परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

फुटेर होइन जुटेर कोरोना महामारीको सामना गरौं

अस्ति साँझ एक घनिष्ठ मित्रले काठमाडौं नागरिक अस्पतालमा नर्सहरूलाई ज्यालादारीमा र मेडिकल अफिसरलाई आवधिक करार (सेसन) मा राखिएको विभेदकारी कुराको चारै तिरबाट आएको विरोधलाई सम्बोधन गर्ने गरी नर्सिङ सङ्घका तर्फबाट एउटा लेख लेख्न प्रेरित गर्नु भयो।

प्रधानमन्त्रीले बोलेको कुरा अथवा सरकारले जनाएको प्रतिबद्धता हामी सबै नागरिक, पत्रकार, बुद्धिजीवी वर्ग, उद्योग व्यवसायी आदिले लागू गराउन वातावरण सिर्जना गर्ने वा दवाव दिने हुनुपर्दथ्यो । यसका साथै सरकारको नीति तथा कार्यक्रम अथवा प्रतिबद्धतालाई असफल बनाउने कारक तत्वलाई खोजी गरी त्यसलाई समयमा नै सही उपचार गर्न र गराउन दवाव सिर्जना गरिदिने थियो। यो नै असल नागरिकको उत्तरदायित्व समेत हुन आउँछ।

त्यसको लगत्तै भोलिपल्ट दिउँसो इमेज टी भी च्यानेलले के प्रधानमन्त्रीले ५० प्रतिशत जोखिम भत्ता दिने कुरामा तपाईं कति आशावादी हुनुहुन्छ भन्ने कुराबाट वर्तमान परिवेशमा नर्सिङ पेशाकर्मीहरुको बारे जिज्ञासा राखेको थियो।

यी यावत कुराहरुले समयको अभाव हुँदा हुँदै पनि घोत्लिन बाध्य बनायो र यहाँ केही लेख्न लागेको छु।

सबभन्दा पहिला त मलाई अचम्म लागिरहेछ– हामी नेपाली कस्तो संस्कारलाई अनुकरण गरी रहेका छौ? केही समकालीन चरित्रहरु दिमागमा झलझली दौडिए– अरूको खुट्टा तान्ने, अरुहरुमा दोष मात्र देख्ने! अरूले राम्रो मनसायले बोलेको कुरोलाई पनि बटार्ने अनि असफल बनाउन बिभिन्न जालसाजी कुरो बनाउने!

एउटा सानो देश त्यसमा पनि दुई भीमकाय छिमेकी देशबीचको भूपरिवेष्ठित भौगोलिक हैसियत, तठस्थता, मौलिक सार्वभौम राज्यको सिद्धान्तमा अडिग रहनु पर्ने यर्थाथ छ।

मुगल राज्यले आफ्नो कब्जामा राखेर हिन्दु संस्कृतिलाई छिया छिया बनाएको, तत्पश्चात अङ्ग्रेजले कब्जामा राखेर आत्म सम्मानमा धावा बोलेको र धेरै पछि मात्र स्वतन्त्र भै कताकता त्यही अङ्ग्रेज साम्राज्यको दासत्वको धङधङी अचेतन मनमा समाहित गरेको ठूलो गणतान्त्रिक प्रजातन्त्र भएको भारत एकातिर छिमेकीको रुपमा छ भने अर्को तर्फ सामन्ती शासकलाई ढालेर कम्युनिष्ट शासन व्यवस्था मार्फत विश्वको अर्थतन्त्रमा एक छत्र राज गर्न अग्रसर छिमेकी देश चीन छ।

छिमेकी मुलुकहरुका बारेमा यहाँ उल्लेख गर्नुको तात्पर्य यी दुबै छिमेकिले अति ईश्यापूर्णक वर्चस्व कायम गर्न दिने दवाव र रवाफबाट नेपाली शासक वर्ग अछुतो छैनन् । यसकासाथै नेपाली राजनीति दल र शासकहरु युरोपियन युनियन, अमेरिका लगायत अन्य विश्वका शक्तिशाली राज्यहरुले मानव कमीकमजोरी र राज्य सञ्चालन गर्न आवश्यक रणनीति विकास गर्न एउटा अभ्यास गर्ने क्रिडास्थल अर्थात गिनीपिगको रुपमा नेपाललाई प्रयोग गर्दै आएका छन्। राजनीतिक दलहरू मार्फत आम नेपाली समुदायलाई फुटाउ र आ–आफ्नो अभ्यास गर्न सक्दो यिनैलाई प्रयोग गर भन्ने गुरु योजना फलीभूत गराउन अग्रसर छन् । जसका अनगिन्ती उदाहरणहरु हाम्रा सामु छन् ।

तर यो ध्रुव सत्यलाई किन हामी आम नेपाली पढे लेखेका विद्वान, बुद्धिजीवी वर्ग, त्यस्तै पेशाकर्मीहरुले बुझ्न सकिरहेका छैनन् भन्ने कुरा चाहिँ अनौठो विषय भएको छ।

यो सामान्य अवस्थाको नेपालको परिदृश्य हो । अहिले संक्रमणकालीन अवस्थामा गुज्रिएको, आर्थिक बजेट बिदेशी अनुदान र रेमिटेन्सबाट सञ्चालित हुने देश नेपाल राजनीति खिचातानीमा नै अल्झिरहेको छ। यो सम्पूर्ण कुराहरूको ज्ञात हुँदाहुँदै के जोखिम भत्ता दिन्छ र यो सरकारले भनी खिसी टिउरी एकातिर विद्वान वर्गले गर्ने गर्छ भने अर्कोतर्फ माफियाहरु मौका यही हो सक्दो लुट भनेर नेपाल सरकारलाई असहज स्थिति खडा गर्ने, परिबन्दमा पार्ने गुरु योजना सहित संचालित छन।

यस्तो परिदृश्यमा राज्यको चौथो अङ्ग पत्रकारहरू राज्यको संरक्षण गर्ने कि यस्तै अस्थिर क्रिडा स्थलमा राज्यलाई परिवर्तन गर्ने वातावरण सिर्जना गर्नेहरूलाई पक्षपोषण गर्ने? भन्नेमा पनि अन्यौल देखिन्छन् ।

थिति एकातिर मात्र होइन सबैतिर विग्रिएको छ । सरकारी मातहतमा रहेको नागरिक अस्पताल, मिनभवनले नर्सहरुलाई ज्यालादारीमा भनेर गरिएको विज्ञापन आफैंमा उदेक लाग्दो छ?

प्रधानमन्त्रीले बोलेको कुरा अथवा सरकारले जनाएको प्रतिबद्धता हामी सबै नागरिक, पत्रकार, बुद्धिजीवी वर्ग, उद्योग व्यवसायी आदिले लागू गराउन वातावरण सिर्जना गर्ने वा दवाव दिने हुनुपर्दथ्यो । यसका साथै सरकारको नीति तथा कार्यक्रम अथवा प्रतिबद्धतालाई असफल बनाउने कारक तत्वलाई खोजी गरी त्यसलाई समयमा नै सही उपचार गर्न र गराउन दवाव सिर्जना गरिदिने थियो। यो नै असल नागरिकको उत्तरदायित्व समेत हुन आउँछ।

यो विस्फोटक कोरोना महामारीको दोस्रो लहर नियन्त्रण, रोकथाम गर्न र यसबाट संक्रमितहरुको उपचार गर्न र गराउन हामी सबैको दायित्व होइन र?

अब कुरा नर्सिङ पेशाको गर्दछु। सरकार अधिनस्त नागरिक अस्पतालले जुन प्रक्रियाले विज्ञापन निकाल्यो त्यो आफैंमा गैरजिम्मेवारपनको उदाहरण हो । यसले नर्सिङ पेशालाई पूर्ण रुपमा नजरअन्दाज गर्नुका साथै बेइमानी चरित्र समेत प्रदर्शित गरेको छ। यसलाई कुनै पनि आयामबाट सही मान्न सकिन्न। नर्सिङ जनशक्तिको मनोबल बढाउनुको साटो उल्टो झन अपमानित समेत गर्न खोजिएको छ । यस कार्यप्रति नेपाल नर्सिङ सङ्घ घोर आपत्ति प्रकट गर्दछ।

नेपाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पतालले पनि नागरिक अस्पतालले जस्तै नर्स र डाक्टरबीच विभेदकारी विज्ञापन निकालेको थियो । तर चारैतिरको घोर विरोधको कारणले नेपाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले आफ्नो विज्ञापन सच्याएर पुनः निकालेको छ। यो स्वागतयोग्य कुरा हो । यसरी नै नागरिक अस्पतालले पनि तत्काल आफ्नो गल्ती सच्याउनु पर्छ ।

नेपालमा सरकार छ भन्ने महशुस सरकारी तवरबाट मात्र होइन आम नागरिकको तवरबाट पनि गराउन सक्नु पर्दछ। यस्ता गतिविधि माथि खबरदारीका लागि रचनात्मक भूमिका मार्फत सरकारलाई उत्तरदायित्व महसुस गराउन प्रयत्नरत रहनु पर्दछ न कि यो असहज अवस्थामा विदेशीको बुई चढेर अथवा भनौं विदेशी कम्फर्टबल सरकारको बेमौसमी बाजा बजाउने होइन।

यसो भनेर मैले वर्तमान सरकारको अन्ध समर्थन गरेको बिल्कुलै होइन । यो कोरोनाको विस्फोटक कहरको बाध्यात्मक अवस्थामा सरकार परिवर्तन भन्दा पनि जनताको ज्यान जोगाउनु सबैको पहिलो प्राथमिकता हुनु पर्दछ । महामारी, विपद् व्यवस्थापन सबै जुटेर गर्ने हो, एक अर्काप्रति भएको अविश्वास, बैरभाव बिर्सेर यस महासङ्कट कोरोनालाई परास्त गर्नु पर्ने हो।

जब देशमा एक अर्काप्रति शंका उपशंका र खिचातानी हुन्छ त्यसमा कुनै पेशाले पनि सहज तरिकाले काम गर्न सक्दैन। आज त्यसै मनोदशाबाट सबै पेशाकर्मीहरु गुज्रिरहेका छन्। नर्सिङ पनि त्यसबाट अछुतो रहन सकिरहेको छैन। नर्सिङ पेशामा पनि एक अर्काप्रति शंका उपशंका, विभाजित मनोदशाले आक्रान्त पारेको स्पष्ट देखिन्छ। सरकारी अस्पतालमा काम गर्ने नर्सहरुको नर्सिङ सङ्घ सरकारी शैक्षिक संस्थामा काम गर्ने नर्सहरुको नर्सिङ सङ्घ, निजी शैक्षिक संस्थामा काम गर्ने नर्सहरुको नर्सिङ सङ्घ, निजी अस्पतालमा काम गर्ने नर्सहरुको नर्सिङ सङ्घ आदि भनेर छुट्टै नर्सिङ सङ्घ दर्ता गराएर बेमौसमी बाजा बजाउनु उचित कार्य होइन ।

त्यसको साटो इमर्जेन्सी नर्स, ट्रमा नर्स, क्रिटिकल केयर नर्स, मनोविज्ञान नर्स, पेडियाट्रीक नर्स बिभिन्न विषय समेट्ने नर्सहरुको नर्सिङ सङ्घ खोल्दा उचितै होला । त्यसमा पनि एक मात्र ऐतिहासिक अन्तरराष्ट्रिय मान्यता प्राप्त नर्सिङ सङ्घको अति महत्वपूर्ण पदेन सदस्यमा आम नर्सहरुको विश्वासको गोप्य अभीमतबाट विजय प्राप्त नर्स त्यस्तै प्रवृत्र्तीका अन्य समानान्तर नर्सिङ सङ्घको नेतृत्व सम्हाल्नुको नैतिक धरातल के हो बुझ्नु जरुरी छ ।

विभाजित मनस्थिति नर्सहरु माझ माडारिइरहेको वर्तमान अवस्थाको यो एउटा ज्वलन्त उदाहरण हो। यदि यस बेला आम बुद्धिजीवी वर्गले यो कोरोनाको अकल्पिनीय कहर र यसले निम्त्याउने विकराल परिणाम नबुझ्ने हो भने आगामी दिनहरु अझ भयंकर र कष्टकर हुनेछन्। अहिलेको प्रहर आम स्वास्थ्यकर्मीका लागि अति पीडादायी छ, दुखेको घाउमा यसैबेला नुन चुक थपिदिने दुस्कार्य कसैले नगरोस् ।

विगतमा गरिएको सत प्रतिशत जोखिम भत्ताको प्रतिबद्धता पूरा नगरिएको परिवेशमा के हिजो अस्ति घोषित पचास प्रतिशत जोखिम भत्ता दिन्छ र भनेर उल्टो कुरा नगरी विगत के कति कारणले दिएको प्रतिबद्धता पूरा गर्न सकिएन भन्ने समीक्षा गर्दै यसपाली पूरा गराउनका लागि सम्पूर्ण पत्रकार वर्ग, बुद्धिजीवी वर्ग, उद्योग व्यवसायी र आम पेशाकर्मीहरुले सृजनात्मक दवाव दिनुहुन अपील गर्दछु।

हाम्रो विर गोर्खालीको संस्कृतिलाई किन लाक्षी र पानी मरुवा तर्फ उन्मुख गराउन अग्रसर छौं? हामी किन विदेशीको गुलम बन्न उद्दत्त छौं ? हामी आफ्नो संस्कृति र रीतिरिवाजलाई तिलाञ्जली दिँदै अरूको दास झै हिंड्न अग्रसर किन भएका हौं? हरेक नेपाली विशेषगरी नेतृत्वमा रहनेहरुले आफैंलाई सोध्नु पर्ने अहम प्रश्न हो यो।

त्यसैले भन्छु अहिले यो कारोनाको दोस्रो कहर हामीलाई एक सूत्रमा बाँधिन, हाम्रा पुर्खाहरुको सहास र भाईबन्धु बीचको अगाध सम्बन्ध अझ मजबुत बनाउन चुनौतीको रुपमा आएको हो। एक क्रियाशील नर्सको नाताले भन्छु, एकले अर्कालाई बेलैमा चिनौं। सम्पूर्ण स्वास्थ्य पेशाकर्मीहरु समयमा नै एकताको सूत्रमा बाधिएर यो कोरोना परास्त गर्न अगि बढौं, नेपाल नर्सिङ सङ्घ सदा समन्वय र सहकार्यको भूमिका निभाउन अग्रसर छ। हामी त्यसका लागि चौबिसै घण्टा तयारी छांै। कोरोना परास्त गर्न जुटेर जति सहज हुन्छ, त्यो फुटेर सम्भव छैन, हामी स्वास्थ्यकर्मीहरु राजनीतिक दल जस्ता सत्ताको लुछाचुँडीको घिनौना खेलमा नउत्रांै।

अन्त्यमा, नर्सिङ सङ्घ सबै स्वास्थ्य पेशाकर्मीसंग हातमा हात मिलाई कोरोना परास्त गर्ने मोर्चामा सदा डटिरहने कुरामा म विश्वस्त छु।

Facebook Comments