परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

वृद्धवृद्धा नेपाली समाजका सामाजिक धरोहर हुन

संसारसंगै नेपालमा पनि वृद्धवृद्धाको जनसंख्या बढ्दो क्रममा छ । सन् २०१९ को तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्याको नौ प्रतिशत ६० बर्षभन्दा बढी उमेरका वृद्धवृद्धा रहेका छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ६० बर्ष उमेर माथिका ब्यक्तिहरुलाई जेष्ठ नागरिक मानिन्छ । सरकारी तथ्याङ्क अनुसार पनि नेपालमा वृद्धवृद्धाको संख्या प्रतिवर्ष करिब चार प्रतिशतले लगातार रुपमा बढिरहेको देखिन्छ । बिभिन्न अनुसन्धानले नेपालमा पारिवारिक संरचनामा आएको परिवर्तन, आधुनिकीकरण, हेरचाहकर्ताको अभाव र उनीहरुमा देखिने दीर्घकालीन रोगहरुले गर्दा वृद्धवृद्धाहरुको गुणस्तरीय जीवनमा कमी आएको पाइन्छ ।

सामान्यतः नेपाली समाजमा वृद्धवृद्धालाई सम्मानजनक ब्यवहार गरिन्छ र वृद्धवृद्धाको स्थान उच्च रहेको छ । प्रायः घर परिवारमा वृद्धवृद्धालाई घरमूलीको रुपमा हेरिन्छ । घरका साना देखि ठूला निणर्यमा उनीकै हात रहेको हुन्छ । नातिनातिनीको हेरचाह गर्ने, आफ्नो अनुभव र सीप बाड्ने, आर्थिक तथा घरायासी क्रियाकलापमा सहयोग गर्ने, आफ्नो धर्म, संस्कृति र जातिको कला, संस्कृति एवम् परम्परा जगेर्ना गर्ने र त्यसको निरन्तरताका लागि आउँदो पुस्तालाई हस्तान्तरण गर्ने काम उनीहरुकै मानिन्छ ।

परिवार र समाजमा वृद्धवृद्धाको विशेष स्थान र महत्व हुन्छ । त्यसैले हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रले नै उनीहरुको हेरचाह, रेखदेख र सम्मान गर्नु पर्छ । बिभिन्न संस्कृतिक समुदायमा वृद्धवृद्धाको स्थान र भुमिका अझ बढी रहेको छ । जस्तै ताम्बा, लामा, फेदाङ्गमा, भाक्री, चोहो, गुभाजु, वैध वा पण्डित, मौलाना आदि । यसरी विशेष दक्षता र सीपहरु भएका वृद्धवृद्धा समुदायमा थप सम्मानित हुन्छन् । कतिपयले धार्मिक संघसंस्था जस्तै नेवाः गुठी र सामाजिक संस्थाको नेतृत्व पनि गर्ने गर्दछन् ।

वृद्धवृद्धाको हेरचाह र पालनपोषण

परम्परागत रुपमा नेपालमा वृद्धवृद्धाको पालनपोषण र हेरचाहको जिम्मा छोराछोरीहरु माथि नै जान्छ । यसलाई नेपाली समाजले आफ्नो पारिवारिक दायित्वका रुपमा स्वीकार गरेको पाइन्छ । सामान्यत वृद्ध आमाबुबाको हेरचाहको जिम्मा छोराहरुमा रहन्छ । तर हिजोआज भने छोरीहरुले पनि उत्तिकै जिम्मेवारी बहन गरेका उदाहरणहरु देखिन्छ । तर आधुनिकीकरण, कामकाजी जीवनशैली, शिक्षा र रोजगारीका लागि विदेसिने बढ्दो क्रमले र पारिवारिक संरचनामा आएको परिवर्तन संगै बुढाबुढीहरु एक्लै बस्न बाध्य हुन थालेका छन् ।

केही समय अघि एकलिएका वृद्धवृद्धा हेरचाहको दायित्व सम्बन्धी विधेयक पारित भएसँगै सहारा विहिन वृद्धवृद्धाको हेरचाह र पालनपोषणको दायित्व स्थानीय सरकारले लिनुपर्ने भएको छ । केही अध्ययनले पहाडी जनजाति र दलित समुदायमा वृद्धवृद्धाको पोषणको अवस्था निकै कमजोर रहेको देखाएका छन् ।

वृद्धवृद्धाको योगदान

वृद्धवृद्धा भनेका ज्ञान र सीपका भण्डार हुन् । उनीहरूमा रहेका परम्परागत र आदिवासी ज्ञान, सीप र अनुभव परिवार र समाजका लागि प्रेरणा र मार्गदर्शक बन्न सक्छन् । वृद्धवृद्धासँग धेरै लुकेका ज्ञान र सीपहरु हुन्छन् । उहाँहरुको योगदान बुझ्न यो उखान काफी छ ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ । जसको सदुपयोग गर्ने हो भने परिवार र समाजलाई मात्रै नभएर सम्पूणर् राष्ट्रलाई नै लाभ पुग्छ, जस्तै, हिमाली र पहाडी गाउँमा परम्परागत रुपमा बनेका पानी घट्ट, झोलुङ्गे पुल र तुइनहरु हाम्रा पूर्खाहरुसँग भएका प्राविधिक सीपको सार्वजनिक प्रमाण हुन ।

हाम्रो समाजमा परम्परागत रुपमा प्रचलित वृद्धवृद्धाका भूमिकाहरु उदाहरणीय छन् । हाम्रो जस्तो बकितम समाजमा वृद्धवृद्धाले इतिहासकार, कथाकार, प्रवक्ता, पित्री वा कूलका ब्याख्याताका रुपमा पनि काम गर्ने गर्दछन् । धामीभाँक्रीहरुले रोगको उपचारकर्ता, स्वास्थ्य सम्भारकर्ता र मनोसामाजिक परामर्शदाताको रुपमा धुपध्वाँर, मन्त्रादी र जडिबुटीजन्य औषधिहरु दिन्छन् । पण्डित र लामाले जन्मदेखि मृत्यु संस्कारसम्मका सबै कर्म गर्ने र धर्म प्रवद्र्धन गर्दछन् । गाउँ समाजको नेतृत्व, विवाद समाधान र समाज परिचालन गर्ने काम पनि गर्छन् । तर हरेक क्षेत्रमा महिलाको स्थान फरक, लंैगिक भिन्नता र विभेद पनि रहेका छन् ।

स्वाभाविक रुपमा वृद्धवृद्धा आफ्ना अनुभव र मनका कुराहरु सुनाउन चाहन्छन् । जीवनमा आर्जन गरेको ज्ञान, भोगाई, कथाब्यथा र सीप आफु जीवितै हुँदा अरुलाई बाँड्न चाहन्छन् । पछिल्लो चरणमा कतिपयले त्यसलाई लेखेर कीर्तिका रुपमा छोडेर जाने गरेका छन् । उनीहरुको ज्ञान र सीपलाई विभिन्न लोकविधि र माध्यमबाट दस्ताबेजीकरण गर्न सके भावी सन्तति र राष्ट्र नै लाभान्वित हुन सक्छ ।

स्वास्थ्य र सामाजिक हेरचाह

नेपाली संस्कृति र समाजमा उच्च सम्मान पाएका वृद्धवृद्धाको स्वास्थ्य र मानोसामाजिक अवस्थाको विमर्श गरौँ । वृद्धवृद्धामा प्राकृतिक रुपमा नै आँखा कमजोर हुने, दाँत, ढाड, कम्मर दुख्ने, घुँडा करकर खाने आदि शारीरिक लक्षणहरु देखिन्छन् । साथै निन्द्रा नलाग्ने, खाना नरुच्ने, एक्लोपन महसुश हुने हुन्छ । कतिपय महिलामा स्तन तथा पाठेघरको क्यान्सर, आङ खस्ने र दुवै अङ्गमा दीर्घ रोगहरु पनि देखिन सक्छन् । खानपीन र जीवन शैलीका कारण कतिपयसंग त बिभिन्न प्रकारका कडा र नसर्ने रोगहरु समेत हुन्छ । ती रोगको उपचारका साथै विशेष स्याहार गर्न आवश्यक छ ।

अल्जाइमर्स र डिमेन्सीया जस्ता रोगहरु पनि भएमा त्यसका लागि परिवारले निकै ख्याल गर्नु पर्दछ । यस्तो रोग भएमा पाका मानिसको स्मरण शक्ति हराउने, निणर्य शक्ति हराउने, बेसुरे हुने आदि हुन्छन् । कतिपयले त आफ्नै परिवारका मान्छे नचिन्ने र खाना तथा औषधि खान समेत अरुले सम्झाउनु वा सघाउनु पर्ने हुन्छ । बुढ्यौली उमेरमा देखिने अल्जाइमर्स र डिमेन्सीया जस्ता रोगहरुको खासै उपचार पनि छैन । यस अवस्थामा परिवारको साथ र सहयोग अति आवश्यक छ । यसबाट उत्पन्न हुने मनोसामाजिक र आर्थिक भार ठूलो हुन्छ । यसले वृद्धवृद्धाको खुशी क्रमशः खोस्दै जान्छ र परिवारमा कष्ट थपिदिन्छ ।

अधिकांश वृद्धवृद्धाको दैनिक सरसफाई, खानपीन र स्याहार महत्वूणर् हुन्छ । पचाउन सजिलो, सादा, सफा, तागतिलो, रुची र स्वाद अनुसारको खाना जस्तै ढिँडो वा सिस्नो खोजी दिने गर्दा उनीहरु खुशी हुन्छन् । मरेपछि पिण्ड र दान गर्नुभन्दा जिउँदो हुँदै मन लागेको खानेकुरा खान दिने र उनीहरुको इच्छा पुरा गरिदिँदा पक्कै पनि बढी पुन्य प्राप्त हुन्छ । कतिपय वृद्धवृद्धा भने खेतिपातिमा काम गरेको र जीवनभर प्राकृतिक र विषादिरहित खानपिनका कारण पाको हुँदासम्म पनि सक्रिय र तन्दुरुस्त हुन्छन् ।

वृद्धवृद्धामा दीर्घ रोग, आँखा वा कान कमजोर भए आवश्यक निदान र उपचार गर्नुपर्छ । चस्मा, लौरो, श्रवणयन्त्र, ह्वीलचेयर आदिले उनीहरुको जीवनचर्या केही सरल गर्न सक्छ । कतिपय स्थानमा अत्याधिक हिमपात, आँधीबेरी, शीतलहर। अन्य वातावरणीय र प्राकृतिक विपत्ति पर्दा उहाँहरु नै बढी प्रभावित हुने गर्छन् ।

अर्कोतिर पर्याप्त सरकारी नीति र भौतिक रुपमा अपाङ्गतामैत्री पूर्वाधार नभएको हाम्रो देश र समाजमा अपाङ्गता भएका वृद्धवृद्धाको जीवन थप कष्टकर र जटिल छ ।

कोरोना र बुढ्यौली

संसारभर र नेपालमा पनि कोरोनाबाट खासगरी वृद्धवृद्धा र दीर्घरोगीहरु बढी प्रभावित भएका छन् । कमजोर र कडा रोगबाट ग्रस्त भई कुनै प्रकारका शल्यक्रिया गरिसकेका र औषधि सेवन गरिराखेका भए त झन सतर्कता जरुरी छ । तसर्थ जेष्ठ नागरिकहरुलाई अनावश्यक रुपमा भिडभाडमा जान र अन्य मानिसहरुको सम्पर्कमा आउन नदिएको राम्रो हुन्छ । घरभित्र पनि विशेष व्यवस्था र हेरचाह गर्नुपर्छ । घर बाहिर निस्कनै परेमा मास्क र थप सतर्कता आवश्यक हुन्छ । यो उमेरमा लड्ने र चोट पटक लाग्ने डर पनि धेरै हुन्छ । जाडो याममा मौसमी ज्वरो, रुघाखोकी, न्युमोनिया र अन्य रोगहरुले पनि सताउन सक्ने हुँदा पाका मानिसहरुको विशेष ख्याल गर्नुपर्छ ।

कसैलाई कोरोना भएको वा त्यसकै कारणले मृत्यु भएमा हेला र अपराधीकरण नगरी सबैले सहयोग गर्नुपर्छ । हाल कोरोनाका खोपहरु प्रयोगमा आइसकेका छन् । यसको सहज उपलब्धता र विश्वासनियतालाई ख्याल गर्दै होशियारी अपनाउनु जरुरी छ । तर नेपाल सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप तत्काल दिलाउन उत्तम नै हुन्छ ।

यस वर्ष कोरोनाले विश्वकै अर्थतन्त्र चार दशमलव चार प्रतिशतले खुम्चिने अनुमान छ । जसले दश कारोड मानिसहरु गरिवीमा धकेलिनेछन् । यसको प्रत्यक्ष प्रभाव धेरै परिवार र त्यसमा पनि वृद्धवृद्धामा पर्ने सम्भावना छ । महामारी, दैवी प्रकोप र विपत्तिमा पनि उनीहरु नै सबैभन्दा बढी जोखिममा हुने हुँदा विशेष निगरानी र तत्कालै सहायता गर्न जरुरी हुन्छ । पूर्वतयारीको क्रममा पनि उनीहरुको औषधि, चस्मा, लौरो, श्रवणयन्त्र र ह्वीलचेयर जस्ता सहयोगी सामग्रीहरु बिर्सनु हुँदैन ।

सामाजिक-आर्थिक सवाल र समाधानका उपाय

आर्थिक रुपमा विपन्न वृद्धवृद्धालाई सामाजिक सद्भाव, आर्थिक सहयोग र कल्याणकारी कार्यको खाँचो छ । कमजोर आर्थिक अवस्थाका कारण अरुको सहारामा बस्नु पर्दा जीवन कठिन हुन्छ । सरकारी, सार्वजनिक वा अन्य सेवाबाट सेवानिवृत र बलियो आर्थिक अवस्था भएका वृद्धवृद्धा एकाध परिवारका मात्र होलान । तर आम रुपमा हेर्दा वृद्धवृद्धा चरम आर्थिक मारमा परेका छन् । यसले मनोसामाजिक रुपमा पनि कमजोर र असुरक्षित महसुश गराउन सक्छ । एक्लोपन, मानसिक तनाव, चिन्ता र असुरक्षाको अवस्थामा मनोसामाजिक परामर्श र सहयोगको खाँचो हुन्छ । शारीरिक अपाङ्गता भएमा राज्यद्धारा उपलब्ध हुने सरकारी परिचय पत्र र सुविधाको चाँजो मिलाउनुपर्छ । हरेक ज्येष्ठ नागरिकहरुले पाउने वृद्धभत्ता र विधवा महिला भएमा पाउने सरकारी सामाजिक सुरक्षा र अन्य सुविधा अति न्युन छ । अपाङ्गमैत्री पूर्वाधार र परिवारको साथसहयोग अनिवार्य छ । हाम्रो समाजमा अपाङ्गता र दीर्घरोगलाई अघिल्लो जन्मको फल भनी अझै पनि लुकाउने चलन भएकोले त्यस किसिमको अन्धविश्वासलाई पनि तोड्नै पर्छ ।

नेपालमा सामाजिक रुपमा गरिने हेरचाहको कुरा गर्दा सरकार, ब्यपारीक, धार्मिक र कल्याणकारी संस्थाले खोलेका केही वृद्धाश्रम, दिवा स्याहार केन्द्र वा धर्मशालामा राख्ने चलन छ । कतिपय कार्य ब्यस्तताको कारणले वृद्धवृद्धालाई त्यहाँ पठाउन बाध्य भएको बहाना देखाउँन भने अर्काथरीले बोझका रुपमा लिने गर्दछन् । तर धेरै समुदायमा वृद्ध अवस्थाका बुवाआमालाई वृद्धाश्रममा राख्ने अभ्यास लगभग छैन भन्दा हुन्छ । छिटपुट रुपमा घरपरिवारका सदस्यबाट हेला, दुव्र्यवहार र यातना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । त्यस्तो अवस्थामा त्यसको उचित व्यवस्थापन र उपचारको व्यवस्था गर्नु पर्छ । संयुक्त परिवारमा बालबालिकाहरुलाई वृद्धवृद्धासँग बस्न, खेल्न र समय बिताउन दिएमा वृद्धवृद्धाको समय काटिने र नयाँ पुस्ताले पनि धेरै कुराहरु सिक्ने अवसर हुन्छ ।

पाका उमेरका वृद्धवृद्धासंग विभिन्न सांस्कृतिक र प्राविधिक खालको ज्ञान र सीप भएकोले त्यसलाई सङ्कलन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा संस्कृति र परम्परागत ज्ञानको समेत जगेर्ना हुन्छ । परिवारमा भएका जिउँदा इतिहास जेष्ठ नागरिकहरुको रेखदेख गर्ने दायित्व मूल रुपमा परिवारजन कै हो । तर राज्यले बनाउने नीति र लागू गर्ने सामाजिक सुरक्षा, कल्याणकारी र राहतका कार्यक्रमहरु पनि उतिकै महत्वपूणर् हुन्छ ।

त्यसैगरी वृद्धवृद्धाका लागि यातायातमा दिइने भनिएको ५० प्रतिशत भाडा छुट र समय सापेक्ष वृद्धभत्ताको रकम बढाउन आवश्यक छ । जेष्ठ नागरिक कल्याण कोष र जेष्ठ नागरिक स्वास्थ्य उपचार सेवा लगायत अन्य सामाजिक सुरक्षाका नीति तथा कार्यक्रम पनि आवश्यक हुन्छ । उनीहरुको स्वास्थ्यमा पहुँच र अधिकार निश्चित गर्न विश्वब्यापी स्वास्थ्य सेवाको नीति लागू हुनुपर्छ ।

बेलाबखतमा खुवाइने खाना र बाँडिने कपडा केवल राहत मात्र हुन् । कहिलेकाँही स्वास्थ्य जाँच्न भन्दा नियमित रुपमा निगरानी गरी कुनै किसिमको रोग ब्याधि भएमा तत्काल उपचार गर्न सकिन्छ । उपचारका नाममा आधुनिक अस्पतालमा लगेर चिरफार मात्र होइन सांस्कृतिक रुपमा लामा, आम्ची, धामीझाक्रीसंग लगेमा पनि लाभदायक हुन सक्छ किनभने विभिन्न समुदायमा स्वास्थ्यलाई केवल भौतिक रुपमा मात्र नहेरी बहुआयामिक, जैविक, भावनात्मक र सांस्कृतिक रुपमा पनि हेरेको हुन्छ । अर्कोतर्फ मन शान्तिका लागि ध्यान, पूजापाठ, इच्छा अनुसारको तीर्थब्रत गर्न लगेमा धेरै लाभदायक हुन सक्छ ।

बृद्धबृद्धालाई केवल दयाको पात्र नसम्झी विगतमा गरेको योगदानको कदर र सम्मान गर्दै पुरस्कृत गर्ने परिपाटी बसाउनुपर्छ । उनीहरुसंग कुरा गर्ने वा कुरा सुनिदिने गर्नाले पनि फाइदा गर्छ । यदि कसैमा धुमपान (हुक्का, चिलीम, सुर्ती, खैनी), चाडवाडको नाममा मदपान र अन्य कुलत भएमा त्यसलाई छुटाउने काम गराइदिए राम्रो हुन्छ । यसले बढ्दो दीर्घ रोगहरु र अन्य स्वास्थ्य समस्याहरु पनि कम गर्न मद्दत गर्छ ।

पाका उमेरका वृद्धवृद्धासंग विभिन्न सांस्कृतिक र प्राविधिक खालको ज्ञान र सीप भएकोले त्यसलाई सङ्कलन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्न सकेमा संस्कृति र परम्परागत ज्ञानको समेत जगेर्ना हुन्छ । परिवारमा भएका जिउँदा इतिहास जेष्ठ नागरिकहरुको रेखदेख गर्ने दायित्व मूल रुपमा परिवारजन कै हो । तर राज्यले बनाउने नीति र लागू गर्ने सामाजिक सुरक्षा, कल्याणकारी र राहतका कार्यक्रमहरु पनि उतिकै महत्वपूणर् हुन्छ ।

आजका हरेक युवा भोलिका वृद्धवृद्धा हुन् त्यसकारण आफूले भोलि कस्तो दिन भोग्ने भन्ने मनन् गरी आजका पाकाहरुलाई व्यवहार गरे सबैको जीवन सरल हुन सक्छ । वृद्धवृद्धालाई उनीहरुको जाँगर र सीप अनुसारको काममा ब्यस्त राख्न सकियो भने पनि उनीहरु शारीरिक र मानसिक रुपमा स्वस्थ रहन मदत पुग्छ । तसर्थ वर्षको एकदिन दिवस मनाउने नभएर हरेक दिन वृद्धवृद्धाहरुको सम्मान गरौं ।

Facebook Comments