पीयूष हो पौरखको कमाइ
कविता (छन्द: इन्द्रवज्रा)
बालेर आगो यस देशमाथि
बस्दा महामूर्ख बनिन्छ साथी
चाहिन्छ सामर्थ्य विकासलाई
पीयूष हो पौरखको कमाइ॥१
बाँचौँ सबै धीर बनेर जाती
यो देशको उच्च गरेर छाती
संङ्कल्पले पुज्नुछ देशलाई
पीयूष हो पौरखको कमाइ॥२
हुँदैन खाल्टोतिर भासिएर
लागौँ उँभोतर्फ उकासिएर
निस्वार्थले कर्मविषे रमाई
पीयूष हो पौरखको कमाइ॥३
होऔँ सबै नै अब अग्रगामी
बाँचौँ सधैँ पूर्वज नाम थामी
जागा गरौँ शाश्वत सत्यलाई
पीयूष हो पौरखको कमाइ॥४
लाछी न हौँ है डरपोक हामी
झुक्दै नझुक्ने हुनुपर्छ नामी
जागौँ उठौँ गौरव गीत गाई
पीयूष हो पौरखको कमाइ॥५
कोही नहौँ शोषक देश खाई
आशा थुपारी दुनियाँ रुवाई
पीडा नपारौँ नर लोकलाई
पीयूष हो पौरखको कमाइ॥६
नेपाल हो स्वर्ग समान देश
जहाँ छ ऐश्वर्य र शान ऐश
राखौँ सिँगारेर बसौँ सजाई
पीयूष हो पौरखको कमाइ॥७