परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कर्णाली महिला र खोकी

बुढ्यौली कविता शृङ्खला -२३

मेरो जन्म उता पहाडतिर भो जिल्ला छ जुम्ला भनी

खोकीले दिन रात दुःख थपियो लाने भयो जीवनी

शिक्षा नाम थिएन गाउँ घरमा बेला कुबेला थियो

गोठाली म थिएँ र बाल वयको चेष्टा उसैमा बित्यो  ।

 

गाई हेर्न पहाडका शिखरमा कुद्ने उता दौंतर

यस्तै काम गरेर जीवन गयो पढ्ने कहाँ औसर

भेडाका कति हुन् बथान वनमा चर्ने उता दैनिक

मैले पढ्न नपाउने किनभने मानौं थिएँ सैनिक ।

 

सल्लाका वनबाट इन्धन हुने  बोक्थे सधैं दाउरा

आगो बाल्न छ दाउरा घर भरी बल्दा छ उड्दो धुवाँ

सानैमा ममता दिने मृदुमती आमा पठाए पछि

भान्साको सब काम हेर्न परिगो यो ज्ञान आएपछि ।

 

जाडो धेर हुने हिमालतिरको बस्ती छ हाम्रो पुर

जाडो रोक्न भनेर झ्याल जहिले बन्दै हुने हर् घर

चल्तीमा कपडा छ ओढ्न अब ता पाइन्नथे ती पनि

आगोको भर रात काट्न सबले पर्ने थियो त्यो जुनी ।

 

अन्य आकर्षणहरू

को सुन्छ मर्का यहाँ ?

पानी दिएँ आखिर

बुढ्यौली, पुत्र मोह र पीडित आमा

अचम्मको जीवन लाग्न थाल्यो

चस्मा हरायो 

सोह्रै वर्ष उमेरमा घर पसें कान्छी बुहारी बनी

सारा काम सकेर फुर्सद हुने चौका र भान्सा छिनी

सुत्केरी जब मै थिएँ रगतको धारा छुटेका थिए

आमा बाँच्दिन भन्दथे सब जना खै भाग्यले जोगिएँ ।

 

सातोटा शिशु जन्मिए  दुई गए छन् पाँच नै जीवित

भारी बोक्न छुटेन सो समयमा च्यापेर बच्चासित

खानाको पनि गड्बडी हुन गयो पुग्थ्यो कहाँ पोषण

नारीको कतिसम्म जीवन यता गर्छन् अहो शोषण ।

 

खोकीले सब देह जर्जर छ यो फोक्सो खराबी छ रे

आगोको नजिकै बसे पछि धुवाँ धेरै सतायो हरे

साठी वर्ष उमेरले अघि पुगें यी चार वर्षै बढी

खोकीको उपचार गर्न उहिले भन्थे छ पैसा कडी ।

(क्रमशः)

छन्द : शार्दूलविक्रीडित

Facebook Comments