परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अदालतले खप्परमा नहानेको भए…!

फुटानी

सिन्धुली पुगेपछि प्रचण्ड काम्रेडले क्लिएर कुरो गर्नु भयो । ओलीलाई समाप्त पार्ने आवरण भित्र एमाले ध्वस्त बनाउने योजना अन्तिम समयमा विफल भयो भनेर ! वास्तवमा गर्न खोजेको पनि त्यही थियो जिब्रो चपाएर बोल्ने कुरै छैन ।

हौ काका ! अब देउवा प्रधानमन्त्री बन्न मानेनन् भने आफ्नैं समर्थनमा ओलीले शासन गरेको टुलुटुलु हेरेर बस्छौ कि समर्थन फिर्ता लिन्छौ ? के भन्छन् तिम्रा नेताहरु ?

हेर भिरघरे ! अहिले पनि एमालेका माधव झलनाथहर्लाई हाम्रो प्रचण्डले एमाले फुटाउने प्रशिक्षण दिंदै छन् । कुनै पनि दिन उनारु हाम्रो पार्टीमा विलय हुन्छन् ।

वाइयात कुरो गर्छन यी बुढा ! जनता, कार्यकर्ता, सूर्य चिन्ह सबै ओलीतिर रान । अस्ति दुई दिने भेलामा छर्लङ्गै देखियो । ओलीले चैं गुटको भेला गरेको अरे । कति हाँस्नु ! प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्य जति ओलीतिरै देखिए । यदि यता पट्टी बहुमत हुन्थ्यो भने फेरि पाँचौ पटक ओलीलाई साधारण सदस्यबाट निकाली सक्थे ।

नकरा झुम्री । माधव-झलनाथतिरै बहुमत छ । तैंले भनेर हुन्छ ? फर्लङ्गै एमाले फुटाएर हामीतिर आम्छन् । केही प्राविधिक कुरा नमिलेर मात्र हो ।

ए काका ! बादल, भट्ट, रायामाझी, प्रभु साहहरुले तिमार्को पार्टी छोडेको हो ? उनार्ले त प्रचण्डको काम छैन । सांसद पद गए जान्छ हामी ओलीतिरै बस्छौ भनेर घोषणा गरे त !

त्यो मुलाङहर्ले घोषणा गरेर हुन्छ ? हामी घोक्राएर निकाल्छौं । ओलीलाई प्रधानमन्त्रीबाट हटाएर हाम्रो काम्रेड प्रधानमन्त्री बनेको दिन…!

त्यो दिन त अब अर्को जुनीमा । तर, राजनीतिमा प्रचण्ड र हाम्रो सभापति देउवा दाइ भाग्यमानी हुन । पार्टीमा चुनाव नै नभए पनि प्रचण्ड आजीवन अध्यक्ष, देउवा दाइ अब कांग्रेसको आजीवन सभापति । हौ काका ! ओली र देउवा मिलेर चुनाव गराउलान जस्तो छ । जनतामा जादा को कति पानीमा छन् भन्ने छर्लङ्ग भई हाल्छ। त्यसकारण तिम्रा प्रचण्डले ओलीलाई देको समर्थन फिर्ता लिए हुन्थ्यो नि ! तिमार्को चुरिफुरी देउवा दाइले ध्वस्त बनाई दिने थिए ।

हेर भिरघरे ! हतार गर्नु हुँदैन । अहिले पनि हामीलाई झिनो आशा छ माधव नेपालहरु सूर्य चिन्ह लिएर हाम्रोमा आउँछन् भन्ने । तर, ओली पनि मान्छे चैं हदै रान ! हाम्रो सर्वहारा वर्गका मुक्तिदाता, राष्ट्रनायक, उच्च छलाङका जन्मदाता, ढाडमा टेकेर टाउकामा ठोक्ने सिद्धान्तका प्रतिपादक, गौरवशाली महान पार्टीका एकमात्र सदावहार अध्यक्ष प्रचण्ड काम्रेडका पछि लाग्न छाडेर जनता पनि ओलीका पछि लागेका छन् ।

काका तिमार्को सिद्धान्त चैं कुन हो ? एकसरो ब्याख्या गर अनि पत्याउँला ।

ए भतिज ! नेपालका माओवादीको सिद्धान्त ‘लुटी ल्यायो, भुटी खायो …!’

के भन्छे यो झुम्री ! मेरो कन्सरी तात्ने कुरो नगर ! हाम्रो अन्तिम लक्ष भनेको प्रधानमन्त्रीको कुर्सी हो के नाप्छेस् ! जति खेर पनि ओलीको समर्थनमा बोल्छे !

काका ! के रिसाउँछौ । अब तिमारुसंग, माओवादी केन्द्र नामको पार्टी छ । त्यो पनि अदालतले देको ! नेता सकिदै गए, सङ्गठन निर्माण गर्नै सकेनौ, कार्यकर्ता छैनन् । जनताले तिर्मालाई समर्थन गर्ने कुनै ठाउँ छैन । अनि के फुटानी गर्छौ ? अब माओवादी फुटानी पार्टीबाट रुवाबासी पार्टीमा रुपान्तरण भयो ! तिमार्को रुवाबासीले पार्टी सकियो ।

यस्तो कुरो सुन्दा मेरो टुप्पीबाट धुवाँ निस्किन्छ । समालिएर बोल भिरघरे । हाम्रो वाइसिएल ब्युताउँदै छौं । पत्रकाहरु भरमार हामीतिर छन् । वेरोजगार युवाको जमात लिएर हामी फेरि एक खालको आतङ्क सिर्जना गर्न सक्छौ । ओलीको पालामा बनेको यो पुल, मोटरबाटो, जलविद्युत आयोजना, खाने पानी, सिंचाइको कुलो, अनि स्कूल र अस्पताल भवन पनि ध्वस्त बनाउँछौ । यी कर्मचारी पनि उस्तै छन् प्रचण्ड प्रधानमन्त्री भाको बेलामा केही नगर्ने अनि अहिले ओली भए पछि सबै काम गर्ने ?

पहिला पनि तिमार्ले ध्वस्त पार्ने काम गरेको हुँदा यसमा सिपालु छौ । निर्माण तिमार्को बुताबाट हुने कुरै भएन । तिमारु आफैं ध्वस्त भएका छौ । टेक्ने समाउने केही नभएपछि मान्छेले आत्माहत्या गर्छ । तिमार्को लक्ष भनेको अब त्यही होला । तर, काका ! तिमारु माओवादीका अलि असल नेता केपी तिर गै हाले, कार्यकर्ता छैनन्, समर्थक जतिलाई कांग्रेस प्रवेश गर्ने उर्दी दिए हुन्छ ।

कस्तो वाइयात कुरो गर्छ ! एमालेलाई फुटाएर सूर्य चिन्ह सहित माधव र झलनाथ हामीतिर आम्छन् । अनि हाम्रै ठूलो पार्टी हुन्छ । अदालत-सदालत ध्वस्त बनाउँछौ । प्रधानमन्त्री बन्देउन भन्दा नमान्ने देउवा र हाम्रो प्रचण्डलाई खुरुक्क प्रधानमन्त्री पद नदिने ओलीलाई देश निकाला गर्छौ । तोडफोड गर्छौ, ध्वस्त बनाउँछौ । देउवा र ओलीलाई सम्झियो कि करर दाह्रा किट्न मन लाग्छ ।

आफ्नो खप्परमा चिर्रपटले आफैंले हिर्काएर मरे पनि के गर्नु काका ! अब तिमारुबाट निर्माण र ध्वस्त दुवै हुँदैन । तिमारु चिहाने डाँडामा बसेर रुवावासी गरे पनि कसैले केही भन्दैन । ‘किन रोइस् मङ्गले, आफ्नै ढङ्गले’ भन्छन् त्यति हो । काका-काकी म अब घरतिर लागें है ।

जै नेपाल !

Facebook Comments