परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कुभिण्डो पो फले छ !

फुटानी

यो ठाउँ पनि अनौठै र’छ । हेर त भिरघरे बोकालाई खुवाउन अम्लिसो रोपेको कुभिण्डो फले छ । बोकाको मुखमा कुभिण्डो अट्तैन अब के गर्ने होला !

नेकपाकै हाल भए छ काका तिम्रो पनि । एक थोक रोप्यो अर्कै थोक फल्छ । नेकपाका नेता कार्यकर्ता, पार्टी सप्पैलाई दशाले गाँजेको छ ।

के दशाले गाँज्यो भन्छस् ! गलत विउ परे छ भन्न ! काम गर्दै जाने सिलसिलामा कहिले काँही यस्तो हुन्छ । ए झुम्री ! खुर्पा ले त खुर्पा ! अब यसको काम छैन । काटेर फाल्नु पर्छ ।

काका एउटा कुरा भन्छु नरिसाउ है । अब अर्को विउ नरोप । यदुवंशी नास गर्ने मुसल उम्रिन बेर छैन । त्यही मुसलले हानाहान गरेर नेपालका कम्युनिष्टहरु समाप्त हुन बेर छैन ।

लाउ खुर्पा ! के भन्दै छ भिरघरे ! हेर्न तेरो काकाले बोकालाई खुवाउन घाँस रोपेको कुभिण्डो फल्यो । अब कुभिण्डो रोपे भने घाँस फल्ला ।

फल्दैन काकी । अब हाम्रो काका कांग्रेसमा प्रवेश गर्छन् । कांग्रेसले मात्र जे रोप्यो त्यही फलाउँ छ । नेकपाले त एक थोक रोप्यो अर्कै थोक फल्छ ।

खै भिरघरे ‘जेठा मामाको त यो गति, कान्छा मामाको भाँङ्ग्राको धोती’ भने जस्तो होला । पहिलाको समयमा भए सिद्धान्तको, विचारको, पद्धतिको विषय अनि राष्ट्र र जनताको पक्षमा के गर्न सकिन्छ भनेर त्यसमा छलफल हुन्थ्यो । दुई लाइनको संघर्ष चल्थ्यो । अहिले पदको लडाई चल्छ । कार्यकर्ताले पनि पहिला विचार बोक्थे अहिले नेताका अहङ्कार बोक्छन् ।

त्यही त भनेको काकी ! हाम्रो काकाको नेता छन् नि प्रचन्न । उनलाई प्रधानमन्त्री बन्ने हतारो भयो । जसरी पनि ओलीलाई घोक्रेठ्याक लगाउन खोजे ।

बढी कुरो गर्छ यो भिरघरे । हाम्रो प्रचन्न काम्रेडले काँधमा बोकेर ओलीलाई पदमा टिकाई राख्ने ठेक्का लिएको थियो र ! पछार्नु थियो, पछार्दिए ।

काका ! ओलीलाई कता पछारेर ! ओली जहाँ थिए त्यही छन् । पछार्न खोजेका थिए आफैं पछारिए । अब उठ्न नसक्ने गरी थेचारिन्छन् । ‘प्रतिनिधि सभा नभएपछि संखुवासभा’ भने जस्तै भयो । हिजो संखुवासभामा भाषन–भुषन थियो क्यार !

कस्तो, थियो क्यार भन्छस् ! टिभीमा देखिनस् मान्छे त बरङरङ ओइरियो । ‘प्रचन्न जता गयो, जनता उतैको भयो’ भन्ने बुझे हुन्छ । अँ भिरघरे । यो कुरा छोड । बरु भन हाम्रो सर्वहारा वर्गको महान नेता प्रचन्न काम्रेडका सुरक्षा गार्ड ओली सरकारले सबै फिर्ता लग्यो अरे । किन लगे छ हँ ?

आजदेखि होइन १० वर्ष अघिदेखि सुरक्षा गार्डहरु कटौती गर्ने भन्ने निर्णय भएको थियो । ओलीले त्यही लागू गरेको हो । प्रचन्नको मात्र होइन देउवा दाइ लगायत सबैको सुरक्षा गार्ड घटाएको छ । प्रचन्नको मात्र घटायो भनेर हल्ला गरेका छन् ।

हाम्रो प्रचन्न अरु जस्तो होइन नि भिरघरे ! महान जननेता, महामावनलाई त दुईचार सय सुरक्षा गार्ड चाहिन्छ । होइन भने गरीमा नै घट्छ नि !

होइन काका जनताका नेतालाई सुरक्षा दिने जनता नै छैनन् र ! खै हाम्रो देउवा दाइलाई चाहिँदैन त ! पाँच पटक प्रधानमन्त्री भई सके । जनताले नै सुरक्षा गर्छन त !

ठिक भन्यो भिरघरेले । चारैतिर शत्रु हुनेलाई सुरक्षा चाहिन्छ । हाम्रो ओली, माधव नेपाल, झलनाथ, देउवाहर्लाई नभए नि हुन्छ । प्रचन्नले आफ्नो कालो

अतित सम्झिन्छन् । अनि डरले चिट्चिट् पसिना काड्छन् । सबैभन्दा बढी पूर्व जनसेनाका ब्यक्तिसंग डराउँछन् ।

बढी जान्ने नहो झुम्री ! हामीले पनि राजनीति बुझेका छौं । ओलीले प्रचन्नलाई एक्लो बनाउन खोजेका हुन् । अलि कति चैं ठिकै भनिस् । हाम्रो पूर्व लडाकुहरु भने प्रचन्नसंग रिसाएका छन् । त्यही कारणले अलि–अलि गर्दै तिनारु ओलीतिर लागे ।

हौ काका ! १० वर्षसम्म युद्ध गर्न लगाएर जीवन बर्बाद गर्ने प्रचन्नलाई कसैले नि मान्दैन । पढे लेखेका, छलकपट नगर्ने, सज्जन भनेर उभिण्डेभरि चिनिएका रामप्रसाद जस्तो सोझो व्यक्तिको समेत हत्या गर्ने तिमारु होइनांै ? प्रत्येक टोलमा यस्तै हत्या गरेका छौ । चन्दा नदिएको, आफूले भनेको नमानेको, फरक विचार राखेको ब्यक्तिलाई सुराकी भन्दै मार्न लगाएपछि अहिले डरले थर्कमान हुनु स्वभाविकै हो । खाएको विख लाग्छ, अपराध गर्ने व्यक्तिलाई खतरा हुन्छ । सुरक्षा होइन, जेलमा कोच्नु पर्ने । हाम्रो देउवा दाइलाई सुरक्षा नभए नि हुन्छ ।

हौ भिरघरे ! देउवाबाट कुनै माखो मर्दैन त किन सुरक्षा चाहियो ? प्रचन्नसंग देउवाको तुलना नगर भतिज । देउवालाई सबैले राम्रो मान्दैनन् । सम्पत्ति थुपार्न मात्र जान्ने हुन देउवा !

प्रचन्न र देउवा को धनी होला काकी तिमी भन त !

खै दक्षिण एसियाको सबैभन्दा धनी नेता भनेर प्रचन्नलाई नै भन्छन् क्यारे ! अरुलाई त त्यसरी भनेको थाहा छैन । १० वर्षसम्म लुटेको अरबौंको सम्पत्तिको हिसाब छैन । बैंक लुटेको, घर लुटेको चन्दा असुलेको, ठेक्का मिलाई दिए वापत लिएको, विभन्न अयोजनाहरुबाट करोर्डौ खाएको, चीन, भारत, अमेरीका र यूरोपियन युनियनबाट लाजै विना हाक्काहाक्की मागेको…!

के कुरो गर्छे यो झुम्री ! युद्ध गर्दा सबै सकियो । केही अरब हिनामिना भयो होला अरु त सप्पै युद्धमा सकियो । मन्दिर भत्काउन, पुल उडाउन, बैंक लुट्न, मान्छे मार्न सानो हिम्मतले हुन्छ ? सबै पैसा हिम्मतमा खर्च भयो ।

हो काका ! त्यही हिम्मतको कारणले अहिले पनि प्रचन्न डरले थरथर काँप्छन् । अरुको भन्दा डबल, तेब्बर सुरक्षा अहिले पनि उनैलाई दिएको छ र पनि उनलाई पुगेको छैन । पत्करमा छेपारो कुद्दा पनि डराउछन् ।

आलुपाँडे कुरो नगर । बरु भन अब के होला ! चुनाव होला कि अदालतले प्रतिनिधिसभा पुनरस्थापना गर्ला ?

मलाई के सोध्छौ ! हाम्रो कांग्रेसको दुवै हातमा लड्डु ।

चुनाप भयो भने त सखाप पार्ने हो कि भन्ने डर पो लाग्न थालेको छ । यसो बिचार गर्दा त्यो विक्रम भन्नेले चितवनमा ओलीको समर्थन पायो भने हाम्रो प्रचन्नलाई पनि हराउँछ भन्छन् । उता माधव, नारानहर्को पनि जित्ने ठाउँ छैन । अनि जित्ने त जनार्दन र वर्षमान मात्रै जस्तो छ । फसाँद बनाउछन् कि जस्तो छ ।

तिम्रालाई किन भोट दिने काका । ओलीले राष्ट्र विकास र जनजीविकाको सवालमा राम्रै कामगरेका थिए । समृद्ध नेपाल, सुखी नेपालीको मुलनारा अनुसार विकासका काम हुँदै थियो । तर, प्रचन्नलाई सह्य भएन । अनि धोती कसेर ओलीको विरोधमा लागे । केही गर्नै नदिने बानीले गर्दा तिमारु सकियौं! काका ।

म लागें अब अदुवा खोलातिर । अर्को दिन कुरा गरौंला !

जै नेपाल !

Facebook Comments