परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

लु बधाई छ नयाँ सरकार बन्ने भयो !

फुटानी

काका ! काठमाडौंमा जात्राको मौसम छ । मानिसहरु बगुन्द्र भेला हुन्छन् । कोरोना भाइरस अर्कै रुप धारण गरेर नेपाल प्रवेश ग¥यो भनेर डाक्टरहर्ले सतर्क, सुरक्षित तवरले जोगिन अनुरोध गरी रहेका छन् । उता प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट नहटाई नछोड्ने दौडमा लागेका माओवादी नेता प्रचण्ड सरकारलाई देको समर्थन फिर्ता लिन नसकेर सुस्केरा हाल्दै दाह्रा किटेर बसेका छन् ।

अरु कुरो छोड भिरघरे भतिज राजनीति कुरो गर ! प्रचण्डलाई पनि बाध्यता छ । भालुको कम्पट छाडौं भने टोक्ला भन्ने डर नछाडौं भने लाजको पसारो । छाड्ना साथ चुनाप घोषणा गर्दिन्छन् । अनि दाह्रा किटेर समर्थन गरेको छ, गरेको छ ! दुःख पनि हरेक खालका आई लाग्छन् ।

त्यै त काका ! ओलीलाई प्रधानमन्त्रीबाट फाल्ने हतारो प्रचण्ड र बाबुरामलाई छ । र जनाधार पनि उनार्कै छैन । निर्वाचनमा गए हुने थियो । कमसेकम अबको चुनापमा चारजना पूर्व प्रधानमन्त्री बढारिने थिए । त्यसपछि प्रतिनिधिसभा र समग्रमा भन्नु पर्दा राजनीतिमै कुस्ताकुस्ती कम हुने थियो । जनताले पत्याएका आम्थे । अरु गोलाखाडी जान्थे ।

त्यति सारो चैं नभन भिरघरे ! प्रचण्डले हार्दै हार्दैनन् । बाबुराम पनि चुनाप जित्नेमा पर्छन् । बरु ओली, देउवा, नेपाल र खनाल हारे भने कुरा बेग्लै हो । गण्डकीमा हामीले काँग्रेसलाई मुख्य मन्त्री बनाउने निर्णय गरेका छौं । कर्णालीमा काँग्रेसले हामीलाई समर्थन गर्छ । अब आउने चुनापमा ओलीको एमाले चौथो पार्टी बन्छ ।

ए… कोक्ल्याँटा बुढा ! ओलीको पार्टीको पिर नगरन । आफ्नो पार्टीको हविगत के हुन्छ त्यो चै भनन !

हेर झुम्री ! हाम्रो पार्टी भरसक पहिलो नभा पनि दोस्रो हुन्छ । कसैले रोकेर रोकिदैन । काँग्रेस र हाम्रो प्रतिष्पर्धा हुन्छ । चुनाप कसरी लड्नु पर्छ भन्ने कुरा हामीले पत्रकार महासंघको चुनापबाट प्रष्ट देखाई सकेका छौं । काँग्रेस र हाम्रो पत्रकारहरु मिलेपछि एमाले वालाहर्को प्रेस चौतारी कसरी बढारियो ! हो त्यसै गरी बढारिन्छ अबको चुनापमा एमाले !

हौ काका ! चुनाप जित्न काँग्रेससंग मोर्चा बन्छ भन्ने ठानेका हौला ‘त्यो कल्पना नगरे हुन्छ । काँग्रेस एक्लै सक्षम छ । सप्पै निर्वाचन क्षेत्रमा हाम्रा उम्मेद्वार जित्ने गरी उठ्छन् । तिमार्को माओवादी तीन सिटमा सिमित हुन्छ । ओलीको एमालेले ३०।३५ सिट, मधेशी दलले २०।२२ सिट, अरु सप्पै हामी जित्छौ ।

कस्तो अमिल्दो र उल्टो विश्लेषण गर्छ यो भिरघरे ! हाम्रो प्रचण्ड काम्रेडले भनेको सुनिनस् । ओलीको पार्टी चौथो बन्छ भनेर । हाम्रो प्रचण्डले बोलेपछि सकियो ।

हेर गफाडि बुढा ! तिम्रो प्रचण्डले भनेको पुग्ने भए त यो सरकार दुई महिना अघि नै ढली सक्थ्यो । नेकपा एमालेको नामोनिसाना राख्ने थिएनन्. । ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफैं प्रधानमन्त्री बनी सक्थे । देउवालाई प्रधानमन्त्री बनाएर भए पनि ओलीसंग बदला लिई सक्थे । तर, मरिच चाउरिए झैं ओलीलाई देको समर्थन सम्म पनि फिर्ता लिन नसकी चाउरिएर बसेका छन् ।

काकीले ठिकै भनिन् ! अब प्रचण्डलाई लड्डु खाए जस्तो सजिलो छैन । भाषन गरेकै ठाउँमा ‘लौ तपाईहर्लाई बधाई छ, नयाँ सरकार बन्ने भयो’ भनेर कुम हल्लाउन जति सजिलो छ नयाँ सरकार बनाउन त्यति नै अप्ठ्यारो छ । भारतका लागि कमफर्टेवल सरकार बनाउँछु भन्ने प्रचण्ड र नेपाली जनता साथै नेपाल राष्ट्रलाई कमफर्टेवल हुने सरकार बनाउँछु भन्ने ओलीबिचको भिन्नता नेपाली जनताले छुट्याउँछन् ।

भतिज ! तेरो यो कुरो चै वाइयात हो । तिमारु काँग्रेसहरु सरकारको नेतृत्व गर्न नसक्ने भएपछि ओलीलाई हाइसन्चो भाको छ । हाम्रो माओवादी जतिको त्यागी पार्टी कुनै छैन । तिमारुलाई प्रधानमन्त्री, मुख्य मन्त्री दिदा पनि नहुने ! बडो गज्जबको छ काँग्रेसी नेतृत्व ।

हाम्रो काँग्रेस भनेको समुद्र हो काका । तिमार्को माओवादी भनेको खहरे हो त्यो पनि सुकी सक्यो । अब काँग्रेसलाई नफकाए हुन्छ । देउवा दाइलाई होइन रामचन्द्र दाइलाई बोक्यौ भने तिमारु पुग्नु पर्ने ठाउँमा ठ्याक्कै पुग्छौ । अहिले रामचन्द्र पनि देउवा प्रधानमन्त्री बने आफू पार्टी सभापति बन्ने थिएँ भन्ने सोचमा छन् । तर, रामचन्द्र सभापति र प्रचण्ड प्रधानमन्त्री यो जुनीमा त गाह्रै …!

मलाई रिस उठ्ने कुरो नगर भिरघरे । हाम्रो वाइसिएल ब्यूँझी सक्यो । पहाडका दुर्गम गाउँ र घरहरुमा ०५७।०५८ सालतिरकै जस्तो दवदवा सुरु भईसक्यो । हाम्रो समर्थन गर्नेहर्लाई राम्रो हुन थाली सक्यो ।

भनेपछि फेरि चन्दा आतङ्क, लुटपाट, काटकुट, गाउँलेको उठीवास अनि सुराकीको आरोप लगाएर सोझा गाउँलेको सफाया गर्न थाले भनेको काका !

हो । राजनीतिमा साम, दाम, दण्ड भेद अपनाउनै पर्छ । त्यसो नगर्ने हो भने नेपालीले हाम्रो अस्तित्व नस्वीकार्ने पक्का छ । तर, अबको क्रान्ति भनेको पहिला जस्तो भारतको काखमा बसेर गरिदैन । नेपालमै बसेर गरिन्छ ।

लु काका ! अब तिमारुबाट आन्दोलन होइन दुर्गम गाउँमा सानोतिनो लुटपाट मात्र हुन्छ । नेपाली जनताले तिमारुलाई अब नराम्रोसंग लखेट्छन् । ०५७।०५८ का जस्ता जनता अब नेपालमा छैनन् । यो त ०७८ साल हो काका ! सपका हातमा मोवाइल फोन छ । ठाउँ ठाउँमा सिसी क्यामेरा जडान गरिएका छन् । पहिला पो केही थिएन । अब त्यस्तो सहज नठान ।

क्रान्ति भनेको प्रचण्ड काम्रेडको योजना अनुसार हुन्छ भतिज । काम्रेडले आव्हान गरेपछि सबै क्रन्तिमा भागलिन आउनै पर्छ ।

लु काका ! तिम्रा यस्ता पाङ्दुरे कुरा सुन्दिन । लागें अब उभिण्डेतिर ।

जै नेपाल !

Facebook Comments