परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

साह्रै भयो दुःख र कष्ट पाएँ

बुढ्यौली कविता शृङ्खला - २९

त्यो कोरना खोप जसै लगाएँ

साह्रै भयो दुःख र कष्ट पाएँ

नसा र गाँठा कर कर्र गर्दै

ज्वरो बढेको छ शरीर काँप्दै ।१

 

लाऊँन्न भन्थेँ करले लगाएँ

पीडा भए छट्पट धेर पाएँ

दुख्दैन भन्थे कति दुःख हो यो

बुढो नसो झोलिन फेरि थाल्यो ।२

 

थिएँ त सन्चै म अगाडि सम्म

बायाँ दुखी हात भयो अचम्म

केही मिठो हुन्न न भोक लाग्छ

बेकार लाएँ कि सुई भएछ ।३

 

कालो यही रोग बढी सतायो

फर्केर यो रोग परन्तु आयो

लगाउनू पर्छ सुई बुवाले

छोरा र छोरी सब भन्न थाले ।४

 

होला कि सन्चो कि त रोग बढ्ने

शंका र सन्देह यही छ लाग्ने

बिमार केही पहिले थिएन

हाम्रो जमाना जति यो रहेन ।५

 

पहाड पाखा दिनरात हिँड्थेँ

बोकेर भारी तलमाथि गर्थेँ

अन्य आकर्षणहरू

हाम्रो गणतन्त्र कस्तो होस् ?

बाल कविता – शान्ति गीत गाऊँ

काम केही हुँदैनन्

सन्तान यस्ता न दे

भेट्न आए मलाई

मैले न ता औषधि गर्नु पर्थ्यो

जाबो रुघा ठीक उसै गरिन्थ्यो ।६

 

शरीर लाटो सब हाड वृद्ध

सम्झेर आफैं मन हुन्छ क्रुद्ध

यस्तो भयो यो वय चिप्लिएर

बस्ने बनायो अति खुम्चिएर ।७

 

खेती किसानी जन गर्न जुट्थे

खाएर खाना तन शुद्ध राख्थे

र गाउँ पाखा भर पोखिएर

सत्कर्ममा जीवन जोतिएर ।८

 

नानाथरी खाद्य मिलाइ खाए

नचाहिँदो रोग अनेक ल्याए

आफ्नो छ भान्सा यदि शुद्ध हाम्रो

रहन्छ राम्रो अनि स्वास्थ्य राम्रो ।९

 

मनुष्य हो यो अब सोच फेरि

आफ्नै चलाऊ चलनादि हेरी

बेकार जान्छौ लज होटलादि

बोकेर फिर्छौ किन रोग आदि ।१०

 

 

छन्द :- उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)

 

( ८० वर्षिय वृद्धको कोरोना भ्याक्सिन सुई लिएपछि बढेको दुखाइ र अनुभवमा आधारित )

Facebook Comments