फागु संस्कृति र पर्व
कविता (छन्द: शार्दूलविक्रीडित)
हर्षोल्लाष हुँदै गयो धरणमा छायो बसन्ती पन
नौलो रङ्ग भरेर शोभित भयो सर्वत्र पाखा वन
हाँसेको छ समस्त जीवन यहाँ भर्दै नयाँ रोगन
फक्रे फूल सबै सुवासित बनी भर्दै नयाँ यौवन॥१
चारैतर्फ छ नाच गान रसले लालित्यले घेरियो
चोला मानवको विशिष्ट रङले सौन्दर्यले बेरियो
मैत्री भाव बढेर गो सकलमा वैरीपना केरियो
राधामा रमणी युवा सह्रृदयी श्री कृष्णमै फेरियो॥२
जो संस्कार छ यो सनातन ठुलो भुल्दैन रे लोकले
हाम्रो संस्कृति धर्म लाग्दछ यहाँ उम्दा सबै थोकले
मान्छेको अनमोल जीवन खुदै झाँगिन्छ यो कर्मले
भासिन्छन् नर तुच्छ खाडलविषे छोडेर बाटो चले॥३
धर्तीमा अघि दक्षले भुल गरी निन्दा गरे शम्भुको
आगोमाथि सती समाधि लिनु भो वाणी बिझाई रुखो
त्यो देखी कन दूतले बध गरी होमी दिए टाउको
आत्मा शान्ति गरेर देव गणले बर्षा गरे फागुको॥४
पृथ्वीको सब भार हर्न नरमा श्री राम पैदा भए
बाबाको वर पूर्ण गर्न वनमा निर्भीक बन्दै गए
मारे दानव दुष्ट रावण जिती उद्धार भारी गरे
फर्के साथ रमा र लक्ष्मण लिई होली सबैले छरे॥५
छोरा कश्यपको हिरण्य बहुतै उन्मत्त बन्दै गयो
भो प्रह्लाद भनेर भक्त हरिको मार्ने इरादा भयो
आगोमा खल होलिकासित सगै हाल्यो पठायो जब
बोकी अग्निविषे पसी खल मरी प्रह्लाद बाँचे तब॥६
यो देखी दुनियाँ अचम्मित भए सर्वत्र चर्चा गरे
होली मान्न भनेर रङ्ग बहुतै ल्याएर वर्षा गरे
मानी उत्सव शानको विजयको सानन्दमा ती परे
चारैतर्फ सु-शान्तिको लहर नै फैलेर आयो भरे॥७
यस्तै कंश बनेर क्रुद्ध पुतना लाई खटाई दिँदा
मार्नै कृष्णकनै विषाक्त दुधको मुन्टो चुसाईदिँदा
ताने प्राण कुरा बुझेर हरिले भै मुक्त चोला गयो
हर्षोल्लास गरेर लोक भरमा यो पर्व होली भयो॥८