पाएको छु । कमला तुलाधर म्याम जसले वीरगन्जमा क्याम्पस प्रमुख भएर अध्यापन गराउनु भयो, उहाँ हाम्रा हरेक कुरा बहुआयामिक हिसावले हेर्ने गर्नुहुन्थ्यो । यस समयमा प्रत्येकका आवश्यकता ख्याल गर्नुहुन्थ्यो, यहाँसम्म कि हामी सानो कलिलो बुद्धिका थियौं, हामीले रोजेको शिक्षकलाई नै पढाउन पठाउनु हुन्थ्यो । उहाँ पछि सावित्री बस्नेत म्याम आउनु भयो उहाँले पनि सोही भूमिका पछ्याउनु भयो । समुदायमा हामीहरूलाई सिकाउन निरीक्षक भएर लाल कुमारी म्याम, अस्पताल नर्सिङको प्राक्टिसमा केशरी शाक्य म्याम, किरण दवाडी म्याम आदिले सही रुपमा एक असल आमाको भूमिकामा आफुलाई उभ्याउन सफल हुनुभयो ।

स्वास्थ्य क्षेत्र र यसका कार्यका बारेमा हाम्रा नेताहरुको बुझाइ सही भएको भए अहिलेको यो महामारीमा जनताको ज्यान बचाउँन राजनीतिक दल र नेताका गतिविधि भिन्न हुनु पर्ने थियो । हिजो आज कोरोनाको दोस्रो विस्फोटक लहर व्याप्त छ, देश आक्रान्त छ । यस्तो राजनीति दलहरुले बेला बेमौसमी नाटक सत्ताका लागि अनेकौं नौटंकी मञ्चन गरिएका कुरुप दृश्यले अनावश्यक मानसिक दवाव जबरजस्त थपिदिएको सबैले महशुस गरिएका छन्।

यति बेला चिकित्सक, नर्स, पारामेडिक, अस्पतालमा कार्यरत कार्यालय सहयोगी, व्यवस्थापक, एम्बुलेन्स चालक, प्रहरी, आर्मी, प्रशासकहरू सबैलाई आफ्नो भूमिका निभाउन ठूलो चुनौति सिर्जना भएको छ ।

छिमेकी राष्ट्र भारतसंग खुल्ला सिमाना भएको, दिनानुदिन त्यहाँ संक्रमितको संख्या र यसबाट हुने मृत्युको दर धेरै नै बढेको साथै त्यहाँका स्वास्थ्य विज्ञहरुले तेस्रो लहरको सम्भावना औंल्याइ रहेका छन् । नेपालमा पनि भारतसंग सिमाना जोडिएका नेपालगन्ज, रुपन्देही, पर्सामा र काठमाडौंमा बढ्दो कोरोनाको बिरामीको चाप, अक्सिजन, अस्पतालका बेड, चिकित्सक, नर्सहरुको अभावले गर्दा स्वास्थ्यकर्मीहरु तहसनहस हुने अवस्था आएको छ।

आजका मितिसम्म गरिएको अथक बौद्धिक तथा आर्थिक लगानी स्वास्थ्य पूर्वाधार, सिकाई, अभ्यास राज्यका बागडोर सम्हाल्ने राजनीति दलहरुको अकर्मण्यता, आपसी खिचातानी, सत्ता स्वार्थ र जनउत्तरदायित्व वोध गर्ने नैतिकताको अभावले सबैकुरा डामाडोल हुने त होइन भन्ने भय उत्पन्न हुन थालेको छ। यति ठूलो राष्ठिट्रय सङ्कटका बेलामा पनि दलहरुबीच विश्वासको अभाव, तिकडमबाजीले गर्दा मूलक एक ढिक्का भएर उच्च मनोवलका साथ कोरोना विरुद्ध लड्ने तागत सिथिल हुँदै गएको छ।

अस्पतालमा खटिएका स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडिक, कार्यालय सहयोगी, व्यवस्थापक, प्रहरी, आर्मी जोकोही पनि मानसिक थकावट महसुस नगरुन्, असुरक्षित महशुस नगरुन भनी आपसरी सहकार्यको आशा जीवित राख्न, मनोभावना उच्च बनाउन सकौं भन्ने उद्देश्यले यससँग सम्बन्धित सरोकारवालाहरुसंग जुम मिटिङ, फोन र प्रत्यक्ष सम्पर्क मार्फत सकारात्मक संदेश दिने बहस चलाउने जमर्को हामी आफैंले गर्नु परिरहेछ। समय समयमा लेख प्रकाशित गर्ने, टेलिभिजन, रेडियोमा सकारात्मक संदेश दिन अन्तरवार्ता दिने पनि गर्नु परिरहेछ । कोरोनासंग लड्न स्वास्थ्य सेवाको भार त छँदैन ।

यसै सन्दर्भमा केन्द्र काठमाडौंमा नर्सिङ संघ पनि तल्लीन छ । कसरीे सहजकर्ता, समन्वयकारी भूमिका खेल्न सकिन्छ भनेर सिङ्गो कार्यसमितिका सदस्यहरु अध्यक्षको नेतृत्वमा दिन रात लागि परेका छन्। साथै सिनियर नर्स, अवकाश प्राप्त नर्स, विद्यार्थी नर्स सबै तह तप्काका विज्ञ नर्सहरू, आफ्नो मातहतका जिल्ला समिति र इकाई समितिलाई क्रियाशील गर्दै बिभिन्न समूह बनाई कोरोनासंग लड्न कस्सिएको छ ।

मातातिर्थ औंसीको सन्दर्भमा मेरी परमधाम बासी, मलाई चौथो सन्तानको रुपमा जन्मदिने, संसार परिचित गराउने, नर्सिङको प्रथम चरणको विद्यार्थी कालमा नर्सिङ विधालाई निरन्तरता दिन आभास गराउने, नर्स बनाउन पाएकोमा गर्व गर्ने मेरी आमा र नर्सिङ पेशामा मलाई हरेक पाइला पाइलामा तातेताते गराउँदै गरीखाने बनाउने गुरुआमा, क्लिनिकल अभ्यासमा दिशा निर्देश गर्ने करुणा मूर्ति, ठूलो हृदय र अदम्य साहस भएका सिनियर साक्षात्कार आमाहरुलाई सम्झेर ‘आमा र नर्स’ केही लेख्ने जमर्को गर्दैछ ।

म्याक्सि गोर्कीले विश्व विख्यात उपन्यास ‘आमा’ मा आफ्नो छोरा पाभालोभालाई आमाले ‘तिमी रक्सी नखाउ छोरा, तिम्रा बाले तिमीहरू दुवै जनाका लागि प्रशस्त खाइसके । उनले मलाई हुनसम्म दुःख दिए, तिमी त आफ्नो आमा माथि दया गर ।’ भनेको संवादबाट मोडिएको कथा त्यसबेलाको रुसी क्रान्ति सफल पार्नमा समेत सफल रह्यो ।

नेपोलियनले आफ्नो शासनकालमा मलाई एउटा असल आमा देऊ म तिमीलाई एउटा राज्य दिन्छु भनेका थिए। त्यस्तै मर्नको लागि त धेरै बाटोहरु छन तर जन्म दिनको लागि एउटा मात्र बाटो छ त्यो हो आमा भन्ने गरिएको छ ।

धर्मशास्त्रको कुरो गर्ने हो भने अभिमन्यु, अष्टावक्र, बामदेव आमाको गर्भबाट नै शिक्षित थिए । रामायणमा रामले लक्ष्मणलाई भनेका थिए, ‘हे लक्ष्मण सुनैसुनले भरिएको भए पनि मलाई लङ्का राज्य चाहिन्दैन। जन्म दिने आमा र मातृभूमि स्वर्ग भन्दा महान छन् ।

पूर्वीय धर्मशास्त्र अनुसार आमा जस्तो अरु कुनै तीर्थ छैन, उनको पूजा गर्नेको इहलोक र परलोक समेत सुध्रिन्छ।

भनिन्छ, दश उपाध्यय भन्दा एक आचार्य, सय आचार्य भन्दा एक पिता, हजार पिताहरुभन्दा एक आमा महान छिन । त्यसैले भन्ने गरिन्छ प्रथम व्यवहारिक ज्ञान दिने असल गुरु आमा नै हुन् ।

पर्सी बैशाख २८ गते मातातीर्थ औंसी हो भने आज आईतबार अङ्ग्रेजी में महिनाको दोस्रो आईतबार अन्तर्राष्ट्रिय आमा दिवस हो । त्यस्तै में ६देखि १२ अन्तर्राष्ट्रिय नर्सिङ सप्ताह पनि हो। यो अन्तर्राष्ट्रिय आमा दिवस अमेरिकाकी मिस अन्ना मेरीको ठूलो प्रयास पछि स्थापित भएको दिन हो।

आज यसकारणले म खुसी छु हाम्रो नेपालमा मात्र विशेष दिन आमाको मुख हेर्ने दिन भनेर मानिने रहेनछ, विश्वमा नै यसरी आमालाई मान्ने गरिएको छ र त्यो पनि एउटै हप्ता परेको छ यसपटक त अन्तर्राष्ट्रिय नर्सिङ सप्ताह पनि यसै हप्ता परेको छ।

खासमा मानव स्वास्थ्यको सवालमा सुक्ष्म रुपमा अध्ययन अध्यापन गराउने अति संवेदनशील, मानवीय, सामाजिक, वैज्ञानिक विषय नर्सिङ हो र त्यो अथाह क्षेत्र समेट्न सक्ने एउटै व्यक्ति खोज्ने हो भने दैवी प्रतिमूर्ति नै आमा हुन।

मैले जीवनमा जन्म दिने आमा पछि, कर्म दिने आमाका रुपमा नर्सिङलाई पाएको छु । कमला तुलाधर म्याम जसले वीरगन्जमा क्याम्पस प्रमुख भएर अध्यापन गराउनु भयो, उहाँ हाम्रा हरेक कुरा बहुआयामिक हिसावले हेर्ने गर्नुहुन्थ्यो । यस समयमा प्रत्येकका आवश्यकता ख्याल गर्नुहुन्थ्यो, यहाँसम्म कि हामी सानो कलिलो बुद्धिका थियौं, हामीले रोजेको शिक्षकलाई नै पढाउन पठाउनु हुन्थ्यो । उहाँ पछि सावित्री बस्नेत म्याम आउनु भयो उहाँले पनि सोही भूमिका पछ्याउनु भयो । समुदायमा हामीहरूलाई सिकाउन निरीक्षक भएर लाल कुमारी म्याम, अस्पताल नर्सिङको प्राक्टिसमा केशरी शाक्य म्याम, किरण दवाडी म्याम आदिले सही रुपमा एक असल आमाको भूमिकामा आफुलाई उभ्याउन सफल हुनुभयो ।

मैले स्नातक अध्ययन गर्दा डाक्टर इन्दिरा सिंह म्याम, सानुमैया श्रेष्ठ म्याम, गीता पाण्डे म्याम, त्यस्तै यहाँ मात्र होइन दक्षिण भारत मैंगलोरमा स्नातकोत्तर अध्ययन गर्दा त्यहाँको क्यम्पस प्रमुख काथियायनी म्याम शान्ता कुमारी म्याम आदिले एक असल गुरुआमाको भूमिकामा पहिचान पेश गर्न सफल हुनु भयो। आजको दिन सम्झनु पर्ने नामहरु धेरै छन्, यहाँ नाम छुट्न गएकोमा क्षमा चाहन्छु । यसरी मैले आमा पछिका आमाहरु खोज्दा नर्सलाई नै पाउने गरेको छु ।

आमा हुन सम्वेदना र व्यवहार दुवै उत्तम हुनु पर्दछ । आज दुखका साथ भन्नु पर्छ– यस्ता आमाहरु र आमा हुन सक्षम महिला मात्र ९९ प्रतिशत नर्सिङ पेशामा हुँदा पनि यो पेशा अपहेलित छ, अन्य पेशाभन्दा पछाडि पारिएको छ ।

शास्त्रमा भनिएको छ, ‘कुपुत्रो जायते क्वचिदापि कुमाता न भवति।’ अर्थात छोरा कुपुत्र भए तापनि आमा कहिल्यै कुमाता हुँदिनन्। वर्तमान परिवेशमा नर्सिङ स्वार्थबस गुट उपगुटमा विभाजित भए तापनि यी आमा रूपी सिनियर नर्सहरु कदापि गलत नर्स हुँदैनन्, अझ यहाँ सानु तुलाधर, विष्णु राई, विजया के सी, तारा पोखरेलहरुलाई पनि म आज उत्तिकै सम्झिरहेको छु, जोसंग कामका सिलसिलामा थुप्रै व्यावहारिक ज्ञान सिक्न पाएँ । त्यस्तै बिपी अस्पताल धरानमा काम गर्दा धेरै कुरो सिक्न अवसर पाएको छु ।

तर अहिले यी आमा रूपी नर्सहरू आतंकित छन् । उनीहरुले सरकारी अस्पतालमा सीमित स्रोत, साधन र जनशक्तिले असीमित काम दिन रात गरी रहनु परेको छ । तर पनि केन्द्रका नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला सङ्घ संस्थाले उचित सहयोग र मूल्याङ्कन गर्न सकिरहेका छैनन् ।

भरतपुर, वीरगन्ज, रुपन्देही, बाँके, काठमाडौं सबैतिर बेहाल छ । तर तालिम, बढुवा आदिमा त्यसलाई मूल्याङ्कनको आधार बनाइएको छैन। त्यसैले धेरैले मन भित्र पीडा भए पनि आमाको भूमिकामा अहिले कोरोना बिरुद्ध आफूलाई युद्दमा होमी रहेका छन् । खै सरकार, खै प्रतिपक्ष, खै स्थानीय सरकार, खै स्थानीय राजनीति दल, सबै राजनीतिक खिचातानीमा नै व्यस्त छन् ।

शायद अहिले आमाको मन रोइरहेछ, कस्तो सन्तान जन्माइएछ भनर । आमालाई चिन्न नसक्ने, आमाले गरेको कामलाई बुझ्न नसक्ने, सायद यिनै कारणले नै होला यसपाली अन्तर्राष्ट्रिय नर्सिङ सप्ताह, अन्तर्राष्ट्रिय आमा दिवस, हाम्रो माता तीर्थ औंसी र अन्तर्राष्ट्रिय नर्सिङ दिवस एकै हप्तामा एकजुट भएका ।

अन्तर्राष्ट्रिय नर्सिङ परिषद्को मुल नारा आगामी स्वास्थ्य सेवाका लागि दर्शन विकास सक्रियता सहित नीतिनियम बनाउन सशक्त आवाजका साथ नेतृत्व गरौँ भन्ने रहेको छ ।

यसरी अब पनि हामी नेपाली नर्सहरू यो बहुआयामिक र विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय विश्व समाजले मानि आएको नर्सिङ पेशालाई उचित सम्मान दिलाउनु छ भने गुट उपगुटमा विभाजित हुने होइन, एउटै छाता संगठन नर्सिङ सङ्घ भित्र समाहित खोज्नु पर्छ ।

त्यसैले आमा र नर्सको उचित सम्मानका लागि आजैबाट हामी जुटेर काम गरौँ, एक अर्का बीच भएको तुस अन्त्य गरौँ। र, आज अन्तर्राष्ट्रिय आमा दिवसका दिन हामी यही हेक्का राखौं– आमा र नर्सलाई सम्मान दिन नसक्ने समाज कहिल्यै उँभो लाग्दैन ।

Facebook Comments