परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

पानी दिएँ आखिर

बुढ्यौली साहित्य शृङ्खला - २७

हे तारा किन आज यो धरतिको नाता टुटायौ भन

मेरो साथ छुटाइ आज कसको साथी भयौ लौ भन

यत्रो वर्ष सँगै रहेर घरको जिम्मा लिए ता पनि

साथी चित्त बुझेन हो कि किन हो फेर्यौ अरे बैगुनी ।१

 

तिम्रा साथ बिताइयो पल तिनै ताजै छ छातीभरि

साथै सातवटा बिते दशक यी नाच्दै छ आँखाभरि

तारा नाम थियो तथापि घरकी आफैं थियौ स्वामिनी

नाता बन्धन खै यता सब रहे तारा भयौ के गरी ?२

 

यो मेरो घरको र यो छ परको सामान हेक्का थियो

भाले बास्न नपाउँदै उठ भनी बोल्ने कहाँ यन्त्र त्यो

सारा काम सकेर खेत घरका मेलो सकी बाहिर

हाँसो साथ पसेर भित्र घरमा नाच्थ्यौ तिमी छम्छम ।३

 

आजैका दिनदेखि जीवन यता एक्लो भयो हे शिव

तारा जीवनकी प्रकाश पथकी गुम्दा भएँ विस्मित

छोरा नाति पनाति छन् तर सबै बस्ने निजी खोरमा

यो सानो मुनिया चरा उडिगयो बस्दैन रे खोरमा ।४

 

मेरो नै करबाट सिन्दुर अघि पैह्रेर आयौ घर

मेरै यो करबाट अग्नि म दिऊँ जाऊ उतैको घर

जेठो नै म थिएँ यही जनममा कान्छो हुनेछू अब

थोत्रो देह त्यजेर नूतन लियौ त्यस्तै म हूँला अब ।५

 

यो संसार असार हो बुझ सखे हामी कुनै नर्तक

पर्दा झर्नु अगाडि खेलकुदका पाटो गर्यौँ मञ्चन

मेरो वृद्ध उमेर यो छ पिजडा थोत्रो छ तिम्रैसरि

खुल्ला गर्न सवार हुन्छ हरिको थाहा हुनू के गरी ।६

अन्य आकर्षणहरू

को सुन्छ मर्का यहाँ ?

बुढ्यौली, पुत्र मोह र पीडित आमा

अचम्मको जीवन लाग्न थाल्यो

चस्मा हरायो 

कर्णाली महिला र खोकी

 

पानीको अँजुली म दिन्छु पहिले माया भुलेको भए

जम्मै दान र पुण्य कर्म अबका गर्नेछु हेर्दै गरे

एक्लै बस्न थिएन सोच मनमा यस्तै दियो दैवले

बोकी लाश हिँडूँ कि भन्छ मनले जस्तो गरे शैवले ।७

 

बाँचुन्जेल गरेन ओखती कुनै भेटेन रोगी हुँदा

तातो गाँस मिलेन भोक तनमा लाग्दा कटक्कै हुँदा

तेस्ता पुत्र भए र सम्पत्ति भए के को धनी मानिस

आमा बा किन सम्झने बखतमा यस्तै छ हाम्रो सुत ।८

 

तिम्रा हात चलेर भोजन बने मिल्थे सबै तत्त्व ती

खाना अन्न र वस्त्रको सब यथा राखेर सर्जाम ती

आँखामा भलका शिवाय छ भने तिमै यता तस्बिर

जाऊ मुक्त भएर स्वर्ग पुरमा पानी दिएँ आखिर ।९

 

जे जे यो मनमा थियो कलमले लेखेर सक्ला र के

छातीमा कति चित्र छन् प्रणयका कोरेर बन्ला र के

जोडा साथ थियो गयो विरहको खोलेर दैलो अघि

धेरै के कविता गरौँ म मनको रित्तो डुङ्गामा चढी ।१०

 

छन्द :- शार्दूलविक्रीडित

(९० वर्षीय श्रीमान्ले मृतक श्रीमतीको देहमा आगो र अन्तिममा पानी दिँदै गर्दा घाटमा)

Facebook Comments